विकासन्युज

विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरुलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् । शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने स्पष्ट पारे । अरु कामहरुका लागि एनआरएनलाई दिए सरहको नागरिकता दिन सकिने बताए । नेपाल जस्तो देशमा त्यसरी नागरिकता दिँदा कठिनाइ आइपर्ने बताए । नेपाल फर्किन चाहनेलाई स्वागत गर्न तयार रहेको बताए । ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निस्कर्ष निस्किने जिकिर गरे ।  सभापति देउवाले भने, ‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु । ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरुले छलफल गरिरहेका छन् । नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिश गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ ।’ सभापति देउवाले गोरखा सैनिकहरुको इतिहास गर्विलो रहेको बताए । ब्रिटिश गोरखा सैनिकहरु नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताए । नेपाल र बेलायतबीचको सम्बन्ध विस्तार हुनुमा गोरखा सैनिक फौज महत्वपूर्ण रहेको जिकिर गरे ।   

टेस्लाद्वारा शाङ्घाइमा नयाँ ‘ग्रिड साइड ऊर्जा भण्डारण’ स्टेशन निर्माण गर्ने सम्झौता

काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी टेस्लाले शुक्रबार चिनियाँ साझेदारहरूसँग मिलेर शाङ्घाइमा मेगाप्याक ऊर्जा भण्डारण ब्याट्री प्रयोग गरी ग्रिडको लागि ऊर्जा भण्डारण स्टेशन बनाउने सम्झौता गरेको छ । कुल ४ अर्ब युआन (लगभग ५५६ मिलियन अमेरिकी डलर) को लगानीमा भएको यो परियोजनाले टेस्लालाई चीनको तेजीसँग बढिरहेको ऊर्जा भण्डारण बजारमा प्रवेश गर्ने मौका दिएको हो । यसले चीनको विशाल विद्युत् ग्रिडसँग जोडिने सम्भावना पनि बढाएको छ, जुन संसारकै सबैभन्दा ठूलो विद्युत् ग्रिड हो । यो गिगावाट-घण्टा स्तरको ऊर्जा भण्डारण स्टेशन चीनको शाङ्घाइको लिङगाङ विशेष क्षेत्र, चिनियाँ अन्तर्राष्ट्रिय मुक्त व्यापार क्षेत्र (पाइलट फ्री ट्रेड जोन) मा निर्माण हुनेछ । यस सम्झौता अनुसार, टेस्ला, लिङगाङ विशेष क्षेत्रको प्रशासनिक समिति, शाङ्घाइको फेंग्सियान जिल्लाको सरकारी निकाय र चिनियाँ काङफु इन्टरनेशनल लीजिङ कम्पनी लिमिटेडले भाग लिएका छन् । यो टेस्लाको पहिलो ग्रिड साइड ऊर्जा भण्डारण स्टेशन हुने भएकाले यसले चीनको मुख्य भूमिमा स्थापना हुने पहिलो यस्तो परियोजना हो । टेस्लाका चीनका ऊर्जा व्यवसायका महाप्रबन्धक डोंग कुनले भने, 'यस स्टेशनले एकपटक सञ्चालनमा आएपछि, यसले बिजुलीको स्पट ट्रेडिङमा सहभागी भएर स्थानीय ग्रिडमा चरम र कम आवश्यकताहरू बीच सन्तुलन कायम गर्न मद्दत गर्नेछ, जसले ग्रिडको स्थिरता बढाउँछ ।' यसैबीच, टेस्लाले चीन काङफुसँगको सहकार्यलाई अझ विस्तारित गरी विश्वव्यापी रुपमा शुन्य-कार्बन ऊर्जा समाधानहरू ल्याउने योजना बनाएको छ । यस वर्षको फेब्रुअरीमा, टेस्लाको नयाँ मेगाफ्याक्ट्री लिङगाङ विशेष क्षेत्रमा सुरु भएको थियो, जुन यसको दोस्रो प्लान्ट हो र यसले मेगाप्याक ब्याट्री उत्पादन गर्न थालेको छ । टेस्लाले २०२५ मा ऊर्जा भण्डारणको डिप्लोयमेन्टमा वार्षिक ५० प्रतिशत वृद्धि अपेक्षा गरेको छ । रासस

निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था गरेर मात्रै टेक एण्ड पेमा जानुपर्छ : सांसद बस्नेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले जलश्रोत विधेयक जसरी नै विद्युत विधेयक फिर्ता लिए ठूलो संकट निम्तिने बताएका छन् । प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गइरहेको विधेयक फिर्ता गर्नुले सरकारको जवाफदेहिता स्पष्ट हुने बताए । सरकार विधेयक र कानून निर्माणप्रति जिम्मेवार हुन नसकेको आरोप लगाए । निजामति ऐन छिटो भन्दा छिटो संसदबाट पारित हुनुपर्ने जानकारी दिए ।  सांसद बस्नेतले भने, ‘सरकारले जलश्रोत विधेयक जस्तो विद्युत विधेयक पनि फिर्ता गरिदियो भने अर्को डिजास्टर हुनेवाला छ । जलश्रोत विधेयक जस्तै विद्युत विधेयक पनि फिर्ता लिने । निजामति सेवा ऐनको बारेमा माननीयज्यु यहाँ भन्दै हुनुहुन्थ्यो । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगिरहेको विधेयक फिर्ता गर्ने निर्णय सरकार गर्दछ । सरकारको जवाफदेहीताको बारेमा त यो भन्दा थप कुरा के भन्नु ।’ सांसद बस्नेतले निजी क्षेत्रले व्यापार गर्नसक्ने कानूनी व्यवस्था नगरी टेक एण्ड पेमा जाँदा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको योजना लथालिङ्ग हुने बताए ।   

सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी

काठमाडौं । पछिल्लो दुई दिन परेको भारी वर्षापछि बाढी र पहिरोका कारण विभिन्न क्षेत्रका १० स्थानमा अवरुद्ध भएका सडकमध्ये आजसम्म ७ ठाउँको सडकमा यातायात सञ्चालनमा आएको छ । साथै अझै तीन स्थानमा सडकमा यातायात ठप्प रहेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरक्षिक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार नवपलरासी बर्दघाट सुस्तापूर्वको विनयी खोलामा डाइभर्सन बगाउँदा अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । यहाँ हिजो यात्रुबाहक गाडी नै बगाएको थियो भने यात्रुलाई सकुसल उद्धार गरिएको थियो ।  रोल्पाको त्रिवेणी गाउँपालिका ७ जङ्डाँडामा पहिरोले घोराही–रुकुम सहिदमार्ग अवरुद्ध भएको छ ।  पहिरोकै कारण पाल्पाको तिनाउ नगरपालिका ३ सुरुङमार्गमा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग बन्द भएको छ । ती सडकहरु खुलाउने प्रयास भने जारी रहेको प्रवक्ता घिमिरेले बताए । उनका अनुसार ललितपुरको बागमती गाउँपालिकामा पहिलोले अवरुद्ध कान्ति लोकपथ पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक, नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङ्टारमा पहिरोले अवरुद्ध कालिगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक, गुल्मीमा अवरुद्ध कालिगण्डकी करिडोर पनि पहिरो पन्छाएर सडक खुलाइएको प्रहरीले जनाएको छ । यस्तै जुम्लामा अवरुद्ध जुम्ला–मुगु सडक, डोल्पामा बाढीका कारण अवरुद्ध भेरी करिडोर पनि एकतर्फी खुलाइएको र दुईतर्फी खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।   शुक्रबारबाट देशभर नै मनसुन फैलिएकाले देशभर नै मनसुनै वायुको प्रभाव रहेको छ । जसका कारण जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ ।

मुलुकको स्रोत साधनकै आधारमा बजेट विनियोजन भएको छ : सांसद डा. महत

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८२/८३ का लागि मुलुकको स्रोत साधनको आधारमा नै बजेट विनियोजन भएको बताएका छन् । शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद महतले यस्तो बताएका हुन् ।  उनले मन्त्रालयहरुमा विनियोजित बजेटको सही उपयोग हुन्छ कि हुँदैन र बजेट सदुपयोगको सम्भावना र प्राथमिकताको आधारमा खर्च भयो कि भएन भन्ने महत्वपूर्ण सवाल रहेको टिप्पणी गरे । डा. महतले सरकारले विनियोजित बजेट कार्यान्यनतर्फ जोड दिनुपर्ने बताउँदै कनिका छरेजसरी बजेट छरिदिने परम्पराले परिणाम नआउने दाबी गरे । ठूला र महत्वपूर्ण योजना संघीय सरकारले नै गर्नुपर्ने बताउँदै उनले विकास कसरी गर्नुपर्छ भनेर प्रदेश र स्थानीय तहलाई उदाहरणका रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मन्त्रालयहरुले आउने दिनमा बजेटलाई कसरी कार्यान्वयन गर्छ त्यसपछि भन्न सकिने अवस्था हुन्छ । जहाँसम्म परराष्ट्र मन्त्रालयको अत्यन्त महत्वपूर्ण भूमिका छ । परराष्ट्र नीतिको कार्यान्वयन गर्ने मुख्य निकाय नै परराष्ट्र मन्त्रालय हो र यसलाई राष्ट्रिय बजेटको १५.८ प्रतिशत बजेट थपिएको छ । तथापी बढाउनु आवश्यक थियो । अहिले जुन अन्तर्राष्ट्रिय परिस्थिति छ, यो आर्थिक सहयोगलाई परिचालन गर्नपनि परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ ।'  छुट्याइएका बजेटमा मन्त्रालयको कार्यान्वयन हेरेपछि मात्र त्यसबारेमा टिप्पणी गर्नसकिने डा. महतले बताए । 

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्यो : सांसद मोदी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।  शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद मोदीले छलफलमा मन्त्रीहरू पनि नआउने र मन्त्रालय थप्दै जाने होभने समयपनि थप्न आग्रह गरेका हुन् । संघीय निजामति ऐन संसदमा पेश भएरपनि नआउँदा दुःख लागेको बताउँदै आफू मन्त्री भएको समयमा कर्मचारीको तलब वृद्धिका लागि कार्यदल बनाइएको भएपनि त्यो अहिले नदेखिएको स्पष्ट पारे । सांसद मोदीले कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढिरहेको दाबी गरे । सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने कुरा गरेपनि संसदमा आजसम्म विधेयक नआएको भन्दै आपत्ति जनाए । उनले भने, ‘खर्च कटौतीसँग सम्बन्धित १० वटा मन्त्रालयको बजेटसँग सम्बन्धित विषयहरुमा आफ्ना धारणा राख्दा केही कुरामा सभामुखज्यूलाई विशेष ध्यानाकर्षण गर्न चाहन्छु । तपाईले १० वटा मन्त्रालय आजै राख्नुभयो, अनि समयपनि अत्याधिक कम भएको कारणले सबै मन्त्रालयको टिप्पणी गर्ने र खर्च कटौती गर्ने कुरामा कहिँ न कहीँ समस्या हुन्छ ।’ उनले आन्दोलनरत शिक्षकहरूसँग जुन तरिकाले वार्ता र सम्वाद भएको थियो सोही अनुरूप कार्यान्वयन गर्नुपर्ने कि नपर्ने भन्दै प्रश्न गरे । 

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताइन् । इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन् ।  परराष्ट्रमन्त्री डा. राणाले भनिन्, 'इरानमा केही नेपाली हुनुहुन्छ । आफ्ना नागरिकको उद्धार गर्दा नेपालीको पनि उद्धारका निम्ति मैले भारत सरकारसँग आग्रह गरेकी छु । हामी भारतबाट सकारात्मक जवाफ आउनेमा विश्वस्त छौँ ।'  भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा पनि नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा छन् ।  तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैैछ । यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतवासका उपप्रमुखसँग सम्पर्क र समन्वय गरिरहेको बताए ।   

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ ।  यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ ।  आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार आजदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको हो ।  'निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउने बेलासम्म रातिमा सडकमा यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको छ', उनले भने, 'यसैगरी दाउन्ने खण्डको केही स्थानमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेकाले दाउन्नेमा सहज रुपमा यातायात सञ्चालन नहुने बेलासम्मका लागि रातिमा सडक बन्द गरिएको हो ।'  उक्त सडक खण्डमा ठूला र मालवाहक सवारीसाधन भने आजदेखि चौबिसै घण्टा सञ्चालन गर्न नदिने गरी रोक लगाइएको ढकालको भनाइ छ । ठूला र मालवाहक सवारीसाधनलाई नारायणघाट बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै निर्देशक ढकालले साना सवारीसाधनसमेत सडकको अवस्था हेरेरमात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिए ।  चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य पानी पर्दा हिलोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ । त्यस्तै, विनयी खोलामा आउने बाढीले यहाँ निर्माण गरिएको डाइभर्सन बगाउँदा पटकपटक यातायात सञ्चालनमा अवरोध हुने गरेको छ ।