विकासन्युज

योजना आयोगवाट खतिवडाले राजिनामा दिने, उपाध्यक्ष बन्न फत्तवहादुर दौडधुपमा

काठमाडौं, २२ साउन । राष्ट्रिय योजना आयोगका उपाध्याक्ष डा. युवराज खतिवडाले  राजिनामा दिने भएका छन् । आयोगमा अध्यक्षले उपाध्यक्ष नियुक्त गर्ने ब्यवस्था छ । आयोगको अध्यक्ष प्रधानमन्त्री हुन्छन् । खतिवडालाई उपाध्यक्षमा नियुक्त गर्ने आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राजिनामा दिएर नयाँ प्रधानमन्त्री नियुक्त भइसकेकोले उनी राजिनामा गर्ने अवस्थामा पुगेका हुन् । आयोग अध्यक्ष तथा प्रधानमन्त्री परिवर्तन हुने वित्तीकै उपाध्यक्षसहित आयोगका सदस्यले राजीनामा गर्ने चलन छ । नयाँ प्रधानमन्त्रीले आयोगका पूर्वबर्ती सरकारले नियुक्त गरेका उपाध्यक्षसहित सदस्यहरुलाई पदमुक्त गर्ने सम्भावना हुनाले सरकार परिवर्तनसँग आयोग पदाधिकारीले राजीनामा गर्ने गरेका हुन् । उपाध्यक्ष खतिवडा सहितका पदाधिकारीले आइवार प्रधानमन्त्री पुस्पकमल दाहाललाई भेटेर राजिनामा बुझाउने कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दिएको छ । दाहाल नेतृत्व सरकारले आफ्नो कानुनी सल्लाहकार अर्थात महान्यायधिवक्तामा रमण श्रेष्ठलाई नियुक्त गरिसकेको छ । अब आयोगको उपाध्यक्ष कसलाई बनाउने भन्ने चर्चा पनि चलेको छ । आयोग उपाध्यक्षको लागि बीमा समितिका अध्यक्ष प्राडा फत्तबहादुर केसी दौडधुपमा लागेको स्रोतले जानकारी दिएको छ । यसको लागि केसीले प्रधानमन्त्री दाहालका साथै अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर आफूलाई नियुक्त गर्न अनुरोध गरेका बताइएको छ ।

धितोपत्र बोर्डले पुँजीबजार संकूचित बनाउने काम गर्यो– नेपाल इन्भेष्टर्स फोरम

काठमाडौं, २२ साउन । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजारलाई संकुचित बनाउन नेपाल धितोपत्र बोर्डले अनुचित काम गरेको भन्दै आपत्ति जनाएको छ । नियमनकारी निकाय तथा जिम्मेवार पदाधिकारीबाट गैर जिम्मेवार अभिव्यक्ति दिने, लेख पत्रिका तथा अनलाईनमा छपाउने र बजारलाई अनुचित तवरबाट प्रभाव पार्ने, बजारलाई संकुचित पार्न कानुन विपरित अनेक अस्त्रहरु प्रयोग गर्ने कार्य भएको भन्दै फोरमले खेद व्यक्त गरेको छ । धितोपत्र बोर्ड, बजार सञ्चालक तथा नियामक निकायले आफ्नो क्षेत्राधिकार भित्र रहेर बजारलाई पूर्ण स्वाचालित रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न फोरमले माग गरेको छ । सेयर बजारका लगानीकर्ताले एकाण्ट पेयी चेकको माध्यमबाट कारोबार गर्ने भएकोले सेयर बजारको लगानी अरु क्षेत्रको तुलनामा पारदर्शी रहेको फोरमको भनाई छ । लगानीकर्तालाई साना र ठूलो भनेर वर्गिकरण गर्नु अबैज्ञानिक भएको भन्दै फोरमले बजारलाई आधुनिक बनाउने र कारोबार सरल र सहज बनाउने तर्फ जिम्मेवार निकायले पहल गर्ने माग गरेको छ ।

