विकासन्युज

बाढीले अवरुद्ध स्याफ्रुबेंसी-रसुवागढी सडक दुई सातापछि एकतर्फी सञ्चालनमा

काठमाडों । भोटेकोशीको सहायक नदी ल्हेन्दे खोलामा आएको बाढीले करिब दुई सातादेखि अवरुद्ध स्याफ्रुबेंसी-रसुवागढी सडकखण्ड आइतबारदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।   असार २४ गते राति आएको बाढीपहिरोले सडक बगाउँदा टिमुरे र रसुवागढी नाकासँगको सम्पर्क विच्छेद भएको थियो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाअन्तर्गत पर्ने उक्त खण्ड आइतबार अपराह्न ४ बजेदेखि अस्थायी रूपमा खोलिएको हो ।  सडक खुलेपछि साना तथा यात्रुवाहक सवारीसाधन चल्न थालेका छन् भने टिमुरे र रसुवागढीमा रोकिएका खाद्यान्नलगायत सामग्रीको आपूर्ति पुनः सुरु भएको छ । यद्यपि, भारी सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ । वर्षा जारी रहेकाले सम्भावित जोखिमका कारण रात्रिकालीन समयमा पनि सवारी चलाउन निषेध गरिएकोप्रमुख जिल्ल अधिकारी पौडेलले जानकारी दिए ।  बाढीपहिरोले यस सडकखण्डको करिब १२ सय मिटर सडकमा क्षति पुर्‍याएको थियो । सडक विभाग र विभिन्न जलविद्युत् आयोजनाको सहकार्यमा असार २६ गतेदेखि मर्मत र नयाँ ट्र्याक खोल्ने काम थालिएको थियो ।  सबैभन्दा बढी क्षति भएको लिङलिङ भीरमा पहिरोले बगाएको १ सय २० मिटर सडक, चट्टानी भीर काटेर नयाँ ट्र्याक खोलेपछि सडक सञ्चालनमा आएको हो । सडक खुलाउन सडक विभागका साथै लाङटाङ भोटेकोशी, रसुवागढी र लाङटाङ जलविद्युत् आयोजनाका जेसिबी, एक्स्काभेटर, ब्रेकरजस्ता भारी उपकरण प्रयोग गरिएको थियो ।

गायिका चन्द्रकला शाह र संगीतकार शीला बहादुर मोक्तान सम्मानित

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा आयोजित 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' यही २०८२ साउन ३ गते कुपण्डोलस्थित होटल हिमालयमा सम्पन्न भएको छ । सो कार्यक्रममा गायनतर्फ वरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ वरिष्ठ संगीतकार शीला बहादुर मोक्तानलाई जनही नगद १० हजार रुपैयाँ सहित सम्मानित गरिएको हो । त्यसैगरी, ‘सुशिला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई मरणोपरान्त प्रदान गरिएको छ। उक्त सम्मान उनकी धर्मपत्नी यूगज्योति क्रियाशिलले ग्रहण गरिन् । २५ हजार रुपैयाँ राशिको यो सम्मान संगीत क्षेत्रमा क्रियाशील कलाकारहरूको स्वास्थ्योपचारमा सहयोग पुर्याउँदै आएको छ । सम्मान हस्तान्तरण कार्यक्रम भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा सम्पन्न गरेका थिए । भक्तराज आचार्य संगीत प्रतिष्ठानले नेपाली संगीत तथा कला क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ भने सिटी एक्सप्रेस मनि ट्रान्सफरले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानसँग सहकार्य गर्दै आएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १८ वर्षदेखि विश्वभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । हालै कम्पनीले डिजिटल कारोबार सशक्त बनाउन सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । यस सेवाबाट सिधै रेमिट्यान्स भुक्तानीसमेत गर्न सकिने सुविधा उपलब्ध गराइएको छ ।

