विकासन्युज

आर्थिक पत्रकारलाई तालिमका लागि सेजन, एनबीआईसँग सहकार्य

काठमाडौं । आर्थिक पत्रकारहरुलाई तालिमका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) बीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा सेजनका अध्यक्ष गोकर्ण अवस्थी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीब सुब्बाले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार एनबीआईले वार्षिक रुपमा २५ आर्थिक पत्रकारहरुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम प्रदान गर्नेछ । त्यस्तै, आर्थिक पत्रकारिता तालिमका लागि सेजनले विकास गरेको पाठ्यक्रम अनुसार एनबीआईले तालिम प्रदान गर्ने समझदारी भएको छ ।

वस्तु विनिमय बजारसम्बन्धी विधेयक स्वीकृत, मूल्य जोखिम कम गर्नुका साथै महँगी नियन्त्रण गर्ने

काठमाडौं । व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेका उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी, प्रेम सुवाल र भरतकुमार शाहले धारणा राखेका थिए । सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले वस्तु बजारलाई सही मूल्य निर्धारण गर्ने, मूल्य जोखिम कम गर्ने, महँगी नियन्त्रण गर्ने लक्ष्यका आधारमा विधेयक ल्याइएको बताए । करको दायरामा विस्तार, रोजगारीको बढोत्तरी, अनुगमन तथा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न नयाँ विधेयकले काम गर्ने जानकारी दिँदै उनले आर्थिक अनियमितता र ठगी नियन्त्रण गर्न सकिने तथा सीमित व्यक्तिले बजार नियन्त्रण गर्ने अवस्थाको समेत अन्त्य यसबाट हुने उल्लेख गरे । रासस

नेप्से ३७ अंकले बढ्दा १ अर्ब ४२ करोडको कारोबार, सबैभन्दा बढी नेशनल लाईफको

काठमाडौं । मंगलबार उतारचढाव देखिएको सेयर बजारमा नेप्से परिसूचक ३७ दशमबल ८५ अंकले बढेर १४६२ दशमलब २३ अंकमा पुगेको छ । बजार खुलेको साढे १ घण्टाको अवधिसम्ममा सेयर बजार घट्ने बढ्ने क्रम जारी थियो । त्यसपछिको कारोबारमा भने बजारलाई केही टेवा पुगेको देखिन्छ । मंगलबार सेयर बजारमा कुल १ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये नेशनल लाईफ इन्स्योरेन्सको मात्रै ११ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ सय ५६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल कमर्श क्रेडिट एण्ड कर्मश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयरको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबारको बजारमा कुल १४७ कम्पनीको २२ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी बीमा समूहको परिसूचक १०८ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने उत्पादनमूलक समूह स्थिर रहेको छ । त्यस्तै, मंगलबार कारोबार भएका बाँकी समूहको परिसूचक भने दोहोरो अंकले उकालो लागेका छन् ।

यूनियन फाइनान्सको साधारणसभा चैत ३० गते, १४ गतेदेखि १६ दिन बुक क्लोज

काठमाडौं । यूनियन फाइनान्सले आगामी चैत ३० गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १४ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज रहने छ । हाल कम्पनीको चुक्ता पूँजी १७ करोड ४९ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७३ रुपैयाँमा कारोबार भएको छ ।

