विकासन्युज

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच सम्झौता, कर्मचारीले बैंकिङ सुविधा पाउने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच एक सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार लघुवित्त संस्थामा कार्यरत कर्मचारीहरूले प्रभु बैंकबाट छुटसहितका बैंकिङ सेवाहरू प्राप्त गर्नेछन् । उक्त सम्झौता पत्रमा आरम्भ चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरे । सम्झौतापछि आरम्भ चौतारीका कर्मचारीहरूले प्रभु बैंकको उत्कृष्ट तथा सुविधा सम्पन्न बैंकिङ सेवा प्रयोग गर्ने विश्वास बैंकले लिएको छ ।

सानिमा बैंकको तिहार र छठ अफर : विभिन्न मर्चेन्टहरुमा मिठाई किन्दा क्यासब्याक र छुट

काठमाडौं । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ । योजना अवधिभर ग्राहकहरूले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०  प्रतिशत वा अधिकतम् २०० सम्मको क्यासब्याक र थप १०  प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले पूजा स्वीट्स चाट हाउस (न्युरोड, काठमाडौंं), बर्फी स्वीट्स (बालुवाटार, न्युरोड, कुमारीपाटी), हिमालयन स्वीट्स एण्ड बेकरी (हेटौडा) र आँगन स्वीट्स (चिप्लेढुङ्गा र सृजना चोक, पोखरा) मा गएर यो योजनाबाट लाभ लिन सक्ने बैंकले जनाएको छ । यो योजना २०८२ कार्तिक १ देखि १० गतेसम्म १० दिनका लागि लागू हुनेछ । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

सिटिजन्स बैंकका ग्राहकले काठमाडौं मेडिकल कलेजका सेवामा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक र सिनामगंलस्थित काठमाडौं मेडिकल कलेजबीच ग्राहकलाई छुट दिने सम्बन्धमा एक सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले काठमाडौं मेडिकल कलेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकलाई लाभ मात्रै नभई नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने बैंकको भनाइ छ । बैंकले डिजिटल बैंकिङ माध्यमबाट भुक्तानी गर्न तथा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

डिशहोम र ‘डल्ले’ बीच साझेदारी, उपत्यकाका सबै आउटलेटमा ग्राहकलाई छुट

काठमाडौं । डिशहोमले रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ । यस सहकार्य अन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौं उपत्यका भित्रका सम्पूर्ण आउटलेटहरूमा छुट पाउनेछन् । यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन् । यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्ने बताइएको छ । कम्पनीकाअनुसार, भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एपबाट डाउनलोड गर्न सकिनेछ । यसपछि दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस् । होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस र डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस् । यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डाइरेक्टर आलोक योन्जोन, डिशहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ ।

सिङ्गापुरका राष्ट्रपति थरमनसँग अर्थमन्त्री खनालको भेट

वासिङ्टन डीसी । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता गरेका छन् ।  विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका खनालले ‘साइडलाइन’ बैठकमा राष्ट्रपति थरमनसँग भेट गरेका हुन् । भेटको अवसरमा मन्त्री खनालले नेपालमा भएको राजनीतिक विकासक्रम र आर्थिक प्राथमिकताको विषयमा छलफल भएको बताए । उक्त भेटमा राष्ट्रपति थरमनले द्रुत गतिको आर्थिक समृद्धि हासिल गर्न पाँच मुख्य कुरामा ध्यान दिन आग्रह गरेको यहाँस्थित दूतावासले जनाएको छ । राष्ट्रपति थरमनले मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमार्फत द्रुत गतिको विकास हासिल गर्न सकिने विषयमा जोड दिएका थिए । अर्थमन्त्री खनालद्वारा अन्तरराष्ट्रिय वित्त निगमका प्रतिनिधिसँग छलफल   अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी)का कार्यवाहक क्षेत्रीय उपाध्यक्ष एलेन फरलेमुसँग भेटवार्ता गरे। भेटवार्ताका अवसरमा आइएफसीसँगको साझेदारी, नेपालको निजी क्षेत्रको वृद्धिको लागि सहयोगलगायतका विविध आर्थिक विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।  भेटघाटको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, अर्थमन्त्रालयका अधिकारीहरू र आइएफसीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

धनगढीमा प्रोटोन ईमासको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । जगदम्बा मोटर्स अन्तर्गतको इलेक्ट्रिक सवारी साधन ब्रान्ड प्रोटोन ईमासले शुक्रबार धनगढीको बोराडाँडीमा नयाँ शोरूमको उद्घाटन गरेको छ । यस अवसरमा ब्रान्डले तीनवटा प्रोटोन ईमास ७ सवारी साधन हस्तान्तरण समेत गरेको थियो, जसले सुदूरपश्चिम क्षेत्रमा बढ्दो ग्राहक विश्वास र उत्साहलाई झनै सुदृढ बनाएको छ । नव उद्घाटन गरिएको यो अत्याधुनिक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा केन्द्रले ग्राहकलाई सबै सेवा एकै छानामुनि उपलब्ध गराउनेछ । धनगढीका ग्राहकहरूलाई पनि देशभरका अन्य केन्द्रहरू सरह प्रिमियम मापदण्डमा आधारित सेवा प्रदान गरिने कम्पनीले जनाएको छ । शोरूमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले गरे । कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा रिबन काट्ने, उत्पादन प्रदर्शन र सवारी हस्तान्तरण जस्ता गतिविधिले उपस्थितहरूको आकर्षण र उत्साह थप बढाएको थियो । उद्घाटन समारोहमा केही ईमासका विद्यमान मालिकहरूले आफ्ना सकारात्मक अनुभवहरू साझा गरेका थिए, जसले नयाँ ग्राहकहरूलाई तत्काल बुकिङका लागि प्रेरित गरेको बताइएको छ । यस अवसरमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने, 'धनगढी शोरूम शैली, प्रदर्शन र दिगोपनासँग गतिशीलताको परिभाषा पुनर्लेखन गर्ने दिशामा हाम्रो यात्राको अर्को महत्वपूर्ण कदम हो। धनगढीका बासिन्दाहरूको प्रोटोन ईमास ब्रान्डप्रतिको जोश र हरित भविष्यप्रतिको विश्वासले हामीलाई गहिरो प्रेरणा दिएको छ ।' धनगढीमा शोरूम सञ्चालनसँगै, प्रोटोन ईमासले नेपालभर आफ्नो सञ्जाल अझ मजबुत बनाउँदै दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिको लक्ष्यतर्फ आत्मविश्वासपूर्वक अघि बढेको कम्पनीको भनाइ छ।

शिवम् होल्डिङ्सको ११ करोड ६० लाख बराबरको नगद लाभांश पारित

काठमाडौं । शिवम् सिमेन्ट्सकाे सहायक कम्पनी शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि सेयरधनीहरूलाई ११ करोड ६० लाख रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले सो आर्थिक वर्षका लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा वार्षिक प्रतिवेदनसहितका अन्य सबै प्रस्तावहरू पनि एकमतले पारित गर्दै साधारण सभा सम्पन्न गरेको हो । शिवम् होल्डिङ्सले नेपालमा रुचाइएको शिवम् ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेड मा ८५ प्रतिशत स्वामित्व राखेको छ । बाँकी १५ प्रतिशत सेयर नेपालका विभिन्न क्षेत्रमा सक्रिय सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ देखि लगातार चौथो वर्ष (२०८१/०८२ सम्म) सेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रहेको छ । साथै, कम्पनीले २० प्रतिशत बराबरको १ अर्ब १६ करोड मूल्यका सेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको र हाल स्वीकृतिको प्रतीक्षामा रहेको जनाएको छ ।

तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।       केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो ।      त्यसैगरी राष्ट्र बैंकले शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ ।