विकासन्युज

विदेश उड्ने जहाजका चार लाख सिट खाली

काठमाडौं, १४ भदौ ।  अन्तराष्ट्रिय उडान भर्ने २९ वटा बायु सेवा कम्पनीको चार लाख सिट खाली भएको छ । जहाजको क्षमता अनुसार यात्रु नपाउँदा गत आर्थिक वर्षमा नेपाल हुँदै अन्तराष्ट्रिय उडान भर्ने ती कम्पनीहरुको चार लाख सिट खाली भएको हो । २९ कम्पनीले बार्षिक ३६ लाख १३ हजार जनालाई बोक्न सक्छन् । तीमध्ये गत आर्थिक वर्षमा जम्मा ३२ लाख १७ हजार यात्रुलाई मात्रै उडान गराएका हुन् । नेपालमा उडान भर्ने कम्पनीहरुले सातामा २१ वटासम्म उडा भर्न पाउँछन् । नेपालले हालसम्म ३८ देशसँग हवाई सेवा सम्झौता गरेको छ भने १५ वटा मुलुकसँग उडान भरिरहेको छ । समाचारः अन्नपूर्णपोष्टबाट

दशैंका लागि ४९ हजार खसीबोका र च्याङग्रा ल्याइदै

काठमाडौं, १३ भदौ । दशैलाई लक्षित गरेर यस बर्ष उपत्यकाका लागि ४९ हजार खसीबोका तथा च्याङग्रा ल्याइने भएको छ । खाद्य संस्थान र निजी क्षेत्रले ४९ हजार भन्दा बढि खसीबोका र च्याङग्राको व्यापार गर्ने लक्ष्य राखेका हुन् गत वर्षको दशैंमा ४१ हजार खसीबोका तथा च्याङग्राको कारोबार भएको थियो । खाद्य संस्थानले २५ सय खसीबाका तथा च्याङग्रा ल्याउने भएको छ भने बाँकी सबै निजी क्षेत्रबाट आपुर्ति हुनेछन् । संस्थानले लाहान, हेटौडा, सुर्खेत तथा नेपालगञ्ज लगायतका क्षेत्रबाट स्थानिय खसीबोका तथा मुस्ताङबाट च्याङग्रा ल्याउने तयारी गरेको छ । घटस्थापनाका दिनदेखि बिक्रि आरम्भ गर्ने संस्थानले जनाएको छ । निजी क्षेत्रबाट आपुर्ति हुने खसीबोकाको बिक्रि भने त्यसअघि देखि नै आरम्भ भैसक्नेछ । समाचारः अन्नपूर्णबाट

होटेलमा वित्तिय संस्थाको ४० अर्ब लगानी

काठमाडौं, १४ भदौ । होटल क्षेत्रमा बैंक तथा वित्तिय क्षेत्रको लगानी ४० अर्ब पुगेको छ । बैंक तथा वित्तिय कम्पनीले आर्थिक वर्ष २०७१÷७२ मा होटल क्षेत्रमा गरेको लगानी भन्दा १० प्रतिशतले वृद्धि गरेर ४० अर्ब पुर्याएका हुन् । सो अवधीमा होटल क्षेत्रमा वित्तिय संंस्थाको लगानी ३० अर्ब ११ करोड रहेको थियो भने हाल ३९ अर्ब ९० करोड पुगेको छ । यो लगानी करिब ३३ प्रतिशतले बढि हो । होटल एसोसियसन अफ नेपाल(हान)का अनुसार हाल २५० वटा होटल सञ्चालनमा रहेका छन् । समाचारः कान्तिपुर दैनिकबाट

सिटिजन्स बैंकले २५.७८ प्रतिशत लाभांश वितरण गर्ने, हकप्रद सेयरले बोनस नपाउने

काठमाडौं, १३ भदौ।  सिटिजन्स बैंक इन्टरनेसनलले २५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २४.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । ‘भदौ १३ गते बसेको संचालक समितिको २१४ औं बैठकको निर्णय बमोजिम आ.व २०७२/७३ को वितरण योग्य मुनाफाबाट २०७३ आषाढ मसान्तको चुक्ता पूँजी ३ अर्ब ६ करोड ५२ लाख ३३ हजार ८१७ रुपैयाँको २४.४९ प्रतिशतले हुने ७५ करोड ०६ लाख ७५ हजार ७६२ रुपैयाँ बराबरको बोनस शेयर र सोमा लाग्ने करको लागि १.२९ प्रतिशतले ३ करोड ९५ लाख ०९ हजार २५१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ’ बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सञ्चालक समितिको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको साधारण सभाबाट स्वीकृत भए पश्चात मात्र वितरण हुने छ । आर्थिक वर्ष २०७२/७३ मा बैंकले खुद नाफा १ अर्ब १० करोड ९८ लाख आर्जन गरेको थियो । आर्थिक वर्षको अन्त्यमा निश्काशन गरेको हकप्रद सेयरले भने गत आर्थिक वर्षको नाफाबाट लाभांश नपाउने भएको छ ।

लक्ष्मी बैंकको नयाँ शाखा मध्य पश्चिमको रुकुम र जाजरकोटमा

काठमाडौं, १३ भदौ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा रुकुमको चौरझारी र जाजरकोटको खलङ्गामा शुभारम्भ गरेको छ । सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले मध्य पश्चिमको चौरझारी र खलङ्गामा सो शाखा सञ्चालनमा ल्याएको हो । यस शाखाको विस्तार सँगै बैंकले बैकिंङ्ग क्षेत्रमा पिछडिएका क्षेत्रका ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादान गर्ने लक्ष्य राखेको छ । साथै, बैंकले शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । बैंकका अनुसार अब बैंकको शाखा संजाल ५२, २ विस्तार काउन्टर अनि ७१ वटा एटिएम पुगेको छ । यी शाखाहरुका साथै बैंकले आफ्नो सेवा अझ सुदृढ बनाउने विश्वास राखेको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देश भरि विस्तार गर्ने लक्ष्य लिएको छ । बैंकका अनुसार आ.व. २०७१/७२ मा ४८ अर्ब ८५ करोड निक्षेप र ४० अर्ब ३५ करोड रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोड रुपैयाँको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

हुन्डाईको दशैं–तिहार योजना, गाडी खरिदमा ६ लाखसम्मको छुट

काठमाडौं, १३ भदौ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहार योजना अन्तर्गत हुन्डाई फेस्टिभ डिलाइट योजना घोषणा गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडिको खरिदमा उपहार र नगद छुट पाउनेछन् । यो योजना भाद्र १३ गते देखि लागु गरिएको छ । हुन्डाई गाडिको खरिदमा हरेक ग्राहकले ६ लाखसम्मको छुट र १ वर्षको लागि बीमा प्राप्त गर्नेछन् । त्यसैगरी लक्ष्मी हुन्डाईले आफ्नो ग्राहकहरुका लागि सय तोला सुनको उपहारको घोषणा गरेका छन् । १०० जना भाग्यमानी विजेताहरुले एक–एक तोला सुन प्राप्त गर्नेछन् । भाग्यशाली विजेताको घोषणा योजनाको अन्त्यमा लक्की ड्र मार्फत गरिनेछ । यो योजनाको बम्पर पुरस्कार हुन्डाई क्रेटा र हुन्डाई इलाट आइ२० रहने छ । दुई जना भाग्यशाली विजेताहरुले बम्पर पुरस्कार जित्ने मौका पाउनेछन् । भाग्यशाली विजेताहरुको घोषणा लक्की ड्र मार्फत गरिने छ । हुन्डाई नेपाल अधिराज्यभरी १६ वटा शोरुम रहेका छन् जसमध्ये १३ वटा काठमाडौं उपत्यका बाहिर छन् भने ३ वटा उपत्यका भित्र रहेको कम्पनीले जनाएको छ । आउदै गरेको चाडपर्वको आगमनसंगै हुन्डाई शोरुमलाई, दशै–तिहार चाडपर्वको अनुभूति गराउने गरी सजाइने छ । विगतका दिनहरुमा जस्तै लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो ग्राहकहरुलाई आगामी दिनमा अझ उच्चस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।

