विकासन्युज

घरजग्गा व्यवसायी सुधीर बस्नेत जेल चलान

काठमाडौं, १३ पुस । वित्तीय संस्था र सर्वसाधारणको करोडौँ रकम हिनामिना गरेको आरोपमा घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ परेका छन् । धापासीस्थित आफ्नो घरमा बसिरहेको अवस्थामा प्रहरीले गएराति पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिएका छन् । प्रहरी आएको चाल पाएपछि बस्नेत भाग्न लाग्दा उनको हातमा सामान्य चोट लागेको छ । अदालतको फैैसला कार्यान्वयनको क्रममा उनलाई पक्राउ गरिएको खनालले जानकारी दिए। बस्नेतमाथि काठमाडौं जिल्ला अदालतबाट छ महिना कैद, भक्तपुर अदालतबाट दुई वर्ष कैद र करिब १२ लाख रुपैैयाँ जरिवाना सुनाईएको छ । बस्नेतमाथि बैंक तथा वित्तीय संस्था, र सर्वसाधारणबाट अर्बौँ बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।

खेर गइरहेको झारपातबाट वायो ब्रिकेट र कोइला उत्पादन

सिन्धुपाल्चोक, १३ पुस । वन जङ्गलमा खेर गइरहेको झारपातलाई प्रयोग गरी वायो ऊर्जा उत्पादन गरिएको छ । जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिङ्गर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट वायो ब्रिकेट र कोइला उत्पादन गरिएको हो । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालअन्तर्गत जैविक ऊर्जा परियोजनाको सहयोग तथा हिमालयन नेचुरल प्रालिको सक्रियतामा वायोब्रिकेट र चारकोल कोइला उत्पादन गरिएको हो । यस्तै अत्तरपुरकै जमुना शाक्य पनि बिहान घरको धन्दा सकेर ब्रिकेट बनाउन आउँदा दैनिक पाँच/सात रुपैयाँ सय आम्दानी गर्छन्। उक्त गाविसमा मात्र ब्रिकेट उत्पादन कम्पनीमा २०० भन्दा बढी मानिसले रोजगारी पाएका छन् । सुरुमा खाल्डो खनेर पातपतिङ्गर पोलेर कोइला र ब्रिकेट बनाउने गरेपनि हेल्भेटास र हिमालय नेचुरल प्रालिको सहयोगपछि आधुनिक प्रविधिमार्फत बनाउन थालिएको प्यूखर्क वायोब्रिकेट उद्योगका अध्यक्ष यामबहादुर श्रेष्ठ बताउछन् । उनी भन्छन्, “सुरुका दिनमा गुणस्तरीय सामान बनाउन गाह्रो हुन्थ्यो, अहिले गुणस्तरीय सामान उत्पादन गर्न सक्षम भएका छौँ ।” उक्त उद्योगहरुमा पाँँच इञ्च गोलाई, १.३० इञ्च उचाइ र ५ इञ्च गोलाइ र तीन इञ्च उचाइका दुईथरि ब्रिकेट उत्पादन हुने गरेको छ । हेल्भेटासकी वायो ऊर्जा परियोजना अनुगमन अधिकृत उषा पाण्डेय समुदायलाई स्वावलम्वनतिर लैजान र विदेशबाट दैनिक रुपमा भित्रने गरेको ऊर्जालाई कम गर्ने काममा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ हेल्भेटासले यस्तो कार्यक्रममा सहयोग गरेको बताउछन् । उनी भन्छन्, “ग्रामीण क्षेत्रमा रहेका बेरोजगार युवालाई गाँउमै रोजगार दिन यस्तो कार्यक्रमले सहयोग पुग्नेछ ।” सिन्धुपाल्चोकका जिल्ला वन अधिकृत शिव सापकोटा वनमा खेर गइरहेको झाडीलाई सदुपयोग गरी बायोब्रिकेट उत्पादन गरी उर्जा अभावलाई सहयोग गरेको बताउछन् । उनी भन्छन्, “ वनको वार्षिक कार्यक्रममा झाडी व्यवस्थापन पनि रहेको हुँदा वायो ऊर्जाले झाडी व्यवस्थापनमा सहयोग पुगेको छ ।” सरकारले यस्तो काममा सहयोग गरे नाकाबन्दीजस्ता आपत्कालीन समयमा थोरै भएपनि राहत पुग्ने थियो । रासस

सेयर बजारमा छायो हरियाली, ५ अंकले बढ्यो नेप्से, सबै समूह उक्लिए

काठमाडौं, १३ पुस । बुधबार सेयर बजारमा हरियाली छाएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तत ५ दशमलब ६२ अंकले बढेर १४१३ अंकमा अडिएको छ । बजार खुलेको केही बेरमै उकालो लागेर १४२२ अंकमा पुगेको नेप्से परिसूचक पछि ओरालो लागेर १४०५ अंकमा झरेको थियो । त्यसपछि करोबार बन्द हुँदा भने बजारलाई केही टेवा पुगेको देखिन्छ । नेप्से परिसूचकसँगै बजारमा कारोबार भएका सबै समूहको परिसूचकहरु पनि हरिया भएका छन् । ७ समूहको कारोबार भएको बजारमा सबैभन्दा बढी होटल समूहको परिसूचक ३९ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बीमा र विकास बैंक समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले बढेका छन् । नेप्से परिसूचकमा केही सुधार आएता पनि कारोबारमा भने अझै सुधार आउन सकेको छैन । मंगलबार जम्मा ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२८ कम्पनीको १३ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेको इन्स्योरेन्सको सबैभन्दा बढी ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंकको २ करोड रुपैयाँ र सिद्धार्थ बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले बढेको छ । सोही दिन ललितपुर फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ६.४८ प्रतिशत गुमाएका छन् ।

मेलम्चीको सुरुङमार्ग निर्माण कार्य ‘ब्रेक थ्रु’ हुँदै, आगामी भदौभित्र सम्पन्न हुने

काठमाडौं, १३ पुस । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुरुङमार्ग (टनेल) निर्माण कार्य बुधबार ‘ब्रेक थ्रु’ हुँदैछ । यस क्रममा सुन्दरीजलदेखि सिन्धुसम्मको करिब साढे नौ किमीमध्ये खन्ने काम सम्पन्न हुने भएको छ । कुल २७ किलोमिटरमध्ये अब साढे पाँच किलोमिटर मात्र निर्माण गर्न बाँकी छ । यो नेपालको पहिलो सुरुङ मार्गसमेत हो । साथै, सिन्धुदेखि ग्यालथोक र ग्यालथोकदेखि अम्बास्थानसम्म पनि निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । अहिले मेलम्चीको पानी उपत्यकावासीमा घर घरमा पुर्याउन धमाधम सडक खन्दै पाइप बिछ्याउने काम द्रुतरुपमा भइराखेको छ । यस कामका लागि नै दिनरात एक हजारभन्दा बढी मजदुर र सयभन्दा बढी प्राविधिक परिचालन समेत भइराखेको छ । मन्त्रालयका सचिव उपाध्यायले भने “मन्त्रालयको सबै ध्यान आगामी दसैँमा उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउन केन्द्रित छ, यसैमा सबै ध्यान लगाएका छौँ ।” यही क्रममा राज्यमन्त्री दीपक खड्का र सचिव भीमप्रसाद उपाध्यायले रात र दिन दुवै समयमा पाइप बिछ्याउने कामको स्थलगत अनुगमन दैनिक रुपमा गरिरहेका छन्। यस क्रममा उनीहरुले मङ्गलबार राति मीनभवन, बत्तीसपुतली, सिनामङ्गल, चाबहिल, गौशाला क्षेत्रको अनुगमन गरेका थिए। “रातको समयमा खन्ने र पाइप राख्ने काम अत्यन्त कठिन हुँदाहुँदै पनि द्रुतरुपमा काम भइराखेको छ । यही गतिमा काम जारी रहेमा २०७४ भदौभित्र सम्पन्न हुन्छ” सचिव उपाध्यायले भने । राष्ट्रिय गौरवका पहिलो प्राथमिकता प्राप्त मेलम्ची खानेपानी आयोजनाको काम निर्धारित समयभित्र पूरा गर्न मन्त्रालय चिन्तित रहेको उनले बताए। राज्यमन्त्री खड्का र सचिव उपाध्यायले बुधबार बिहान मेलम्ची खानेपानी आयोेजनाअन्तर्गत गुह्येश्वरीमा निर्माणाधीन ढल प्रशोधन केन्द्रको अनुगमन समेत गरेका छन्। रासस

अनलाइनमार्फत सेयर कारोबार गर्न पाउनुपर्ने माग, आइतबारसम्म पूरा नगरे आन्दोलन गर्ने

काठमाडौं, १३ पुस । सेयर लगानीकर्ता सङ्घले अनलाइनमार्फत सेयर कारोबार गर्न पाउनुपर्ने माग गर्दै नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएको छ । सङ्घका सदस्यले सेयर बजारसँग सम्बन्धित नियमक निकायले अनलाइनमार्फत सेयर कारोबार गर्नुपर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको भन्दै बुधबार दुई घन्टा धर्ना दिएका हुन् । यस्तै सङ्घले बैंकलाई यथाशीघ्र ब्रोकर लाइसेन्स दिनुपर्ने, ब्रोकरलाई यथाशीघ्र शाखा विस्तार गर्न दिनुपर्ने, बोनस, हकप्रद, मर्जर र सूचीकृत नीति नियम स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने, गैरआवसीय नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने लगायतका माग राखेका छन् । सङ्घका अध्यक्ष उत्तम अर्यालले पूँजी बजारलाई आधुनिकतातर्र्फ लान नसक्नु दुःखद् कुरा भएको बताउँदै आफूहरुले राखेका माग आइतबारसम्म पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियाले नेपाल स्टक एक्सचेन्ज पुँजी बजारको बाधक नभई यसको विकास र विस्तारमा लागेको बताए । उनले भने, “नियम बनाउने निकाय नियम नबनाउने र तुरुन्त यस्तो काम गर भन्दा समस्या उत्पन्न भएको हो ।” उनले वाणिज्य बैंकलाई ब्रोकर अनुमतिपत्र दिने कुरामा स्टक एक्सचेन्ज बाधक नभएको पनि स्पष्ट पारेका छन् ।

देशभरिका जमिनको भू-उपयोग नक्सांकन गर्न ८ अर्ब लाग्ने, स्रोतको अभाव नभए दुई वर्षमै नक्सा निर्माण कार्य सकिने

काठमाडौं, १३ पुस । सरकारले आगामी दुई वर्षभित्र देशभरिका जमिनको भू-उपयोग नक्सा निर्माण गर्ने भएको छ । भू-उपयोग नक्सामा कृषि, वन, आवास निर्माण, व्यवसायिक, औद्योगिक, खानी तथा खनिज, निर्माण सामग्री उत्खनन् क्षेत्र छुट्याउने तयारी गरिएको भूमिसुधार तथा व्यवस्था मन्त्रालयले बताएको छ । साँस्कृतिक तथा पुरातात्विक, नदीनाला तथा ताल तलैया, सार्वजनिक उपयोग तथा खुला क्षेत्र, आवश्यकता अनुसारको सुरक्षित क्षेत्र गरी ११ क्षेत्रमा भूमिको विभाजन गर्न लागिएको मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले बताए । सरकारले जग्गाको किसिमअनुसार उचित व्यवस्थापन र उपयोग गर्न नयाँ भू-उपयोग नीति मार्फत जग्गालाई यसरी छुट्याउन खोजिएको हो । देशभरिको जमिनलाई भू-उपयोग नक्सा निर्माण गर्नको लागि करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ । ‘यदि स्रोतको व्यवस्थापन भएमा अर्थात अभाव नभएमा अबको दुई वर्षभित्र देशभरिको जग्गालाई भू- उपयोग नक्सामा लैजान सकिन्छ,’ झाले भने । मन्त्रालयले करिब ३ वर्ष अघि भू- उपयोग नक्सा बनाउन शुरू हो । गएको आर्थिक वर्ष २०७२/७३ सम्म एक सय ७७ ओटा गाविसका ५ सय ७७ वटा नक्सा तयार पारिसेकेको छ । यस वर्ष तराईका २० जिल्लाका ८ सय २५ गाविसमा ६१ करोड रुपैयाँको लागतमा भू-उपयोग नक्सा निर्माणको काम मन्त्रालयले गरिरहेको छ । ‘जग्गाको वर्गीकरण पश्चात कुन ठाउँमा घर बनाउने, कुन ठाउँमा कृषि गर्ने, औद्योगिक वातावरणको लागि उपयुक्त कुन ठाउँ बन्न सक्छ, त्यहि अनुसार जग्गाको व्यवस्थापन तथा उपयोग गरिन्छ, झाले भने ‘सरकारले खाद्यान्न आयातलाई रोक्न तथा कृषि उत्पादनमा बढीभन्दा बढी जमिनको उपयोग गर्न जमिनको पुनः वर्गीकरण गरिन लागिएको हो ।’ यस अघि भू- उपयोग नीति २०६९ मा कृषि, वन, बसोबास, उद्योग तथा व्यवसायिक क्षेत्र र आवश्यकता अनुसारको क्षेत्रगरी ५ भागमा विभाजन गरिएको थियो । हिमाल, पहाड र तराईमा वैज्ञानिक नक्सा बनाइ रहेको छ । नक्सा बनिसकेपछि सरकारले तोकेको जमिन बाहेक अन्यत्र घर बनाउन पाइने छैन । अटेर गरेर घर वा अन्य कुनै संरचना बनाए सरकारले तत्काल विनामुआब्जा हटाउने व्यवस्था गर्ने भएको छ । भूमिको सही व्यवस्थापन गर्दै खेतीयोग्य जमिन संरक्षण र मानवबस्ती सुरक्षाका लागि भू-उपयोग विधेयक निर्माण भएको सहसचिव झाले बताए । सरकारले जथाभावी खेतीयोग्य जमिनमा हुँदै आएको प्लटिङ रोक्न र सरकारी खाली जमिन अतिक्रमण हुन नदिन सो कार्य अघि बढाएको हो । भूमि ऐन २०२१ अनुसार राष्ट्रिय भू-उपयोग आयोजना गठन गरेर भू-उपयोग कानुन ल्याउन लागेको छ । अब आउने ऐनमार्फत भूमि संरक्षण विधेयकले कृषिभूमि संरक्षण गर्ने, स्वच्छ, सुन्दर, सुविधासम्पन्न बस्ती विकास गराउने, योजनाबद्ध सहरीकरणमा सहयोग पुर्याउने, वन क्षेत्र, प्राकृतिक सम्पदा, जैविक विविधता, सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा सामरिक महत्वका क्षेत्र संरक्षण हुनेछन् ।

