विकासन्युज

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाउनेहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पोस्टमार्टम सकिएसँगै ज्यान गुमाएका शहीदहरुको त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।  शव यात्रामा गृहमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो । द्वय मन्त्रीहरूले मृतकको पार्थिव शरीरमाथि राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । आन्दोलनमा ७० जना भन्दा बढीले ज्यान गुमाएका छन् ।  सशस्त्र प्रहरी बलले मृतकलाई सलामी अर्पण गरी सम्मान व्यक्त गरेका छन् । सरकारले आन्दोलनमा मृत्यु हुनेहरुलाई शहीद घोषणा गरी जनही दश लाख नगद राहत स्वरुप प्रदान गर्ने घोषणा गरेको छ ।   

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा सुरु भएको बताए । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि आवश्यक पर्ने रकमको प्रबन्ध हुनेगरी बजेट परिमार्जित गर्ने घोषणा गरिसकेका छन् । यही भदौ २३  २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलन र यसबाट उत्पन्न परिस्थितिका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई यही भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । सोही दिन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेका थिए ।  

प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार भएको उक्त भेटमा उनीहरूबीच देशको विकसित घटनाक्रम तथा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिका बारेमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।  भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रियसभाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरी अघि बढ्न आग्रह गरिन् ।   

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री कार्यदलमा छन् । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अहिलेका बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको बताए । ‘चुनाव र पुनःनिर्माणका लागि केही बजेट चाहिन्छ । त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेटभित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन–कुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको हो’, प्रवक्ता पाण्डेयले भने, ‘बजेटका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने हुनसक्छ । त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।’ सोमबार कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा राजनीतिक दबाबमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताएका थिए । सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै निर्वाचन र पुनःनिर्माणका लागि करिब १ खर्ब बराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालको भनाइ थियो । रासस

सांग्रिला डेभलपमेन्ट बैंकले गर्‍यो प्रहरी वृत्त दरबारमार्गलाई सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर र एउटा स्क्यानर तथा फोटोकपीसहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ । केही दिनअघि आन्दोलनका क्रममा भएको आगजनीमा वृत्तको कार्य सञ्चालन प्रभावित भएपछि संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको हो । उक्त सहयोग सामग्री बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले मङ्गलबार वृत्तका इन्चार्ज प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । इन्चार्ज श्रेष्ठले यस्ता सहयोगहरूले कार्यालय सञ्चालनमा सहजता भए पनि आगजनीले ठूलो क्षति पुर्याएकाले अझ बढी सहयोग आवश्यक रहेको बताए । आम नागरिकको विश्वास र भरोसाका आधारमा सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाडौं । यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।  मंगलबार काठमाडौंको मीन भवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको संवद्ध सबै पक्षको बैठकले यात्रुहरु जाने क्रम सुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् ।  जेनजीको आन्दोलन पछि विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरुको घर जाने क्रम सुरु भइसकेकाले यस वर्ष दशैंलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।  उनले दशैंका लागि घर जानेहरूले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।  यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्‍याउने गरी सम्वद्ध सबै पक्षसँग छलफल गरिएको बताए । यात्रुहरूको सहज रुपमा गन्तव्यमा पुर्‍याउने कुरामा कुनै कमी हुन नदिने उनले प्रतीज्ञा गरे । बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पनि दशैंमा यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताए ।  उनले दशैंमा बस यात्रुहरुलाई ठग्नेमाथि कारबाही हुने चेतावनी समेत दिए । उनले नेपाल प्रहरीले यात्रुहरुको सुरक्षाका लागि सहायता कक्षमा पनि प्रहरी परिचालन गर्ने पनि बताए । सडकको अवस्था र सुधारका प्रयास सडकको अवस्था पूर्ण रूपमा सन्तोषजनक नरहेको व्यवसायीहरू बताउँछन् । बीपी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग र विशेषगरी नागढुङ्गादेखि मुग्लिङसम्मको बाटो जीर्ण अवस्थामा छ । यद्यपि, सडक विभागले खाल्डाखुल्डी पुर्ने तथा अन्य मर्मत सम्भारको कामलाई अगाडि बढाएको छ। पोखरा क्षेत्रको बाटो भने सामान्य अवस्थामा रहेको बताइएको छ। ठाउँ–ठाउँमा हेभी उपकरण राखेर सडकलाई सहज बनाउने प्रयास जारी छ ।  दशैंमा यात्रु भाडादर नबढ्ने महासंघले स्पष्ट पारेको छ ।  सरकारले निर्धारण गरेको भाडादर नै लागू हुनेछ । विभागले ठाउँ–ठाउँमा बुकिङ गर्ने स्थानहरूमा भाडादरको सूचना राखेर यात्रुहरूलाई जानकारी दिने व्यवस्था मिलाउनेछ । यद्यपि, रिजर्भ गाडीमा भने मानिसहरूले बढी भाडा तिरेर पनि यात्रा गर्न सक्नेछन् ।  यात्रुको चापअनुसार सवारीसाधनको अभाव सधैं रहने भए तापनि महासंघले देशभरिको आफ्नो ठूलो सञ्जालको उपयोग गर्नेछ ।  महासंघअन्तर्गत ३५७ वटा संघ/समितिहरू आबद्ध रहेकाले कुन ठाउँमा गाडीको माग बढी छ, त्यहीअनुसार गाडीहरूलाई ‘डाइभर्ट’ गरेर पठाउने व्यवस्था मिलाइनेछ । ‘हिजो मात्रै करिब ४०० गाडी बसपार्कबाट छुटेका छन् । पोखरामा लोड कम भएमा त्यहाँका गाडीहरूलाई पनि अन्यत्र पठाएर अधिकतम उपयोग गरिनेछ,’ महासंघका अध्यक्ष स्वाँरले भने ।  मौसम खराब भएको अवस्थामा समेत गत वर्ष स्थानीय गाडीहरूलाई केही शुल्क बढाएर भए पनि प्रयोगमा ल्याइएको अनुभव महासंघले सुनाएको छ । दशैंको बेला यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि टिकट बुकिङदेखि सडक र सुरक्षा व्यवस्थापनमा विशेष तयारी गरिएको महासंघले जनाएको छ ।

अब मुस्ताङ भन्सारबाट चिनिया सामान आयात गर्न सकिने, चिनसँगका ३ वटा नाका खुले

काठमाडौं । आजदेखि मुस्ताङ भन्सार खुलेको छ । नेपाल राष्ट्र बैंकले मुस्ताङ भन्सार कार्यालयबाट जाँच पास हुने गरी वस्तु तथा सेवा आयात गर्न प्रतीतपत्र खुला गरेसँगै मुस्ताङ भन्सार खुला भएको हो ।  विदेशी विनिमय कारोबार गर्ने निकायका लागि जारी गरिएको एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चीनतर्फबाट हुने आयात प्रक्रियामा मुस्ताङ भन्सारलाई समेत समावेश गरेको राष्ट्र बैंकले जनाएको छ ।  बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रअनुसार अबदेखि चीनको भूभाग हुँदै ट्रक वा रेलमार्गमार्फत प्रतीतपत्र (एलसी) प्रयोग गरी वस्तु आयात गर्दा तातोपानी (सिन्धुपाल्चोक) र रसुवा (रसुवा) भन्सारसँगै मुस्ताङ भन्सार (मुस्ताङ) पनि प्रयोग गर्न सकिनेछ । यसअघि चीनसँग हुने आयातमा तातोपानी र रसुवा भन्सारमार्फत मात्र सामान ल्याउन पाइन्थ्यो । तर, संशोधनपछि तीनै भन्सार (तातोपानी, रसुवा र मुस्ताङ) प्रयोग गर्न सकिने व्यवस्था गरिएको हो ।  नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था गरेको जनाएको छ ।

न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गरेका छन् । 'न्युयोर्क टाइम्सलाई स्वतन्त्र रूपमा झूट बोल्न, धब्बा लगाउन र मलाई धेरै लामो समयसम्म बदनाम गर्न अनुमति दिइएको छ, तर अब त्यो रोकिन्छ !' उनले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका थिए । मुद्दा फ्लोरिडामा दायर गरिएको जनाइएको छ । एएफपीले टिप्पणीका लागि न्युयोर्क टाइम्सलाई सम्पर्क गरेको छ ।  ट्रम्पले उक्त समाचारपत्रलाई ‘रेडिकल लेफ्ट डेमोक्रेट पार्टीको भर्चुअल मुखपत्र’ भन्दै निन्दा गरेका छन् । उनले यसले आफ्नो परिवार, व्यवसाय, ‘अमेरिका फस्र्ट’ आन्दोलन, मेगा अभियान र समग्रमा राष्ट्रबारे झूट बोल्दै आएको आरोप लगाए, तर कुनै प्रमाण भने प्रस्तुत गरेनन् । गत हप्ता एक समाचार माध्यमले ट्रम्पले यौन अपराधी जेफ्री एपस्टेनलाई दिइएको अश्लील जन्मदिन नोटसम्बन्धी लेखका विषयमा कानूनी कारबाही गर्ने चेतावनी दिएको रिपोर्ट प्रकाशित गरेको थियो । ट्रम्पले भने उक्त नोट लेखेको अस्वीकार गरेका छन् । ह्वाइट हाउस फर्किएपछि ट्रम्पले आफ्नो प्रशासनको आलोचना गर्ने पत्रकारलाई बारम्बार गाली गर्ने, पहुँच रोक्ने र मुद्दा दायर गर्ने क्रममा परम्परागत मिडियामाथि आक्रमण तीव्र पारेका छन् । एपस्टेनसँगको मित्रताको बारेमा लेख प्रकाशित गरेपछि उनले गत जुलाईमा मिडिया म्यागनेट रुपर्ट मर्डोक र ‘द वाल स्ट्रिट जर्नल’ विरुद्ध कम्तीमा १० अर्ब डलरको मुद्दा दायर गरेका थिए । सोही महिना, प्यारामाउन्टले सिबिएस न्युजको ‘६० मिनेट’ कार्यक्रममा चुनावी कभरेजसम्बन्धी ट्रम्पको मुद्दा एक करोड ६० लाख डलरमा सुल्झाएको थियो । ट्रम्पले कार्यक्रमले आफ्नो सन् २०२४ को चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिससँगको अन्तर्वार्तालाई उनको विपक्षमा भ्रामक तरिकाले सम्पादन गरेको आरोप लगाएका थिए । रासस