एनआरएनए आईसीसीको सल्लाहकारमा अर्जुन श्रेष्ठ मनोनीत
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्व उपाध्यक्ष अर्जुन श्रेष्ठ आईसीसीको सल्लाहकारमा मनोनीत भएका छन् । एनआरएनएले श्रेष्ठलाई संस्थामा पुर्याएको योगदान र अनुभवलाई मूल्याङ्कन गर्दै सल्लाहकारको जिम्मेवारी दिएको हो । श्रेष्ठ एनआरएनएमा लामो समयदेखि सक्रिय छन् । उनी सन् २००९ देखि २०१३ सम्म लगातार दुई कार्यकाल केन्द्रीय सदस्य रहे । त्यसपछि सन् २०१३ देखि २०१५ सम्म युरोप संयोजक बने । सन् २०१५ देखि २०१७ सम्म उनले सचिवको जिम्मेवारी सम्हाले । त्यसपछि सन् २०१९ देखि २०२१ सम्म आईसीसीको उपाध्यक्षका रूपमा काम गरेका थिए । व्यवसायीसमेत रहेका श्रेष्ठ बेल्जियम र नेपालमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । बेल्जियममा होटल व्यवसायमा आबद्ध उनी नेपालमा औषधि उद्योग क्षेत्रमा सक्रिय छन् ।
घुस लिएर जग्गामा लगानी, श्रीमतीको नाममा कारोबार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले पदमा रहँदा विभिन्न निर्माण कम्पनीलाई अर्बौं रुपैयाँका ठेक्कापट्टा दिलाएबापत घुस लिई सो रकम आफ्नी श्रीमतीको नाममा जग्गा खरिदमा लगानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध १ करोड ७१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन तथा तहीकरण (सम्पत्ति शुद्धीकरण) को कसुरमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अख्तियारको अनुसन्धान अनुसार अधिकारी क्यानको सिभिल इन्जिनियर (सातौं तह) देखि महानिर्देशकसम्मको पदमा रहँदा ’उमा एण्ड कम्पनी प्रा.लि.’ (जेभी समेत) लाई ३ अर्ब ८ करोड ५७ लाख रुपैयाँभन्दा बढी र ठेकेदार प्रेम प्रकाश ढकाल प्रमुख रहेको ‘गायत्री निर्माण सेवा’ लाई १ करोड ११ लाख रुपैयाँभन्दा बढीका ठेक्कापट्टा पारेको अभियोगपत्रमा उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, गौतमबुद्ध, जनकपुर, रारा, कालिकोट तथा नलीनचोक हेलिपोर्ट लगायतका विभिन्न राष्ट्रिय आयोजनाका बोलपत्र स्वीकृत गर्ने र सहजीकरण गरिदिएबापत उनले ठेकेदारहरूसँग १ करोड ७१ लाख रुपैयाँ घुस लिने सम्झौता गरेको खुलेको छ । अधिकारीले भ्रष्टाचारबापतको घुस सोझै नलिई सम्पत्ति शुद्धीकरण गर्ने नियतले आफ्नी श्रीमती सुफल के.सीको नाममा जग्गा खरिद गर्न प्रयोग गरेको अनुसन्धानमा देखिएको छ । ललितपुर महानगरपालिका वडा नं. ५ स्थित १३ आना (कि.नं. २२४) जग्गा जग्गाधनी रजनी श्रेष्ठबाट श्रीमतीको नाममा पास गर्दा जग्गाधनीका श्रीमान् सूर्य ताम्राकारको बैङ्क खातामा ठेकेदारहरूका खाताबाट सोझै रकम जम्मा गर्न लगाइएको उल्लेख छ । २ करोड ७५ लाख रुपैयाँमा तय भएको उक्त जग्गा खरिदमा राजस्व छलछाम र गैरकानुनी रकम लुकाउने उद्देश्यले लिखतमा भने ९१ लाख रुपैयाँ मात्र थैली कायम गरी मालपोत कार्यालयबाट रजिष्ट्रेशन पास गराइएको अभियोगपत्रमा उल्लेख छ । बैंक स्टेटमेन्ट र बयानका क्रममा जग्गाधनीका श्रीमान सूर्य ताम्राकारको खातामा उमा एण्ड कम्पनीको खाताबाट ५ लाख, सञ्चालक वासु खड्काको खाताबाट ४० लाख, सञ्चालकहरूको संयुक्त खाताबाट ४७ लाख, कर्मचारी राजन खड्काको खाताबाट १२ लाख र सञ्चालक प्रेम प्रकाश ढकालको खाताबाट २२ लाख रुपैयाँ दाखिला भएको उल्लेख छ । उमा एण्ड कम्पनीका सञ्चालकहरू वासु खड्का र ध्रुव प्रसाद तिमल्सिनाले क्यानको ठेक्कापट्टामा सहजीकरण गरिदिएबापत अधिकारीले भनेकै बैंक खातामा एकाउन्ट पेयी चेक काटेर रकम दिएको अख्तियारसमक्ष स्वीकारेका छन् । यस प्रकरणमा अख्तियारले तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, उमा एण्ड कम्पनीका सञ्चालक प्रेम प्रकाश ढकाल र गायत्री निर्माण सेवालाई प्रतिवादी बनाएको छ । अधिकारीकी श्रीमती सुफल के.सी नेपाली सेनामा कार्यरत रहेकाले निजको हकमा संविधानको धारा २३९ र सैनिक ऐन, २०६३ बमोजिम आवश्यक कारबाहीका लागि जङ्गी अड्डा (सैनिक प्रहरी गण) मा फिर्ता पठाइएको छ । अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम१ करोड ७१ लाख रुपैयाँ बिगो, बिगो बमोजिम कैद तथा जरिवानाको माग गर्दै गैरकानुनी रूपमा खरिद गरिएको ललितपुरको १३ आना जग्गासमेत जफत गर्न मागदाबी गरेको छ ।
सुनसरी तनाव : हिजोभन्दा आज अवस्था जटिल
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटना थप चर्किएको छ । अहिले पनि विभिन्न ठाउँमा थप झडप आगजनी हुने क्रम रोकिएको छैन । सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र बहादुर खड्काले कोशी क्षेत्रमा रहेको कटान क्षेत्रमा आगजनी भएकाे जानकारी दिए । सडक छेउमा रहेका साना-साना पसलमा आगजनी गरिएको उनले बताए । ‘अहिले प्रहरी तैनाथ भएका छन् । सामान्य अवस्था रहे पनि प्रदर्शनकारीले विभिन्न ठाउँमा प्रदर्शन गर्ने क्रम जारी रहेको छ,’ उनले भने, ‘हिजोको भन्दा आज अवस्था अस्थिर छ । सुरक्षाकर्मी पूर्ण रूपमा सुरक्षा दिन तयारी अवस्थाम छन् ।’ विभिन्न ठाउँमा अहिले पनि झडप भइरहेको खड्काले जानकारी दिए । सामान्य होला भनेको अवस्था झन खराब हुने अवस्थामा पुगेको उनको भनाइ छ । घटना भएदेखि जिल्लामा सुरक्षाकर्मीको संख्या बढाइएको उनले जानकारी दिए । सबै सुरक्षाकर्मी तैनाथी अवस्थामा रहेको उनले उल्लेख गरे । विभिन्न ठाउँमा भइरहेको घटनाले पुनः कर्फ्युको समय थप्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। आइतबार राती शिव भक्तहरूले डिजे बजाएपछि दुई समूह बीच झडप भएको थियो । डिजे बजाउने र मध्यरातमा होहल्ला नगर्न आग्रह गर्ने दुई समूहको विवाद बढेर एक जनाको मृत्यु भइसकेको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हाे । विभिन्न अस्पतालमा ९ जनाकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।
सुनसरीको महेन्द्र राजमार्ग र आसपास क्षेत्रमा अनिश्तिकालीन कर्फ्यु