गोल्ड स्टार लगाउनेलाई गोली हानिन्थ्यो, अहिले यो राष्ट्रिय गौरवको ब्रान्ड बनेको छ : वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आफ्नो दलले राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने नीति अख्तियार गर्दै आएको बताएका छन् । गोल्ड स्टार जुत्ता उत्पादक कम्पनी ‘किरण शू’ मा कार्यरत पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध मजदुर संगठनको स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले सत्तापक्ष वा प्रतिपक्षको भूमिकामा रहँदा राष्ट्रिय पुँजीपति वर्गप्रति आफूहरूको दृष्टिकोण समान रहेको बताए । ‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस्, राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने हाम्रो खुला नीति छ,’ पुनले भने, ‘देशभित्रै लगानी गरेर रोजगारी सिर्जना गर्ने, मुलुकको आर्थिक विकासमा योगदान दिनेहरूलाई हामी प्रगतिशील–राष्ट्रवादी उद्योगी व्यवसायीका रूपमा लिन्छौं ।’ त्यस्ता उद्यमी व्यवसायीलाई राष्ट्रिय रूपमा स्थापित गर्ने दिशामा आफूहरू सधैं लागिपर्ने उनको प्रतिबद्धता थियो । पुनले श्रमिकबाट धेरै काम लिएर मुनाफा आर्जन गर्न खोज्ने उद्यमी व्यवसायीको प्रवृत्ति र श्रमको मूल्य बढी लिन खोज्ने श्रमिकको प्रवृत्ति दुवै हुने बताए । जीवन चलाउन श्रम बेच्नुपर्ने बाध्यतामा श्रमिक र उद्यम सञ्चालन गर्न श्रम किन्नैपर्ने उद्यमीको बाध्यता नै दुई पक्षको मिलनबिन्दु भएको उनको भनाइ थियो । ‘श्रमिकले श्रमको बढी मूल्य खोज्छ, उद्यमीले बढी नाफा खोज्छ। उद्यम पनि चल्नुपर्छ, श्रमिकले पनि बाँच्न सक्ने गरी श्रमको मूल्य पाउनुपर्छ । श्रमिकले संघर्ष गर्दा व्यवसाय नै बन्द हुने गरी गर्नुहुँदैन, व्यवसायीले श्रमिक मार्ने गरी शोषण गर्नुहुँदैन,’ पुनले भने, ‘बाँच्नका लागि श्रम बेच्नैपर्ने श्रमिकको बाध्यता र आफ्नो उद्यम चलाउन श्रम किन्नैपर्ने उद्यमीको बाध्यता नै उनीहरूबीचको ‘मिटिङ प्वाइन्ट’ हो । श्रम किन्ने र बेच्ने दुवैले एकअर्काप्रति न्यायोचित भएर सोच्नुपर्छ ।’ उद्योगीको पुँजी, जमिन, मेसिन र श्रमिकको श्रम मिलेपछि मात्र वस्तु उत्पादन भएर बजारमा जाने भएकाले दुई पक्षबीच अस्वस्थ द्वन्द्व भए उद्योग नै नचल्ने र दुवै पक्षले हार्ने उनको तर्क थियो । उनले राष्ट्रिय पुँजीपतिहरूलाई प्रवर्द्धन गर्ने पार्टीको नीति रहेकाले पार्टीनिकट मजदुर संगठनलाई पनि सोही नीति अनुसरण गर्न अपिल गरे । साथै, उद्यमी व्यवसायीलाई पनि श्रमको उचित मूल्य दिन आग्रह गरे । पुनले क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा समेत बलियो उपस्थिति जनाएको गोल्ड स्टार जुत्ता मुलुककै गर्व गर्नलायक उत्पादन भएको बताए । आफूहरूले जनयुद्धको समयमा गोल्ड स्टार जुत्ताको अधिक प्रयोग गरेको स्मरणसमेत पुनले गरे । सोही कारण राज्य सञ्चालकहरूले गोल्ड स्टारको उत्पादन, बिक्री–वितरण गर्नेहरूदेखि प्रयोगकर्तासम्मलाई समेत दुःख दिएको उनले बताए । ‘राज्य वा प्रहरी प्रशासनले गोल्ड स्टार जुत्ता लगाएको मानिस माओवादी हो भन्ने ठान्थ्यो, देख्नेबित्तिकै गोली चलाउन भनिन्थ्यो । त्यसका कारण कतिपय स्थानमा घटना पनि भएका छन् । गोल्ड स्टार जुत्ता गाउँ जान नदिने, कतिपय अवस्थामा सप्लाई र बिक्री गर्ने मान्छेलाई पनि पक्राउ गरेको घटना छ,’ पुनले भने । गत वर्ष भारतमा मात्र १ अर्ब ६० करोड रुपैयाँ बराबरको गोल्ड स्टार जुत्ता निर्यात भएको भन्दै उनले व्यवस्थापनको प्रशंसा गरे । ‘हामी धेरैजसो विदेशी सामान किन्छौं । विदेशमा निर्यात गर्ने हामीसँग कमै उत्पादन छन्। गोल्ड स्टारले भारत, अमेरिका र युरोपका बजारमा आफ्नो स्थान बनाउनु गौरवको कुरा हो,’ पुनले भने, ‘गोल्ड स्टार नेपालको राष्ट्रिय ब्रान्ड हो । हामी सबै चिज किन्छौं, तर विदेशमा जाँदा हामीले बेच्ने चिज पनि छ है भन्ने गौरव गोल्ड स्टार भएको छ। झट्ट हेर्दा व्यापार हो, तर यसमा हाम्रो राष्ट्रिय पहिचान पनि हुँदो रहेछ । भारत, अमेरिका वा युरोपको बजारमा गएर गोल्ड स्टार किन्दा गर्व हुन्छ, किनकि त्यसमा ‘मेड इन नेपाल’ लेखिएको हुन्छ ।’  

२५० विद्यार्थीलाई लक्षित सडक सुरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सडक सुरक्षा र ट्राफिक सचेतनामाथि केन्द्रित एक जनचेतनामूलक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । बुधबार रोटरी क्लब अफ बानेश्वरको आयोजनामा तथा रोट्र्याक्ट क्लब अफ बानेश्वर, रोट्र्याक्ट क्लब अफ बानेश्वर रोयल र इन्टरेक्ट क्लब अफ चेल्सी इन्टरनेशनल एकेडेमीको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । बिहीबार सामाखुसीस्थित रेडन कलेज एण्ड स्कूलको सभाहलमा आयोजित कार्यक्रमको उद्देश्य विद्यालय तहका विद्यार्थीहरूमा सडक सुरक्षा र ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्नु रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरका नगर प्रहरी प्रमुख तथा पूर्व ट्राफिक प्रहरी प्रमुख सिताराम हत्तेछुले करिब २५० जना कक्षा १० र १२ का विद्यार्थी तथा ५ जना शिक्षक–स्टाफहरूलाई लक्षित गर्दै ४० मिनेट लामो भिडियो प्रस्तुति दिएका थिए । ट्राफिक नियम उल्लङ्घनका सम्भावित खतराहरू र सडक सुरक्षाको महत्त्वबारे उनले जीवन्त उदाहरणसहित जानकारी दिएका थिए । उनले व्यक्तिगत अनुभवहरू समेत सेयर गर्दै विद्यार्थीहरूसँग छलफल गरेका थिए । कार्यक्रमको उद्घाटन रोटरी क्लब अफ बानेश्वरका उपाध्यक्ष रोटे पुष्पराम के।सीले स्वागत मन्तव्यसहित प्रमुख अतिथिको परिचय गराएका थिए । रोटरी रोड सेफ्टी कमिटीका संयोजक रोटे। नुगल वैद्यको उपस्थिति कार्यक्रमप्रति थप उत्साहजनक बनाएको थियो। उनले विद्यार्थी तथा शिक्षकहरूलाई ट्राफिक सुरक्षा सन्देशसहितका स्टिकरहरू वितरण गरेका थिए। जसले दैनिक ट्राफिक सचेतनामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । कार्यक्रममा ४ जना रोटेरियन, १ जना जिल्ला प्रतिनिधि, ३ जना रोट्रयाक्टर तथा ८ जना इन्टरेक्टरहरूको सहभागिता रहेको आयोजकहरूले जानकारी दीएका छन् । कार्यक्रमको समापनमा रोट्रयाक्टर सन्देश तुलाधरले सबै अतिथि, सहभागी, आयोजक तथा सहकार्यकर्ता क्लबहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । साथै, आयोजक संस्थाहरूले यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।  

साढे २१ अर्बको कारोबार, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.३२ अंकले बढेर २८७० बिन्दुमा पुगेको छ । आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १४४ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार कारोबार रकम भने बढेको छ । ३१६ कम्पनीको ५ करोड कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ६४ करोड, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड, न्यादी गुप्रको ५० करोड र सानिमा माइ हाइड्रोको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह १.३८, विकास बैंक ०.०८, वित्त २.२६, जलविद्युत् ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, लघुवित्त ०.०२ र व्यापार ०.५० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ ।  होटल तथा पर्यटन समूह १.२४, जीवन बीमा १.४०, म्युचुअल फन्ड ०.२५, निर्जीवन बीमा १.३७ र अन्य समूह ३.३६ प्रतिशतले बढेको छ । आज ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । उन्नती सहकार्य लघुवित्त र सानभी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ट्रेड टावर र शिभा श्री हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भारत जाने, दुई वर्षपछि उच्चस्तरीय भेट गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा आगामी सेप्टेम्बर १६ मा भारतको राजधानी दिल्ली भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेको यो पहिलो अवसर हो, जब उनी प्रधानमन्त्री बनेको एक वर्षपछि औपचारिकरूपमा भारतले निमन्त्रणा दिएको हो । यसअघि ओली र मोदीबीच न्यूयोर्क र बैंककमा साइडलाइन भेटवार्ता भए पनि दुवै नेताले एकअर्काको मुलुक भ्रमण गरेका थिएनन् । ओलीको भ्रमणपछि भारतीय प्रधानमन्त्री मोदीले पनि अक्टोबर वा नोभेम्बर पहिलो साता नेपाल आउने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

परीक्षा भएको २४ घण्टा नबित्दै काठमाडौं महानगरले निकाल्यो कक्षा ११ र १२ को छात्रवृत्तिको नतिजा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि सञ्चालित प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। महानगरपालिकाको शिक्षा विभागका अनुसार, मिति २०८२/०४/०३ गते शनिबार ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालित परीक्षामा १४,१७३ विद्यार्थी सहभागी हुनु भएको थियो । जसमध्ये १०,८६७ जना विद्यार्थी उत्तीर्ण हुनु भएको छ । उत्तीर्ण हुन न्यूनतम ४० अङ्क (४०%) आवश्यक थियो र ४० अङ्क नकटाउने विद्यार्थीहरूलाई अनुत्तीर्ण गरिएको विभागले जनाएको छ । सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले शिक्षा विभागले ‘चौबीस घन्टामै नतिजा प्रकाशन’ गरेर उदाहरणीय काम गरेको बताए । ‘शिक्षा विभागले जुन चित्त लगाएर काम गरिरहेको छ, त्यो प्रशंसनीय छ। एक महिना भन्दा अघिदेखि निरन्तर खटिएर चौबीस घन्टामै नतिजा प्रकाशित गर्न सकियो। यो हाम्रो समर्पण र विद्यार्थीप्रतिको उत्तरदायित्वको प्रमाण हो। समावेशीकरणलाई सुनिश्चित गर्ने स्कलरसिप प्रणालीलाई संविधानको मर्मअनुसार कार्यान्वयन गर्दै आएका छौं’, उनले भने । परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० ओटा बहुवैकल्पिक प्रश्नहरू समावेश थिए। गलत उत्तरका लागि नकारात्मक अङ्कनको व्यवस्था थिएन । देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट हुनुभएको थियो । तीमध्ये १४,१७३ जनाले परीक्षामा भाग लिनु भएको थियो । नतिजा ओएमआर (अप्टिकल मार्क रिकग्नेशन) प्रणालीमार्फत जाँच गरिएको छ । यो प्रणालीले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गरेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले बताए । नतिजा महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको छ। विद्यार्थीहरूले आफ्नो SEE को सिम्बोल नम्बर, जन्म मिति र इमेल वा मेसेज मार्फत प्राप्त पासवर्ड प्रयोग गरी आफ्नो स्कोर कार्ड हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन् । काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयहरूमा ४ हजार भन्दा बढी छात्रवृत्ति सिटहरू उपलब्ध छन्।

बेष्ट फाइनान्सले ल्यायो ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना

काठमाडौं । जलवायु परिवर्तन र जोखिम न्यूनिकरणका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ कार्यक्रम अन्तर्गतको  ‘ग्रीन फाइनान्सिङ्’ लाई कार्यन्वयनका लागि भन्दै बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ ग्राहक माझ ल्याएको छ । जलवायु परिवर्तनले ल्याउने जोखिम न्यूनीकरण गर्ने, प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्ने, वातावरण प्रदुषणको रोकथाम र नियन्त्रण गर्ने उद्देश्य सहित नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ जारी गरेको थियो । उक्त मार्गदर्शनमा भएका व्यवस्था कार्यान्वयन गर्ने क्रममा ‘ग्रीन फाइनान्सिङ्’ का लागि स्रोत जुटाउने उद्देश्यले बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना ग्राहक माझ ल्याएको हो । उक्त निक्षेप योजनामा सहभागी हुने हरेक ग्राहकले ‘नेपाल ग्रीन फाइनान्स ट्यासोनोमी, २०२४’ ले राखेका लक्ष्य पूरा गर्ने कार्यमा स्वतः योगदान पुर्याउन पुग्दछन् । त्यसका लागि बेष्ट फाइनान्सले हरेक ग्राहकका तर्फबाट एक वटा बिरुवा रोपिदिने व्यवस्था मिलाएको छ । स्थानीय निकायहरुसँग समन्वय गरी बिरुवा रोप्नका लागि खाली स्थान मिलाउने, बिरुवा रोप्ने, गोडमेल गर्ने तथा संरक्षण गर्ने तथा उक्त बिरुवा रोपेर हुर्काउने र ५ बर्ष पछि सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्ने कार्यमा साझेदारी गर्नका लागि बेष्ट फाइनान्सले लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी समेत गरेको छ । उक्त साझेदारी गर्ने सहमतिपत्रमा बेष्ट फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बीएन घर्र्ती र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस काठमाडौंको तर्फबाट एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्यले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रम अन्तर्गत गोदावरी नगरपालिका वडा नं. १ स्थित बेष्ट फाइनान्स र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नं. १ गोदामचौंर स्थित खाली जग्गामा पाँच सय थान बिरुवा रोप्ने कार्य सम्पन्न भएको छ । उक्त वृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिका वडा नंं. १ का अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा.डा. रामजी गौंतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती तथा कर्मचारीहरु, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालका एरिया चिफ कोअर्डिनेटर चिन्तन बज्राचार्य, एरिया एक्जुकेटिभ चिफ बालकुमार पाण्डे लगायत लायन्सका विभिन्न पदाधिकारीहरुको उपस्थिति थियो । उक्त वृक्षारोपण कार्यक्रमलाई लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालका ५० भन्दा बढि क्लबहरुले ऐक्यबद्धता जनाएका थिए ।