काठमाडौं । स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान अमेरिकाको लस एन्जलसस्थित सोफी स्टेडियममा भएको क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।
स्पेनका लागि फाबियन रुइजले ३० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर बेल्जियमका चाल्र्स डे केटेलाएरले ४१औं मिनेटमा बराबरी गोल फर्काउँदै पहिलो हाफ १–१ मा टुंग्याए ।
दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि खेलको ८८औं मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए । मेरिनोले यसअघि अन्तिम १६ मा पोर्चुगलविरुद्ध पनि निर्णायक गोल गरेका थिए ।

बेल्जियमले खेलको ७१औं मिनेटमा ठूलो धक्का बेहोर्नुपर्यो । अनुभवी गोलरक्षक थिबो कोर्टुवा तिघ्राको चोटका कारण मैदान छाड्न बाध्य भए । उनको स्थानमा आएका सेन्ने लामेन्सले अन्त्यतिर आएको प्रहार नियन्त्रण गर्न नसक्दा मेरिनोले रिबाउन्डमा गोल गरेका थिए ।
यो जितसँगै युरो २०२४ को विजेता स्पेनले विश्वकप उपाधितर्फको आफ्नो अभियानलाई थप मजबुत बनाएको छ । स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।