नेपाली अटोबजारमा नयाँ ब्राण्डको प्रवेश, रेनो क्विड र डस्टर सार्वजनिक, मूल्य १६ लाख र ३५ लाख

काठमाडौं, १३ भदौं । फ्रान्सेली बहुदेशीय अटोमोबाइल कम्पनी रेनोका कारहरु नेपाली बजारमा प्रवेश गरेको छ । व्यावसायिक समूह विशाल ग्रुप अन्तरगतको एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालमा रेनोको क्विड र डस्टर सेगमेन्टको कारहरु भित्र्याएको छ । रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र विशाल ग्रुपका निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे । रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानी र एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकञ्ज अग्रवालले नयाँ गाडी सार्वजनिक गरे । उक्त कार्यक्रममा बोल्दै सुमित सहानीले भने,ूरेनो द्रूत गतिमा अगाडि बढिरहेको विश्वव्यापी अटोमोटिभ ब्राण्ड हो । हामीले रेनो ब्राण्डलाई सार्क क्षेत्रका महत्वपूर्ण देशहरुमा लैजाने प्रयास गरिरहेका छौं । त्यसैक्रममा हामी नेपालमा पहिलो बितरकको रुपमा एडभान्स अटोमोबाइल्स प्रालिको समूद्घाटन गर्न यहाँ उपस्थित भएका छौं ।’ एडभान्स अटोमोबाइल्स काठमाडौं थापाथलीमा सविधा सम्पन्न शो रुमबाट बिक्री शुरु गरेको जनाएको छ । यस कम्पनीले कालोपुल र परोपकारमा अर्कशप सञ्चालनमा ल्याएको जानकारी दिएको छ । एडभान्स अटोमोबाइल्स प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले रेनो क्विडको मूल्य १६ लाख र डस्टर ३५ लाख रुपैयाँ पर्ने बताए । उनले रेनो क्विड र डस्टर साँचिक्कै अन्तर्राष्ट्रिय कार भएको बताए । यी गाडी नाडा अटो शो २०७३ मा प्रदर्शनीमा राखिने भएको छ । रेनो समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ । सन् २०१५ मा २८ लाख गाडिहरु १२५ देशहरुमा बिक्री गरेको छ । यसका ३६ वटा उत्पादन क्षेत्रहरु रहेका छन । विशाल समूह नेपालमा ठूलो व्यवसायिक समूहमध्ये एक हो । यसले समूहले बैंकिंग, बीमा, जलविद्युत, सिमेन्ट, फलाम र इस्पात, ब्रुअरी, होटल्स तथा रिजोर्टस् र बितरणको क्षेत्रमा संलग्न छ

विश्व स्काउट महिलाको क्षेत्रीय सम्मेलन काठमाडौंमा शुरु

काठमाडौं, १३ भदौ । विश्व स्काउट महिला सङ्गठनको १२औँ एसिया प्रशान्त क्षेत्रको क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। नेपाल स्काउटको आयोजनामा होटल याक एन्ड यतिमा पाँच दिनसम्म सञ्चालन हुने क्षेत्रीय सम्मेलनको एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेका छन्। नेपालमा पहिलोपटक आयोजना भएको यो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका २६ देशका २५० स्काउट प्रतिनिधिको सहभागिता रहेको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालमा स्काउटिङलाई जनमुखी बनाई विशेष गरी युवापुस्तालाई व्यावहारिक सीप र ज्ञान दिन सरकारको तर्फबाट विशेष भूमिका निर्वाह हुनुपर्ने विचार व्यक्त गरे । उनले स्काउटिङ क्रियाकलापमा महिलाको सहभागिता र उनीहरुको क्षमता अभिवृद्धिमा स्काउटिङ अभियान सफल होस् भनी शुभकामना व्यक्त पनि गरे । राष्ट्रपति भण्डारीले नेपालमा स्काउटिङ सुरु भएको छ दशकको अवधिमा बालबालिका, युवा–युवती तथा किशोर–किशोरको सर्वाङ्गीण विकासका साथै राष्ट्रप्रति समर्पित कर्तव्यबोध नागरिक तयार पार्ने कार्यमा नेपाल स्काउटले शैक्षिक अभियानका माध्यमबाट खेलेको भूमिकाको सराहना गरेका छन्। प्राकृतिक विपत्ति, विनाशकारी भूकम्पका बेला नेपाल तथा विश्व स्काउटले पुर्याएको सहयोगप्रति धन्यवाद दिँदै उनले देश अहिले पुनःनिर्माणको अभियान अगाडि बढेको सन्दर्भमा स्काउटको परोपकारी भूमिकालाई अरु व्यापक बनाउने कार्यमा सरकारका सम्बन्धित निकायले थप सहयोग र समन्वय गर्नुपर्ने खाँचो औँल्याए । राष्ट्रपति भण्डारीले नेपाल स्काउटले नेपाली जनताको समृद्धिका लागि संविधानको भावना र मर्मअनुसार आफ्ना नीति तथा कार्यक्रमलाई जनमुखी बनाउन थप अग्रसर हुने विश्वास व्यक्त गरेका छन्। युवा तथा खेलकुदमन्त्री दलजीत पाइलीले नेपालमा स्काउट्री क्रियाकलापले युवापुस्ताको क्षमता अभिवृद्धि र सामाजिक सेवामा पुर्याएको योगदानको सराहना गर्दै स्काउट सेवालाई विद्यालय तहमै पाठ्यक्रममा समावेस गरिने बताए । स्काउट एसिया प्रशान्त क्षेत्रीय प्रमुख लोली जाङले एकतामा विविधतासँगै नेतृत्व विकास र क्षमता अभिवद्धिमा विश्व स्काउटका करिब ३५ लाख स्वयम्सेवकले सेवा दिइरहेको उल्लेख गरे । नेपाल स्काउटका प्रमुख आयुक्त रवीन दाहालले युवापुस्तालाई क्षमतावान् र कर्तव्यशील नागरिक बनाउन स्काउटिङ गतिविधिले सहयोग पुगेको बताए। नेपाल स्काउटका राष्ट्रिय सचिव लोकबहादुर भण्डारीका अनुसार हरेक तीन वर्षमा यस्तो सम्मेलन आयोजना हुने गरेको छ । सम्मेलनमा महिला नेतृत्व तथा क्षमता विकास, विपद् व्यवस्थापनका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यशाला सञ्चालन हुनेछन् । ‘विश्वलाई नै जोड्नु, उत्पादन र प्रभाव पार्नु’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनको प्रतीक चिह्न ‘हाम्रो डाँफे’ राखिएको छ । सम्मेलनले स्काउटको अध्यक्षसहित चार सदस्यीय एसिया प्रशान्त क्षेत्रीय कार्यसमितिको पनि निर्वाचन गर्ने सचिव भण्डारीले जानकारी गराए। स्काउटिङ पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने र विश्व स्काउटका संस्थापक वेडेन पावेलको नामकरण गरिएको रसुवाको ‘उर्केमा’ हिमाल आरोहणमा स्काउटको सहभागिता बढाउने उद्देश्यले सम्मेलन काठमाडौंमा गरिएको आयोजकले जनाएको छ । रासस