काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई)का अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क आज बिहान ११ः०० बजेसम्म बढेर २४७ पुगेको छ । यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्छ, यसले सर्वसाधारणको स्वास्थ्यमा असर पार्न सक्ने जनाइएको छ । एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाउन मुख्य भूमिका खेलेका छन् । 'अहिले वर्षा नभएर सुक्खा बढ्दो अवस्थामा छ, यसले धुलो र धुवाँ वायुमण्डलमा थुप्रिन सहयोग गरेको छ', उनले भने, 'वर्षा भएमा हावामा रहेका कणहरू जमिनमा बस्छन् र प्रदूषण घट्छ, तर अहिले त्यो अवस्था छैन ।' उनका अनुसार सम्बन्धित निकायलाई दिगो तथा वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ । यस्तै, जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले आगामी तीन दिनसम्म उल्लेखनीय वर्षाको सम्भावना नरहेको र तापक्रम अझै बढ्ने सङ्केत देखिएको जानकारी दिए । “वर्षा नहुँदा वायुमण्डल सफा हुन सक्दैन, जसले प्रदूषण थप बढाउने सम्भावना रहन्छ”, उनले भने । विशेषगरी वायु प्रदूषणको असर बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई पर्ने जनाइएको छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सुझाइएको छ ।
मध्यान्हमा बस्दै मन्त्रिपरिषद बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन्। बैठक बिहीबार (आज) मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । बैठक महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् । समुद्री सतहबाट छ हजार ५६७ मिटरको उचाइमा पर्ने फुर्वी घ्याचु भञ्ज्याङको फेदीमा अवस्थित सो कुण्ड समुद्री सतहबाट चार हजार १२४ मिटरको उचाइमा पर्दछ । भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङनोर्बु शेर्पाका अनुसार सो ताल करिव ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ । तर तालको गहिराइको मापन भने अझैसम्म गरिएको छैन । कुण्डकै पानीले कुण्डभन्दा केही तल पर्ने १९८ मिटर अग्लो छहरा आकर्षण थपेको छ । पर्यटक यहाँको प्राकृतिक सुन्दरतासँग आकर्षित पर्दछन् । यहाँबाट सम्मुख जुगल हिमशृङ्खला पर्दछ । प्राकृतिक रुपमा अलौकिक मानिने भैरवकुण्डमा जति कठिनसाथ पुगिन्छ प्राकृतिक रसस्वादनले त्यहाँ पुगेपछि त्यो पीडा भुलिन्छ । अरनिको राजमार्गको १०९ किलोमिटरमा पर्ने तातोपानीको लार्चाबाट अप्ठेरो ठाडो उकालो भिरको बाटो हिँडेर डेढदेखि दुई दिनमा पुग्न सकिन्छ । विशेषगरी जनैपूर्णिमामा यहाँ धर्मावलम्बीहरुको खचाखच हुने गर्दछ । विसं १९११ मा भोटसँगको युद्धको बेला निर्मित ऐतिहासिक दुगुनागढी पनि यसै क्षेत्रमा रहेको छ । तत्कालीन जङ्गबहादुर राणाको पालामा भोटसँग लडाइँ गर्दा घुयँत्रो मार हान्न बनाइएको दुगुनागढी किल्लाबाट पनि भैरवकुण्डको यात्रा गर्न सकिन्छ । भैरवकुण्डमा अरनिको राजमार्गको डाक्लाङ, काङलाङ, लिस्तीको लिस्तीमाई अर्थात् उग्रचण्डी भगवती मन्दिर हुँदै छगाम, बगाम र चकोरमकोर हुँदै पनि पुग्न सकिने स्थानीय वीना रोक्का अधिकारी बताउँछन् । यहाँ भगवान् शिव र पार्वतीको वासस्थान रहेको किवंदन्तीे छ । महादेवको उग्ररुपअर्थात् भैरव सम्हारकर्ताका रुपमा मानिन्छ । भगवान् शिवको क्रिडास्थलका रुपमा भैरवकुण्डलाई लिने गरेको पाइएकाले भैरवकुण्डमा जनैपूर्णिमाका दिनमा ठूलो मेला लाग्ने गरेको हो । भैरवकुण्ड नजिकै अर्को प्रख्यातस्थल देउढुङ्गा पनि रहेको छ । कोदारी सडकको चाकु र हिन्दीबाट ४५ किलोमिटर यात्रा गरेपछि दोलखाको बिगुसँग सिमाना जोडिएको देउढुङ्गा पुगिन्छ । यो वर्ष यी दुई धार्मिकस्थलको हजारौँ भक्तजनले तीर्थयात्रा गरेका छन् । किंवदन्ती विश्वासको आधारमा आन्तरिक पर्यटक भैरवकुण्ड र देउढुङ्गाको धार्मिक यात्रा गर्छन् । ‘जे माग्यो त्यही प्राप्त हुने’ धार्मिक जनविश्वास भएकोले मुलुकभरका तीर्थयात्रु भैरवकुण्ड पुग्छन् । आन्तरिक तीर्थालु भौगोलिक कठिनताको पर्वाह नगरी मेला भर्न त्यहाँ पुग्छन् । आन्तरिक मात्रै होइन, चीन, भारत र पश्चिमा मुलुकका पर्यटकको रोजाइमा यी क्षेत्र रहेका छन् । भूकम्पअघि वार्षिक एक हजार विदेशी पर्यटकले दुगुनागढी किल्ला र भैरवकुण्डको यात्रा गर्दथे । यहाँबाट जिल्लासहित तिब्बतको विभिन्न भूभाग दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक लोभिएका स्थानीय बुद्ध श्रेष्ठको भनाइ छ । तिब्बतको खासा तथा कुतीसम्मको भूभाग र काठमाडौँको धरहरासमेत स्पष्ट देखिने भैरवकुण्डबाट मनमोहक नेपाल तथा तिब्बतका हिमालहरु देख्न सकिन्छ । भदौदेखि कात्तिक र चैतदेखि जेठसम्म पर्यटक जाने सो स्थानमा युरोपियन, अमेरिकन र जापानी पर्यटक बढी आउने गरेको र सरदर एक हप्तासम्म बस्ने गरेको पनि पाइन्छ । चिसो हावापानीको यस क्षेत्र यार्सागुम्बा, सुनपाती, पाँचऔँले, ठूलोओखती, जटामसी, नीरमसी, मजेठो, चिराइतोलगायतका जडीबुटीको भण्डार हो । त्यसैगरी भैरवकुण्ड बाघ, भालु, चितुवा, ब्वाँसो, बँदेल, थारल, घोरल, हिउँ चितुवालगायतका दुर्लभ वन्यजन्तुको वासस्थान पनि हो । हरेक वर्ष जनैपूर्णिमामा भैरवकुण्ड जाने धर्मावलम्बीको सङ्ख्या बढ्दो छ । यात्राका क्रममा विभिन्न बाधा, अड्चन अनि अभाव छिचोलेर यहाँ पुग्ने गरिन्छ । बीचमा चौँरीका गोठहरुमा बास बस्नुपर्ने हुन्छ । पर्यटकहरुलाई थप सहजताका लागि अब भने बाटामा पानी, तथा बासका लागि पाटीको निर्माण गर्ने योजना ल्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष शेर्पा बताउँछन् । पदमार्गको व्यवस्थापनका साथै सडकले जोड्ने लक्ष्य गाउँपालिकाको रहेको उनको भनाइ छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यो कुण्डलाई थप व्यवस्थितका साथै उचित प्रचारप्रसार गरी सम्बन्धित सरोकारवाला निकायको पहलमा झनै पर्यटक पहिलो रोजाइमा राख्न सके सिन्धुपाल्चोकवासीलाई आर्थिक लाभ हुने मात्रै नभई सिङ्गो जिल्ला विश्वमा चिनिन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । रासस
सुनचाँदीको मूल्य बिहीबार पनि घट्यो
काठमाडौं । स्थानीय बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु ११० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २० कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख पाँच हजार र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १३० मा कारोबार भएको थियो । गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार १६० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०५ र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
पक्राउ परेका छैनन् शेखर गोल्छा
काठमाडौं । सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा शेखर गोल्छा पक्राउ परेको खबर आए पनि उनी पक्राउ नपरेको बताइएको छ । गोल्छाले आफू पक्राउ नपरेको जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका उनी पक्राउ परेका छैनन् । ‘तपाईं अफिस आउन सक्नुहुन्छ, म अफिसमै छु, पक्राउ परेको छैन,’ गाेल्छाले भने । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख मनाेज केसीले पनि उनी पक्राउ नपरेको बताएका छन् ।
आकाशमा हरित क्रान्ति : अब विमानमा पनि इथानोल, भारतको ठुलो नीतिगत फड्को
काठमाडौं । भारत सरकारले हवाई क्षेत्रको प्रदूषण कम गर्ने र पेट्रोलियम आयातमा रहेको परनिर्भरता घटाउने उद्देश्यले एभिएसन टर्बाइन फ्युल (एटीएफ) मा इथानोल र अन्य सिन्थेटिक हाइड्रोकार्बन मिसाउन अनुमति दिएको छ । यसका लागि सरकारले सन् २००१ को ‘एभिएसन टर्बाइन फ्युल (मार्केटिङ रेगुलेसन) अर्डर’ मा महत्त्वपूर्ण संशोधन गर्दै आवश्यक वस्तु ऐन, १९५५ अन्तर्गत नयाँ प्रावधानहरू लागू गरेको हो । यो परिवर्तनसँगै अब विमानमा प्रयोग हुने इन्धनको परिभाषा फराकिलो भएको छ र यसले आईएस १५७१ वा आईएस १७०८१ जस्ता उच्च गुणस्तरका मापदण्डहरू पूरा गर्ने नयाँ र आधुनिक इन्धन विकल्पहरूको प्रयोगका लागि बाटो खोलेको छ । यद्यपि, सरकारले हाललाई यो मिसावटलाई अनिवार्य भने गरेको छैन र यसका लागि कुनै तत्काल लागू हुने कडा समय-सीमा पनि तोकेको छैन । विश्वभर विशेषगरी बेलायत र जापान जस्ता विकसित देशहरूमा अहिले कच्चा तेलको सट्टा ‘सस्टेनेबल एभिएसन फ्युल’ (एसएएफ) को प्रयोगमा जोड दिन थालिएको छ । यो इन्धन कृषि अवशेष, नगरपालिकाको फोहोर, काठ, अन्न र फालिएका तेल वा बोसोबाट तयार पारिन्छ, जसलाई सिन्थेटिक हाइड्रोकार्बन पनि भनिन्छ । भारतले पनि अन्तर्राष्ट्रिय संस्था ‘कोर्सिया’ को नियम पालना गर्दै सन् २०२७ सम्म अन्तर्राष्ट्रिय उडानका इन्धनमा १ प्रतिशत एसएएफ मिसाउने लक्ष्य राखेको छ । यो लक्ष्यलाई सन् २०२८ सम्म २ प्रतिशत र सन् २०३० सम्म ५ प्रतिशतमा पुर्याउने सरकारको योजना छ । हाललाई यो नियम आन्तरिक उडानहरूमा लागू नगरिए तापनि अन्तर्राष्ट्रिय स्तरमा कार्बन उत्सर्जन घटाउने दिशामा यो एउटा ठूलो फड्को मानिएको छ । विशेषगरी मध्यपूर्वमा जारी युद्ध र तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल १२० डलरको हाराहारीमा पुगेपछि हवाई इन्धनको लागत ह्वात्तै बढेको छ । आर्थिक चुनौती र जलवायु परिवर्तनको जोखिमलाई ध्यानमा राख्दै सरकारले स्वदेशी स्रोतबाट उत्पादित इथानोल र जैविक इन्धनलाई प्रोत्साहन दिएको हो । सन् २०२१ देखि २०२६ सम्म स्वैच्छिक रूपमा लागू रहेको ‘कोर्सिया योजना सन् २०२७ बाट अनिवार्य हुने भएकाले पनि भारतले यो नीतिगत तयारी गरेको देखिन्छ । यस निर्णयले भविष्यमा हवाई यात्रालाई वातावरणमैत्री बनाउनुका साथै इन्धनको बढ्दो मूल्यबाट केही राहत मिल्ने र भारतको ऊर्जा सुरक्षामा थप बल पुग्ने अपेक्षा गरिएको छ ।