साधारण सभा सम्बन्धि बीमा समितिको निर्देशन कार्यान्वयन भएन

काठमाडौं, १३ पुस । पुस मसान्त भित्रै साधारण सभा सम्पन्न गरि सक्न बीमा समितिले दिएको निर्देशन कार्यान्वयन भएको छैन् । ९ वटा जीवन बीमा कम्पनी मध्ये कुनैले पनि पुस मसान्त भित्र साधारण सभा गर्न सकेका छैनन् र नसक्ने पनि देखिएको छ । त्यस्तै, १७ वटा निर्जिवन बीमा कम्पनीमध्ये ११ वटाले पुस मसान्त भित्र साधारण सभा गर्न नसक्ने भएका छन् । हालसम्म ४ वटा निर्जिवन बीमा कम्पनीले मात्रै साधारण सभा सम्पन्न गरेका छन । पुस १३ गतेसम्म थप २ वटाले पुसभित्रै साधारण सभा सम्पन्न गर्ने सूचना प्रकाशित गरेका छन् । पब्लिक लिमिटेड कम्पनीले साधारण सभाको २१ दिन अघि सार्वजनिक सूचना निकाल्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार पुस मसान्त भित्र कुनै पनि जिवन बीमा कम्पनीले साधारण सभा गर्न सक्ने देखिन्न भने ११ वटा निर्जिवन बीमा कम्पनीको साधारण सभा पनि हुने अवस्था नदेखिएको बीमा समितिका निर्देशक राजुरमण पौडेलले विकासन्युजलाई जानकारी दिए । हालसम्म निर्जीवन बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड, एनबी इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले मात्रै वार्षिक साधारण सभा सम्पन्न गरेका छन् । त्यस्तै, हिमालयन जनरल इन्स्स्योरेन्स कम्पनी लिमिटेड र सगरमाथा इन्स्योरेन्सले क्रमशः पुस २९ गते र पुस २७ गते वार्षिक साधारण सभा गर्ने घोषणा गरेका छन् । पछिल्लो समय बीमा समितिको अध्यक्ष पद रिक्त छ । सो भन्दा अघि पनि अध्यक्षको कार्यकाल सकिन लागेकाले समितिको बोर्ड बैठक समेत बस्न सकेको थिएन् । जसका कारण जीवन बीमा कम्पनीहरुको बीमांकिय मुल्यांकन(एक्चुरी) रिपोर्ट समेत पास हुन सकेको छैन् । तोकिएको समयमै साधारण सभा सम्पन्न गर्ने कम्पनीलाई वित्तिय अनुशासनमा राम्रो मानिने पौडेलले बताए । पुस भित्र साधारण सभा सम्पन्न नगर्ने कम्पनीलाई आगामी चैत मसान्तसम्मको समय प्राप्त हुनेछ । कम्पनी ऐनअनुसार आर्थिक वर्ष सकिएको पहिलो ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्छ । त्यसका लागि कम्पनी राष्ट्रिारको कार्यालयसँग ३ महिना समय थप गर्न सकिन्छ ।

डिप्रोक्स लघुवित्तले ५२ प्रतिशत लाभांश दिने, ३५ प्रतिशत बोनस र १७ प्रतिशत नगद

काठमाडौं, १३ पुस । डिप्रोक्स लघुवित्त विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५२ दशमलब ६३ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १७ दशमलब ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । सो मात्राको प्रश्तावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ ।