कम्पनीभित्रै कमिसनको खेल, कर्मचारीले खोले पोल
काठमाडौं । सरकारको स्वामित्वप्राप्त राष्ट्रिय बीमा कम्पनीमा कार्यरत कर्मचारीले कम्पनीको पफर्मेन्सप्रति प्रश्न गरेका छन् । कम्पनीका हरेक वित्तीय सूचक अरू कम्पनीको तुलनामा कमजोर देखिएको बताउँदै उनीहरुले कम्पनीले सुधार गर्नुपर्ने विषय धेरै रहेको बताएका हुन् । विगत लामो समयदेखि कम्पनीले लेखापरीक्षण समेत गर्न नसकेको बताउँदै उनीहरुले असन्तुष्टि पोखेका हुन् । आइतबार कम्पनीको १२औं वार्षिकोत्सवको अवसरमा कर्मचारी संघका अध्यक्ष डम्बरदेव अधिकारीले कम्पनीको पफर्मेन्स घट्दै गएको बताए । उनले कम्पनीको पफर्मेन्ससँगै व्यवसाय घट्नुको कारण दलाली र कमिसन रहेको प्रष्ट पारेका छन् । कम्पनीभित्रै दलालीको बिगबिगी भयो भने संस्था टिक्न समस्या हुने धारणा राख्दै उनले कम्पनीमा काम गर्नेभन्दा पनि कमिसन खान विभाग खोज्ने प्रवृत्ति बढेकाले होसियार रहनुपर्ने बताए । त्यसबाहेक उनले संस्थाको व्यवसाय निरन्तर घट्दै जानुमा चिन्ता व्यक्त गर्दै यस विषयमा बहस र छलफल आवश्यक रहेको औंल्याएका छन् । लामो समयदेखि कर्मचारीहरूले लेखापरीक्षण, कम्पनीको खाद्य संस्थानबाट खरिद गरिएको जग्गा आफ्नो नाममा ल्याउने विषय र कम्पनीमा मौलाउँदै गएको विकृति, विसंगतिहरुको नियन्त्रण, भौतिक तथा मानव स्रोत–साधनको समुचित प्रयोग र व्यवस्थापनका विषयहरू उठान गर्दै कम्पनीले सुधार गर्नुपर्ने विषय धेरै रहेको उनको भनाइ छ । उनले कर्मचारी युनियनहरूसँग सञ्चालक समितिको रोहबरमा उच्च व्यवस्थापक तहसँग भएको कर्मचारी विनियमावलीको पूर्ण कार्यान्वयनको लागि भएको १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो राखे । अध्यक्ष अधिकारीले हालसम्म कर्मचारीले कुनै नयाँ सेवा सुविधा माग नगरेको र नपाएको उल्लेख गर्दै विनियमावलीमा भएको अधिकार छिट्टै सम्बोधन हुनुपर्ने बताए । ‘हामीले कुनै नयाँ सेवा सुविधा मागेका छैनौं र पाएका छैनौं, मात्रै विनियमावली भएको अधिकार मात्रै खोजेका हौं, त्यसको कार्यान्वयन गर्ने कर्तव्य कसको हो ? टर्च-लाइट लिएर खोज्दै हिँड्ने बेला भएको छ,’ उनले भने । अध्यक्ष अधिकारीले ओएनएम सर्भेबारे प्रश्न उठाए । उनले भने, ‘ओएनएम सर्भे गरियो रे, दरबन्दी १४७ नै छ । ८ वटा विभाग पनि छैनन्, यो ओएनएम सर्भेबाट संस्था अगाडि बढ्छ त ?’ अध्यक्ष अधिकारीले कर्मचारीले पाउने बोनसको बारेमा पनि सवाल उठाएका छन् । उनले कर्मचारीको हात सधैं रित्तै भइरहेको गुनासो गरे । उनले कम्पनीमा महिलामैत्री वातावरण बनाउन कम्पनीले के गरिरहेको छ भनेर सवाल उठाए । उनले कम्पनीका शाखा कार्यालयमा ऊर्जावान, नवीनतम् सोचसहितका कर्मचारी हुँदा पनि कम्पनी सुदृढीकरण गर्न नसक्नुमा त्यसको कारण खोज्नुपर्ने उल्लेख गरे । कर्मचारीलाई मनोवैज्ञानिक, व्यावसायिक र भौतिक रूपले सक्षम बनाउन कम्पनीले जोड दिनुपर्ने उल्लेख गर्दै उनले त्यसको लागि आन्तरिक तथा बाह्य तालिमको व्यवस्था, प्रोत्साहन हुने कार्यक्रमको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । कम्पनी प्रदेशमा जाँदै गर्दा कर्मचारीको पूर्व व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन, सवारीसाधनको व्यवस्थापन, कर्मचारीहरूलाई मनोवैज्ञानिक रूपले सक्षम नबनाई होर्डिङ बोर्ड राखेर प्रदेश कार्यालय खोल्न सकिने वातावरण नभएको औंल्याए । राष्ट्रिय बीमा कम्पनी नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष दीपकराज पाण्डेले लेखापरीक्षण कुनै पनि कम्पनीको नियमित कार्य भएको बताए । नियमित कार्य नहुँदा कम्पनीको विश्वसनियतामा मात्र कमी नआई वैधानिकता र पारदर्शितामा समेत प्रश्न उठ्ने उनको भनाइ छ । उनले सरकारी स्वामित्वको वित्तीय कारोबार गर्ने कम्पनी प्रत्येक वर्ष अनअडिटेड संस्थाको रूपमा सरकारी प्रतिवेदनमा रहनु लज्जाको विषय बनिरहेको बताए । अध्यक्ष पाण्डेले भने, ‘सरकारी स्वामित्वको वित्तीय कारोबार गर्ने कम्पनी प्रत्येक वर्ष अनअडिटेड संस्थाको रुपमा सरकारी प्रतिवेदनमा रहनु लज्जाको विषय बनिरहेको छ, जसले गर्दा लगानी जोखिममा मात्र नपरी आर्थिक सुशासनको समेत धज्जी उडेको छ ।’ बीमा जस्तो संवेदनशील क्षेत्रको संस्था पनि लेखापरीक्षणबिनै चलिरहेको विषय लजास्पद भएको बताउँदै यही आर्थिक वर्षभित्रै यो कार्यले पूर्णता प्राप्त गरी सरकारद्वारा बजेटमार्फत रोकावट लगाइएका विषय फुकाउन सकोस् भन्ने अपेक्षा उनको छ । लामो समयदेखि कम्पनीको नाममा जग्गा नामसारी गर्ने भनेर कम्पनी अघि बढे पनि त्यसले पूर्णता पाएको छैन । यो विषय पनि छिट्टै पूरा भई कम्पनीको भवन निर्माण कार्य अगाडि बढाउनुपर्ने माग कर्मचारीहरूले राखेका छन् । सरकारी स्वामित्वको बीमा कम्पनीको रुपमा रहेर पनि नयाँ सरकारी सम्पत्तिको बीमा व्यवसाय कम्पनीले प्राप्त गर्न नसकेको तथा विगतमा गर्दै आइरहेको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनलगायत केही सरकारी बीमा बाहिरिरहेको समस्या कम्पनीमा छ । कम्पनीका कर्मचारीले सरकारी सम्पत्तिको बीमा सरकारी कम्पनीमा नै गर्नुपर्ने पूर्ण प्रावधान लागू गराउन नियामक निकायमार्फत नेपाल सरकार समक्ष अनुरोध गरेका छन् । बर्सेनि कम्पनीको व्यवसाय घट्दै गइरहेको स्थितिमा कम्पनीले व्यवसाय अभिवृद्धिमा जोड दिई बीमा व्यवसाय बढाउने तर्फ गम्भीर रूपमा लाग्नुपर्ने अध्यक्ष पाण्डेले सुझाव दिएका छन् । त्यस्तै, उनले कुनै पनि गतिशील संस्थाको मुख्य मेरुदण्ड भनेको कर्मचारी वर्ग भएको बताउँदै कर्मचारीलाई खुसी नपारी कर्मचारीबाट काम लिन खोज्नु मूर्खतासिवाय अरु केही पनि हुन नसक्ने अभिव्यक्ति दिएका छन् । उनले कम्पनीमा कार्यरत कर्मचारीको आर्थिक सेवासुविधा, वृत्ति विकासका अवसरहरू समेत ओझेलमा पर्दै गएको विषय अत्यन्तै दुःखद विषय बताउँदै यसतर्फ सोच्न सुझाव दिए । उनले भने, ‘बर्सेनि आठ–दश जनाको दरले दक्ष र अनुभवी कर्मचारीहरूको टर्नओभर बढ्दै गइरहेको स्थिति छ । तसर्थ यस्तो स्थितिलाई रोक्न व्यवस्थापन र सञ्चालक समितिलाई यस तर्फ गम्भीर, गम्भीर रुपमा ध्यानाकर्षण गर्न चाहन्छौं ।’ युनियन र व्यवस्थापन एक-अर्काका परिपूरक भएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले कर्मचारी युनियनहरू व्यवस्थापनसँग हातमा हात मिलाएर अगाडि बढ्न चाहेको बताए । तर व्यवस्थापन र सञ्चालक समितिले जे भन्छ त्यसैमा होमा हो मिलाउँदै जाने पक्षमा भने कर्मचारी नभएको उल्लेख गरे । कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले कम्पनीले नमिलेको कुराहरू विस्तारै मिलाएर अघि बढाइरहेको बताएका छन् । दुई सरकारी बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीलाई एक नम्बर स्थानमा ल्याउने गरी काम गरिरहेको र एकदिन आउने विश्वास व्यक्त गरे । कम्पनीमा रहेको विभिन्न समस्याहरूको विषयमा बोर्ड, समिति दुईटै बीमा कम्पनीका सीईओहरूसँग निरन्तर छलफलमा रहेको र अबको दुई÷तीन महिनामा निचोडमा पुग्ने बताए । अध्यक्ष उपाध्यायले भने, ‘कहाँ–कहाँ नमिलेको हो त ? जबसम्म नेपाल सरकारले नमिलेका कुराहरू केही कुराहरू छन् भने त्यसलाई राइट अफ गर्न सक्दैन, तबसम्म केही मिल्नेवाला छैन। यो राइट अफको धारणामा हामी जानुपर्छ ।’ नमिलेको कुरा मिलाउन बोर्डका सदस्यले बीमा प्राधिकरण, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालयमै जानुपर्ने अवस्था आए त्यहाँ गएर समाधान गर्नेतर्फ लाग्ने उनको भनाइ थियो । अध्यक्ष उपाध्यायले आफू कम्पनीमा अध्यक्ष भएर आएपछि लामो समय नभएको एजीएम गर्न सफल भएको बताए । उनका अनुसार कम्पनीले विगत १२/१५ वर्षदेखि एजीएम गर्न सकेको थिएन । आफ्नो कार्यकालपछि ९ वर्षको एजीएम सम्पन्न गरेको र अब बाँकी ६ वर्षको एजीएम पनि गर्ने तयारीमा कम्पनी लागेको उल्लेख गरे । त्यस्तै, उनले लेखापरीक्षण सम्पन्न गर्नको लागि कम्पनी दत्तचित्त भएर लागेको बताए । ‘लेखा परीक्षण सम्बन्धीको सम्पूर्ण कामहरू सम्पन्न गरेर सेयरधनीले पाउने जुन लाभांश हो, त्यो सम्बन्धित व्यक्ति, सम्बन्धित मन्त्रालयहरू, सम्बन्धित कसलाई दिनुपर्ने हो, त्यो चाहिँ पु¥याउँछु भन्ने धारणा साथ हामी लागि परेका छौं,’ उनले भने । कम्पनीले छिट्टै नै कार्यविधि सञ्चालन गर्ने तयारी रहेको बताउँदै उनले अबको एक महिनाभित्र कार्यविधि पारित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘सायद अब एक महिनाभित्र पारित हुन्छ, हामीले लगभग कार्यविधिको धेरै काम सम्पन्न गरेका छौं ।’
एथरको नयाँ फ्यामिली स्कुटर ‘रिस्ता’ सार्वजनिक, एकपटक चार्ज गर्दा १२५ किमि गुड्ने
काठमाडौं । भारतको अग्रणी इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी एथर एनर्जीले आफ्नो नयाँ फ्यामिली स्कुटर ‘एथर रिस्ता’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा एक विशेष कार्यक्रमका बीच यो स्कुटरको प्रि-लन्च गरेको हो । यसको आधिकारिक बिक्री तथा मूल्य घोषणा भने आगामी नाइमा अटो मोबिलिटीमा गरिने कम्पनीले जनाएको छ । नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले ल्याएको ‘रिस्ता’ विशेषगरी पारिवारिक प्रयोजनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यो स्कुटरमा फराकिलो र लामो सिट, आकर्षक डिजाइन र अत्याधुनिक फिचरहरू समावेश छन्। नेपालमा सार्वजनिक गरिएको एथर रिस्ता ३।७ किलोवाट आवर ब्याट्री क्षमताको ‘जेड’ भेरियन्ट हो । कम्पनीका ओभरअल बिजनेस हेड प्रदिप अधिकारीका अनुसार यो स्कुटरले एक पटकको फुल चार्जमा १२५ किलोमिटरको रेन्ज दिन्छ । यो रेन्ज अनरोडमा दुई जना सवार हुँदाको वास्तविक रेन्ज भएको उनले दाबी गरे । यसको कम्पनी सर्टिफाइड रेन्ज भने १५९ किलोमिटर रहेको छ । रिस्ताको टप स्पिड प्रतिघण्टा ८० किलोमिटर रहेको छ । एथर रिस्तामा अन्य एथर स्कुटरहरूमा जस्तै अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसमा स्मार्ट न्याभिगेसन, पार्क असिस्ट, इमरजेन्सी स्टप सिग्नल र फल सेफ जस्ता सेफ्टी फिचरहरू छन् । यसको सबैभन्दा प्रमुख विशेषता भनेको ‘ट्र्याक्सन कन्ट्रोल’ हो । यो फिचरका कारण स्कुटरलाई अफ-रोड, चिप्लो बाटो वा पानी परेको अवस्थामा पनि सुरक्षित रूपमा चलाउन सकिन्छ । मोड परिवर्तन गरेर यसलाई जुनसुकै सडक अवस्थामा पनि सहजै गुडाउन मिल्ने अधिकारीले जानकारी दिए । कम्पनीले रिस्ताको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । साथै मोटर र अन्य पार्टपुर्जामा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी उपलब्ध छ । ग्राहकलाई थप विश्वास दिलाउन कम्पनीले ब्याट्रीको वारेन्टीलाई ८ वर्ष वा ८० हजार किलोमिटरसम्म बढाउन मिल्ने सुविधा पनि दिएको छ । कम्पनीले नाइमा एक्स्पोमा आकर्षक अफरहरूसहित ‘रिस्ता’ को मूल्य घोषणा गर्ने र बिक्री सुरु गर्ने तयारी गरेको छ ।
