जापानले बाढी नियन्त्रणका लागि दुई करोड बढी अनुदान दिने
काठमाडौं, १९ कात्तिक । जापान सरकारले चितवन जिल्लामा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यान्वयन गर्न दुई करोड ४५ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चितवनको मादी नगरपालिका र लोथर गाविसमा बाढी नियन्त्रणका लागि जापानले उक्त रकम उपलब्ध गराउन लागेको हो। यहाँस्थित जापानी राजदूतावासमा शुक्रबारआयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावा तथा जापानी गैरसरकारी संस्था सप्ला सिटिजन्स कमिटिका देशीय निर्देशक तोयाकी कोमातिसुले अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सप्ला सिटिजन्स कमिटी र चितवनस्थित गैरसरकारी संस्था ग्रामीण पुनःनिर्माण नेपाल नामक संस्थाले स्थानीय तहमा बाढीपहिरोलगायत विपद् जोखिम न्यूनीकरणमा सहकार्य गर्दै आएका छन् । रासस
निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजन खनाल नियुक्त
काठमाडौं, १९ कात्तिक । मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए। सिंहदरबारमा शुक्रबार बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको उपेक्षित, उत्पीडित तथा दलित उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डा वुद्धिबहादुर नेपालीलाई मनोनयन तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतका विकास समितिहरुका अध्यक्ष नियुक्तिका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । रासस
राष्ट्र बैंक सञ्चालक समितिको बैठक नबस्दा ४५ बैंक तथा वित्तीय संस्थाको मर्जरमा ढिलाइ, ६० अर्ब रुपैयाँ अनधिकृत रुपमा सर्कुलर
काठमाडौं, १९ कात्तिक । नेपाल राष्ट्र बैंक भित्र सुविधा भोगको होडबाजी र विदेश घुम्ने मोहका कारण लामो समयदेखि बैंक सञ्चालक समितिको बैठक बस्न सकेको छैन । त्यसको परिणाम वित्तीय बजारमा गम्भिर असर परेका छन् । राष्ट्र बैंकको निर्णय विना ६० अर्ब रुपैयाँ अनधिकृत रुपमा मुद्रा बजारमा आएको छ भने पुँजी वृद्धि र मर्जको अन्तिम सीमा वर्षमा राष्ट्र बैंकले यस सम्बन्धि फाइलहरुमा निर्णय दिन सकेको छैन । राष्ट्र बैंक सञ्चालक समिति राष्ट्र बैंकको निर्णय अनुसार ३७५ अर्ब रुपैयाँ भन्दा बढी मुद्रा बजारमा पठाउन मिल्दैन । तर हाल ४३५ अर्ब रुपैयाँ मुद्रा बजारमा सर्कुलर भएको राष्ट्र बैंक स्रोतले बतायो । ‘राष्ट्र बैंकको अन्तिम निर्णय अनुसार बढीमा ३७५ अर्ब रुपैयाँ मुद्रा बजारमा पठाउन सकिन्छ । दसैं र तिहारको समयमा अधिक मुद्राको माग भएकाले यतिबेला ४३५ अर्ब रुपैयाँ मुद्रा सर्कुलेशन भएको छ’ उच्च स्रोतले भन्यो । ‘दसैं र तिहारको समयमा नयाँ नोट लिन लाईन बस्नेले बैंक घेरे । तर बैंक सञ्चालक समितिको बैठक बस्न सकेन । निर्णय भएको छैन भनेर छापेर ल्याएको नोट नबाँढी बस्न सकिएन’ स्रोतले भन्यो–‘निर्णय पछि गरौला भनेर नोट वितरण गरियो ।’ थप ६० अर्ब रुपैयाँ नयाँ नोट सर्कुलर गर्ने र अधिकतम नोट सर्कुलेशन सीमा ४५० अर्ब बनाउने प्रस्ताव अब बस्ने सञ्चालक समितिमा लैजाने तयारी भएको स्रोतले बतायो । त्यस्तै, राष्ट्र बैंक सञ्चालक समितिको बैठक मर्जर प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको प्रस्तावमा राष्ट्र बैंकले निर्णय दिन सकेको छैन । एनसीसी बैंकमा चार वटा विकास बैंक मर्ज भई असोज ३० गतेदेखि एकिकृत कारोबार गर्ने तयारी थियो । तर राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न नसक्दा अन्तिम स्वीकृति पाएको छैन । ‘४५ वटा बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा छन् । उनीहरुको मर्जर पुरा हुन प्रत्येक संस्थाको फाइल कम्तिमा तीन पटक सञ्चालक समितिमा पेश हुनुपर्छ, सञ्चालक समितिले निर्णय दिनुपर्छ । ती सबै काम रोकिएका छन्’ ती अधिकारीले भने ‘पुँजी वृद्धि गर्ने सीमा अवधिको अन्तिम वर्षमा बैंक तथा वित्तीय संस्थाले छिटो निर्णय चाहेका छन् तर हामीले नै स्वीकृति दिन सकिरहेका छैनौं ।’ त्यस्तै बैंक तथा वित्तिय संस्थाको स्थलगत अनुगमन रिपोर्टलाई सञ्चालक समितिले अन्तिम रुप दिएपछि कार्यान्वयनमा जाने गर्छ । पछिल्लो तीन महिनामा सम्पन्न अनुगमन रिपोर्टबारे सञ्चालक समितिमा छलफल हुन सकेको छैन । यसले वित्तीय क्षेत्र सुधार प्रक्रियामा समेत असर गरेको छ । यो पनि पढ्नुहोस् ; आन्तरिक विवादले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न सकेन, राष्ट्र बैंक ऐन समेत उल्लंघन
दाँत किराले खाएर हैरान हुनु भयो ? अपनाउनुस यी ४ घरेलु उपाय
काठमाडौं, १९ कात्तिक । आम नेपालीका लागि दाँत किराले खानु सामान्य जस्तै भैसकेको छ । नियमित ब्रस नगर्नाले अन्नका स साना कणहरु दाँतका किनारामा बस्छन जसमा किराले संक्रमण गरेपछि दाँतमा पनि किरा लाग्छ । यसरी दाँतमा लागेको किराको दुखाई एकदमै पीडादायक हुन्छ । यदि तपाईंको दाँतमा पनि किरा लागेको छ वा अत्याधिक दुखाई महशुस हुन्छ भने यी घरेलु उपायहरु अपनाएर त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ । १) पिसेको धुलो बेसार र नुनलाई तोरीको तेलमा मिलाउनुस् । मञ्जनजस्तै हिलो बनेको यो मिश्रणले दैनिक दुई–तीन पटक दाँत माझ्दा गर्दा वा यसले ब्रस गर्दा दाँतको किरा मर्दछ । २) किराले खाएर खोक्रो बनेको भागमा कपासलाई ल्वाङको तेलमा भिजाएर राख्नुस् । यसो गर्दा दाँतमा लागेको किरा मर्दछ । ३) तातो पानीमा फिटकिरी घोलेर बिहान–बेलुका मुख कुल्ला गर्दा दाँतको किरा मर्नुका साथै गन्ध पनि हराएर जान्छ । ४) किरा लागेको दाँतमा बरको चोप लागाउँदा किरा मर्नुका साथै दुखाई पनि कम हुन्छ ।
आन्तरिक विवादले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्न सकेन, राष्ट्र बैंक ऐन समेत उल्लंघन