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले महेन्द्र राजमार्ग र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार अपराह्न साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश आदेश जारी भएको हो । सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्गको चार किल्ला तथा इनरुवा बजार क्षेत्र सीमानाभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यु आदेश जारी भएको छ । पूर्व पकली चोकसम्म, पश्चिम कोसी व्यारेजको पुल, उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म यस्तो आदेश जारी भएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जनाएका छन् ।
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा मंगलबार ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए । रसाइलीले श्रेष्ठको निधन भएको पुष्टि गर्दै उनका पार्थिव शरीरलाई बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए । त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने कार्यक्रम रहेको उनले बताए । श्रेष्ठ नेपाली कांग्रेसका लामो समयदेखि सक्रिय नेता तथा पूर्वउपप्रधानमन्त्री थिए । पार्टी संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा उनले महत्वपूर्ण योगदान दिएका थिए । उनको निधनप्रति कांग्रेसका नेता–कार्यकर्तासहित विभिन्न राजनीतिक दलका नेताहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘आफ्नै कमाइबाट जग्गा किनें, बैंकबाट कारोबार गरें’
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ठेक्का प्राप्ति तथा सहजीकरणका लागि घुस वा रिसवत बापत रकम लिएको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष दिएको बयानमा उनले आफूमाथि लगाइएका आरोपहरू असान्दर्भिक, मनोगत, तथ्यहीन र प्रतिशोधपूर्ण रहेको दाबी गरेका हुन् । उमा एण्ड कम्पनीका सञ्चालक तथा कर्मचारीहरूले क्यानबाट सञ्चालित ठेक्कापट्टामा सहजीकरण गरिदिएबापत अधिकारीको निर्देशनमा सूर्य ताम्राकारको नाममा बैंकमार्फत विभिन्न रकम रकम भुक्तानी गरेको भनी बयान दिएका थिए । सोबारे सोधिएको प्रश्नमा अधिकारीले उक्त विषयहरूसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रस्ट पारेका छन् । अधिकारीका अनुसार ललितपुर महानगरपालिका–५ स्थित कित्ता नम्बर २२४ को १३ आना जग्गा उनका तर्फबाट श्रीमती सुफल केसीको नाममा सरकारी मूल्य अनुसार ९१ लाख रुपैयाँमा खरिद गरिएको हो । उक्त जग्गा खरिदको भुक्तानी बैंकिङ प्रणालीमार्फत नै गरिएको र त्यसको स्रोत दुवै जनाको नोकरीको आम्दानी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, कार्यालयको कल्याणकारी कोष, पूर्व जग्गा बिक्री तथा पारिवारिक वैधानिक आम्दानी रहेको उनले बयानमा उल्लेख गरेका छन् । जग्गाधनी रजनी श्रेष्ठ (ताम्राकार) र उनका श्रीमान् सूर्य ताम्राकारसँग आफ्नो कुनै व्यक्तिगत नजिकको चिनजान नरहेको र करिब ८–९ वर्षअघि टोलमा डेरा गरी बस्ने व्यक्तिको माध्यमबाट जग्गा खरिद–बिक्रीको कुरा अघि बढेको उनले बताएका छन् । उमा एण्ड कम्पनीका सञ्चालकहरू वासु खड्का, ध्रुवप्रसाद तिमल्सिना र कर्मचारी राजन खड्काले ठेक्का सहजीकरणका लागि अधिकारीकै निर्देशनमा सूर्य ताम्राकारको खातामा लाखौं रुपैयाँका चेकहरू काटिदिएको बयान दिएका छन् । यसबारे टिप्पणी गर्दै अधिकारीले भनेका छन्, ‘असम्बन्धित व्यक्तिहरूबीच भएको आन्तरिक वा आपसी आर्थिक कारोबारको विषयमा मलाई जानकारी हुने कुरा भएन । उनीहरूबीचको कानुनी पक्षको जिम्मेवारी उनीहरू स्वयंको हो । असम्बन्धित व्यक्तिको मनोगत, तथ्यहीन र प्रतिशोधपूर्ण ढङ्गबाट लेखाइएको बयानका आधारमा ममाथि प्रश्न उठाउनु असान्दर्भिक छ ।’ साथै, प्राधिकरणबाट हुने सम्पूर्ण खरिद कार्यहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको नियम, खुला प्रतिस्पर्धा, अनलाइन बोलपत्र र मूल्याङ्कन समिति मार्फत पारदर्शी रूपमा हुने गरेको दाबीसमेत उनले गरेका छन् । वैधानिक स्रोत र बैंकिङ माध्यमबाटै जग्गा खरिद कार्य सम्पन्न भएकाले आफूमाथि कुनै कारबाही हुनुपर्ने आधार नरहेको जिकिर अधिकारीले आयोगसमक्ष गरेका छन् । यस्तो छ अधिकारीको बयान उमा एण्ड कम्पनीका संचालक प्रेम प्रकाश ढकालसंग चिनजान छ । व्यक्तिगत रुपमा मेरो कुनै आर्थिक कारोबार छैन । कामको सिलसिलामा ७/८ वर्ष देखि चिनजान भएको हो । उमा एण्ड कम्पनीका संचालक÷अध्यक्ष वासु खड्का र ध्रुव प्रसाद तिमल्सिनासंग व्यक्तिगत रुपमा नजिकको चिनजान छैन। भेट भैरहने व्यक्ति पनि होइनन् । व्यक्तिगत आर्थिक कारोबार छैन । उमा एण्ड कम्पनीका कर्मचारी राजन खड्कासँग मेरो चिनजान छैन । जिल्ला भक्तपुर साविक भक्तपुर गाउँ पंचायत ५ भई हाल सुर्य विनायक ५ कटुन्जे बस्ने राम बहादुर ताम्राकारको छोरा सूर्य ताम्राकार र निजकी श्रीमती रजनी श्रेष्ठ (ताम्राकार) सँग मेरो व्यक्तिगत रुपमा दुवै जनासँग नजिकको चिनजान छैन । जग्गा खरिदको क्रममा आर्थिक कारोबार भएको छ । मिति २०७५/०३/०४ मा सुर्य ताम्राकारको श्रीमती रजनी श्रेष्ठ (ताम्राकारको) नाममा रहेको जिल्ला ललितपुर, ललितपुर नगर ५ क्ष स्थित कि.नं.२२४, क्षेत्रफल ०-१३-०-० (तेह आना) को जग्गा मेरो श्रीमती सुफल के.सी.को नाममा खरिद गर्दा मालपोत रजिष्ट्रेशन अनुसार रु.९१,००,०००।– (एकानब्बे लाख) मा खरिद गरिएको हो । बैंकिङ्ग कारोबार थैली बराबरको रकम भुक्तानी भएको छ । खरिद प्रकृयाको प्रमाणहरु सम्मानित आयोग समक्ष पहिला नै पेश गरेको छु । उमा एण्ड कम्पनीका संचालक वासु खड्काले यस आयोगसँगको मिति २०८३/०२/०६ गतेको बयानमा नेपाल नागरिक उड्डड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले भने बमोजिम प्राधिकरण तथा मातहत निकायबाट संचालन हुने ठेक्काको प्राप्ति र संचालनमा सहजीकरणको लागि घुस÷रिसवत बापत नेपाल बंगलादेश बैंकको वासु खड्काको आफ्नो नेपाल बंगलादेशमा बैंकमा रहेको खाता नं.५०००१६ को चेक नं.३४७३०८२ बाट रु.४०,००,०००।, उमा एण्ड कम्पनीका कर्मचारी राजन खड्काको नेपाल बंगलादेशमा बैंकमा रहेको खाता नं.५०००२७क्प्को चेक नं.३१११७३४ बाट रु.१२,००,०००।–, वासु/ध्रुब/प्रेम प्रकाशको संयुक्त नाममा रहेको नेपाल बंगलादेश बैंक लि. रहेको खाता नं. ५०००३१ बाट रु.२७,००,०००।– र रु.२०,००,०००।– बराबरका चेकहरु दुईपटक गरी जम्मा रु.४७,००,०००।–, उमा एण्ड कम्पनीको नाम रहेको नेपाल बंगलादेश बैंक लिमिटेडको खाता नं.५०९५२११८ को चेक नं.३१११०६७ बाट मिति २०७५÷०३÷०३ (१७ व्गलभ २०१८) गते रु.५०,००,०००।– तपाई प्रदीप अधिकारीले भने अनुसार सूर्य ताम्राकारको कुमारी बैंक लिमिटेडमा रहेको खाता नं.०१३००२००१५३००००१मा चेक काटिदिएको हो भनि खुलाईदिनुभएको विषय म सँग सम्बन्धित नै छैन । उमा एण्ड कम्पनीका संचालक ध्रुव प्रसाद तिमल्सिनाले यस आयोगसँगको मिति २०८३÷०२÷०५ को बयानमा नेपाल नागरिक उड्डड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले भने बमोजिम प्राधिकरण तथा मातहत निकायबाट संचालन हुने ठेक्काको प्राप्ति र संचालनमा सहजीकरणको लागि नेपाल बंगलादेश बैंकको वासु/ध्रुब/प्रेम प्रसादको संयुक्त खाता नं.५०००३१ को चेक नं.३५६६३९२ बाट मिति २०७५/०३/०१ (१५ जुन २०१८) गते रु.२७,००,०००/– (सत्ताईस लाख) र चेक नं.३५६६३९३ बाट मिति २०७५/०३/०३ (१७ जुन २०१८) गते रु.२०,००,०००.– (बीस लाख) गरी जम्मा रु.४७,००,०००।, प्रदीप अधिकारीले भने अनुसार सूर्य ताम्राकारको कुमारी बैंक लिमिटेडमा रहेको खाता नं.०१३००२००१५३००००१मा चेक काटिदिएको हो भनि खुलाईदिनुभएको विषय मसँग सम्बन्धित छैन । उमा एण्ड कम्पनीका कर्मचारी राजन खड्काले संचालक प्रेम प्रकाश ढकालले भने बमोजिम आफ्नो व्यक्तिगत नेपाल बंगलादेश बैंकमा रहेको खाता नं५०००२७ को चेक नं.३१११७३४ बाट रु.१२,००,०००।– (बाह लाख) निजले भने अनुसार सूर्य ताम्राकारको कुमारी बैंक लिमिटेडमा रहेको खाता नं.०१३००२००१५३००००१मा चेक काटिदिएको हो र उक्त रकम नेपाल नागरिक उड्डड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले भने बमोजिम प्राधिकरण तथा मातहत निकायबाट संचालन हुने ठेक्काको प्राप्ति र संचालनमा सहजीकरणको लागि घुस रिसवत बापतको रहेछ भनि सुनि थाहा पाएँ भनि यस आयोगसँगको मिति २०८३÷०२÷०७ गतेको बयानमा खुलाएको विषय मसँग सम्बन्धित छैन । सुर्य ताम्राकारले यस आयोगसँगको मिति २०८३÷०२÷१९ गतेको बयानमा रजनी श्रेष्ठ (ताम्राकारको) नाममा रहेको जिल्ला ललितपुर, ललितपुर नगरस्थित कि.नं. २२४, क्षेत्रफल ०–१३–०–० (तेह आना) को जग्गा अधिकृत वारेशनामा मार्फत मिति २०७५÷०२÷२७ गते आनाको रु.३०,५०,०००।– (तिस लाख पचास हजार) का दरले बैना गरी फिल्डमा नाप्दा एकीन भए बमोजिमको क्षेत्रफल मान्ने सहमति अनुसार बिक्री गरेको हो । सो बापतको पैसा निजको तर्फबाट उमा एण्ड कम्पनी, उमा एण्ड कम्पनीका संचालकहरु वासु खड्का, प्रेम प्रकाश ढकाल, ध्रुव प्रसाद तिमल्सिना र उमा एण्ड कम्पनीका कर्मचारी राजन खड्का समेतबाट चेक मार्फत प्राप्त गरिसकेको छु भनि खूलाई दिनुभएको विषयमा असम्बन्धित व्यक्तिहरुको बिच भएको कारोबारको विषयमा मलाई जानकारी हुने कुरा भएन र उनीहरु बिचको आपसी कारोबारहरुको कानूनी पक्षहरुको जिम्मेवारी निजहरुको नै हुने हो । जग्गा खरिद गर्दा पारदर्शी हिसाबले आफ्नो स्रोत देखाई बैंकिङ्ग कारोबार मार्फत उक्त जमिन लिईएको हो । सुर्य ताम्राकारको कुमारी बैंक लिमिटेडमा रहेको खाता नं.०१३००२००१५३००००१मा नेपाल बंगलादेश बैंकमा प्रेम प्रकाश ढकालको नाममा रहेको नेपाल बंगलादेश बैंकमा रहेको खाता नं.००५००५१८४७९२ को चेक नं.००००५६५४१७ बाट मिति २०७५÷०३÷०३ (१७ जुन २०१८) मा रु.२२,००,०००÷– (बाईस लाख मात्र) कारोबार मसँग सम्बन्धित छैन । रजनी श्रेष्ठ ताम्राकारको नाममा रहेको कि.न.२२४, को १३ आना जग्गा खरिद गर्दा थैली रकम रु.९१,००,०००।– (एकानब्बे लाख मात्र) बराबरको रकम चेक मार्फत भुक्तानी गरिएको हो । उक्त भुक्तानीको स्रोत दुवै जनाको नोकरीबाट प्राप्त आम्दानी, नागरिक लगानी कोष, कर्मचारी संचयकोष र कार्यालयको कर्मचारी कल्याण कोष, जग्गा बिक्री एवं पारिवारिक आम्दानीबाट बैधानिक रुपमा बैंकमा जग्गा भएको मौज्दात हो । जग्गा धनीसँग मेरो त्यतिवेला चिनजान सम्पर्क केही थिएन । करिब ८–९ वर्ष अगाडी आफ्नो टोलमा डेरा गरी बस्ने ब्यक्ति मार्फत जग्गाको कारोबार भएको हो निजको नाम सम्पर्क हाल थाहा छैन । प्रेम प्रकाश ढकाललाई जग्गा, घर र फर्निसिङ्ग समेतको घर रु.२,५०,००,०००।– मा नियमानुसार थैली कायम गरी रजिष्ट्रेशन पास गरेको हो । जग्गा खरिदको सम्बन्धमा थैली रकम ९१ लाख राखी नेपाल सरकारको प्रचलित ऐन अनुसार बैध स्रोतबाट आर्जित रकम बैंक कारोबार मार्फत खरिद गरिएको हो । विभिन्न मितिमा भएका खरिद कार्यहरु खुल्ला प्रतिस्पर्धा मार्फत सार्वजनिक खरिद अनुगमन कार्यालय सम्बन्धित बिड डकुमेन्ट, अनलाइ खरिद, खरिद इकाई, मुल्याङ्कन समिति मार्फत भएको कार्यहरु हुन् । म सँग असम्बन्धित कारोबारहरु, असम्बन्धित व्यक्तिका मनोगत तथ्यहीन, काल्पनिक, प्रतिशोधपूर्ण परिचालित ढंगबाट लेखाइएको बयानमा समेत भनेको देखिएको भनी व्यहोरा रहेको प्रश्नहरु नै असान्दर्भिक छन् । नेपाल सरकारको प्रचलित कानून अनुसार जिम्मेवार निकायबाट बैधानिक श्रोत मार्फत जग्गा खरिद भएको हुनाले कुनै कारवाही गर्नुपर्ने देखिँदैन । सम्बन्धित सामग्री : प्रदीप अधिकारीलाई १० वर्षको कैद माग, पौने २ करोड बिगो
नेपाली मकैले बजार नपाउँदा सात करोडको भारतीय ‘स्वीट कर्न’ आयात
काठमाडौं । नेपाली कृषकलाई आफ्नो खेतबारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ छ । तीन–चार महिना दुःखजिलो गरेर भित्राएको मकैले उचित मूल्य पाउन सकिरहेको छैनन् । तर, नेपालका होटल तथा रेष्टुरेण्टमा भने छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिएको ‘स्वीट कर्न फ्रोर्जन’ को परिकार खान भने नेपाली ग्राहक मरिहत्ते गरेको देखिन्छ । होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रे नेपालका होटल तथा रेष्टुरेण्टमा ग्राहकको रोजाइमा ‘स्वीट कर्न’ पर्दै आइरहेको बताउँछन् । 'हाम्रै गाउँघरमा प्रशस्त मकै हुन्छ । तर, ‘स्वीट कर्न’ भने छिमेकी मुलुकबाटै आयात गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘कम्तीमा यही उत्पादन भएको मकैलाई स्वीट कर्न बनाउन सके हुन्थ्यो ।' अध्यक्ष बक्रेले स्वीट कर्नमा चिल्लोजन्य पदार्थ नहुने भएकाले पनि सर्वसाधारणको रोजाइँमा पर्ने गरेको बताउँछन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा सात करोड ३९ लाख ९४ हजार मूल्य बरामरको आठ लाख ९८ हजार १९८ किलोग्राम ‘स्वीट कर्न फ्रोजन’ आयात भएको छ । विभागले ती ‘स्वीट कर्न’ आयात गरेवापत रु एक करोड ४० लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा भारतबाट रु आठ करोड ६४ लाख दुई हजार मूल्य बराबरको नौ लाख पाँच हजार ७०१ किलोग्राम स्वीट कर्न फ्रोजर आयात भएको थियो । सोही आर्थिक वर्ष चीनबाट भने रु आठ हजार मूल्य पर्ने ७५ किलोग्राम स्वीक कर्न फ्रोजन आयात भएको देखिन्छ । विभागले आव २०८१/८२ मा स्वीट कर्न आयात गरेवापत रु एक करोड ७४ लाख १५ हजार मूल्य बराबरको राजस्व सङ्कलन गरेको थियो । विदेशबाट स्वीट कर्न मात्रै होइन, ठूलो परिमाणमा मकै पनि भित्रिने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, टर्कीय, ब्राजिल, अर्जेन्टिना, कतार, चीनलगायत मुलुकबाट रु १२ अर्ब ४१ करोड मूल्य बराबरको ३० करोड ६५ लाख ४५ हजार ९०६ किलोग्राम खाद्यान्न मकैको आयात भएको छ । त्यस्तै आव २०८१/८२ मा आधा दर्जनभन्दा धेरै मुुलुकबाट रु १९ अर्ब २७ करोड ६९ लाख ८५ हजार मूल्य बराबरको रु ३८ करोड ३१ लाख नौ हजार २६९ किलोग्राम खाद्यान्न मकै आयात भएको तथ्याङक छ ।
नेप्से सीईओ नियुक्तिमा कानुनी विवाद : नियममा ‘प्रथम’, सूचनामा ‘द्वितीय’
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यकारी प्रमुख नियुक्तिका लागि सरकारले सार्वजनिक गरेको आवेदन आह्वान सूचनामाथि कानुनी प्रश्न उठेको छ । धितोपत्र सञ्चालन नियमावलीले कार्यकारीको योग्यता तय गर्दा नेपाल सरकारको सहसचिव वा प्रथम श्रेणीको अधिकृत हुनुपर्ने भनेको छ । नियमावलीको नियम २ मा नियुक्तिका लागि आवश्यक न्यूनतम् योग्यता तय गरेको छ । नियम २ को उपनियम १ को कमा उच्च व्यवस्थापकीय तह भन्नाले राजपत्रांकित प्रथम श्रेणीको अधिकृत भनेर स्पष्ट पारिएको छ । तर, आवेदन आह्वानमा भने राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई समेत योग्य मानिएको छ । एक पूर्वप्रशासकका अनुसार नियममा स्पष्ट रूपमा प्रथम श्रेणीको अधिकृत हुनुपर्ने व्यवस्था रहेपछि प्रशासनिक सूचनामार्फत त्यसलाई दोस्रो श्रेणीसम्म झार्न मिल्दैन । नेपालको कानुनी व्यवस्थाअनुसार कार्यविधि वा प्रशासनिक सूचनाले नियमावलीमा भएको व्यवस्था संशोधन वा परिवर्तन गर्न सक्दैन । एक पूर्वप्रशासकले भने, ‘योग्यता निर्धारण गर्ने अधिकार ऐनको हो । सोही ऐनका आधारमा बनेको नियमावलीसँग बाझिनेगरी प्रथम श्रेणी भनेको अवस्थामा सूचनाले दोस्रो श्रेणीका कर्मचारीलाई योग्य घोषणा गर्न सक्दैन ।’ तर, अर्थ मन्त्रालय भने राजपत्रांकित प्रथम श्रेणीमात्रै भन्दा सूचनाको व्यापकता खुम्चिने भएकोले व्यापक सहभागिताका लागि उक्त सूचना सार्वजनिक गरिएको बताउँछ । मन्त्रालयका सहसचिव महेश आचार्य नियमावलीले नछेकेको दावी गर्छन् । पुँजीबजारका जानकारहरूका अनुसार नियामक संस्थाको नेतृत्व छनोट प्रक्रिया पूर्ण रूपमा कानुनसम्मत, पारदर्शी र विवादरहित हुनुपर्छ । अन्यथा अध्यक्ष नियुक्तिपछि पनि त्यसको वैधानिकतामाथि प्रश्न उठिरहने र नियामक संस्थाको विश्वसनीयतामै असर पर्न सक्ने उनीहरूको चेतावनी छ ।