विकासन्युज

हाउजिंग व्यवसायी सुधीर बस्नेत प्रहरीको हिरासतमा, कसरी उठ्न सक्छ गुमेको १२ अर्ब रुपैयाँ ?

सुधीर बस्नेत हाउजिंग व्यवसायमा टाट पल्टिएपछि फरार रहेको व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि आमसर्वसाधारणको करिव १२ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको आरोप लागेको छ । बस्नेतलाई प्रहरीले बुधबार उनकै घर धापासीबाट समातेको हो । सहकारीबाट सर्वसाधारणको ४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप अपचलन, बैंकहरुको ऋण र आफूसँग कारोबारमा जोडिएका झण्डै ८ हजार सर्वसाधारणलाई ठगी गरेको उनीमाथि आरोप छ । अग्नी यातायातको लामो दुरीको बसबाट आफ्नो व्यससायीक यात्रा गरेका वस्नेतले आयुषा डेभलपर्स, ओरियन्टल विल्डर्स, कोहिनुर हिल हाउजिंग मार्फत सर्वसाधारणलाई आवस दिने सपना देखाएर ठगी गरेका हुन् । प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतको दुई वटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यान्वयनको क्रममा उनलाई पक्राउ गरिएको हो । सामान्य परिवारका उनले विभिन्न सहकारी खडा गर्दै आमसर्वरणमा संकलित निक्षेपलाई घरजग्गा लगानी गरेका बस्नेतले  २०६५/६६ पछि रियलस्टेट कारोबार खस्किएपछि विभिन्न व्यक्तिसँग अपाटमेन्ट लिने आश्वासन दिँदै रकम असुल्दै गरेको थिए । दुई दशकअघि व्यवसायमा लागेको उनका घरजग्गा कारोबारबाटै व्यवसायिक सफलता चुम्दै गएका थिए । २०६० देखि २०६६ सालसम्म हाउजिङ व्यवसायमा उनी सबैभन्दा ठूलो कारोबारीको रुपमा चर्चामा थिए । २०६७ सालमा राष्ट्र बैंकले वित्तीय संस्थाको घरजग्गा लगानी कर्जामा सीमा तोकेपछि उनको व्यवसाय ओरालो लाग्न शुुरु भयो । अपार्टमेन्ट र हाउजिङ प्रोजेक्टको निर्माकार्य सम्पन्न गर्न भनेर सर्वसाधारणबाट लिएको रकम र बैंक वित्तीय संस्थाबाट जग्गामा अन्धाधुन्दा लगानी गरेका उनलाई त्यसपछि तरलता अभावमा पर्न थाल्यो । घरजग्गाको मूल्य समेत घटेपछि बस्नेतले न जग्गा बिक्री गर्न सके न त हाउजिङ र अपार्टमेन्टको योजना निर्माण सम्पन्न भयो । त्यसको व्यवस्थापनका लागि सर्वसाधारणसँग थप रकम उठाउँदै बैंकको ब्याज तिर्न आम सर्वसाधारणले जम्मा गरेको निक्षेप चलाउँन थाले । बैंकले ऋण दिन छोडेपछि घर बन्ने कुनै छनक नदेखे पछि सर्वसाधारणले समेत किस्ता तिर्न रोके । त्यसपछि चरम मन्दीमा फँसेका बस्नेतले सहकारीमा रकम डुबाउनेलाई फ्ल्याट दिने कागज गरेका छन् । पूर्व न्यायधीश गौरीवहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा उनी विरुद्ध सहकारी संस्थाको बचत र हाउजिंग निर्माणको लागि अग्रिम भुक्तानी लिई ठगी गरेको २२ हजार १ सय ७० उजुरी परेका छन् भने व्यक्तिगत उजुरी संख्या १२ हजार ९ सय ६२ रहेको छ । सहकारी उजुरीका ७ अर्ब ६० करोड र व्याज २ अर्ब ४० करोड गरी १० अर्बभन्दा बढी रकमको उजुरी परेको देखाएको छ । हाउजिंगतर्फ ४ सय ८४ उजुरीमध्येमा १ अर्ब ४० करोड रकम दावी परेको छ । बस्नेतको व्यवसाय ढुब्दा हजारौ सर्वसाधारणको उठबास भएको छ भने उनलाई गरेको लगानी डुब्दा ग्राण्ड बैंक, अग्नी एयरलाइन्स जस्ता ठूला कम्पनी डुबेका छन् । साथै, दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्था नराम्ररी समस्या झलिरहेका छन् । उनको व्यवसायिक असफलतासँगै सर्वसाधारणले गुमाएको १२ अर्ब रुपैयाँ कसरी उठ्छ भन्ने अन्यौल अझै पनि कायम नै छ । कुन बैंकबाट कति कर्जा ? प्रहरी स्रोतका अनुसार हाल सुधीर बस्नेत समूहमा प्राइम कमर्शियल बैंकको सबैभन्दा बढी लगानी फसेको छ । बस्नेत समूहलाई दिएको प्राइमको ३१ करोड ९६ रुपैयाँ उठेको छैन । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको २३ करोड ८७ लाख, कुमारी बैंकको २० करोड ३६ लाख, एनआइसी एसियाको २० करोड १ लाख, नबिल बैंकको १४ करोड ६ लाख, तत्कालिन किष्ट बैंकको १३ करोड, सिटिजन्स बैंकको ११ करोड ६९ लाख, ग्राण्ड बैंकको १० करोड ७४ लाख, लुम्बिीनी बैंकको ६ करोड ९३ लाख, सिद्धार्थ बैंकको ६ करोड १५ लाख, सिभिल बैंकको ३ करोड ७४ लाख, सेञ्चुरीको ३ करोड ३७ लाख, एनसीसी बैंकको १ करोड र नेपालइन्भेष्टमेन्ट बैंकको ४ लाख रुपैयाँ कर्जा लगानी भएको प्रहरीको रिपोर्टमा उल्लेख छ । पछिल्लो समयमा केही बैंकहरुले भने धितो लिलामीबाट कर्जा असुलीमा सफलता हासिल गरिरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए । अग्नि एयरलाइन्स सिम्रिक एयरलाइन्सले लिजमा लिएपछि त्यसमा लगानी भएको ७० करोड रुपैयाँ भने सुरक्षित भएको छ । अग्नि एयरमा पाँच वाणिज्य बैंकले लगानी गरेका थिए । अग्नि एयरमा तत्कालिन ग्राण्ड बैंकको ३४ करोड ८४ लाख, सनराइज बैंकको २० करोड २ लाख, सिभिलको २ करोड ९९ लाख, कर्मज एण्ड ट्रष्टको २ करोड ४७ लाख र एनबी बैंकको २३ लाख रुपैयाँ गरी ७० करोड रुपैयाँ लगानी थियो । अग्नि एयर सहित सुधीर बस्नेत समूहलाई वाणिज्य बैंकले २ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए । बस्नेतले आफूसँग अर्बौ रुपैयाँ बराबरको सम्पत्ति भएको दावी गर्दै आए पनि नगद अभावका कारण उनका सबै व्यापार पाच बर्षदेखि बन्द भएका छन् । प्रहरीले संकलन गरेको विवरण अनुसार अनुसार वाणिज्य बैंकबाट मात्र अढाई अर्ब कर्जा लिएका सुधीर बस्नेतले विकास बैंक, फाइनान्स कम्पनी, सहकारी, कर्मचारी सञ्चय कोषलगायत औपचारिक क्षेत्रबाट सवाँ ४ अर्ब र अनौपचारिक क्षेत्रको साढे ३ अर्ब रुपैयाँ कर्जा लिएको पाईएको छ ।