मुक्तिनाथ बैंकका ग्राहकलाई एमएन अस्पतालमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा-सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौं, बसुन्धरास्थित एमएन अस्पतालसँग छुटसम्बन्धी व्यवसायिक सम्झौता गरेको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले एमएन अस्पतालमा उपलब्ध विभिन्न सेवाहरू जस्तै अपरेसन, प्रयोगशाला परीक्षण, एक्स-रे, औषधी आदिमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले यस्तो सहकार्यबाट ग्राहकहरूले गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र किफायती रूपमा प्राप्त गर्ने विश्वास लिएको जनाएको छ । बैंकले ग्राहक हितमा केन्द्रित यस्ता सेवामूलक साझेदारीहरू आगामी दिनहरूमा अझै विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यससँगै बैंकले मोबाइल एप ‘मुक्तिनाथ फाइदा’ सार्वजनिक गरी एकै एपबाट बहुउपयोगी सुविधाहरू उपलब्ध गराएको छ । साथै, अन्तरदेशीय क्यूआर भुक्तानी सेवा, मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, खाता खोल्ने सुविधा, इन्टरनेट बैंकिङ, रेमिट्यान्स खाता मै जम्मा जस्ता सेवाहरू ग्राहकले घरबाटै प्रयोग गर्न सक्ने सुविधा पनि सञ्चालनमा ल्याइएको छ ।
कक्षा १२ को नतिजा आज सार्वजनिक गरिँदै
काठमाडौं । कक्षा १२ को नतिजा सोमबार साँझ सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आज साँझ ५ बजे बैठक बस्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार आइतबार डेमो (पूर्वअभ्यास) सफलतापूर्वक सम्पन्न भइसकेकाले अब नतिजा सार्वजनिकको अन्तिम चरणमा पुगेको छ । 'आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ,' बोर्ड स्रोतले भनेकाे छ । परीक्षा सञ्चालन र नतिजा सार्वजनिकको कार्यतालिका अनुसार १५ साउनभित्र नतिजा सार्वजनिक गरिसक्नु पर्ने थियो । तर, गत चैत २० गतेदेखि शुरू भएको शिक्षकमहासंघको आन्दोलनका कारण परीक्षा तालिका प्रभावित हुँदा नतिजा प्रकाशित गर्न ढिलाइ भएको हो । यस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाट हुने तय भए पनि आन्दोलनका कारण १० दिन ढिलो गर्दै वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो। परीक्षा २९ वैशाखसम्म सञ्चालन भएको थियो । सो परीक्षामा देशभरबाट जम्मा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए ।
२८७५ बिन्दुमा पुग्यो नेप्से, १४० कम्पनीको मूल्य बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २८७५ बिन्दुमा पुगेको छ । आज १४० कम्पनीको मूल्य बढ्दा ११० कम्पनीको मूल्य घटेको हो । सोमबार ३२५ कम्पनीको २ कम्पनीको १० अर्ब ८२ करोड रुपेयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, शिवभ् सिमेन्टको ४३ करोड, हिमालयन डिस्टीलरीको ३७ करोड, न्यादी गुप्रको ३१ करोड र नेपाल रिइन्स्योरेन्सको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ १.६६, जलविद्युत् ०.२५, लगानी ०.११, जीवन बिमा ०.५०, लघुवित्त ०.५०, म्युचुअल फन्ड ०.०८ र व्यापार २.८९ प्रतिशतले बढेको छ । विकास बैंक ०.०६, वित्त ०.८२, होटल तथा पर्यटन ०.३४, उत्पादन तथा प्रशोधन ०.१२, निर्जीवन बिमा ०.५१ र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ । थ्रिस्टार हाइड्रोपावरको सेयर मूल्य आज सबैभन्दा धेरै ६.८९ प्रतिशतले बढेको छ । ट्रेड टावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
मुख्यमन्त्री लामाले दिए राजीनामा, नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सोमबार पदबाट राजीनामा दिएका छन् । आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत मुख्यमन्त्री लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् । प्रमुख स्वकीय सचिव लामाले आज हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाको राजीनामा पत्र बुझाएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए । ‘मुख्यमन्त्री लामाको राजीनामा पत्र अहिले भर्खरै दिउँसो १ बजेरित हाम्रो कार्यालयमा आइपुग्यो,ु प्रवक्ता सापकोटाले भने, ‘प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उपचार गराइ हेटौंडास्थित कार्यालय फर्किसक्नुभएको छ, अब छिट्टै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू हुन्छ ।’ सम्भवतः आजै प्रदेश प्रमुख देवकोटाले नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू गर्ने सम्भावना रहेको उनको भनाइ छ । मुख्यमन्त्री लामा पत्रकार सम्मेलनलगतै आइतबार साँझ राजीनामा बुझाउन हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । तर प्रदेश प्रमुख देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किएका थिए । त्यसपछि उनी राजीनामा पत्रमा हस्ताक्षर गरेर प्रमुख स्वकीय सचिव लामालाई राजीनामा पत्र जिम्मा लगाइ काठमाडौं हिँडे । यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले राजीनामा दिएका हुन् । मुख्यमन्त्री लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलमा निर्वाचित बानियाँको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।
बुटवल-नारायणगढ सडक अवरुद्ध
मध्यविन्दु । बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसे पछि दुईतर्फी सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमवार बिहानदेखि एकतर्फी भएको राजमार्ग दिउँसो १ः०० बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । एकतर्फी अवरुद्ध भएको सडक खोल्ने प्रयास भइरहेको अवस्थामा माथिबाट पहिरो झरेपछि थप समस्या भएको प्रहरी उपरीक्षक ढकालले बताए । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको छ । सडक अवरुद्ध भए पछि अहिले सयौँ यात्रु र चालक बीच बाटोमै अलपत्र परेका छन् । बुटवल–नारायणगढ सडकखण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।
एपोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित
काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा विप्लव अधिकारी निर्वाचित भएका छन् । अध्यक्षका अर्का दाबेदार दिपक प्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत निवार्चित भएका हुन् । आइतबारदेखि काठमाडौंमा जारी एपोनको वार्षिक साधारणसभाले १३ सदस्यीय समिती गठन गर्ने छ । अध्यक्षमा सर्वसम्मत भएपनि सदस्यमा पनि सहमतिको प्रयास भइरहेको छ । सदस्य पदका लागि प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश पौडेल, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र पवन दाहालले उम्मेदवारी दिएका छन् ।