विकासन्युज

नेचुङ भन्सारमा तीन अर्ब ४९ करोड राजस्व संकलन

मुस्ताङ । नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म संकलन भएको हो ।  भन्सार प्रमुख रमेश खड्काका अनुसार  उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन् ।  यसैगरी, ८२८ वटा मालवाहक सवारीसाधन आयातित सामग्री लिएर आएका छन् ।   नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन् ।   

जेनजीका माग पूरा नभइकन निर्वाचन हुँदैन : सुदन गुरुङ

काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले यस्तो बताएका हुन् ।  उनले केही बाहेकका सबै जेनजीहरु एक ठाउँमा रहेको भन्दै माग पूराहुनुपर्ने बताए । जेनजीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताए । जेनजीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ ।  उनले भने, ‘समग्र हामी जेनजी हरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरुलाई नै बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ । यो सबैकुरा गृहमन्त्रीज्युले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । माग पूरा हुन्छ, हुँदैन उहाँहरुलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’ आफूहरुका माग पूरा नभए गृहमन्त्रीले धोका दिएको ठहर हुने भन्दै गृहमन्त्रीले जेनजीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाएको उनको टिप्पणी छ । 

दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामाथि महानगरको डोजर

काठमाडौं । नेपाल स्काउटको जग्गामा बनाइएका संरचना काठमाडौं महानगरपालिका भत्काएको छ । पूर्वऊर्जामन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्काको खड्का ल्याण्ड प्रालिले जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको थियो ।  त्यहाँ भएका संरचनामा काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको हो । बिहीबार महानगर प्रहरीहरु डोजरसहित पुगेर त्यहाँ बनाइएका संरचनाहरु भत्काएका छन् । काँग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए ।  जग्गाको भाडा लामो समयदेखि नतिरेको आरोप लाग्ने गरेको छ । कार्तिक २० गते स्काउटले सूचना जारी गरेर भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो । बिहीबारसम्मको म्यादमा भाडा नआएपछि संरचनाहरु भत्काइएको बताइएको छ ।  

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ ।  पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ ।  उक्त खण्डका इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ । उनले भने '२९.६१ किमीमा दुईतर्फी (चार लेन) र ७.७९ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ ।' चालु आवमा १४ किमी कालोपत्र कार्य भएको छ । सोही अवधिमा दुईवटा कल्भर्ट निर्माण भएका छन् । पश्चिम खण्डका १२  मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् ।  सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित छ लेन र अन्यत्र चार लेनको सडक बन्ने छ । आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेनको हुनेछ । 

गगन थापाले जिम्मेवारी पूरा नगर्दा महाधिवेशनमा ढिलाइ भएको काँग्रेस संस्थापन पक्षको आरोप

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापन पक्षधर समूहले महामन्त्री गगन थापामाथि कार्य सम्पादनमा उदासीनता देखाएको आरोप लगाएको छ । उक्त समूहको भनाइमा थापाले आफू संयोजक रहेको क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण समितिको जिम्मेवारी निर्वाह नगर्दा पार्टीको महाधिवेशन तयारी प्रभावित भएको छ । पोखरामा बुधबार सम्पन्न भेलामा सहभागी अधिकांश महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूले थापाको निष्क्रियताले पार्टीको संगठनात्मक गति सुस्त बनाएको बताएका छन् । उनीहरूले विशेष महाधिवेशनको कुरा उठाएर आफ्नै कमजोरी ढाकछोप गर्न खोजिएको दाबीसमेत गरे । भेलाको अध्यक्षता गरेका गण्डकी प्रदेश कांग्रेसका उपसभापति मेखलाल श्रेष्ठले सदस्यता नवीकरण स्थगित हुँदा युवा पुस्ताको सहभागिता कमजोर बनेको बताए । श्रेष्ठले भने, ‘क्रियाशील सदस्यता बाँड्ने कार्य रोकेर कसरी नयाँ पुस्ता समेटिन्छ ? आमूल परिवर्तनका कुरा गर्नेहरूले नै संगठन सुदृढ पार्ने कामबाट पछि हट्नु दुर्भाग्य हो ।’ उनका अनुसार महाधिवेशनको तयारीमा आवश्यक तदारुकता नदेखाउने केन्द्रीय पदाधिकारीहरूले अब आत्मसमीक्षा गर्नुपर्छ । जिम्मेवारी पूरा गर्न नसक्नेले पद त्याग्नैपर्ने उनको भनाइ छ । भेलामा वक्ताहरूले पार्टी नेतृत्वले संगठन सुदृढीकरणलाई प्राथमिकता नदिँदा तल्लो तहसम्म निराशा फैलिएको भन्दै जिम्मेवार पदाधिकारीहरूलाई जवाफदेही बन्न आह्वान गरे ।  थापाको संयोजकत्वमा गठन गरिएको क्रियाशील सदस्यता व्यवस्थापन समितिले अझै सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको कार्य अघि बढाउन नसकेकाले आगामी १५औं महाधिवेशनको तयारी प्रक्रिया अन्योलमा परेको भन्दै भेलाले गम्भीर चासो व्यक्त गरेको छ ।

एकैपटक साढे ९ सय जना सेक्युरिटी गार्ड राख्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक साढे ९ सय जना भन्दा बढी सुरक्षा श्रमिक भर्ना गर्ने भएको छ । बैंकले देशभरका शाखा कार्यालयका लागि सुरक्षा श्रमिक भर्ना गर्न लागेको जनाएको छ ।  सुरक्षा श्रमिक आपूर्ति गर्न बैंकले गत असारमा बोलपत्र आह्वान गरेको थियो । बैंकले आह्वान गरे बमोजिम विभिन्न ५ वटा सेक्युरिटी कम्पनीले आवेदन दिएका छन् ।  बैंकका अनुसार नेपाल एक्स-टू सेक्युरिटी सर्भिस प्रालि, जेभी नेम डिलक्स सेक्युरिटी सर्भिस प्रालि तथा नवदुर्गा सेक्युरिटी गार्ड सप्लाई सेक्युरिटी प्रालि, गरुड सेक्युरिटीज प्रालि, कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि र गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिले आवेदन दिएका छन् । अब बैंकले गोलाप्रथाका माध्यमबाट कम्पनी छनोट गर्ने जनाएको छ । बोलपत्र पेस गरेका यी ५ कम्पनीलाई मंसिर २ गते बैंकको सामान्य सेवा विभागमा दिउँसो साढे २ बजे सहभागीका लागि अनुरोध गरेको छ ।

जगदम्बाले स्टिलले तिर्यो विद्युत बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो

काठमाडौं । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिलले विगतमा लोडसेडिङका समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको  छ । पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो । बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ ।

वायुसेवा निगमको जीएमका लागि दरखास्त आह्वान, १५ दिनभित्र निवेदन दिनुपर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक (जीएम) नियुक्त गर्ने भएको छ । निगमको महाप्रबन्धक छनोट समितिले एक सूचना जारी गरी योग्य उम्मेदवारलाई आवेदनका लागि आह्वान गरेको हो । महाप्रबन्धक बन्न इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आवेदन दिन सक्ने छन् । योग्यता, पारिश्रमिक तथा सुविधाहरू यसअघि नै सरकारले तय गरी मन्त्रालयको वेभसाइटमा राखिसकेको छ । कात्तिक दोस्रो साता खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा क्याप्टेन कुलबहादुर लिम्बू विज्ञ सदस्य छन् । मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुख एवं सहसचिवले सदस्य सचिवको काम गर्नेछन् ।