नेपाल बङ्गलादेश बैंकको ३८ औं शाखा रुकुम जिल्लाको मुसिकोटमा

काठमाडौं, १३ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो ३८ औं शाखा रुकुम जिल्लाको मुसिकोट खलङ्गामा संचालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक उद्घाटन बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेका छन् । हाल मुसिकोट शाखा सहित बैंकले ३८ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ३६ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको बैंकले जनाएको छ । बैंकको आर्थिक वर्ष ०७३।७४ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले कुल निक्षेप ३९ अर्ब ६० करोड र कुल कर्जा ३४ अर्ब २७ करोड रुपैयाँ परिचालन गरेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा २२ करोड ५० लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बुधबार मात्रै ३ करोड ४० लाख कित्ता बोनस र २४ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १३ पुस । बुधबार मात्रै ३ करोड ४० लाख ८८ हजार ६२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन २४ लाख ४० हजार ४०७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । बुधबार ७ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यूनिक फाइनान्सको ३ लाख ८१ हजार ७७६ कित्ता, एनआइसी एसियाको एक करोड २० लाख कित्ता र प्रभु इन्स्योरेन्सको ५ लाख ५९ हजार ४२४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, सिटिजन बैंक इन्टरनेशनलको ७५ लाख ६ हजार ७५७ कित्ता, आइसीएफसी फाइनान्सको ११ लाख ६४ हजार ९८५ कित्ता, नेपाल बङ्गलादेश बैंकको ९७ लाख २५ हजार ४७८ कित्ता र अल्पाइन डेभलपमेन्ट बैंकको २७ लाख ४१ हजार ४०० कित्ता गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृति भएको छ । त्यस्तै, सोही दिन तीन वटा बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सको १४ लाख ४० हजार ४०७ कित्ता, वोमी माइक्रोफाइनान्स एण्ड वित्तीय संस्थाको एक लाख ८० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, अल्पाइन डेभलपमेन्ट बैंकको बोनस सेयरका साथै ८ लाख २० हजार कित्ता हकप्रद सूचिकृत भएको छ । त्यसैगरि बुधबार नै पूर्णिमा विकास बैंकको ३ लाख १० हजार ८८७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

टाटा टियागोलाई अन्तर्राष्ट्रिय पुरस्कार, सर्वोत्कृष्ट ह्याचब्याक साबित

काठमाडौं, १३ पुस । डायनामिक स्पोर्टी ह्याचब्याक कार, टाटा टियागो विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुद्वारा सम्मानित भई वर्षकै सर्वोत्कृष्ट ह्याचब्याक साबित भएको छ । उक्त कारले सि.एन.बि.सि.–टि.भि. १८ ओभरड्राइभ अवार्ड २०१७ मा “कम्प्याक्ट कार अफ द इयर”, अटो पोर्टल बेस्ट कार अवार्ड २०१७ मा “बेस्ट ह्याचब्याक अफ द इयर” र एन.डि.टि.भि. कार एण्ड बाइक अवार्ड २०१७ मा “इन्ट्री ह्याचब्याक अफ द इयर” अवार्डहरु हात पार्न सफल भएको छ । उक्त अवार्ड वितरण कार्यक्रमहरुमा नयाँ जमानाको स्पोर्टी ह्याचब्याक, टाटा टियागोको पर्फमेन्स र ड्राभिङ्ग डाइनामिक्स सम्बन्धी सम्पूर्ण पक्षहरुको छलफल भएको थियो । कम्पनीका अनुसार अत्याधुनिक डिजाइन सहित डाइनेमिक ड्राइभिङ्ग सुविधायुक्त टाटा टियागोले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गर्दछ । आकर्षक बढी वीथ सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषताहरुसहित विश्वासिलो, चुस्त एवं साहसिक टाटा टियागोले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्दछ । साथै, २१ औं शताब्दीको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङ्गको अनुभव प्रदान गर्ने कम्पनीले जनाएकोे छ ।

विद्युत प्राधिकरणका तीन सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं, १३ पुस । नेपाल विद्युत प्राधिकरणका तीन जना सञ्चालकलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आन्तरिम आदेश जारी गरेको हो । अदालतले तीन जना सञ्चालकलाई किन हटाउनु परेको हो त्यसको कारण समेत सरकारसँग मागेको छ । लोडसेडिङ अन्त्य गर्ने अभियानमा असहयोग गरेको आरोपमा उर्जा मन्त्री जनार्दन शर्माले तीन जना सञ्चालक लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई मन्त्रालयले पुस ४ गते हटाएको थियो । मन्त्रालयको निर्णय विरुद्ध लामिछानेले पुस १२ गते सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । न्यायधिस प्रकाशमान सिंह राउतको एकल इजलासले मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको हो ।

इन्नोभेटिभ र अरनिको प्राप्तिको लागि सेञ्चुरीलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं, १३ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तीपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्ने छ । प्राप्ती, हकप्रद तथा मुनाफा आर्जनबाट सेञ्चुरी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने लक्ष्य लिएको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को असोज मसान्तसम्म कुल निक्षेप ३१ अर्ब ६८ करोड रुपैयाँ र कर्जा रकम २७ अर्ब ६० करोड रुपैयाँ परिचालन गरेको छ । सो अवधिमा बैंकले १२ करोड ३१ लाख रुपैयाँ सञ्चालन मुनाफा र ७ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहक वर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैशाख ७ गतेदेखि अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला, ३०० वटा स्टल रहने

काठमाडौं, १३ पुस । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल १३औँ अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि आयोजना गर्ने भएको छ । उक्त मेला आगामी २०७४ साल बैशाख ७ देखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । महासंघले साना उद्योगहरूलाई प्रविधिको खाँचो हुन नदिन र प्रविधि विकास गर्नेहरूलाई प्रोत्साहन गर्न सकिने उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको बताएको छ । मेलामा प्रद्धर्शन गर्न लायकका सबै खोज, अनुसन्धान तथा आविष्कारहरूलाई प्रद्धर्शित गराउने यस पटकको मेलाको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएका छन् । साथै, छिमेकी मुलुक चीन, भारत, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरूमा विकास गरिएका प्रविधिहरूलाई पनि मेलामा सहभागि गराइने र यसबाट नेपालका अनुसन्धानकर्ताहरूलाई थप ज्ञान र सीप प्राप्त हुने महासंघको अपेक्षा रहेको छ । यसका लागि नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग मन्त्रालय, कृषि मन्त्रालय, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल कृषि अनुसन्धान परिषद्, रिकास्ट र विश्वविद्यालयहरूसँग सहकार्य गरिने महासंघले जनाएको छ  । महासंघका अध्यक्ष श्याम गिरीका अनुसार मेलामा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिने र मुलुकको औद्योगिकरणले वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरिनेछ । उद्यमी र उद्यमी, अन्वेषणकर्ता र उद्यमीबीच अन्तरक्रिया एवं छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका थप आकर्षण हुनेछन् । महासंघका अनुसार उक्त प्रदर्शनीमा ३०० वटा स्टल रहने छन् । साथै, मेलामा एक लाख भन्दा बढी अवलोकनकर्ताहरूले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।

विमानस्थलमा वाइडबडी जहाज पार्किङ स्थलको अभाव, १० बर्षमा १३ जहाज थप्ने हिमालयको घोषणा

काठमाडौं, १३ पुस । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वाइड बडी जहाज पार्किङ गर्ने ठाउँको अभाव भएको छ । हाल विमानस्थलमा ९ वटा जहाज पार्किङ गर्न सक्ने पुर्वाधार छ तर त्यसमा पनि ४ नम्बरको पार्किङमा समस्या उत्पन्न भएको छ । नेपाल वायुसेवा निगमले चालु आर्थिक बर्षभित्रै एक र त्यसको केहि समयपछि नै अर्काे एक गरि २ वटा वाइडबडी जहाज ल्याउने भनेको छ । त्यस्तै, हिमालय एयरलाइन्सले पनि सन २०१७ को जनवरी/फेब्रुअरीमा एक र मार्च/अप्रिलमा अर्काे एक वाइड बडि थप्ने जानकारी नागरिक उड्डयन प्राकिरणलाई दिईसकेको छ । बुधबार आयोजीत पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले भने-‘हाम्रो एयरपोर्टको स्पेश सानो छ, ९ वटा बे(पार्किङ) छ । आवश्यक पर्दा पछाडी २ वटा पार्क गर्न सक्छौं । तर तत्काल ४ वटा ठुला जहाज थपिने भएकाले त्यसको व्यवस्थापन भने चुनौती पुर्ण छ ।’ उनका अनुसार पुर्व तिरको २ नम्बर पार्किङ १४ देखि १८ महिनामा तयार हुन्छ । समस्यामा रहेको ४ नम्बर पार्किङ पनि आगामी फागुन देखि सञ्चालन गर्नेगरि तयारी भैरहेको छ । ९ वटा पार्किङ स्थल थप्ने योजनासहित अघि बढेको निर्माण प्रक्रियाबाट स्पेनी कम्पनीसँगको ठेक्का भर्खर रद्ध गरिएको छ । उसले सन २०१६ मार्चसम्ममा काम सक्ने सर्तसहित निर्माणको जिम्मा लिएको थियो । महानिर्देशक गौतमका अनुसार हिमालय एयरलाइन्सले आगामी ५ बर्षभित्र १० वाइडबडी जहाज ल्याउने भनेर जानकारी दिएको छ । त्यस्तै आगामी १० बर्षमा उसले थप १३ वटा जहाज ल्याउने जानकारी प्राधिकरणलाई गराईसकेको छ । ती जहाजहरु आउनु अघि नै भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याइसक्नुपर्ने उनले बताए । सन २०१८ जुलाईमा भैरहवा र सन २०२० जुलाइमा पोखरा विमानस्थल निर्माण सम्पन्न् गर्ने लक्ष्यसहित काम अघि बढेको उनले जानकारी दिए । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९ वटा जहाज पार्किङ गर्न सक्ने क्षमता छ । सो विमानस्थलबाट २७ कम्पनीका जहाजले दैनिक ७० वटा अन्तराष्ट्रिय उडान भरिरहेका प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।