विकासन्युज

विदेशी मुद्राको मूल्यमा घटबढ, खाडी मुलुकको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (साउन ८ गते) का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको खरिददर १३३.५६ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.१६ रुपैयाँ तोकेको छ । आज युरोपियन युरो एकको खरिददर १४५.३९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.०५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.७३ रुपैयाँ र बिक्रीदर १७३.५१ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.२६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.१६ रुपैयाँ र बिक्रीदर ९७.६० रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.५४ रुपैयाँ र बिक्रीदर २८.६६ रुपैयाँ तोकिएको छ । सोमबार अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ र बिक्रीदर १३४.१७ रुपैयाँ, युरोपियन युरो एकको खरिददर १४५.३१ रुपैयाँ र बिक्रीदर १४५.९६ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.५९ रुपैयाँ र बिक्रीदर १७३.३६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.२६ रुपैयाँ र बिक्रीदर ८९.६७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.२५ रुपैयाँ र बिक्रीदर ९७.६९ रुपैयाँ थियो । यस्तै कतारी रियाल एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.४९ रुपैयाँ र बिक्रीदर २८.६२ रुपैयाँ थियो ।

सूर्योदय वोमी लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज साउन ८ गते अन्तिम दिन रहेको छ । साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सकिन्छन । लघुवित्तले ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले ४६ हजार ७२९.५४ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अन्तिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीमा सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन लघुवित्तले एफपीओ जारी गरेको हो । साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्जरपश्चात् बनेको सूर्योदय वोमी लघुवित्तको चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार रुपैयाँमा पुँजी संरचनामा संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत कायम छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउनुपर्ने भएकाले लघुवित्तले एफपीओ जारी गरेको हो । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले एफपीओमा सी–आस्बा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

रास्वपाले दर्ता गरायो विपद् व्यवस्थापन एवं पूर्वतयारीसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा विपद् व्यवस्थापन पुनरावलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारीसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । रास्वपाको प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले उक्त प्रस्ताव साेमबार सङ्घीय संसद् सचिवालयमा दर्ता गराएकी हुन् । उनले आजै सभामुख देवराज घिमिरेलाई उक्त प्रस्तावबारे जानकारी गराएकी थिइन् । रास्वपाको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी सांसदहरू विराजभक्त श्रेष्ठ, डा. चन्दा कार्की (भण्डारी), गणेश पराजुली, असिम शाह र विन्दबासिनी कङ्शाकारले उक्त प्रस्तावमा समर्थक छन् । सांसद कार्कीले उक्त प्रस्तावमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८९ बनाए पनि प्रभावकारी हुन नसकेको उल्लेख गरेकी छिन् । सांसद कार्कीले मनसुनको समयमा सम्भावित जोखिमको बलियो पूर्वतयारी हुन नसकेको बताइन् । जसका कारण प्रकोपको समयमा ‘रेस्क्यू’ समूह तथा आवश्यक उपकरण र व्यवस्थापनको अभाव भएको उनले उल्लेख गरिन् । विपद् रोकथाम, विपद् जोखिम न्यूनीकरण साथै विपद्पछिको पुनःस्थापना तथा व्यवस्थापनसँग सम्बन्धि बृहत गुरुयोजना बनाउन उक्त प्रस्तावमाथि छलफल हुनुपर्ने रास्वपाका सांसदहरूले बताएका छन् । ‘मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको बारेमा समेत पूर्व तयारी गर्ने, विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति ‘र्‍यापिड रेस्क्यु टिम’ तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधीको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी आम नागरिकलाई सुसूचित गराउने साथै समयमै पुनर्स्थापन र प्रतिस्थापन गर्नेरगराउने लगायतको कामबारे छलफल गर्न अति आवश्यक रहेको हुँदा यो जरुरी महत्त्वको प्रस्ताव पेश गरेको छु,’ प्रस्तावमा डा. कार्कीले भनेकी छन् । उक्त सार्वजनिक महत्त्वको प्रस्तावमा तीन तहको सरकारले स्पष्ट कार्यक्षेत्र विभाजन गर्नुपर्ने र विपद्को विषयमा प्रतिक्रियात्मक मात्र नभई संसद्ले पूर्व सक्रियता देखाउनुपर्ने कारण समेत उल्लेख गरिएको छ । विपद् व्यवस्थापनको पाटोसँगै स्वास्थ्य सङ्कटको जोखिम न्यूनीकरणका लागि छलफल गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । ‘आकस्मिक स्वास्थ्य संकटको अवस्था हुन सक्ने हुँदा, बाढी पहिरोलगायत मनसुनजन्य प्राकृतिक प्रकोप विभिन्न रोग, सङ्क्रमण तथा माहामारी फैलने र स्वास्थ्य संकट आउन सक्ने सम्भावनालाई मध्यनजर गरी नागरिकको स्वस्थ्यसम्बन्धी हक सुनिश्चित गर्नका निम्ति पूर्वतयारी गर्न आवश्यक छ,’ उक्त प्रस्तावमा उल्लेख छ ।

दुई ठूला दल मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखियो : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले एमाले–कांगेस दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको बताएका छन् । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए । अब सेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने उनले भनाइ राखे । उनले मागभन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । उनले मौद्रिक नीतिले अर्थतन्त्रमा सहजता सिर्जना गर्ने गरी ल्याउनुपर्ने बताए । उनले मौद्रिक नीतिमा रिफर्म गर्नसक्ने ठाउँहरुमा रिर्फम गरेर ल्याउनुपर्नेमा जोड दिए । पूर्वअर्थमन्त्री महतले सेयर बजार, जग्गा कारोबार लगायत क्षेत्रमा कर्जा प्रवाहको लागि सिमाहरु कायम राखेर गरेको माइक्रोम्यानेजमेण्टलाई विचार गर्नु आवश्यक रहेको बताए । उनले बैंकको ब्याजदरमा सहजता आएको बताउँदै सेयर बजार र घरजग्गा कारोबारमा रहेका सीमालाई खुकुलो गर्नुपर्ने बताए । उनले कर्जामा अनुत्पादन क्षेत्र भनेर लगाएको सीमामा पनि पुनर्विचार गर्न आवश्यक रहेको बताए ।

अध्ययन कार्यदल गठन गर्ने सहमतिसँगै न्युरोडको फुटपाथ विवाद अन्त्य

काठमाडौं । अध्ययन कार्यदल गठन गर्ने सहमतिसँगै न्युरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । सोमबार भएको वार्तापछि उक्त विवाद टुंगिएको हो । महानगरका मेयर बालेन्द्र शाह (बालेन), सरोकारवाला क्षेत्रका वडाध्यक्ष र स्थानीय अगुवाबीच भएको वार्तामा अहिले भएसम्मको फुटपाथ विस्तारलाई कायम राख्ने र बाँकी काम रोक्ने सहमति भएको छ । फुटपाथ विस्तारले पारेको प्रभाव र वडा नं २२ र २३ मा विस्तारबारे अध्ययन गर्न सुमनराज भण्डारीको नेतृत्वमा ९ सदस्यीय अध्ययन कार्यदल बनाउने सहमति भएको छ । उक्त कार्यदलले मंसिर २ गतेसम्म प्रतिवेदन बुझाउने निर्णय गरेको छ । न्यूरोडको फुटपाथ विस्तार गर्ने महानगर नेतृत्वको विरोधमा स्थानीय व्यापारी र वडाध्यक्ष संघर्षमा उत्रिएका थिए । सहमतिसँगै विरोधका सबै कार्यक्रम स्थगित भएको बताइएको छ ।

चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपाली कांग्रेसको समर्थनमा सोमबार अपराह्न आचार्यले प्रदेश प्रमुखसमक्ष मुख्यन्त्रीका लागि दाबी पेश गरेका थिए । उनले एमाले र कांग्रेसका गरी ५६ सांसदको हस्ताक्षर बुझाएका थिए । एमाले समर्थन फिर्ता लिएपछि नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री बनेकाजोखबहादुर महराले आइतबार राजीनामा दिएका थिए । त्यससँगै आचार्यको मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन्।

सांसद दाहालको आरोप : प्रधानमन्त्रीले कमिसनको प्रभावमा २२ अर्ब राजस्व छुट दिन लाग्नुभयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरुलाई २२ अर्ब राजस्व छुट दिन लागेको बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री ओलीले कमिशनमा लागेर उद्योगहरुको विद्युत महशुल मिनाहा गर्न लागेको बताएका हुन् । उनले विद्युत प्राधिकरणले कानूनसम्मत रुपमा वक्यौता नतिर्ने उद्योगहरुको विद्युत काटेको भन्दै प्रधानमन्त्रीको ठाडो आदेशमा वक्यौता नतिरिकन विद्युत जोड्नु नहुने बताए । उनले राज्य राजस्वमा चल्ने भन्दै २२ अर्ब रुपैयाँ राजस्व छुट दिनु नहुने बताए । महशुल नतिर्ने उद्योगहरुलाई मिनाहा गर्ने हो भने महशुल तिरेका उद्योगहरुको पनि महशुल फिर्ता गर्नुपर्ने जानकारी दिए । ‘कानुनसम्मत २२ अर्ब बक्यौता विद्युत महशुल राज्यको खातामा नआउन्जेल उद्योगिहरुको लाइन काट्नै पर्छ, यो मिनाहा गर्न सकिँदैन’, उनले भने । सांसद दाहालले प्रधानमन्त्री ओलीले विचौलियाको दबाब र प्रभावमा परेर विद्युत जोड्न आदेश दिएको भन्दै विद्युत प्राधिकरणले प्रधानमन्त्रीको आदेशको अवज्ञा गर्नुपर्ने बताए । विद्युत प्राधिकरणले प्रधानमन्त्रीको निर्देशनको उल्लंघन गर्नुपर्ने जानकारी दिए ।

पर्यटक लोभ्याउँदै ‘बिपी-पुष्पलाल वाटिका’

झापा । यहाँको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा रहेको ‘बिपी–पुष्पलाल वाटिका’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । काँकडभिट्टा बजारमै जोडिएका कारण वाटिकामा दिनहुँ पर्यटक घुमफिर र फोटोसेसनका लागि आउने गरेका छन् । वाटिकामा मनोरम फूलबारी, सेल्फी स्पट र पानीको फोहोरासहित नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्ष नेताद्वय बिपी कोइराला र पुष्पलाल श्रेष्ठको पूर्णकदको सालिक रहेको छ । विसं २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनको सफलताबाट बहुदलीय प्रजातन्त्रको बहाली भएपश्चात् नेताद्वय बिपी र पुष्पलालको एकै स्थानमा सालिक निर्माणको अवधारणा बनेको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । सोही अवधारणाअनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का स्थानीय नेताहरुले बिपी पुष्पलाल वाटिका तथा सहिद स्मृति प्रतिष्ठानको स्थापना गरेका थिए । प्रतिष्ठानको अगुवाइमा विसं २०७८ माघ १५ गते तत्कालीन प्रदेश सांसद श्रीप्रसाद मैनालीले बिपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक निर्माणको शिलान्यास गरेका थिए । विसं २०८० जेठ ७ गते वाटिकासहित दुवै नेताको सालिकको मेचीनगर नगरप्रमुख बुढाथोकीले उद्घाटन गरेका थिए । मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको १२ कट्ठा जग्गामा निर्मित वाटिकामा नेताद्वयको पूर्णकदको सालिक स्थापना गरिएको छ । काँकडभिट्टासम्म घुम्नका लागि भारत र बङ्गलादेशबाट आउने पर्यटकहरू यही वाटिकामा पुग्ने गरेको स्थानीय होटल व्यवसायी रामबहादुर तामाङ बताउँछन् । ‘होटलमा बास बसेर फर्किहाल्ने पर्यटकहरूले नजिकको घुम्ने ठाउँ कहाँ छ भनेर सोध्छन्,’ उनी भन्छन्, ‘हामी उनीहरुलाई बिपी पुष्पलाल बाटिका पुर्याइदिन्छौं, त्यहाँ घुमेर फोटो खिच्छन्, टिकटक र रिलका लागि भिडियो बनाउँछन् ।’ वाटिका निर्माण समितिका अध्यक्षसमेत रहेका तामाङले वाटिकामा कोशी प्रदेश सरकारको ३० लाख र मेचीनगर नगरपालिकाको ५ लाख रुपैयाँ लगानी भएको जानकारी दिए । वाटिकाको सुन्दरता अभिवृद्धिका लागि अझ बजेट आवश्यक रहेको उनले बताए ।