प्रधानमन्त्रीलाई नेउवा महासंको शुभकामना, गुणात्मक आर्थिक वृद्धिमा जोड

काठमाडौँ, २२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले मुलुकको उद्योग एवम् व्यवसाय क्षेत्रको समस्या र समाधानका उपायबारे जानकारी गराएको छ । महासङ्घका अध्यक्ष पशुपति मुरारका नेतृत्वमा शनिवार प्रधानमनत्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालको कार्यकाल सफल र उद्योगी व्यवसायीमैत्री हुने विश्वास समेत व्यक्त गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । प्रधानमन्त्री दाहालले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न आफू इच्छुक रहेको बताउँदै आर्थिक क्षेत्रमा गुणात्मक प्रगति गर्ने विषयमा स्पष्ट हुनुपर्नेमा जोड दिए । सो अवसरमा उद्योगी व्यवसायीले निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै कृषि क्षेत्रका विज्ञ तथा एवम् कर्मचारीले प्रधानमन्त्रीको सफल कार्यकालको शुभकामना दिएका छन् । उनीहरुले मुलुकको प्रमुख आर्थिक वृद्धि र आम मानिसको जीविकोपार्जनको क्षेत्र भएकाले त्यसलाई अगाडि बढाउन सरकारको विशेष साथ र सहयोग रहनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीले कृषि क्षेत्रमा राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा सरकारले पूर्ण क्षमताका साथ काम गर्ने र विज्ञको सुझावलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सम्बद्ध विज्ञले कृषि क्षेत्र र मन्त्रालयसँग सम्बद्ध समस्या र चुनौतीबारे जानकारी गराएका थिए । यस्तै आजै तनहुँ काठमाडौँ सम्पर्क मञ्चका प्रतिनिधिले समेत प्रधानमन्त्री दाहालको सफल कार्यकालको कामना गरेको थियो । महासंघका उपाध्यक्षहरु किशोर कुमार प्रधान र शेखर गोल्छा, कार्यकारिणी समितिका सदस्यहरु चन्द्र प्रसाद ढकाल, अशोक कुमार तोदी, ज्योत्साना श्रेष्ठ, अशोक कुमार टेमानी र विजयसिं वैध, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडीया, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ समेत रहनु भएको उक्त भेटघाटमा महासंघका अध्यक्ष मुरारकाले नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिएका हुन् ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स सिडिएस एण्ड क्लियरिङ्गको निक्षेप सदस्य

काठमाडौं, २१ साउन । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स सिडिएस एण्ड क्लियरिङ्गको निक्षेप सदस्य भएको छ । सदस्यता लिने विषयमा फाइनान्सको तर्फबाट महाप्रबन्धक दिनेशलाल श्रेष्ठ र सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट कार्यकारी प्रमुख देवप्रकास गुप्ताबीच सम्झौता भएको छ । सिडिएस एण्ड क्लियरिङ्गमा निक्षेप सदस्यता लिनेमा फाइनान्स कम्पनीहरुमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स पहिलो फाइनान्स कम्पनी भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गएिको छ ।

चीनद्वारा तीन हजार छ सय वेबसाइट बन्द

चीन, २१ साउन । चीन सरकारले गलत आचरण फैलाएको आरोपमा सन् २०१६ मा करिब तीन हजार ६१२ वेबसाइटलाई बन्द गराएको छ । यीमध्ये ८११ वेबसाइटले अश्लिल गतिविधिलाई फैलाउने काम गरेको चीनले बताएको छ । बितेका छ महिनामा यौन उत्तेजना गराउने खालका करिब पाँच लाख २९ हजार र अहितकर सूचना फैलाउन आठ लाख ६९ हजार फोटो भिडियोलगायतका दृश्यलाई हटाइएको पनि चीनको अश्लिल तथा गैरकानुनी प्रकाशनको विरुद्धमा काम गर्ने राष्ट्रिय कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै बताएको छ । उक्त कार्यालयले चलाएको अभियानअन्तर्गत प्रत्यक्ष प्रसारण एवम् गलत आचरण अभ्यासमा संलग्न व्यक्तिहरुले वेब सेवा प्रदान गरेबापत पैसा लिने गरी र कतिपय सन्दर्भमा खुलारुपमा नै यस्ता गतिविधि सञ्चालन गरेको पाइएको चिनियाँ प्रशासनले जनाएको छ । ‘विच्याट’ लगायतका सामाजिक सञ्जालमार्फत पनि अश्लिल सन्दर्भहरु राखी पठाउने गरेका करिब ३० वटा विषयलाई अधिकारीले खुला वर्णन गर्दै यस्ता गतिविधि सञ्चालन गर्ने प्रायः नाबाल रहेको विज्ञप्तिमा जनाइएको छ । रासस/सिन्ह्वा

भारतीय सैनिक विमान दुर्घटनाग्रस्त, चालक सकुशल उद्धार

भारत, २० साउन । भारतीय वायुसेना (आईएएफ) को तालिम प्रयोजनका लागि प्रयोग गरिने जेट विमान पश्चिम मिडनापुरको कालाइकुण्ड वायुसेना आधार शिविरबाट उडेको केही मिनेटमै बिहीबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । विमानभित्र रहेका दुई विमान चालकलाई सुरक्षित निकालिएको प्राप्त समाचारमा बताइएको छ । हक एडभान्स जेट ट्रेनर उडेको केही समयमै आधार शिविरको सीमा क्षेत्र मै बिहीबार करिब ११ बजे दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमानमा अन्य यात्रु भने थिएनन् । आईएएफले विमान दुर्घटनाबारे जानकारी लिन लगाएको भए पनि दुर्घटनाको पुष्टि गरिसकेको छैन । एक महिनाअघि पनि भारतीय वायुसेनाको एएन–३२ ले २९ सैनिक लिएर तामिलनाडूबाट उडिरहेको बेला दुर्घटनाग्रसत भएको थियो । रासस/सिन्ह्वा

प्राइम कमर्सियल बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं, २१ साउन । वल्ड्र कन्फिडिरेशन अफ बिजनेसले प्राइम कमर्सियल बैकलाई “द बिज २०१६”, बिनजेश एक्सिलेन्स् अवार्ड प्रदान गरेको छ । अमेरिका स्थित ह्यूस्टन, टेक्सासमा आयोजित एक समारोहबीच प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरलाई बिनजेश एक्सिलेन्स् अवार्ड २०१६ प्रदान गरिएको हो । बिज अवार्ड उद्योग र व्यापार क्षेत्रमा प्रदान गरिने संसारको सबैभन्दा महत्वपूर्ण मध्येको एक हो । २००४ मा वल्ड्र कन्फडरेशन अफ बिजनेशले “द बिज अवार्ड” स्थापना गरी विश्व व्यापार, स्थानीय समुदायको उत्थान र विकास, स्थानीय अर्थतन्त्रको वृद्धि र विश्व अर्थ व्यवस्थामा पु¥याएको योगदानलाई ध्यानमा राखी विभिन्न क्षेत्रका संघ संस्था तथा अग्रणी व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । सो समारोहमा यस बैंकका संचालक समितिका सदस्य श्यामबहादुर श्रेष्ठ , उत्तमनारायण श्रेष्ठ , उदयमोहन श्रेष्ठ र दिनेश श्रेष्ठको समेत उपस्थित थियो ।

सजिलो छैन खिचडी विधेयक चलाउन अर्थमन्त्री महरालाई

काठमाडौं, २१ साउन । ‘विधेयकको अन्तरवस्तु करको प्रगतिशिल दायरा भित्र छैनन् । बजेटलाई समाजवाद उन्मुख भनिएको छ तर करको दायरा समाजवादी नभएर एकाधिकार पुँजीवादी र समाजवाद बीचको खिचडी जस्तो छ । बजेटले अघि सारेको करले नेपाली जनतालाई फाइदा पुर्याउँदैन् । करको चुहावट यति धेरै छ कि त्यसलाई रोक्न सकिए मुलुक आन्तरिक तथा विदेशी ऋणमा डुब्नै पर्दैन् । मुलुक ऋणमुक्त बन्न सक्छ तर बजेटले करको दर र दायरा बढाउन जोड दिएकै छैन । कर उठाउने राम्रो र सक्षम मेकानिजम् बनाउनेतर्फ पनि यी बिधेयकहरु लक्षित छैनन् । त्यस कारण यि विधेकयहरुको औचित्य छैन् । र, हाम्रो पार्टी नेकपा माओवादी केन्द्रले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी गराउन चाहान्छु ।’ उल्लेखित भनाई सभासद कृष्ण बहादुर महराले साउन ७ गते माओवादी केन्द्रको तर्फबाट संसदमा व्यक्त हुन् । उनले केपी ओली सरकारले ल्याएको बजेटमा आश्रित विधेकहरुमाथीको छलफलका क्रम उठाएको प्रश्न हुन् । तिनै महरा अहिले अर्थमन्त्री बनेका छन् । अब प्रश्न उठ्छ, हिजो त्यसरी कामै नलाग्ने खिचडी भनिएको बजेट आश्रित विधयकहरुलाई के गरिन्छ ? अर्थविद चन्द्रमणि अधिकारीका अनुसार ओली सरकारले नै ल्याएको बजेट आश्रित विधयकमा थोरै संसोधन गरेर पुनः व्यवस्थापिका संसदमा पेश गर्ने विकल्प मात्रै नयाँ सरकारसँग छ । त्यसमा पनि कुल बिनियोजीत बजेटमा रकम घटबढ गराउन मिल्ने अवस्था देखिन्न । किनकी विनियोजन बिधेयक पारित भैसकेको छ । त्यतिबेला आफैंले खिचडी बजेट भनेर गाली गरेको बजेटलाई महराले कसरी ‘राम्रो बजेट छ, पास गर्नु पर्यो’ भनेर संसदमा बोल्छन त्यो दृश्य हेर्न लायक नै हुनेछ ।