काठमाडौं, १९ कात्तिक । आन्तरिक विवादमा फसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक लामो समयदेखि बस्न सकेको छैन । सामान्य अवस्थामा सातामा दुई पटक बस्ने राष्ट्र बैंक सञ्चालक समितिको बैठक विगत अढाई महिनादेखि नियमित बस्न सकेको छैन । राष्ट्र बैंक ऐन अनुसार सञ्चालक समितिको बैठक आवश्यकता अनुसार बस्न सक्छ, तर महिनामा कम्तिमा एक पटक बस्नै पर्नेछ । राष्ट्र बैंक सञ्चालक समितिले यतिबेला ऐनको दफा २० उल्लंघन गरिरहेको पाईएको छ । (हेनुहोस कानुनी व्यवस्था) राष्ट्र बैंक सञ्चालक समितिको बैठक नबसेको एक महिनाभन्दा बढी समय भएको र कानुनको पालना गर्न समेत नसकिएको राष्ट्र बैंकका एक डेपुटी गभर्नरले स्वीकार गरे । राष्ट्र बैंकका दुबै डेपुटी गर्भनर सञ्चालक समितिका सदस्य हुन् । ‘बैठक नियमति बस्न नसकेको त साढे दुई महिना भयो । बीचमा कार्यालय खुल्नुभन्दा अगाडि नै दुई पटक बैठक बसेका थियौ । पछिल्लो ढेड महिनामा एक पटक पनि बैठक बसेको छैन’–उनले भने । कर्मचारी संघको अवरोधका कारण बैठक नियमित बस्न नसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले बताए । राष्ट्र बैंकका कर्मचारीहरुको सेवा सुविधा वृद्धिको माग गर्दै संघले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ । पछिल्लो समय संघले अन्य विरोधका कार्यक्रम रोकेर सञ्चालक समिति बैठक कक्ष अगाडि धर्ना दिँदै आएका छन् । तर सञ्चालक समितिको बैठक बस्नै नसक्ने गरी धर्ना तथा विरोधका कार्यक्रम नरहेको संघका अध्यक्ष बसन्त पाण्डेले बताए । ‘कि गभर्नर कि डेपुटी गभर्नरहरु पालै पालो विदेश गईरहनु भएको छ । कोरम नपुगेर गर्भनरले बैठक राख्न सक्नु भएको छैन, उहाँले चाहेको अवस्थामा सार्वजनिक विदाको दिन वा कार्यालय समय अघिपछि पनि बैठक राख्नु नै भएको थियो’ पाण्डे भन्छन्–‘उहाँहरु आफै बैठक राख्न सक्नुहुन्न, वहाना हामीलाई देखाउनुहुन्छ ।’ स्रोत अनुसार कर्मचारीसँग आन्तरिक सहमति भएपछि मात्र बैठकमा आउने भन्दै विज्ञ सञ्चालकहरु श्रीराम पौडेल, रामहरि अर्याल र बालकृष्ण मान सिंह बैठकमा आउन मानेका छैनन् । कर्मचारी व्यवस्थापनको विषयमा आफूहरु संलग्न नहुने उनीहरुले बताएका छन् । ‘दुई÷तीन पटक बैठक बस्ने भनेर आउनु भयो, कर्मचारीको विरोधका कारण बैठक कक्षमा प्रवेश गर्नै पाउनु भएन, दुई पटक कार्यालय खुल्नु अगाडि नै बैठक बस्यो । त्यसपछि उहाँहरुले कर्मचारी समस्या हल भएपछि मात्र बैठकमा आउने बताउँदै आउनु भएको छ’ स्रोतले भन्यो । सञ्चालक समितिकाे बैठक बस्न नसक्दा गम्भिर समस्या देखिन थालेकाे एक डेपुटी गभर्नरले बताए ।
तिहारमा सवा अर्बको सुनचाँदी व्यापार, अमेरिकी चुनावको प्रभाव नेपाली सुन बजारमा
