नियम उल्लंघन गर्ने दुई फर्मलाई जरिवाना, १० वटालाई निर्देशन
काठमाडौं । स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । विभागले किसु चमेनागृहलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम खरिद बिल बिजक नराखेकाले सोही ऐनको दफा ३८ (घ) बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, काठमाडौंको जडिबुटीमा रहेको क्याल्मेरा अटाएर प्रालिलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले कुल १२ फर्ममा अनुगमन गरेकामा १० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ । उद्योग, फर्महरूको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देश एवं कारबाही गरिएको विभागले स्पष्ट पारेको छ । बजारमा स्वच्छता कायम राख्न, अखाद्य वस्तुको कारोबार रोक्न, बिल बिजक जारी गराउन विभागले नियमित अनुगमन गर्दै आएको छ ।
आज ४ प्रदेशमा भारी वर्षा हुने, बाढीपहिरोको चेतावनी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थान मधेस तथा कर्णाली पहाडी भू-भागका र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । साथै ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन र विभागको सूचनामा अद्यावधिक रहन आग्रह गरेको छ ।
उपत्यकामा १९ प्रतिशतले घट्यो ट्राफिक दुर्घटना
काठमाडौं । काठमाडौं उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले दुर्घटना न्यूनीकरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले अपनाएको सतर्कता, प्रभावकारी ट्राफिक व्यवस्थापन र जिम्मेवारीपूर्ण कार्यसम्पादनको सकारात्मक प्रभाव परेको बताए । ‘दुर्घटना हुनु आफैमा दुखद् हो तर सडक नियमको पालाना आफ्नै सुरक्षाको लागि हो भन्ने महसुस सबै सडक प्रयोग कर्ताहरूले गर्नुभयो भने नतिजा सकारात्मक नै आउँछ । त्यसैले ट्राफिक नियमको पालानाप्रति सबै नागरिक जिम्मेवार बन्नुपर्दछ ’, उनले भने । उनका अनुसार वर्षभरिका दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा धेरै दुर्घटना गत शुक्रबार भएको देखिएको छ । ‘शुक्रबार एक हजार १०३ वटा दुर्घटना भएका छन् । त्यसैगरी सबैभन्दा कम दुर्घटना बुधबार भएको छ, जहाँ ६४५ वटा दुर्घटना भएका छन् ’, सुवेदीले भने । ट्राफिक प्रहरीले सडक सुरक्षामा सुधार ल्याउन चालक र पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्णपालना गर्नुपर्नेमा जोड दिएको छ ।
अब २४ घण्टामै कोलकाताबाट विराटनगर सामान आइपुग्ने, सुरु भयो रेल सेवा
काठमाडौं । भारतको कोलकाता बन्दरगाहबाट नेपालको विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) सम्मको प्रत्यक्ष बल्क तथा कन्टेनर कार्गो रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । मङ्गलबार आईसीपी परिसरमा आयोजित उद्घाटन समारोहमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीसहित संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । मोरङ-सुनसरी औद्योगिक करिडोरका उद्योगी-व्यवसायीहरूले लामो समयदेखि देख्दै आएको सपना र संघको झन्डै एक दशक लामो निरन्तर पहलपछि यो ऐतिहासिक उपलब्धि हासिल भएको हो । विराटनगर आईसीपी यार्डसम्म रेलमार्ग जोड्न करिब तीन वर्षअघि नै पूर्वाधार निर्माण भई परीक्षणसमेत भइसकेको थियो । तर, साविकको नेपाल-भारत व्यापार तथा ट्रान्जिट सन्धिमा कोइला, क्लिंकर, मल र नुन गरी चार वटा वस्तु मात्र ल्याउन पाउने सीमितताका कारण यो सेवाले निरन्तरता पाउन सकेको थिएन । त्यसपछि संघको दोस्रो चरणको तीव्र पैरवी र दुवै देशका सरकारको कूटनीतिक प्रयासबाट नीतिगत तथा कानुनी जटिलताहरू फुकाइएपछि सबै प्रकारका औद्योगिक कच्चा पदार्थ ल्याउन पाउने गरी यो सिधा रेल सेवा सुरु भएको हो । रेलमार्फत सामान आयात गर्दा सडक मार्गको तुलनामा ढुवानी खर्चमा ३५ देखि ४० प्रतिशतसम्म बचत भई उत्पादन लागत घट्नेछ । साथै, पहिले ५ देखि ७ दिन लाग्ने ढुवानी समय अब २४ देखि ७२ घण्टामै सीमित हुनेछ । विद्युतीय कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस) का कारण सामान सुरक्षित रहने, बाटोमा हुने चोरी र क्षतिको जोखिम अन्त्य हुने तथा विलम्ब शुल्क (डेमरेज) घट्ने जस्ता बहुआयामिक लाभ नेपाली उद्योगी-व्यवसायीलाई प्राप्त हुनेछ । आगामी दिनमा यस भेगका उत्पादनहरू तेस्रो मुलुक तथा भारततर्फ निर्यात गर्नसमेत सस्तो र छिटो भई नेपाली उद्योगहरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता सुदृढ हुने विश्वास लिइएको छ ।
ईभी 'प्रोटोन इमास फाइभ' सार्वजनिक गरेसँगै जगदम्बा मोटर्सको नेटवर्क विस्तार, अब भक्तपुरबाट पनि सेवा
काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षित ईभी प्रोटोन इमास फाइभ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो शोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ । यसैक्रममा जगदम्बा मोटर्सले मंगलबारदेखि भक्तपुरको राधे-राधेमा अत्याधुनिक सुविधासम्पन्न शोरुम तथा सर्भिस सेन्टर उद्घाटन समारोहमार्फत औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ । भक्तपुरको यो नयाँ शोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन शोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ । नेपालमा ग्राहक-केन्द्रित भई अग्रणी विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित शोरुम र सर्भिस सेन्टर विस्तार योजना सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिका अनुसार प्रोटोन ब्रान्डप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभरका ग्राहकमाझ प्रोटोनको उत्पादन तथा सेवाको सहजै पहुँच पुर्याउन सेवा शाखा विस्तार अभियान अघि बढाइएको हो । भक्तपुर शाखा सञ्चालनसँगै आगामी हप्तादेखि नै मोफसलका थप तीन सहरहरू वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा आधिकारिक रूपमा नयाँ शोरुमहरू शुभारम्भ गरिने जगदम्बा मोटर्सले जनाएको छ । यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ वटा स्थानहरूबाट सेल्स तथा सर्भिस सेवा प्रवाह गर्दै आएको थियो । अब ग्राहकहरूले हालै सञ्चालनमा आएको भक्तपुर शाखाका साथै देशभरका अन्य शाखाहरूबाट प्रोटोनका सवारी साधन खरिद तथा मर्मतसम्भार (सेल्स र सर्भिस) सम्बन्धी सम्पूर्ण सेवाहरू सहज रूपमा लिन सक्नेछन् । जगदम्बा मोटर्सले सन् २०१८ बाट नेपाली ग्राहकहरूमाझ प्रोटोन ब्रान्डका नयाँ सवारी साधन आधिकारिक रूपमा बिक्री गर्दै आएको छ । मलेसियाको अग्रणी राष्ट्रिय सवारी ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारीमार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ । हाल प्रोटोन इमास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ । यस ब्रान्डले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ ।
बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कास्कीले सेवाग्राहीको चाप बढेपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहान आठ बजेदेखि नै सुरु गर्ने भएको छ । बुधबारदेखि लागु हुने गरी उक्त सेवा प्रवाहका लागि समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । सेवाग्राहीले सार्वजनिक बिदाका दिनबाहेक हरेक बिहान आठ बजेदेखि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी प्राप्त गर्ने उनले बताए । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्न प्रयोग हुने ‘सफ्टवेयर अपग्रेड’ हुने क्रममा रहेकाले उक्त सेवा सुस्त हुने र कहिले अवरुद्धसमेत हुने समस्या देखिँदै आएको कार्यालयले जनाएको छ । जसका कारण समयमा सेवा प्रवाह हुन नसकी कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएको हो । कार्यालयले मङ्गलबार सार्वजनिक सूचनामार्फत विगतमा तस्बिर खिचाएर बायोमेट्रिक दिएका सेवाग्राहीलाई राष्ट्रिय परिचय आएकोबारे मोबाइलमा सन्देश आएपछि मात्र कार्यालयमा आउन आग्रह गरेको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि कार्यालयले जारी गर्ने आधिकारिक सूचना हेरेर मात्र कार्यालयमा आउन सेवाग्राहीलाई अनुरोध गरिएको हो ।
शिक्षा सुधारमा निजी क्षेत्रको सहकार्य अपरिहार्य: शिक्षामन्त्री पोखरेल
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको नीतिगत तथा संरचनागत सुधारका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाइने बताएका छन् । मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन–प्याब्सन), प्याब्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (एपिइएन) लगायत निजी विद्यालयसँग सम्बन्धित विभिन्न संघ-संस्थाका पदाधिकारी तथा प्रतिनिधिसँग भएको छलफलमा मन्त्री पोखरेलले यस्तो धारणा व्यक्त गरे । छलफलमा विद्यालय शिक्षाको वर्तमान अवस्था, निजी विद्यालयले भोगिरहेका चुनौती, गुणस्तरीय शिक्षा प्रवद्र्धन, नीतिगत सुधार, विद्यालय शिक्षा ऐन तथा शिक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत कुराकानी भएको थियो । मन्त्री पोखरेलले शिक्षा क्षेत्रको नीतिगत र संरचनागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै नीति निर्माण तथा निर्णय प्रक्रियामा निजी क्षेत्रका सरोकारवालाको सहभागिता सुनिश्चित गरिने बताए । सरकार र निजी क्षेत्रबीच समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउँदै शिक्षा सुधारका कार्यक्रम अघि बढाइने उनको भनाइ थियो । “हामी निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न सकारात्मक छौं । सरकारका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहनेछ,” मन्त्री पोखरेलले भने । उनले विद्यालय शिक्षा ऐनलाई दीगो, व्यवहारिक र दीर्घकालीन बनाउने उद्देश्यका साथ निजी क्षेत्रसँग निरन्तर परामर्श र सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे । साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क हटाउने विषयमा आफूले सुरुदेखि नै पहल गरेको उल्लेख गर्दै सरकारको पछिल्लो निर्णयले शिक्षा क्षेत्रलाई राहत पुगेको बताए । मन्त्री पोखरेलले छात्रवृत्ति वितरण प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सुधारका काम अघि बढाइरहेको जानकारी पनि दिए । शिक्षा मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले शिक्षा क्षेत्रको नीति, योजना र कार्यान्वयनमा निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने सरकारको प्रतिबद्धता दोहोर्याए । उनले विद्यालय शिक्षा ऐन शीघ्र ल्याउन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि निजी क्षेत्रको रचनात्मक सहयोग आवश्यक पर्ने बताए । छलफलमा सहभागी निजी विद्यालयका प्रतिनिधिहरूले शिक्षा क्षेत्रका नीतिगत विषयमा सरकारसँग प्रत्यक्ष संवाद गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गर्दै यस्ता छलफललाई नियमित बनाउन आग्रह गरे । उनीहरूले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता शुल्क हटाउने सरकारको निर्णयको स्वागत गर्दै शिक्षा क्षेत्रको सुधारका लागि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्रालयका अनुसार पछिल्लो समय शिक्षामन्त्री पोखरेलले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकाय, शैक्षिक संस्था तथा प्रतिनिधिसँग निरन्तर संवाद गर्दै उनीहरूका सुझावका आधारमा नीतिगत सुधार र आवश्यक समन्वयलाई तीव्रता दिँदै आएका छन् ।
कृषिमन्त्री चौधरी र उद्योगमन्त्री कुमारीबीच अन्तर मन्त्रालय कार्यमा समन्वयबारे छलफल
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीबीच दुवै मन्त्रालयका सम्बन्धित काममा प्रभावकारी समन्वय गर्ने विषयमा छलफल भएको छ । कृषि मन्त्रालयमा मंगलबार (आज) भएको भेटमा उनीहरूबीच अन्नबालीको न्यूनतम् समर्थन मूल्य निर्धारणपश्चात मूल्य कार्यान्वयन र अनुगमनका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतको एफसिसीएआईबीच भएको पारस्परिक मान्यता सम्झौतालाई चियामा समेत लागू गराउने विषयमा नेपाल-भारतबीच व्यापार तथा पारवहन अन्तरसरकारी समितिमार्फत पहल गर्ने विषयमा समेत छलफल भएको थियो । मन्त्री चौधरीले कृषि क्षेत्रको उत्पादनलाई उद्योगसँग जोड्नु पर्नेमा जोड दिइन् । झापा आसपास रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामलाई चिया भण्डरणका लागि प्रयोग गर्ने व्यवस्था मिलाउने, महावाणिज्य दूतावासहरूमार्फत नेपाली चियाको प्रवद्र्धन गर्ने, चिया ‘अक्सन’मा चिया उत्पादक तथा अन्तरराष्ट्रिय खरिदकर्ताहरूलाई आकर्षण गराउन आवश्यक वित्तीय एवं नीतिगत सुविधा उपलब्ध गराउन पहल गर्ने विषयमा छलफल भएको थियो । कृषिजन्य उत्पादनको व्यापारमा देखिएको कालोबजारी नियन्त्रण, किसानले उचित मूल्य नपाएको अवस्थामा कृषि थोक बजार तथा अन्य बजारहरूमा तत्काल अनुगमन गर्नुपर्ने विषय मन्त्री चौधरीले राखिन् । मन्त्री चौधरी र मन्त्री कुमारीबीच केरा, गोलभेँडा, आलुलगायतका उपज आयातमा निरुत्साहित गर्न समन्वय गर्ने विषयमा छलफल भएको थियो । यसका साथै, विश्व व्यापार सङ्गठनअन्तर्गत कृषि क्षेत्रसँग सम्बन्धित सम्झौता, दायित्व तथा व्यापार सहजीकरणका विषयमा प्राविधिक क्षमता अभिवृद्धि, अध्ययन, नीति सुधारलगायत विषयमा छलफल भएको छ ।