विधायन व्यवस्थापन समितिमा सांसद नारायणकाजी श्रेष्ठ मनोनीत
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा नियमावलीको नियम १४९ बमोजिम विधायन व्यवस्थापन समितिमा मनोनयन गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समितिमा सांसद श्रेष्ठको मनोनयनलाई सहमति जनाएका थिए । आजको बैठकमा अध्यक्ष दाहालले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशशिक सरोकार समयमा सांसदहरुले उठाउनुभएका विषयको राष्ट्रियसभा नियमावली २०७५ मा तोकिएको समयावधिभित्र सभामा आई पूर्वनिर्धारित तालिका अनुसार जवाफ दिन सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराएका थिए । अध्यक्ष दाहालले भने, ‘जवाफका लागि यसअघि तयार गरिएको कार्यतालिका सम्बन्धित मन्त्रालयमा पुनःपत्राचारमार्फत उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिन्छु ।’
मिटरब्याज, सहकारीलगायत ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाही गरिन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज (अनुचित लेनदेन), सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद धानराज गुरुङको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यस्ता किसिमका आर्थिक पक्षसँग जोडिएका घटना बढ्दै गएकाले विद्यमान स्रोतसाधन र उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गरी अनुसन्धान गरिने बताए । प्रधानमन्त्री ओलीले आर्थिक सुशासन कायम गर्न वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्यांकन प्रणाली अवलम्बन गर्ने, अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरीवेक्षण गरी दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिअनुरूप भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिने बताए । उनले भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्दतिको प्रवर्द्धन गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्न प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइने बताए । उनले सरकारका सबै अंगहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने, सार्वजनिक खरिद ऐन, कानुनलाई समसामयिक संशोधन गरी प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए । ‘राजस्व चुहावट नियन्त्रण गरी गैरकानुनी आर्थिक कारोबार हुन नदिन सम्बन्धित निकायलाई क्रियाशील बनाई समन्वयात्मक रूपमा परिचालन गर्नाका साथै चोरीनिकासी एवं पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन, छड्के जाँच तथा सुराकी परिचालनलाई प्रभावकारी बनाइनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘राजस्व परिचालनलाई प्रभावकारी बनाई आर्थिक सुशासन कायम गर्न केन्द्रीय बीजक अनुगमन प्रणाली, आशिकुडा प्रणाली, भिसिटिएस सूचना प्रणाली, भूमि व्यवस्थापन तथा अभिलेख सूचना प्रणालीबीच अन्तर–आबद्धता कायम गरी एकीकृत करदाता सूचना प्रणालीको विकास गरिनेछ । स्रोत परिचालनको दबाबलाई न्यूनीकरण गर्न राजस्व परिचालनका अन्य क्षेत्र पहिचान गरी राजस्वको दायरा विस्तारलाई थप प्रभावकारी बनाइनेछ ।’ आन्तरिक ऋणलाई समेत पुँजीगत प्रकृतिका ठूला पूर्वाधार निर्माणमा केन्द्रित गर्दै जाने व्यवस्था मिलाइने बताउँदै प्रधानमन्त्री ओलीले आयात हुने मालवस्तुको मूल्यांकनका लागि नियमित बजार सर्वेक्षण गरी संकलन गरिएको सूचनाका आधारमा तथ्यपरक र वास्तविक भन्सार मूल्यांकन प्रणाली विकास गरिने जनाए । आर्थिक क्रियाकलापमा आएको सुस्ततालाई सम्बोधन गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले विगतका वर्षमा विधि प्रक्रिया पूरा गरी कार्यसम्पन्न गर्ने क्रममा विधिसम्मत् रूपमा सिर्जित दायित्व यकिन गरी चालु आर्थिक वर्षभित्र भुक्तानी गर्ने व्यवस्था मिलाइने, चालु आवको मौद्रिक नीतिलाई थप लचिलो बनाइ मुलुकको व्यावसायिक वातावरणमा सुधार गरिने योजना सुनाए । प्रधानमन्त्री ओलीले बजेट वक्तव्यमा उल्लेख भएको भरतपुर—बुटवल—पोखरा—मुग्लिन—भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुजको परियोजना निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत विकासको अवधारणाअनुरूप नमूना विकास अभियान सञ्चालन गर्ने गरी कार्यक्रम ल्याइएको जानकारी गराए । कार्यक्रमबाट यातायात पूर्वाधारको विकास मात्र नभइ औद्योगिक विकासका साथै ऊर्जा क्षेत्र, कृषि तथा पर्यटन क्षेत्रको विकास एवं रोजगारीका अवसरहरू सिर्जना हुने विश्वास उनले व्यक्त गरे । गण्डकी त्रिभूज आयोजनाअन्तर्गत पर्ने बुटवल–पोखरा–सिद्धार्थ राजमार्ग खण्डलाई दुई लेनमा स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको उनले अवगत गराए । प्रधानमन्त्री ओलीले सिद्धबाबा सुरुङ मार्गको कार्य चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत भइसकेको जानकारी गराए । यस्तै, आँधीखोलामा प्रस्तावित बाँधस्थल र गल्याङ्ग नगरपालिका–३ मा विद्युत्गृह रहेको आँधीखोला जलाशययुक्त जलविद्युत् आयोजनाबाट एक सय ८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म यस आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गर्ने कार्य सम्पन्न भई वातावरणीय अध्ययन कार्य स्वीकृत भइसकेको प्रधानमन्त्री ओलीले जानकारी गराए ।
कैलालीमा २८९ उद्योग बन्द, सञ्चालक रोजगारीका लागि विदेशिए
फाइल फोटो गोदावरी । जिल्लामा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । कतिपय उद्योग सञ्चालक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकोसमेत देखिएको छ । कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटीपार्लर जस्ता घरेलु उद्योग बन्द भई खारेजीमा परेको जानकारी दिए । पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको छ । महिलाका नाममा प्राइभेट फार्म दर्तामा छूटको व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो । एक करोड रुपैयाँसम्मको कुल पूँजी भएका निजी फार्म महिलाका नाममा दर्ता गर्दा शुल्कमा छुटको कानुनी व्यवस्था गरिँदा उद्योगमा महिलाको स्वामित्व उल्लेख्य रुपमा बढेको जोशीले बताए । कैलालीमा हालसम्म १५ हजार चार सय ८६ उद्योग दर्ता छन् । उद्योग कार्यालयमा अहिलेसम्म उत्पादनमूलक तीन हजार दुई सय आठ, कृषिसम्बन्धी छ हजार पाँच सय १४, निर्माणसम्बन्धी दुई, पर्यटनमूलक ६५, सूचना प्रविधिमूलक १२, सेवामूलक पाँच हजार छ सय ८५ गरी १५ हजार चार सय ८३ उद्योग दर्ता भएका छन् । अहिलेसम्म दर्ता भएका उद्योगमा २५ अर्ब ७० करोड ३७ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । ती उद्योगमा नौ हजार दुई सय ११ महिला र ६९ हजार छ सय ५७ पुरुषलाई रोजगारी प्रस्ताव गरिएको जनाइएको छ । गत आव २०८०/८१ मा उत्पादनमूलक एक सय ३५, कृषिमूलक तीन सय २३, सेवामूलक दुई सय ५६ गरी जम्मा सात सय १४ उद्योग दर्ता भएको लेखा अधिकृत जोशीले बताए । गत आवमा एक करोड ७७ लाख ४४ हजार सात सय ७७ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आव २०७९र/०८० मा एक हजार एक सय सय ९७ उद्योग दर्ता भएकामा कार्यालयले ५२ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । अघिल्ला आव भन्दा गत आव २०८०/८१ मा उद्योग दर्तामा कमि आएको छ । लेखा अधिकृत जोशीले अघिल्लो आवको तुलनामा गत आव २०८०/८१ मा करको दर बढेसँगै वाणिज्य कार्यालयले दर्ता गर्ने पसललगायतका काम गत आवदेखि घरेलु तथा साना उद्योग कार्यालयले गर्दा राजस्व संकलनमा वृद्धि भएको बताए ।
प्रचण्डमाथि खनिएका ओलीसँग वर्षमानको ‘ट्याकल’, उद्योगीबाट घुस लिएको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा बोल्दै गर्दा माओवादी केन्द्रका उपमहासचिव एवं निवर्तमान अर्थमन्त्री वर्षमान पुनले नियमापत्ति गरेका छन् । सोमबारको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । आकस्मिक र शून्य समयको कार्यक्रम सकिएपछि निर्धारित समयभन्दा ढिलो गरी प्रश्नोत्तर सुरु भयो । सत्तारुढ नेपाली काँग्रेस सांसद धनराज गुरुङले प्रधानमन्त्री ओलीलाई पहिलो प्रश्न राखेका थिए । उनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमा तत्कालीन मन्त्री पुनले अघि सारेको गण्डकी त्रिभुज आयोजना महत्वपूर्ण रहेको भन्दै त्यसको कार्यान्वयन कहिलेदेखि सुरु हुने र कहिले अन्त्य गर्ने सरकारको योजना रहेको भन्ने प्रश्न गरे । यस्तै आर्थिक अवस्था सुधारका लागि आर्थिक गैह्रकानूनी कारोबार नियन्त्रण गर्ने सरकारको योजना के छ भन्ने गुरुङको दोश्रो प्रश्न थियो । प्रधानमन्त्री ओली सांसद गुरुङको प्रश्नको जवाफमा प्रवेश नगरी शून्य समयमा सांसदहरुले आफू र सरकारमाथि उठाएका प्रश्नको प्रतिवादमा उत्रिए । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बिचौलियाको योजनामा विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत उपभोग गरेबापत तिर्नुपर्ने विद्युतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले काटेको लाइन जोड्न र बक्यौता मिनाहा गर्न प्रधनमन्त्री ओलीले दबाब दिएको आरोप लगाएका थिए । उनले बिचौलियाको सेटिङमा राज्यलाई अर्बौं नोक्सान पुग्ने गरी बक्यौता मिनाहा गर्न लागिएको बताए । ओलीले दाहालको नाम उल्लेख नगरी उनको प्रतिवादमा उत्रन सुरु गरे । उनले गरिमामय संसदमा बोल्दा भएका, सही र तथ्ययुक्त कुरा मात्र बोल्न र जथाभावी नबोल्न चेतावनी दिए । जनताले छानेर पठाएका प्रतिनिधिले त्यस हैसियतमा बोल्नुपर्ने भन्ने ओलीले आफूमाथि सुनको जलहरीमा ठाउँमा पित्तल लगाएको भन्ने आरोप लगाउने, अनेकखालका फोटाहरु बनाएर पछाएको जस्ता टिप्पणी गरे । आफू प्रधानमन्त्री बनेकामा कसैलाई मर्का परेको र चित्त नबुझेको भए पनि अमर्दादित, हल्का र हावादारी प्रश्न नगर्न ओलीले भने । ओली थप अगाडि बढदै गर्दा पुन उठेर हात उठाए । सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे । तर, पुनले नियमापत्ति रहेको बताएपछि सभामुख घिमिरेले ‘सम्माननीय प्रधानमन्त्री एकछिन रोक्नुस’, भन्दै पुनलाई बोल्न दिए । पुनले प्रश्नोत्तर कार्यक्रममा सांसदका प्रश्नको जवाफ दिनुपर्नेमा ओलीले आफूमाथि प्रश्न उठाउने प्रतिपक्षी सांसदलाई गाली गरेको भन्दै आपत्ति जनाए । ‘सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू के सन्दर्भमा अहिले बोल्दै हुनुहुन्छ ? सभामुखले रुलिङ गर्नुपर्छ होला । उहाँ प्रश्नोत्तरमा हुनुहुन्छ । आफ्ना कार्यकर्तालाई जसरी सांसदलाई नथर्काउनुस् । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई हप्काउने ? ।’ सार्वजनिक अभिव्यक्तिमा अक्सर संयमता अपनाउने गरेका पुन सोमबार संसदमा भने आक्रामक रुपमा प्रस्तुत भएका थिए । पुनले थप बोल्न खोज्दै गरेका बेला सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको र आफूले त्यतै लान खोजेको भन्दै प्रधानमन्त्री ओलीलाई विषय केन्द्रित भएर बोल्न निर्देश गरे । ‘माननीय सदस्य ध्यानार्कषण भएको छ । मैले त्यतै लान कोसिस गरेको छु’, सभामुखले भने, ‘प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।’
भ्रष्टाचार नियन्त्रणका लागि प्रवर्द्धनात्मक, निरोधात्मक र उपचारात्मक उपाय अवलम्बन गरिन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्धतिको प्रयोग गर्दै राज्यका समग्र क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिइने बताए । उनले सरकारका सबै अंगहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने बताए । उनले सार्वजनिक खरिद कानुनको समसामयिक संशोधन र परिपालनालाई सशक्त र प्रभावकारी बनाइने पनि बताए । उनले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्यांकन प्रणाली अबलम्बन गर्ने बताए । अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइने पनि उनले उल्लेख गरे । उनले भने, ‘वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्यांकन प्रणाली अवलम्बन गर्ने, अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइने छ, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुरुप भ्रष्टाचारको दृष्टिले उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रुपमा प्रवर्द्धनात्मक, निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गरिनेछ ।’ प्रधानमन्त्री ओलीले राजस्व परिचालनलाई प्रभावकारी बनाई आर्थिक सुशासन कायम गर्न केन्द्रीय बिजक अनुगमन प्रणाली, भीसीटीएस सूचना प्रणाली, भूमि व्यवस्थापन तथा अभिलेख सूचना प्रणालीबीच अन्तरआबद्धता कायम गरी एकीकृत करदाता, सूचना प्रणालीको विकास गरिने जानकारी दिए । ‘राजस्व चुहावट नियन्त्रण गरी गैरकानुनी आर्थिक कारोबार हुन नदिन सम्बन्धित निकायलाई क्रियाशिल बनाई समन्वयात्मक रूपमा परिचालन गर्नुका साथै चोरी, निकासी एवं पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन र छड्के जाँच तथा सुराकी परिचालनलाई प्रभावकारी बनाइने छ,’ उनले भने, ‘राजस्व परिचालनलाई प्रभावकारी बनाई आर्थिक सुशासन कायम गर्न केन्द्रीय बिजक अनुगमन प्रणाली, भीसीटीएस सूचना प्रणाली, भूमि व्यवस्थापन तथा अभिलेख सूचना प्रणालीबीच अन्तरआबद्धता, कायम गरी एकीकृत करदाता, सूचना प्रणालीको विकास गरिनेछ ।’
सामान्य अंकले बढ्यो सेयर बजार, १३ अर्ब ९१ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार सेयर बजार नेप्से परिसूचक २.१५ अंकले बढेर २,४८८ को विन्दुमा पुगेको छ । यस दिन ११५ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सोमबार ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३६ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै शिवम् सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार हुँदा कुमारी बैंकको २८ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस दिन सबैभन्दा धेरै गणपति लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस संस्थाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले गुमाएका हुन् ।
संविधान संशोधन गर्न सबै दलसँग छलफल र परामर्श हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरुसँग छलफल गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरुसँग छलफल र परामर्श गर्ने बताएका हुन् । उनले संविधान संशोधन लहडको विषय नभएको भन्दै समयको माग र देशको आवश्यकताको लागि संविधान संशोधन गर्नुपर्ने जानकारी दिए । ‘वर्तमानमा देखिएका समस्या सम्बोधन गरी संविधानलाई अझ जिवन्त बनाउन र देशलाई स्थायित्व र समृद्धिको मार्गमा अगाडी बढाउन सरकारमा रहेका र नरहेका सबै दलहरुसँग छलफल र परामर्श गर्दै यस कार्यलाई अगाडी बढाउने विश्वास दिलाउन चाहन्छु’, उनले भने । उनले वर्तमानमा देखिएका समस्या सम्बोधन गरी संविधानलाई अझ जिवन्त बनाउन र देशलाई स्थायित्व र समृद्धिको मार्गमा अगाडी बढाउन संविधान संशोधन गर्नुपर्ने बताए ।
झाडी फाँडेर चिया रोप्दै काठेखोला गाउँपालिका
गलकोट । यहाँको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ । यसैवर्षमात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ । थामानेटासहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो । थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ । लोकमार्ग नजिकै रहेको थामानेटा एक प्रसिद्ध वनभोज स्थलका रुपमा परिचित छ । थामानेटामा अहिले ‘भ्यू टावर’ र आश्रयस्थललगायत संरचनासमेत निर्माण भइसकेका छन् । लोकमार्गका यात्रुहरुको विश्रामस्थलका रुपमा रहेको थामानेटामा चिया बगान निर्माण भएपछि पर्यटक बढ्ने अपेक्षा गाउँपालिकाको छ । थामानेटा आएका पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न यस क्षेत्रमा पहिलोपटक चियाखेती गरिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले जानकारी दिए । उनका अनुसार वडामा पहिलोपटक चियाखेती थाले पनि गाउँपालिकामा भने पहिलो होइन । यसअघि काठेखोला गाउँपालिका–७ रेशमा पाँच वर्ष अघिदेखि चियाखेती भइरहेको छ । रेशको चियाखेती सफल भएपछि गाउँपालिकाले सम्भावित क्षेत्रमा चियाखेती विस्तार गर्न थालेको हो । रेशमा चियाखेती सफल भएपछि गाउँपालिकाले चियाखेती विस्तार गर्ने योजनाअनुसार विभिन्न वडाको ५५ रोपनी क्षेत्रफलमा चियाखेती लगाएको छ । वडाअध्यक्ष कँडेलका अनुसार थामानेटामा एक हजार पाँच सय चियाका बिरुवा पहिलोपटक रोपिएको छ । कँडेलले भने, ‘सामुदायिक वनमा आगामी वर्षसम्म १० रोपनी क्षेत्रफलमा चियाखेती लगाउने योजना छ, वडा कार्यालयले चियाखेती विस्तारमा सघाउने लक्ष्य छ ।’ काठेखोला गाउँपालिका–७ रेशमा निजी, विद्यालय र सार्वजनिक जग्गामा गरी एक सय ४० रोपनी क्षेत्रफलमा चियाखेती विस्तार भइसकेको छ । रेशमा पाँच वर्षअघि लगाइएका एक हजार पाँच सय चियाका बिरुवाले उत्पादन दिन थालिसकेको छ । चियाखेती गाउँपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । उनले आर्थिक वर्ष २०८०/८१ मा रेशसहित थामानेटा र धम्जामा चियाखेती विस्तार गरिएको बताए । गाउँपालिकाले चियाखेती विस्तारका लागि रु ११ लाख बजेट विनियोजन गरेको थियो । बिहुँको थामानेटामा झाडी फाँडेर चियाखेती थालिएको छभने रेश र धम्जाका सामुदायिक विद्यालयको बाँझो जग्गालाई चिया बगैँचा बनाउन थालिएको थापाको भनाइ छ । रेशमा उत्पादित चियाले बजार पाउन थालेपछि अन्यत्रको बाँझो तथा खाली जग्गामा चियाखेतीमा गाउँपालिकाले अग्रसरता देखाएको काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । रासस