एफएनसीसीआई सदस्यता विवाद टुंगियो : १८ वस्तुगत संघलाई सदस्यता, तर मतदान अधिकार छैन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि विवादमा रहेका १८ वटा वस्तुगत संघहरूको सदस्यता प्रकरणमा ‘बीचको बाटो’ अपनाउँदै निकास खोजेको छ । हिजो बुधबार रातिसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको करिब ८ घण्टा लामो बैठकले उच्च अदालत पाटनको मंसिर १६ गतेको आदेश अनुसार सदस्यता खारेज गर्दै नयाँ प्रक्रियाबाट सदस्यता दिने निर्णय गरेको हो । अब ती सबै संघलाई विधान अनुसार नयाँ प्रक्रिया पूरा गरेर सदस्यता दिइनेछ, तर यस पटक मतदानको अधिकार नदिने सहमति भएको छ । ती १८ संघले आगामी वैशाख २१ र २२ गते हुने साधारण सभामा पर्यवेक्षकका रूपमा मात्र सहभागिता जनाउन पाउनेछन्, मतदान अधिकार भने रहने छैन । नयाँ सदस्यहरूले आगामी दिनमा नवीकरण गर्दा महासंघको विधान अनुसार सबै मापदण्ड पूरा गर्नुपर्नेछ । बैठकमा सदस्यता दिने र नदिने पक्षबीच तीव्र मतभेद देखिएपछि अन्ततः वस्तुगततर्फका उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेले अघि सारेको प्रस्तावमा सहमति जुटेको हो । बैठक लगभग भाँडिने अवस्थामा पुगेपछि घिमिरेले राखेको मध्यमार्गी प्रस्तावले सहमतिको ढोका खोलेको केन्द्रीय सदस्य रविन पुरीले बताए । बुधबारको बैठकले दुवै पक्षलाई समेट्ने गरी सहमतिको ‘बीचको बाटो’ रोजेको हो । बैठकमा १८ मध्ये सात नयाँ सदस्यले उच्च अदालत पाटनमा दर्ता गरेको निवेदन र सर्वोच्च अदालतमा दर्ता गरेको रिट फिर्ता लिने सहमति भएको छ । नयाँ सदस्यहरूले पनि अब अदालत नगर्ने सहमति गरेका छन् । यससँगै निर्धारित मितिमै साधारण सभा हुने पक्का भएको छ । यस निर्णयले एकातिर यसअघि सदस्यता दिने निर्णयलाई निरन्तरता दिएको छ भने अर्कोतर्फ मापदण्ड नपुगेको भन्दै विरोध गर्ने पक्षलाई पनि सम्बोधन गरेको छ । अर्थात् ‘सबैको जित हुने गरी’ निकास खोजिएको महासंघका केन्द्रीय सदस्यहरूको भनाइ छ । अब ती १८ संघले पूर्ण सदस्यता पाउनका लागि पुनः विधान अनुसार सबै प्रक्रिया पूरा गर्नुपर्नेछ । यस पटक मतदान अधिकार नपाए पनि आगामी दिनमा आवश्यक मापदण्ड पूरा गरेपछि मात्र पूर्ण अधिकारसहित सदस्यता प्राप्त हुने स्पष्ट गरिएको छ । महासंघको यो निर्णयले लामो समयदेखि जारी सदस्यता विवाद समाधान भएको छ । महासंघको सदस्यता विवाद अदालतसम्म पुगेको थियो । उच्च अदालत पाटनले सदस्यता विवाद टुंग्याएर मात्र साधारण सभा गर्न निर्देशन दिएपछि चैत २९ र ३० गतेका लागि तय गरिएको साधारण सभा स्थगित भएको थियो । साथै, एउटा मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ । यसअघि सदस्यता सिफारिस समितिले मापदण्ड नपुगेको भन्दै ती १८ संघलाई सदस्यता दिन नसकिने रायसहितको प्रतिवेदन बुझाएको थियो ।
हरिबहादुरले मिठाईको व्यापारले जोडे घरजग्गा, छोरीहरूलाई पठाएँ अमेरिका र अस्ट्रेलिया
इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उनले भने, 'गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।' उनी सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर मिठाई पसल सञ्चालन गर्दै आएका छन् । स्वदेशमा परिश्रम गरिरहेका तामाङले मिठाई बेचेर खुसी कमाइरहेको बताउँछन् । पचासदेखि ०५८ सालसम्म उनको व्यापार फस्टायो । सोही अवधि तराईमा घर किने । फिक्कल नजिकै नयाँचोकमा तीन ठाउँ जमिन जोडे । दुई जना छोरीलाई पढाएर अमेरिका र अस्ट्रेलिया पठाउने यही व्यापारले गर्यो । कान्छी छोरीलाई काठमाडौं राखेर चार्टर एकाउन्टेन्ड र बिएबीएस पढाउने खर्च पनि यसै पसलले धानिरहेको छ । 'झापाको विर्तामोडमा जोडेको घर, नयाँचोकमा जोडेका जमिनहरु त्यतिबेलाकै व्यापारले हो ।' उनी भन्छन्, '०५० सालमा फिक्कल आएर २२ हजार लगानीमा पसल सुरु गरेँ । महिनाको रु २०० भाडा तिर्नुपथ्र्यो । पाँच रुपैयाँमा पेट अघाउने खाजा बेच्दा पनि पैसा कमाइयो । छोरीहरुलाई ‘सेटल’ गराएँ । मिठाई बेचेर खुसी कमाएको छु ।' अहिले पनि उनको पसल (जनता मिष्ठान्न भण्डार) उत्तिकै चलेको छ । तर, त्यो बेलामा जस्तो नाफा हुँदैन । तामाङ भन्छन्, 'महँगी बढेको छ । सामान किनिसक्नु छैन । मान्छे त आइरहन्छन् । तर, प्रतिस्पर्धा बढ्यो । पसल धेरै छन् । तैपनि ६०–७० हजार बचाउँछु ।' उनको इमानदार सोच र निरन्तर श्रमले तीन छोरीको भविष्य बनायो । 'जेठी छोरीलाई काठमाडौँमा नर्सिङ पढाएर अमेरिका पठाएँ, माइली अस्ट्रेलियामा छिन्, कान्छी काठमाडौँमै चार्टर एकाउन्टेन्ड र बिएबीएस पढ्दैछिन् । मलाई सन्तोष छ ।' छोरीहरूको पढाइका लागि उनले बिर्तामोडमा बनाएको घर बिक्री गरेको बताए । समयसँगै व्यापारको स्वरूप फेरियो । पहिले फिक्कलस्थित पशुपतिनगर स्टेनमा रहेको त्यही पसल फिक्कल बजारको इलाम स्टेन मुनितिर सरेको २० वर्ष भयो । खाजाको मूल्य रु पाँचबाट बढेर रु १५० पुगेको छ । समोसा, सेलरोटी, पुरीदेखि लड्डु, खुर्मा, रसबरी, जेरी र भुजियासम्मका परिकार पाइने पसलमा अहिले दुई जना कर्मचारी छन् । उनी भन्छन्, 'प्रतिस्पर्धा बढ्यो, ग्राहकको बानी फेरियो । अहिले जाँडरक्सी बेच्ने धेरै छन्, तर मैले कहिल्यै मदिरा, सुर्ती, चुरोट बेचिनँ ।' विसं २०४२ तिर उहाँ झापाको काँकडभिट्टामा रिक्सा चलाइरहेन्थ्ये । छ सय मजदुरको विश्वास जित्दै रिक्सा सङ्घको कोषाध्यक्ष बनेका थिए । पछि केही समय होटलमा पनि काम गरेर मिठाई पसल सुरु गरेको उनी बताउँछन् । आज पनि उनी पसलमै व्यस्त छन् । उमेर ढल्किँदै गए पनि कामप्रतिको लगाव उस्तै छ । 'काम नगरी हुँदैन, तर अहिलेका केटाकेटीले यस्तो दुःख गर्न चाहँदैनन्,' उनी भन्छन् । ऐतिहासिक गोर्खे बजार त्यो बेलाको व्यापारिक केन्द्र थियो । त्यहाँबाट सामान खरिद बिक्री गर्न भारी बोकेर आउजाउ गर्नुपथ्र्यो । 'बिहानै भारी बोकेर फिक्कल हिँडिन्थ्यो । हरिको मिठाई पसलमा पुगेर खाजा खाने भन्दै जान्थ्यौँ । यी मान्छे पुराना हुन् । अहिले पनि उसैगरी व्यापार गर्छन् ।' गोर्खेका ७६ वर्षीय वीरबहादुर राईले सुनाए, 'अहिले पनि फिक्कल जाँदा हरिको पसलमा समोसा नखाई फर्किन्न ।' रासस