विकासन्युज

पुननिर्माणसँगै जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड

काठमाडौं, ७ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भूकम्प प्रभावित जिल्लामा पुननिर्माणसँगै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन व्यावसायिक तथा आयआर्जनका क्रियाकलापहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । अस्ट्रेलिया सरकारको सहयोगमा उद्योग मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘जीविकोपार्जन पुनःस्थापन : सिकाइ र भावी कार्यदिशा’ विषयक राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले भूकम्पबाट भएको क्षतिलाई पुनःस्थापित र पुननिर्माण गर्ने मात्र नभई मुलुकको नवनिर्माणका लागि पनि सबै एकजुट हुनुपर्नेमा जोड दिए । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो गतिलाई तीव्रता दिनुपर्ने बताउँदै उहाँले यसका लागि सरकारले आवश्यक ऐन कानुन, कार्यविधि, भौतिक पूर्वाधार र आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरे । विगतका तुलनामा सरकारले यस वर्षको बजेटमा औद्योगिक क्षेत्रमा झन्डै ८० प्रतिशत रकम वृद्धि गरेको र यो रकम साना तथा लघुउद्यमको विकासमा विनियोजन गरिने मन्त्री पाण्डेले बताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै सामाजिक एकीकरण र आर्थिक उन्नतिका कार्यक्रममा जोड दिए । नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले पुननिर्माणसँगै जीवनस्तरको पुनः स्थापना पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँदै यसमा अस्ट्रेलियन सरकारले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । सम्मेलनमा युएनडिपीका राष्ट्रिय निर्देशक रेनाउड मेयरले पुनर्निर्माणसँगै जनताको जीवनस्तर सुधार ल्याउन अस्ट्रेलियन सरकारको सहयोगमा १४ हजार लघुउद्यमीको व्यावसायिक क्षमता अभिवृद्धि गरिएको जानकारी दिए । सो अवसरमा युएनडिपीका सहायक राष्ट्रिय निर्देशक हिमादेवी खड्काले जीविकोपार्जन पुनःस्थापना परियोजनामार्फत २० हजार घरपरिवारमा सामुदायिक पूर्वाधारका कार्यक्रम सञ्चालन गरिएको बताए । सम्मेलनमा पुननिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा विष्णु भण्डारी, युएनडिपीका अर्थी पटेललगायतका वक्ताहरुले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनका अवसरमा विभिन्न जिल्लाका लघुउद्यमीद्वारा निर्मित हस्तकला तथा घरेलु उत्पादनको प्रदर्शनी गरिएको थियो । रासस

एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक ’, अब मात्र ८ रुपैयाँमा ३० मिनेट टक टाइम

काठमाडौं, असार ७ । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि नयाँ योजना ‘डे भ्वाइस प्याक’ ल्याएको छ । जस अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब ३० मिनेट अन–नेट टक टाइम कर सहित मात्र ८ रुपैयाँमा खरिद गर्न सक्छन् । यो भ्वाइस प्याक योजना यहि बुधबार (असार ०८) बाट लागु हुनेछ । यस योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ३० मिनेट अन–नेट टक टाइम रहेको भ्वाईस प्याक कर सहित मात्र ८ रुपैयाँमा खरिद गर्न सक्छन् र प्याक सुचारु भए पछि कर सहित मात्र २७ पैसा प्रति मिनेटमा एनसेलको अन्य कुनै पनि नम्बरमा कुरा गर्न सक्छन् । यो प्याकको सुविधा बिहान ५ बजे देखि बेलुका ५ बजेसम्ममा लागु हुनेछ । यो प्याक सुचारु गरेको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ र ग्राहकले बिहान ५ बजेदेखि बेलुका ५ सम्ममा यो सेवा प्रयोग गर्न सक्नेछन् । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी यो प्याक सुचारु गरी योजना अन्र्तगतको सुविधाको लाभ लिन सक्छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्छन् र पछिल्लो पटक सुचारु प्याकको आधारमा समयावधि थपिनेछ ।

