विकासन्युज

एक करोड बढी हिनामिना गरेको आरोपमा हुलाकका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं, १३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक टिकट बिक्रीमा हिनामिना गरेको आरोपमा मणिकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । हुलाक सेवा विभागको नेपाल फिलाटेलिक ब्यूरोमा कार्यरत श्रेष्ठलाई सोमबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले दायर गरेको मुद्दामा श्रेष्ठले २०६५ सालदेखि हुलाक कार्यालयमा कार्यरत रहँदा दैनिक टिकट बिक्रीबापतको रकम राजश्वमा दाखिला नगरी मौज्जाद देखाएर रकम हिनामिना गरेको बताएको छ । साथै, आयोगले श्रेष्ठसँग १ करोड १६ लाख ६९ हजार २८८ रुपैयाँ बिगो दावी गरेको छ ।

नाडा अटो शोमा नयाँ सवारी साधन ल्याउने प्रतिष्पर्धा, धमाधम नयाँ गाडी सार्वजनिक हुँदै

काठमाडौं, १३ भदौ । भदौ १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं अटो शो हुँदैछ । नजिकिँदै गरेका चाडबाडलाई लक्षित गरेर आयोजना हुँदै आएको अटो शोमा सहभागी अधिकांश कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गर्दैछन् । केहि कम्पनीले नयाँ सवारी साधन सार्वजनिक गरिसकेका छन् भने केहिले शोकै दौरान सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । टाटाले ल्यायो टिआगो मोटर, मूल्य २२ लाख ५५ हजार रुपैयाँ नजिकिँदै गरेको चाडबाडका अवसरलाई छोपेर आयोजना गरिएको अटो शोको पुर्व सन्धयामा टाटा मोटर्सले नयाँ उत्पादन टिओगो नेपाली बजारमा भित्र्याएको हो । पेट्रोलबाट चल्ने स्पोर्टीज ह्याचव्याक मोडलको यो कारको मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । टाटा मोटर्स प्यासेन्जर भेइकल इन्टरनेशनल विजनेश हेड जोनी ओम्मेन र नेपालका लागि टाटा मोटर्सको बिक्रेता सिप्रदी ट्रेडिङका अध्यक्ष सौर्य राणाले संयुक्त रुपमा टिआगो सार्वजनिक गरेका थिए । अत्याधुनिक डिजाईन सहित डाइनेमिक ड्राइभिङ सुविधा भएको, उत्कृष्ट फ्युल क्षमताको यो कारमा रिभोटर्न १ दशमलब २ लिटर पेट्रोल इन्जिन रहेको छ । प्रतिलिटर २३ किलोमिटर गुड्ने कम्पनीको दावी छ । हाल एक्सइ, एक्सएम, एक्सजेट तीन डाइनामिक भेरियन्टमा र विभिन्न ६ कलरमा उपलब्ध रहेको सिप्रदी टे«डिङले जनाएको छ । कार बिग्रेमा ४८ घण्टा भित्र मर्मत ग्यारेन्टी गरिएको छ । ४८ घण्टा भित्र कार मर्मत नभएमा मर्मत शुल्क नलिने सिप्रदी ट्रेडिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए । टिआगोको बजार मूल्य २२ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । यो कार सन् २०१६ को फेब्रुअरीमा भारतमा पहिलो पटक बिक्री शुरु गरिएको थियो । हाल यो कार भारतमा मासिक करिब ५ हजार वटा बिक्री हुँदै आएको छ । हाल नेपालमा टाटा मोटर्सका करिब ७५ हजार सवारी सडकमा गुडिरहेको, कमर्शियल भेइकल्सतर्फ टाटाको बजार हिस्सा करिब ८० प्रतिशत रहेको र प्यासेन्जर भेइकल्सतर्फ करिव १४ प्रतिशत हिस्सा टाटाले ओगटेको कम्पनीको दावी छ । रेनाउल्टको डस्टर र क्विड आयो रेनाउल्ट कम्पनीको ह्याच ब्याग सेगमेन्टका कार डस्टर र क्विड नेपाली बजारमा भित्रिएका छन् । रेनाउल्ट इण्डियाका प्रमुख कार्यकारी अधिकृत सुमित सावानीको उपस्थितीमा नेपाली बजारमा भित्र्र्याइको हो । बिशाल ग्रुपको एडभान्स अटोमोबाइल प्रालीले रेनाउल्टको कार नेपाली बजारमा भित्र्याएको हो । अटो शोमा व्यापाक बजारीकरण गर्ने उदश्यसहित रेनाउल्टका कार नेपाल भित्र्याएको एडभान्स अटोमोबाइल प्रालीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले बताए । कियाको स्पोर्टेएज नयाँ लुक्ससहित किया मोटर्सको एसयुभी गाडी स्पोर्टेज नयाँ लुक्ससहित नयाँ भर्सनमा आएको छ । नाडा अटो शोलाई लक्षित गरेर कियाका लागि नेपालको आधिकारिक विक्रेता कन्टिनेन्टल ग्रुपले स्पोर्टएजलाइ नेपाली बजारमा भित्र्याएको हो । यसमा पहिलेभन्दा स्पोर्टी लुक्स थपिएको छ भने सेफ्टी फिचर्सहरु पनि बढाइएको छ । १९९९ सीसीको इञ्जीन छ रहेको कारले शहरी इलाकामा प्रतिलिटर ८ किलोमिटर र राजमार्गहरुमा १२ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । यो कार डिजेल र पेट्रोल दुबै इञ्जिनमा उपलब्ध छन् । यसका ८ वटा भेरियन्टहरु नेपाली बजारमा ल्याएको छ । तीमध्ये पनि पेट्रोल इञ्जिनका ३ वटा भेरियन्ट बजारमा छन् । एलएक्स वान, एलएक्सटु र इएक्स वान पेट्रोल भर्सनका स्पोर्टएज हुन् । त्यसैगरी डिजेल इञ्जिनमा ६ वटा भेरियन्ट उपलब्ध छन् । एलएक्स वान, एलएक्स टु, इएक्स वान, इएक्स टु, इएक्स (अटो ट्रान्समिसन) भेरियन्ट नेपालमा आएको छ । क्रुस कन्ट्रोल, फगलाइट, डे टाइम रनिङ लाइट, १९ इन्चसम्मको एलो ह्वील लगायतका स्पेशल फिचर्सहरु पनि गाडीमा छन् । स्पोर्टएज विभिन्न आठ कलरमा उपलब्धे छन् । क्लीयर ह्वाइट, स्नो ह्वाइट पर्ल, स्पार्किङ सिल्भर, मिरल सिल्भर, पेन्टिया गोल्ड, फेरि रेड, मर्करी ब्लु र चेरि ब्ल्याक रंगमा स्पोर्टेज उपलब्ध छ । पेट्रोल इञ्जिनको एलएक्स वानको बजार मूल्य ७६ लाख ९५ हजार रुपैयाँ, एलएक्स टुको ७८ लाख ९५ हजार र र इएक्स वानको ७९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । डिजेल इञ्जिन तर्फ भने एलएक्स वानको मूल्य ९२ लाख ९५ हजार रुपैयाँ, एलएक्स टुको ८४ लाख ९५ हजार, इएक्स वानको ८५ लाख ९५ हजार, इएक्स टुको ८७ लाख ९५ हजार र इएक्स (अटो ट्रान्समिसन)को ८९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । डाट्सुन रेडी गो कार नेपाली बजारमा, १३ लाख ९९ हजार मूल्य डाट्सुनको रेडी गो कार नेपाली बजारमा साउन ११ गते नै भित्रिएको हो । साधारण आम्दानी भएका नेपालीहरुलाई समेत कार चढ्ने अवसर प्रदान गर्न भन्दै डाट्सुनको रेडी गो कार नेपाली बजारमा भित्र्याएको पायोनियर मोटो कर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले बताए । नयाँ कारको मुल्य जम्मा १३ लाख ९९ हजार तोकिएको छ । विभिन्न पाँच रंगमा उपलब्ध हुने डाट्सुन रेडी गो कारले न्युनतम इन्धन खपत दिनेछ । यो कार सेतो, सिल्भर, ग्रे, रुबी र लाइम रंगमा उपलब्ध छन् । प्रतिलिटर २५ दशमलब १७ किलोमिटरको माइलेज, वृहत सेफ्टी प्याकेज, ३० हजार किलोमिटरको वारेन्टी सुबिधा रहेको छ । दुई वर्षअघि देखि नेपाली बजारमा भित्रिएका डाट्सुनका ८ सय वटा कार बिक्रि भैसकेका छन् । पायोनियर मोटोकर्पका मेनेजिङ डाइरेक्टर सन्दिप सारदाले न्युन आय भएका नेपालीहरुका लागि समेत अब कार चढ्ने सपना पुरा हुने बताए । मासिक २५र३० हजारको आम्दानी गर्ने नेपालीहरुका लागि पनि कार चढ्ने कुरा कठिन नहुने उनलको दावी छ । हाल डाट्सुनले देशभरका १० वटा डिलरबाट कार बेच्दै आएको छ । जापानी कम्पनीको डाट्सुन कार ८ सय सिसीमा उपलब्ध छ । अशोक लेलैण्डको प्यासेजर भेइकल आउँदै नाडा अटो शो २०७३ मै आईएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था एलटी ईन्टरप्राईजेजले अशोक लेलैण्ड ब्राण्डका ठुला तथा साना रेन्जका कर्मशियल गाडीहरु भित्र्याउँदैछ । यु२५१८ टिपर र लाइट कमर्सियल भेइकल दोस्त ल्याउन लागेको हो ।   नेपालको बाटो सुहाँउदो र कम लगानीमै धेरै नाफा गर्न लगानी कर्ताहरुको मन जित्न सफल मानिएको दोस्त प्यासेञ्जर नामक अर्को एसीभी गाडीको सफ्ट लञ्च गर्दैछ । त्यसको बुकिङ पनि आरम्भ हुँदैछ । त्यसैगरि अशोक लेलैण्ड ब्राण्डका बस सेग्मेन्टअन्तर्गतको नयाँ गाडी सनसाइन स्कुल बसको पनि अटो शोमै कन्सेप्ट लञ्च गरिँदैछ । एलटी ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकलहरु भित्रिने जानकारी दिए । टोयोटाको इनोभा आउँदै टोयोटा कम्पनीको आधिकारीक नेपाल बिक्रेता युनाटेड टे«डर्स सीण्डीकेटले टोयोटाको इनोभा एसयुभी कार बजारमा ल्याउँदैछ । नाडा अटो शोकै दौरान सो कार सार्वजनिक गरिने कम्पनीले जनाएको छ । हुण्डाइको टक्सान नयाँ मोडलमा यसैबिच, हुण्डाईले नेपाली बजारमा राम्रो हिस्सा ओगट्न सफल टक्सान कारको नयाँ मोडल अटो शोकै दौरान सार्वजनिक गर्ने जनाएको छ । आइसरको प्रो सेरिज पनि नयाँ मोडलमा आइसर मोटर्सको नेपाली बिक्रेता बतास अर्गनाईजेसनले आइसर प्रो सेरिजिका सवारी साधनको नयाँ मोडल सार्वजनिक गर्ने जनाएको छ । करिब छ महिना पहिले नै प्रो सेरिज नेपाली बजारमा भित्र्याएको कम्पनीले त्यसको सफलतासँगै नयाँ मोडलमा ल्याउन लागिएको जनाएको छ । नेपाली बजारमा उपस्थिती जनाएका अधिकांश कम्पनीहरुले कुनै न कुनै प्रडक्ट सार्वजनिक गर्ने तयारी गरिरहेको नाडाले जनाएको छ ।  नेपालमा गत आर्थिक वर्षमा ६५ अर्ब ६९ करोड मुल्य बराबरका सवारी साधन तथा तिनका पार्टपुर्जा आयात भएको थियो । नेपाली सडकमा २३ लाख ३९ हजार एक सय ६९ वटा सवारी साधन गुडिरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

अस्थायी शिक्षकका जायज माग पूरा हुन्छः प्रधानमन्त्री

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थायी शिक्षकको समस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई विशेष निर्देशन दिने बताउएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अस्थायी शिक्षकका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले जायज र उचित माग सम्बोधन गर्न आफू प्रयासरत रहने र आवश्यक व्यवस्थाका लागि शिक्षामन्त्री र शिक्षा सचिवलाई आवश्यक पहल गर्न निर्देशन दिने बताए। प्रधानमन्त्रीले भने, ‘‘आफू पनि विगतमा शिक्षक पेसामा रहेका कारण त्यस क्षेत्रको समस्याका बारेमा जानकार छु । म तपाईंहरुको समस्या समाधानका लागि आवश्यक पहल गर्छु । जायज र उचित माग सम्बोधन गर्न प्रयत्न गरिन्छ ।” शिक्षा ऐन आठौँ संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकका प्रतिनिधिले ध्यानाकर्षण गराएका थिए । अस्थायी शिक्षकका प्रतिनिधिले औषधि उपचार र उपदानको व्यवस्था गर्न, अस्थायी शिक्षकलाई आन्तरिक प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्न, शिक्षा ऐन पुनः संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न आग्रह गरेका थिए । अस्थायी शिक्षकले ‘२०६३ सालकै शिक्षा ऐन कार्यान्वयन हुनुपर्ने’, ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन हुनुपर्ने’, ‘उमेर हदका कारण अवकाश भएका शिक्षकलाई समेत सुविधा दिनुपर्ने’ जस्ता माग प्रधानमन्त्रीसँग राखेका थिए । अस्थायी शिक्षक आन्दोलन समितिका अध्यक्ष निरेन्द्र कुँवरले अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाको अवसर दिनुपर्ने र प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्नेमा जोड दिएका थिए । मुलुकभर करिब ३० हजार अस्थायी शिक्षक छन् । रासस

जि२० को बैठकले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने

मस्को, १३ भदौ । चीनमा आगामी साता हुन लागेको जि२० को बैठकले विश्वको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने जनाइएको छ । विश्लेषकहरुले यस बैठकले आगामी दिनमा कैयौँ मात्रामा थाँती रहेका प्रश्नहरुको जवाफ दिने अपेक्षा गरिएको पनि विश्लेषकहरुले बताएका छन् । रसियाका एकजना प्रमुख व्यापारिक नेताले पनि यस सम्मेलनले आर्थिक विषयमा बाँकी रहेका केही अनुत्तरित प्रश्नको जवाफ दिने जनाएका छन् । यस सम्मेलनको आयोजना चीनले गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको चीनले अयोजना गरेको यस सम्मेलनबाट विश्वलाई नै फाइदा पुग्ने अपेक्षा गरिएको ती प्रतिनिधिले जनाएका हुन् । रुसको प्रत्यक्ष लगानी कोषका निर्देशक किरिल दिमित्रीभ्ले यस सम्मेलनले थप आर्थिक लगानीका क्षेत्रहरुको सम्भावना खोज्नुका साथै जि२० मा संलग्न विश्वका देशहरुको समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए। जि २० को सम्मेलन यही सेप्टेम्बर ४ देखि ५ सम्म चीनमा आयोजना गरिएको छ । यस संगठनमा विश्वका आर्थिक एवम् औद्योगिक देशहरुको सहभागिता छ । दिमित्रेभले भने, चीनले विगतमा पनि विश्व अर्थतन्त्रको अवस्थाका साथै विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको समस्या समाधानका लागि पनि रचनात्मक भूमिका निर्वाह गरेको जानकारी गराए । विश्वका २० वटा यी आर्थिक सम्पन्न र औद्योगिक देशहरुको सहभागिता रहेको यस सम्मेलनले विश्वको अर्थतन्त्रको विकास, लगानीका लागि मैत्रीपूर्ण वातावरणको निर्माणका साथै आर्थिक बृद्धिका क्षेत्रमा आवश्यक पहल गर्ने बताइएको छ । रुस र चीन ठूला र आर्थिक सुविधा सम्पन्न मुलुक रहेका र यी दुई देशबीचको आर्थिक सम्बन्ध बिगतदेखि नै राम्रो रही आएको पनि उनले बताए । उनका अनुसार हाल यी दुई देशबीच करिब ६६ वटा आयोजना सञ्चालनमा रहेका छन् । ती आयोजनामार्फत करिब १०० अर्ब अमेरिकी डलर बराबरको लगानी भएको छ । रासस/सिन्ह्वा

रिलायबल डेभलपमेन्ट बैंकको हायर पर्चेज कर्जामा विशेष योजना

काठमाडौं, १३ भदौ । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले हायर पर्चेज कर्जामा विशेष योजना ल्याएको छ । बैंकले निजि तथा सार्वजनिक सवारीसाधनहरु जस्तै कार, बस, ट्रक, क्रेन, डोजर, ट्यांकर, एक्स्काभेटर आदि खरिद गर्नको लागि कर्जा लगानी गर्ने जनाएको छ । बैंकका अनुसार कागजात पेश गरेको ५ कार्यदिन भित्र कर्जा उपलब्ध गराइने छ । यस योजना अन्तर्गत वार्षिक ब्याजदर ९५ देखि सुरु रहने छ । साथै, यो योजना बैंकको सबै १७ शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।

आईएमई ग्रुपले अशोक लेलैण्डका गाडीहरु भोलिदेखि बिक्री गर्ने

काठमाडौं, १३ भदौ । नाडा अटो शो २०७३ मा आईएमई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एलटी ईन्टरप्राईजेजले अशोक लेलैण्ड ब्राण्डका ठुला तथा साना रेन्जका कर्मशियल गाडीहरुको प्रर्दशनी भोलिदेखि गर्ने भएको छ। उक्त शोमा ‘यू२५१८ टिपर’ र लाइट कमर्सियल भेकल ‘दोस्त’ प्रर्दशनीमा राखिने कम्पनीले जनाएको छ। नेपालको बाटो सुहाँउदो र कम लगानीमै धेरै नाफा गर्न लगानीकर्ताहरुको मन जित्न सफल रहेको दोस्त एलसिभी सेग्मेन्टको ‘दोस्त प्यासेन्जर’ नामक अर्को एलसिभी गाडीको पनि यस नाडा अटो शो प्रर्दशनीेबाट कन्सेप्ट लन्च भएको छ । साथै, दोस्त प्यासेन्जर गाडीको बुकिङ्ग पनि शुरु गर्ने कम्पनीले जनाएको छ । त्यसैगरि अशोक लेलैण्ड ब्राण्डका बस सेग्मेन्ट अन्तर्गतको नयाँ गाडी ‘सनसाइन’ स्कुल बसको पनि यस नाडा अटो शो प्रर्दशनीेबाट नेपालमा कन्सेप्ट लन्च भएको छ र यसको बुकिङ्ग पनि लिन शुरु गरिने कम्पनीले जनाएको छ । एलटी ईन्टरप्राईजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैण्डका कर्मशियल गाडीहरुको यूएसपि भनेकै यसका रेन्ज र प्रोडक्ट भेराइटी रहेको जानकारी गराए । नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकलहरु भित्रिने उनले बताए । उनका अनुसार विगतमा स्पेयरर्स र सर्भिसको समस्याले उत्पिडित ग्राहकहरुलाई सुलभ र सहज तरिकाले बिक्रि पछिको सेवा दिने प्रतिवद्वता आईएमई ग्रुपको रहेको छ ।

असोज १ गतेदेखि उपत्यकामा ५०० वटा सुपथ मूल्य पसल, नुन, चामल र ग्यासमा छुट पाइने

काठमाडौं, १३ भदौ । सरकारले असोज १ गतेदेखि उपत्यकामा ५०० वटा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । आपुर्ति मन्त्री दिपक बोहराको अध्यक्षतामा आइतबार बसेको बैठकले दशैं, तिहार तथा छठ लगायतका पर्वहरुलाई लक्षित गर्दै उपत्यका भित्र ५०० वटा किराना पसल मार्फत सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो । सुपथ मूल्य पसलबाट खाद्य संस्थानले १५ प्रकारका चामल, फापर र सिमीमा प्रति किलो ५ रुपैंयाँ छुट दिनेछ । त्यस बाहेक २००० देखि २५०० वटासम्म खसी, बोका तथा च्याङग्रा ल्याएर सहुलियत मुल्यमा बेच्नेछ । त्यस्तै, साल्ट टे«डिङले चीनीमा प्रति किलो ५ रुपैंयाँ र नुनमा २ रुपैंयाँ छुट उपलब्ध गराउनेछ । नेपाल आयल निगमले ग्यासमा प्रति सिलिण्डर ५० रुपैंयाँ तथा मट्टितेलमा आवश्यक छुट दिने बताएको छ । दुग्ध विकास संस्थानले घ्युमा प्रति किलो १० रुपैंयाँ छुट दिने भएको छ भने पनिरमा पनि केहि सहुलियत दिने योजना बनेको जनाएको छ । यसरी सञ्चालन गरिएका सुपथ मुल्य पसलबाट उपलब्ध गराइएको सुहलियत वापतको रकमको सोधभर्ना भने अर्थ मन्त्रालयले उपलब्ध गराउने आपुर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए ।

सिद्धार्थ क्यापिटलले ४६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं, १३ भदौ । सिद्धार्थ क्यापिटलले सेयरधनीलाई ४६ प्रतिशत नगद लाभांश दिने भएको छ । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ मा लगानी गर्ने लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ । साथै, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इक्विटी ओरिन्टेड स्किममा लागानी गर्ने लगानीकर्तालाई पनि १६ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सिद्धार्थ क्यापिटलले जारी गरेको ५ करोड लाख कित्ता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ हाल प्रतिकित्ता करिब २८ रुपैयाँमा कारोबार हुँदै आएको छ । त्यस्तै, सिद्धार्थ क्यापिटलले जारी गरेको १० करोड लाख कित्ता सिद्धार्थ इक्विटी ओरिन्टेड स्किम नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित सिद्धार्थ इक्विटी ओरिन्टेड हाल प्रतिकित्ता करिब १५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।