काठमाडौं, १९ कात्तिक । तिहारमा सवा अर्ब रुपैयाँको सुनचाँदीबाट बनेका गहनाको व्यापार भएको छ । तिहारमा २ सय किलो सुन र ३ हजार किलो चाँदी बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । ‘तिहारको एक सातामा सुन तथा सुनबाट बनेका गहना एक अर्ब रुपैयाँ र ३० करोडको चाँदी व्यापार भयो,’ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले भने ‘हाल विक्री भएको सुन अघिल्लो महिनाकोभन्दा ५० प्रतिशत र गत वर्षको भन्दा २५ प्रतिशतले बढी हो ।’ तिहारमा अघिल्लो महिनाको तुलनामा सुनको भाउ ३ हजारले घटेका कारणले पनि सुन व्यापार फस्टाएको हो । केही समयअघिसम्म ५९ हजारको हाराहारीमा रहेको प्रतितोला सुनको मूल्य अहिले घटेर साढे ५६ हजारमा आएकोले पनि बजार बढ्न सहयोग पु¥याएको शाक्यले बताए । अस्ति बुधबार ५६ हजार ८ सयमा कारोबार भएको सुन हिजो बिहीबार एक सय रुपैयाँले घटेको थियो । आज भने अझ घटेर ५६ हजार ५ सय सुन विक्री भइरहेको छ । गत वर्ष भूकम्पका कारण थला परेको सुन बजार दसै तिहारमा आएर उकालो लागेको थियो । पछिल्ला महिनासम्म यसले निरन्तरता पाएपनि गत साउनदेखि बजार मन्द गतिमा अघि बढेको हो । अमेरिकी राष्ट्रपतिको चुनावको प्रभाव सुन बजारमा अब अमेरिकी राष्ट्रपतिको चुनाव नसकिञ्जेलसम्म सुनको मूल्य घट्ने अनुमान व्यवसायीहरुले गरेका छन् । गत साताको तुलनामा अहिले विश्व बजारमै सुनको भाउ ओरालो लाग्दै आएको छ । अमेरिकाको चुनाव पछि मात्र बजार भाउ बढ्ने अनुमान गरिएको हो । ‘विश्व बजारले यस्तै संकेत गरेको छ,’ शाक्यले भने । साउनदेखि मन्दगतिमा अघि बढेको सुन व्यापार तिहार लागेपछि एक्कासी उक्लिएको थियो । तर, अहिले तिहार सकिएको तीन दिन वितिसक्दा पनि बजार भने सुनसान छ । आउँदो साताबाट सुन बजार फेरि बढ्न आशा व्यवसायीहरुको छ ।
पुरातात्विक सम्पदा बनाउन दातृ निकायको ओइरो, १० स्थानको पुनःनिर्माण सम्झौता
काठमाडौं १९, कात्तिक । काठमाडौं उपत्यका र वरपरका पुरातात्विक सम्पदा पुनःनिर्माणमा दातृ निकायमार्फत सहयोगको प्रतिवद्धता एक पछि अर्को गर्दै बढिरहेको छ । नेपाल सरकारले विदेशी दातृ निकायलाई २०७२ बैशाखको भूकम्पले ध्वस्त बनाएका संरचना पुनः निर्माणमा आग्रह गरेपछि विदेशी दातृ निकायको ओइरो नै लागेको छ । विभिन्न विदेशी दातृ निकायले बनाइदिने नेपालले ऐतिहासिक—पुरातात्विक सम्पदामध्ये विश्व सम्पदा सूचीमा सूचिकृत विभिन्न १० स्थानको भने नेपाल सरकारसँग सम्झौता नै भइसकेको पुरातत्व विभागका उपसचिव तथा विश्व सम्पदा संरक्षण विभाग प्रमुख सुरेस सुरस श्रेष्ठले बताए । विश्व सम्पदा सूचीमा सूचीकृति विभिन्न क्षेत्र मध्ये काठमाडौं उपत्यका पहिलो प्राथमिकतामा राखेर पुनः निर्माण हुने पनि उनले बताए । उनका अनुसार सम्वन्धित निर्माण क्षेत्रको विश्व सम्पदा संघ (युनेस्को) र पुरातत्व विभागसँग सम्झौता सम्पन्न भइसकेकोले दातृ निकायले अब भटाभट पुनर्निमाणका काम सुरु गर्ने भएको छ । सम्झौता सम्पन्न भएका उपत्यकको पुनर्निमाण तीन वर्ष भित्रै सकिने पनि पुरातत्व विभागको भनाइ छ । विभागले पाँच वर्ष भित्रमा सबै पुरातात्विक सम्पदाको पुनः निर्माण सक्ने लक्ष्य अगाडि सारेको छ । पुरातत्व विभागका अनुसार भूकम्पपछिको पुनः निर्माणमा सरकारसँग सम्झौता भएका विभिन्न मुलुकको प्राथमिकता पनि विश्व सम्पदामा सूचिकृत क्षेत्रलाई पहिले बनाउने भन्ने नै रहेको छ । विभागको विश्व सम्पदा संरक्षण विभागका अनुसार चीनले हुमानढोकाको नौतले दबबार, नौतले दरबारसँगका हनुमान ढोका क्षेत्र भित्रकै चार वटा टावर बनाउने भएको छ । श्रीलंकाले रातो मछेन्द्रनाथ, बुङमति र स्वयम्भूको आनन्दकुटी महाविहार निर्माण गर्ने भएको छ । जापानले हनुमान ढोकाको अन्वेषण, बुङमति, खोकनाको पुनःनिर्माण गर्ने सम्झौता गरेको छ । बेलायतले उपत्यकाको पुरातत्व अनुसन्धान केन्द्र निर्माण गर्ने भएको छ । जापानिज संस्था मियामातोले हनुमान ढोका गद्दि बैठक बनाउने भएको छ । जर्मनीले भक्तपुर उपमहानागर पालिकाका पुरातत्विक स्मारक बनाउने विषयमा औपचारिक रूपमा नै सहमति गरिसकेको छ । औपचारिक रूपमा दुइपक्षिय सम्झौता भएका विभिन्न १० स्थानबाहेक अन्यको पनि विदेशी दातृ निकायबाट निर्माण गर्न सम्झौताको तयारीमा रहेका छन् । पुरातत्व विभागका अनुसार एउटै क्षेत्रसँग नाम मिल्दोजुल्दो भएपनि एउटा संरचाना एउटै दातृ निकायले पूरा गर्ने छन् । हनुमानढोकामा भने विभिन्न फरक फरक संरचना रहेकोले भूकम्प अगाडिको संरचना जस्तो गरेर पुनः निर्माण हुने भएको छ । भूकम्प अगाडिकै जस्तो संरचाना बनाउनुपर्ने र कुनै पनि संरचना फरक ढंगबाट निर्माण गर्न नपाईने गरी पुरातत्व विभागसँग सम्झौता भएको उल्लेख छ । नेपाल सरकारसँग सम्झौता भएका बाहेक रुची देखाउने, सम्झौताको चरणमा रहेको अन्य मठमन्दिर र पुरातात्विक सम्पदा पनि रहेका छन् । भारतले पसुपति क्षेत्रको पुनःनिर्माणको प्रस्ताव गरेको छ । यो क्षेत्रको जिम्मा भारतलाई दिने भनेपनि सम्झौता भने हुन बाँकी रहेको विभागको भनाइ छ । यी बाहेक थुप्रै मठमन्दिर र गुम्बामा पनि दातृ निकायको सहयोगको प्रतिवद्धता आएको विभागको भनाइ छ ।
छठ पर्वमा प्रयोग हुने सामग्रीको मूल्य तीनगुनाले आकासियो, उपभोक्ता मारमा
लहान, १९ कात्तिक । छठ पर्वका अवसरमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटाको भाँडाकुडालगायत समानको मूल्य झन्डै तीनगुना बढेको छ । यस्ता सामग्रीको मूल्य बढाइए पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । चाडपर्वको मौका छोपेर बजारमा व्यापारीले सामानको मूल्य मनपरी ढङ्गले बढाइए पनि अनुगमन गरी कारबाही गर्ने निकाय मुकदर्शक बनेको सिरहा नहरा रिगौलका शङ्कर यादवको आरोप छ । सूर्यको अराधना गरी मनाइने यो पर्वको तयारी सिरहामा तीव्र भएको छ । विजयदशमी र दिपावली सकिएपछि स्थानीयवासी छठ पर्वका लागि ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन व्यस्त भएका छन् ।उनीहरुले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाएर सजाउने कामलाई तीव्रता दिएका छन् ।रासस