बाफिया फर्कियो अर्थ समितिमा, सभापति भन्छन–फेरी छलफल गर्छाैै

काठमाडौं, ७ असार । सरकारले बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन(बाफिया)लाई संसोधन गर्न बनेको बिधेयक अर्थ समितिमै फिर्ता पठाएको छ । संसोधनको मुल मर्मलाई मिचेर अर्थ समितिले ऐन संसोधनको बिधेयक पारित गरेको भन्दै अर्थमन्त्री बिष्णु पौडेलले पुनः समितिमै फिर्ता पठाएका हुन् । समितिमा रहेका बैंक सञ्चालक समेत रहेका सांसदहरुले आफ्नो हित अनुकुल संसोधन गरेर ऐनको मस्यौदा तयार पारेका थिए । नेपाल राष्ट्र बैंकले तयार पारेको संसोधन मस्यौदा माथी अर्थसमितिले उप समिति गठन गरेर अध्ययन गरेको थियो । सांसद दिपक लुइटेलको संयोजकत्वमा गठित उपसमितिमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ लगायत सदस्य थिए । उनीहरुले बाफिया संसोधनको मुल मर्मलाई मिच्दै आफु अनुकुल मस्यौदा पारित गरेको आरोप लागेको थियो । सञ्चालक तथा अध्यक्षको कार्यकाल, योग्यता, सस्थापक सेयरको कारोबार र प्रमुख कार्यकारी अधिकृतको कार्यकाल लगायतका बिषयहरु संसोधन गरेर अर्थसमितिले मस्यैदा तयार पारेको थियो । अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने–’बाफियामाथी पूनःछलफल गर्न निर्देशन आएको छ, हामी थप छलफल गरेर आवश्कता अनुसार अघि बढ्छौं ।’ उनले सरोकारवाला सबै निकायसँग थप छलफल गरेर बाफियाको नयाँ मस्यौदा पठाउने विकासन्युजसँग बताए ।

किङ्गस् कलेजले ‘सामाजिक उद्यमशीलता’ अन्तराष्ट्रिय सम्मेलन गर्दै, आयोजना असार १६ र १७ गते काठमाडौंमा हुने

काठमाडौं, ७ जेठ । किङ्गस् कलेजले ‘सामाजिक उद्यमशीलता’ अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । उक्त सम्मेलन असार १६ र १७ गते हायात रेजेन्सी काठमाडौंमा हुने कलेजले बताएको छ । कलेजले सामाजिक उद्यम मार्फत नेपालमा पुननिर्माण भन्ने विषयमा केन्द्रित गरेर उक्त सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा गत साल वैशाख १२ गते गएको भूकम्पपछिको पुनस् निर्माणमा सामाजिक उद्यमशीलताको भूमिकाबारे छलफल हुने कलेजले बताएको छ । कलेजका अनुसार कार्यक्रममा ३० वटा भन्दा बढी सामाजिक उद्यमीहरुको कथा प्रस्तुत हुनेछ । कार्यक्रममा विश्वभरीका सात विख्यात वक्ताहरुले प्रस्तुती गर्ने आयोजकले जानकारी दिएका छन् । किङ्गस् कलेजका प्रिन्सिपल नरोत्तम अर्यालका अनुसार नेपालमा र दक्षिण एसियामा सामाजिक उद्यमशीलता विकासमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई एकै छानामा ल्याउनु कार्यक्रमको मुख्य उद्येश्य रहेको हो । नेपालको परिपेक्षमा सामाजिक उद्यमशीलता नौलो विषय भएकाले सम्मेलनले यसलाई परिभाषित गर्नमा सहयोग र्पुयाउने एप्पल इन्कका सिद्धार्थ राझन्सले विश्वास व्यक्त गरेका छन् । साथै यसले सामाजिक उद्यमशीलताको सफलता र असफलता दुवै पक्षबाट मुल्याकंन गर्नमा मद्दत र्पुयाउने राझन्सले बताए । सम्मलेनमा तीन सय भन्दा बढी मानिसहरुको सहभागीता रहने आयोजकले अपेक्षा गरेका छन् ।

नेपाल–चीनबीचको परामर्श बैठक बुधबार राजधानीमा बस्दै

काठमाडौं, ७ असार । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक बुधबार राजधानीमा हुँदैछ । बैठकमा भाग लिन चीनको परराष्ट्र मन्त्रालयका सचिव कोङ सनयु छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न यहाँ आइपुग्ने कार्यक्रम छ । परामर्श बैठकमा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षमा छलफल हुनाका साथै विगतमा दुई मुलुकबीच भएका सम्झौताको कार्यान्वयनबारे पनि विचारविमर्श हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका बेला भएका सन्धिसम्झौताको कार्यान्वयनलाई अघि बढाउने सम्बन्धमा पनि छलफल हुन सक्ने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले राससलाई बताए । यहाँ रहँदा चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसँग पनि बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको ती अधिकारीले बताए । यसअघि उक्त बैठक बेइजिङमा भएको थियो । हरेक वर्ष आयोजना हुने उक्त बैठक गत वर्षको भुइँचालो र अन्य कारणले हुन सकेको थिएन । बैठकमा नेपाल सरकारका तर्फबाट गृह, कानुन, न्याय तथा संसदीय मामिला, वाणिज्य, आपूर्ति, रक्षा, उद्योग, कृषि विकास, शिक्षा, वन तथा भूसंरक्षण, सङ्घीय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार, ऊर्जा मन्त्रालय लगायत अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । रासस

बजारमा ललिपप आतंक, हानिकारक शिशा भेटिएपछि उत्पादन र बिक्रिमा प्रतिबन्ध

काठमाडौं, ७ असार । महंगी र कालोबजारीले उपभोक्ता हैरान भैरहेका बेला बजारमा ललिपपको नयाँ आतंक देखिएको छ । हेर्दा राम्रो देखिने र खाँदा गुलियो स्वाद भएका ललिपपहरुमा हानिकारक शिशा फेला परेपछि यस्तो आतंकको पर्दाफास भएका हो । एसियन बिस्कुट एण्ड कन्फेक्सनरी दुहबीद्धारा उत्पादित ललिपपका नलिहरुमा चम्किने अज्ञात रसायन फेला परेको छ । ती रसायनहरु मर्करी भएको र त्यसले मानव स्वास्थ्यमा गम्भिर हानी पुर्याउने भन्दै उत्पादन तथा बिक्रि वितरणमा रोक लगाएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले विकासन्युजलाई जानकारी दिए । एसियन बिस्कुट एण्ड कन्फेक्सनरीले उत्पादन गर्दै आएको ग्लो पप, फ्लोरोसेन्ट आइसक्रिम ललिपप, प्रेस्टिज रोजेज फ्लोरोसेन्ट लगायतका चम्किने ललिपपहरुमा हानिकारक रसायन फेला परेको हो । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलालल महर्जनले बर्दियामा ललिपप खाएर चार जना बालक बिरामी भएपछि गुणस्तर परिक्षणका लागि विभागमा उजुरी दिएको बताए । ‘ललिपप खाएर बालबालिका बिरामी भएको खबर आएपछि हामीले उजुरी हालेका थियौ, ललिपपको नलिभित्र रहेको चम्किने पदार्थ मर्करी हो र त्यसले स्वास्थ्यलाई गम्भिर असर गर्ने देखियो’, मञ्चका अध्यक्ष महर्जनले भने । ग्लो पप, फ्लोरोसेन्ट आइसक्रिम ललिपप, प्रेस्टिज रोजेज फ्लोरोसेन्ट ललिपप उत्पादन गर्दै आएको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी उद्योगमा विभागले ताला लगाएको छ । बजारमा पुगेका यस्ता ललिपप समेत फिर्ता गर्न उद्योगलाई निर्देशन दिएको छ । ‘उत्पादन बन्द गराएका छौं भने बजारमा पठाइसकिएका समान फिर्ता गर्न निर्देशन दिएका छौं, अब आयातित ललिपपको समेत बजार अनुगमन गर्छाै’, विभागका प्रवक्ता वस्तीले भने ।

क्यास्ट्रोल एक्टिभो अब नेपाली बजारमा

काठमाडौं, ७ असार । क्यास्ट्रोल लुब्रिकेन्ट्सको नयाँ उत्पादन ‘क्यास्ट्रोल एक्टिभो’ नेपाली बजारमा भित्रिएको छ । नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट्सको आधिकारिक वितरक नेपाल ओभरसिज ट्रेडिङ कन्सर्न प्रालिले क्यास्ट्रोल एक्टिभोलाई भित्र्याएको हो । एक्टिभो फोर स्ट्रोक इन्जिन आयल हो । एक्टिभोको प्रवेशसँगै अब नेपाली बजारमा पहिले देखि प्रचलित क्यास्ट्रोलको एक्टिभ ४टी लुब्रिकेन्ट्सको स्थानमा एक्टिभो स्थापित हुने भएको छ । एक्टिभो पहिलेको एक्टिभ भन्दा विशेष रुपमा परिस्कृत गरेर बजारमा ल्याइएको छ । यसमा अत्याधुनिक एक्टिभ बोन्ड मोलिक्युल्स रहेको नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जित बताउँछन् । रञ्जितका अनुसार उक्त मोलिक्युल्सको सहयोगले इन्जिनमा एक किसिमको झिल्ली बस्न गई इन्जिनलाई सुरक्षित राख्छ र यसमा अनावश्यक पदार्थ बस्न वा जम्न पाउदैन । इन्जिनका भागहरुमा उक्त मोलिक्युल्स टाँसिएर बसेको हुन्छ जसले स्टार्ट बन्द गरेको र फेरि स्टार्ट गरेको अवस्थामा पनि इन्जिनलाई पूर्ण सुरक्षित राख्ने कम्पनीले बताएको छ । एसिया र मध्यपूर्वी देशमा एक्टिभ र युरोप तथा अमेरिकी बजारमा एक्टिभो प्रचलित थियो । क्यास्ट्रोलको एक्टिभ पहिलेदेखि नै नेपाली उपभोक्ताहरुका बीचमा लोकप्रिय भएकाले दक्षिण एसियामै पहिलो पटक एक्टिभोलाई नेपाली बजारमा पठाइएको कम्पनीको भनाइ छ । पहिलेको एक्टिभ सरहकै मूल्य कायम भएकाले पनि यसले नेपाली बजारमा लोकप्रियता हासिल गर्ने कम्पनीको दावी छ ।