विकासन्युज

गार्डियन माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले प्रति सेयर १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।  

यी हुन् बेरुजु शून्य भएका स्थानीय तह

काठमाडौं । आर्थिक वर्ष २०७९र८० मा पाँचथरको याङवरक गाउँपालिकासहित ५ स्थानीय तहको बेरुजु शून्य देखिएको छ ।​​ याङवरकसँगै काभ्रेपलान्चोकको महाभारत, ताप्लेजुङको पाथीभरा याङवरक र धादिङको बेनीघाट रोराङको बेरुजु शून्य देखिएको हो ।​​​​​ महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा ती स्थानीय तहको बेरुजु नभएको उल्लेख छ । कार्यालयका अनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय तहको लेखापरीक्षण गरिएकामा पाँच तहका शून्य बेरुजु देखिएको छ । महाभारत गाउँपालिकामा उक्त आर्थिक वर्षा १ अर्ब २५ करोड ४४ लाख ६२ हजार रुपैयाँको लेखापरीक्षण भएको थियो । अघिल्लो आर्थिक वर्ष अर्थात् ०७८र७९ मा गरिएको लेखापरीक्षणमा शून्य दशमलव २६ प्रतिशत बेरुजु देखिएको थियो । गाउँपालिकामा अध्यक्ष कान्छाला जिम्बाले अघिल्लो वर्ष केही बेरुजु देखिएपछि शून्यता कायम गर्न विकास बजेटलाई सही सदुपयोग गरिएको बताए । उनले भने, ‘बेरुजु शून्यमा झार्नु पनि गौरवको विषय हो, शतप्रतिशत विकास हो ।’ महाभारत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा ‘अति दुर्गम’ मा सूचीकृत गाउँपालिका हो । काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा महाभारतपछि पनौती नगरमा कम देखिएको छ । उसको शून्य दशमलव २२ प्रतिशत बेरुजु देखिएको हो । पनौती नगरको २ अर्ब ६६ करोड रुपैयाँको लेखापरीक्षण भएको थियो । यसैगरी रोशी गाउँपालिका शून्य दशमलव ६६ प्रतिशत बेरुजु देखिएको छ भने भुम्लु गाउँपालिकामा सबैभन्दा धेरै चार दशमलव २३ प्रतिशत बेरुजु देखिएको छ । उक्त गाउँपालिकाभन्दा दोस्रो धेरै बेरुजु देखिनेमा ३ दशमलव २६ प्रतिशतको नमोबुद्ध नगरमा रहेको छ । त्यस्तै ०७८र७९ मा गरिएको लेखापरीक्षणमा खानीखोला गाउँपालिकाको एक दशमलव १९, बनेपा नगरको एक दशमलव ०२ प्रतिशत, बेथानचोक गाउँपालिकाको एक दशमलव २१ प्रतिशत, मण्डनदेउपुरमा एक दशमलव ४२, धुलिखेल नगरमा एक दशमलव ६३ प्रतिशत, चौरीदेउराली गाउँपालिकामा एक दशमलव ७९ र पाँचखाल नगरको एक दशमलव ९९ प्रतिशत बेरुजु देखिएको हो ।

बंगलादेशमा छात्रवृत्तिमा नाम काटिएका विद्यार्थीले पनि पढ्न पाउँछन् : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बंगलादेशमा छात्रवृत्तिमा एमबिबिएस र बिडिएस अध्ययनको लागि सरकारले सिफारिस गरेका विद्यार्थीहरुले पढ्न पाउने अवस्था बनेको बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले एमबिबिएस र बिडिएस पढ्न बंगलादेशमा सिफारिस गरिएका विद्यार्थीहरुमध्ये केहीको नाम काटिएर आएको समस्याको समाधान भएको बताएकी हुन् । बंगलादेशले दिने २२ जनाको कोटामा सरकारले सिफारिस गरेकोमध्ये १२ जनामात्रै विद्यार्थी छानिएको भनि बंगलादेश सरकारले नतिजा प्रकाशित गरेको थियो । त्यसमध्ये १० जनाको नाम नतिजामा नआएपछि यस सन्दर्भमा सम्बन्धित विद्यार्थी, संसदीय समिति तथा सरकारको सरोकारवाला निकायले चासो देखाएका थिए । यस सम्बन्धमा जानकारी दिँदै मन्त्री श्रेष्ठले बाँकी रहेका १० जनामध्येका ८ जनाले पढ्न पाउने भएको जानकारी गराएका हुन् । अन्य २ जनाले भने बंगलादेशमा आवेदन भरेको नदेखिएकाले पढ्न नपाउने उनले बताइन् । समिति बैठकमा बोल्दै उनले भनिन् – ‘२२ जनाको लागि जि टु जीको कोटा थियो । बंगलादेशले दिने वेब लिंक उहाँहरुले पब्लिकली राख्नुभएको रहेछ । दुई जनाले त्यसबाट अप्लाइ गर्नुभएको रहेनछ । हामीले सेलेक्ट गरेर पठाएकाहरु २ जनाले एप्लाइ गर्नुभएको रहेनछ । पहिले १२ जना छानिनुभएको थियो । ८ जना अन्यले पनि पढ्न पाउने भएछन् । १६ जनामध्ये बंगलादेशले हामीले यो तरिकाले छान्यौँ भनेर बंगलादेशले लेखेको छ ।’ मन्त्री श्रेष्ठले एमबिबिएस दोस्रो सेमेस्टरमा ब्यारियरमा परेका विद्यार्थीहरुको सम्बन्धमा आफूले उपकुलपतिसँग कुरा गर्ने र तत्पश्चात केही निर्णय गर्न सकिने बताइन् ।

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस – २०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाई वितरण कार्यक्रम सम्पन्न गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा दर्शन गर्न आएका करिब पच्चिस सय भक्तजनहरुका लागि पिउने पानी तथा मिठाई वितरण गरिएको बैंकले जनाएको छ । त्यसैगरि बैंकको धनगढी शाखाद्वारा धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ लाई एक लाख पचास हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बिचैमा पढाई छोड्न नपरोस् भनेर स्थापना गरिएको नगरप्रमुख शैक्षिक सुधार कोष मार्फत विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो । बैंकको सुदुरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उल्लेखित कार्यक्रम सँगसगै बैंकको नारायणगढ शाखाद्वारा देवघाटधाम, तनहूँमा अवस्थित गलेश्वर आश्रमलाई तिन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्घेश्वर शिव मन्दिर निर्माण गरिसकेको तर आर्थिक अभावका कारण मन्दिर प्राङ्गणमा नेपाली ढुङ्गा बिच्छाउने कार्य बाँकी रहेकाले सो कार्य सम्पन्न गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो । बैंकको बाग्मती प्रदेश ‘ख’ प्रमुख शम्भु प्रसाद पराजुलीले गलेश्वर आश्रमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

व्यवसायीलाई साढे ३ खर्ब छुट, निर्यात नबढेपछि नीति पुनरावलोकनको सुझाव

काठमाडौं । उद्योगी व्यवसायीहरूले नेपालबाट विदेश वस्तु तथा सेवा पैठारी गर्दा साढे ३ खर्ब बढी छुट पाएका छन् । कुनै पनि वस्तु तथा सेवा निर्यात गर्दा सरकारले प्रचलित कानुनबमोजिम लगाएको दस्तुर, शुल्क, महसुल वा करको दर घटाउन बढाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छुट दिन सक्ने व्यवस्था गरिएको छ । सोही बमोजिम उद्योगी व्यवसायीहरूले ५ वर्षको अवधिमा वस्तु तथा सेवा निर्यात गर्दा सरकारबाट ३ खर्ब ४१ अर्ब ७४ करोड ४३ लाख छुट पाएका हुन् । भन्सार विभागको आसिकुडाको तथ्यांकअनुसार भन्सार राजस्वतर्फ आर्थिक वर्ष २०७९/८० मा ९९ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ४१ अर्ब २४ करोड रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा ४४ अर्ब २१ करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा ३५ अर्ब ६ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँ छुट दिएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । यसमा प्रदेश तथा स्थानीय तह र आन्तरिक राजस्व विभागले दिएको छुटको रकम समावेश उल्लेख गरिएको छैन । राजस्व छुट वर्सेनि बढ्दो क्रममा रहेकाले सोमा पुनरावलोकन हुनु पर्ने महालेखापरीक्षकले औँल्याएको छ । राजस्व छुट दिन सक्ने व्यवस्थामा क्रमशः सुधार हुँदै गए तापनि वस्तु तथा सेवाको पैठारीमा लाग्ने महसुल दरमा दिने छुट र द्रष्टव्य, अनुसूची तथा पटके निर्णयका आधारमा दिने छुटको दायरा बढेको देखिएको छ । सार्क मुलुकबाट उत्पादित सामानहरू प्रतितपत्र खोली दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत प्रमाणपत्र संलग्न गरेर पैठारी भएमा वि.सं २०६२ पुस १७ गते कायम रहेको भन्सार महसुल दरमा निश्चित प्रतिशतले भन्सार महसुल छुट दिने व्यवस्था भएको थियो । यस्तो व्यवस्था लागु भएको १८ वर्ष व्यतीत भइसकेको छ । मन्त्रालयबाट प्राप्त विवरण अनुसार साफ्टाको सुविधा उपयोग गरी २०७९/८० मा विभिन्न व्यवसायीले प्लाष्टिक ग्रेनुअल, स्टिल पाता, ग्लासवेयर, प्राइमरी रेजिन, ग्लास बोतल, फलाम वा अमिश्रित स्पातका एङ्गल, सोयाबिन मिल, प्रिफेब्रिकेटेड हाउस लगायतका सामान पैठारी गर्दा भन्सार महसुल ९ अर्ब २१ करोड ७३ लाख रुपैयाँ र मूल्य अभिवृद्धि कर १ अर्ब १९ करोड ८२ लाख रुपैयाँ गरी १० अर्ब ४१ करोड ५५ लाख रुपैयाँ राजस्व छुट पाएका छन् । सरकारले साफ्टा छुटमा कच्चा पदार्थ तथा पार्टपुर्जालगायतका वस्तुहरू पैठारी गरी सोबाट स्वदेशमा उत्पादन वृद्धि गरेर तयारी मालवस्तु निकासी गरी तुलनात्मक रूपमा फाइदा लिन सकेको छैन । साफ्टा छुटबाट फाइदा लिन स्वदेशी उत्पादन वृद्धि गरी निकासी प्रवर्द्दनमा जोड दिनुपर्ने बताइएको छ । वैदेशिक सहायतामा सञ्चालन हुने आयोजनामा निर्माण कार्यका लागि सम्झौतामा व्यवस्था भएबमोजिम पैठारी हुने निर्माण सामग्री तथा उपकरणमासरकारको निर्णयबाट भन्सार महसुल, कर तथा शुल्क छुट दिने व्यवस्था छ । सोही बमोजिम २०७९ फागुनसम्म मन्त्रालय, विभाग, स्थानीय तह, संस्थानहरू र निर्माण व्यवसायीहरूलाई आर्थिक ऐन, २०७९ को दफा २ बमोजिम पैठारी मूल्य २७ अर्ब ८४ करोड १८ लाख रुपैयाँमा ५ अर्ब ४३ करोड ४९ लाख रुपैयाँ र दफा ३ बमोजिम पैठारी मूल्य २४ अर्ब ५ करोड ६८ लाख रुपैयाँमा ४ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ छुट दिएको विवरण मन्त्रालयगत प्रगति प्रतिवेदनमा उल्लेख छ ।

बीपीसीले आँधिखोला वितरण केन्द्रअन्तर्गतको विद्युत महसुल बढाएपछि स्थानीयकाे विराेध

काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) ले विद्युत महसुल वृद्धि गरेपिछ निर्णय गरेपछि स्थानीयले विरोध गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिकामा उत्पादन तथा वितरण केन्द्र रहेको बुटवल पावर कम्पनीले  विद्युत महसुल वृद्धि गरेपछि स्थानीयले संघर्ष समिति बनाएर महसुल वृद्धिकाे विरोध गरेका हुन् । संघर्ष समितिले मंगलबार  रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै स्थानीय तथा सरोकारवालाको विरोधका बीच विद्युत नियमन आयोगले महसुल वृद्धि गरेपछि विराेध गर्नुपरेकाे बताएकाे छ । अहिले भएकाे वृद्धिदरअनुसार २० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकका लागि हालको न्यूनतम प्रतियुनिट २ रुपैयाँबाट बढाएर २.९० पैसा पुर्‍याइएको छ भने २५० युनिट बढी खपत गर्ने ग्राहकका लागि प्रतियुनिट १० रुपैयाँ ३० पैसा तोकिएको छ । तर, यो महसुल दर विद्युत प्राधिकरणको न्यूनतम खपतमा लिइनेभन्दा सस्तो भएको बीपीसीको भनाइ छ । ग्रामीण क्षेत्रको अवधारणा लिएर २०४९ सालमा आधिखोला केन्द्रको नाममा स्थापना भएको परियोजना पछि आएर बुटवल पावर कम्पनी बनेको थियो । स्थानीयको साझेदारीमा काम गर्ने र स्थानीयलाई सेवा सुविधा दिने उद्देश्यले स्थापना भएको परियोजना पछिल्लो समयमा घाटामा गएको भन्दै जबर्जस्ती विद्युत महसुल बढाउन लागेपछि जनप्रतिनिधिदेखि स्थानीयले त्यसको विरोध गरेका छन् । सरकारले पछिल्लो समयमा २० देखि ५० युनिटसम्म विद्युत महसुस निशुल्क गर्न लागेको समयमा जनताको ढाड सेक्नेगरी ६५ प्रतिशतसम्म विद्युत महसुस वृद्धि गरेपछि स्थानीय सरकारदेखि सांसदसम्म सबै एक भएर यसको विरोधमा उत्रिनुपरेकाे स्थानीयकाे भनाइ छ । कार्यकाल सकिन लागेको अघिल्लो दिन तत्कालीन अध्यक्ष दिल्लीबहादुर सिंहले जबर्जस्ती विद्युत महसुल बढाउने निर्णय गरेपछि स्थानीयहरूले आयोगका पदाधिकारी आर्थिक चलखेलको आरोपसमेत लगाउँदै आएको बताएका छन् । ‘उपभोक्ता नभएको ठाउँमा सार्वजनिक सुनुवाइ गरेर विद्युत नियमन आयोगले स्थानीयलाई झुक्याएको हाम्रो ठहर छ, वृद्धि भएको मूल्य फिर्ता नभएसम्म सबै प्रकारका आन्दोलन गर्न हामी तयार छौं, यसै सन्दर्भमा शुक्रबार विद्युत नियमन आयोगको कार्यालय सानो गौचरन पुगे ध्यानाकर्षण पत्र समेत बुझाएका छौं, हाम्राे माग बेलैमा सम्बाेधन गरेर बेलैमा थप क्षति हुनबाट राेक्न सम्बन्धित निकाएकाे ध्यानाकर्षण गराउँछाैं,’ विज्ञप्तिमा उल्तलेख छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष बरालले लिए शपथ

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष महेश बरालले शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय जीवन बीमा कम्पनीका नवनियुक्त अध्यक्ष महेश बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा सोमबार राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नवनियुक्त अध्यक्ष बराललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लाल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश रिमाल लगायत पदाधिकारीहरूको उपस्थित थियो ।

डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरी सेवा प्रवाह गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको डिजिटल पाटोबाट क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताए । अध्यक्ष सिलवालले भने, ‘संसारमैं डिजिटलाइजेशन तीब्र गतिमा अघि बढिरहेको छ, नवीनतम् प्रविधिलाई अवलम्बन गर्नै पर्छ, पेशागत बीमा अभिकर्ता सङ्घलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ, सङ्घले नै आफ्ना सदस्यहरूलाई डिजिटल प्रविधिका बारेमा सिकाउनुपर्छ, आचारसंहिता पालना गर्न लगाउनुपर्छ, अभिकर्तालाई बलियो बनाउन सङ्घले नेतृत्व लिनुपर्छ ।’ बीमा मार्फत प्रत्येक व्यक्तिको आर्थिक सुरक्षण, बीमितको हित र बीमा व्यवसायको विश्वसनीयता अभिवृद्धिका लागि सामूहिकरूपमा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा ऐन, नियम, निर्देशिका र मार्गदर्शनको सबैले पालना गर्नुपर्छ, आ–आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्छ, बीमितको हितलाई ध्यान दिनुपर्छ, राम्रोलाई राम्रो, खराबलाई खराब भन्न सक्नुपर्छ, अभिकर्तालाई कसैले विस्थापित गर्दैन, काम नगरे आफै विस्थापित हुन्छन् ।’ अध्यक्ष सिलवालले बीमा अभिकर्तालाई आइपर्ने समस्या छलफलबाट समाधान गर्न प्राधिकरण खुला रहेको उल्लेख गर्दै बीमा सम्बन्धी काम कार्यवाहीका सम्बन्धमा सुझाव दिन बीमा अभिकर्ताहरूलाई आग्रह गरे । नेपाल बीमा प्राधिकरण, संचालक समितिका सदस्य कपिल देव ओलीले बीमा ऐन, नियम तथा निर्देशिका र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समग्र बीमा क्षेत्रलाई अगाडि बढाउन सम्बद्ध सबै लाग्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमा अभिकर्ता सम्बन्धी कानूनी व्यवस्था, अनलाइन परीक्षा प्रणाली, बीमालेख बिक्री गर्दा देखिएका समस्याहरू लगायतका विषयमा प्रस्तुती गरे । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा व्यवसायको प्रवद्र्धन र बीमाप्रतिको विश्वसनीय अभिवृद्धिमा बीमा अभिकर्ताको भूमिका महत्वपूर्ण रहँदैआएको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले प्राधिकरणले जारी गरेको डिजिटल बीमालेख निर्देशन बीमा अभिकर्तालाई अप्ठ्यारो पार्न नभई अभिकर्तालाई विश्वसनीय बनाउन, बीमा प्रक्रियालाई सरल बनाउन र बीमाको पहुँच बढाउन भएको स्पष्ट गरे । कार्यक्रममा नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक पौडेल र पेशागत बीमा अभिकर्ता सङ्घका महासचिव ओम के.सी. ले बीमा अभिकर्ताका काम, विद्यमान समस्या र समाधानका उपाय लगायतका विषयमा छुट्टाछुट्टै प्रस्तुती गरिएको थियो । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गरेको कार्यक्रममा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र पेशागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।