गल्फ लुब्रिकेन्टको टेक्निकल मिट सम्पन्न

काठमाडौं । गल्फ लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्युब आयल र काठमाडौंका लागि आधिकारिक बितरक एभ ट्रेडिङ प्रालिको आयोजनामा राजधानीमा टेक्निकल मिट सम्पन्न भएको छ । उक्त टेक्निकल मिटमा दुई तथा चार पांग्रे सवारी साधनका मेकानिक्स, रिटेलर व्यवसायी तथा अटोमोबाइल सम्बद्ध दुई सय भन्दा बढी ब्यक्तिहरु सहभागी थिए । एभ ट्रेडिङका प्रबन्ध निर्देशक मधुसूदन सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला प्रमुख अतिथि र नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने तथा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका बरिष्ठ उपाध्यक्ष दिलबहादुर श्रेष्ठ विशिष्ट अतिथि थिए । उक्त अवसरमा महासंघका महासचिव सरोज सिटौलाले लुब्रिकेन्ट्सकै कारण यातायात व्यवसायीहरुको व्यवसाय समेत वृद्धि हुने र यसले सडक दुर्घटनामा समेत कमी ल्याउने कुरा बताए । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव न्यौपानेले मेकानिक्सहरुका लागि गरिएका यस प्रकारका कार्यक्रमले उनीहरुलाई लुब्रिकेन्टका विभिन्न प्रविधिको वारेमा जानकारी प्राप्त हुने बताए । नेपाल ल्युब आयल लिमिटेडका जीएम गंगाराज भट्टराईले गल्फले गुणस्तरमा कुनै सम्झौता नगरेको जानकारी दिदै गल्फ वातावरणका लागि समेत सचेत भएकाले लामो समय सम्म टिक्ने लुब्रिकेन्टको विकास गरेको बताए । उक्त अवसरमा गल्फ लुब्रिकेन्टको प्राविधिक पक्षका वारेमा जानकारी प्रदान गरिएको थियो । नेपाल ल्युव आयल लिमिटेडले २५ बर्ष भन्दा लामो समयदेखि गल्फ आयल निर्माण गरी बिक्री गरिरहेको छ । यसले गल्फ आयल इन्टरनेसनल र गल्फ आयल भारतसँग प्राविधिक सम्झौता गरी लुब्रिकेन्ट निर्माण गरेको हो । गल्फ अन्तर्राष्ट्रिय ब्रान्ड हो । यसलाई ब्रान्डको रोयल्टी तिरेर नेपाल ल्युब आयलले प्रयोग गर्दै आएको छ । कम्पनीले सिंगापुर, दुबई र यूएईबाट कच्चा पदार्थ आयात गर्छ । कम्पनीले बार्षिक १ हजार किलोलिटर लुब्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । यसको उत्पादन क्षमता वार्षिक ५ हजार किलोलिटर सम्म छ । नेपाली लुब्रिकेन्ट्सको १० प्रतिशत बजार हिस्सा गल्फले ओगटेको दावी गरेको छ ।

आठ महिनामा ऊर्जा क्षेत्रमा ६४ अर्ब लगानी प्रतिवद्धता, कुल लगानी एक खर्ब १८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी भएको छ । उक्त अवधिमा ऊर्जा क्षेत्रमा ६४ अर्ब ११ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांक छ । उक्त अवधिमा ऊर्जा क्षेत्रमा १४ वटा उद्योग दर्ता भएका छन् भने गएको वर्षको सोही अवधिमा १३ वटा उद्योग दर्ता भएका थिए । गएको वर्ष २०७२/७३ को दोस्रो चौमाससम्म ऊर्जा क्षेत्रमा १८ अर्ब ३४ करोड लगानी प्रतिवद्धता भएको थियो । चालु आवको सो अवधिमा भएको लगानी गएको आवको सोही अवधिको तुलनामा ४५ अर्ब ७७ करोडले बढी हो । ऊर्जा क्षेत्रमा लगानी गरेर प्रशस्त प्रतिफल प्राप्त गर्ने र सरकारबाट समेत सुविधा पाउने भएकाले यस क्षेत्रमा लगानी बृद्धि भएको हो । उक्त क्षेत्रमा भएको लगानी कुल लगानी प्रतिवद्धताको ५४.३१ प्रतिशत हो । चालु आवको दोस्रो चौमाससम्म उद्योग क्षेत्रमा एक खर्ब १८ अर्ब ३ करोड लगानी प्रतिवद्धता भएको छ । गएको वर्ष यस्तो प्रतिवद्धता ८४ अर्ब ७३ करोडमात्र थियो । चालु आवको यस समीक्षा अवधिसम्ममा लगानीकर्ताको लागि दोस्रो लगानीको क्षेत्र उत्पादनमूलक क्षेत्र बनेको छ । उद्योग दर्ता र लगानीको आधारमा विश्लेषण गर्दा चालु आवमा यस क्षेत्रको लगानी खस्किएको छ । उत्पादनमूलक क्षेत्रका यो अवधिमा २२ अर्ब ८ करोड लगानी भएको छ । गएको वर्षको सो अवधिमा यस क्षेत्रमा ५३ अर्ब ४८ करोड लगानी भएको थियो । गएको वर्षको तथ्यांकअनुसार चालु आवमा उत्पादनमूलक क्षेत्रमा खासै लगानी हुन सकेको देखिदैन । लगानी खस्कदो अवस्था रहेको विभागले जानकारी दिएको छ । यस वर्ष सेवा र पर्यटनमूलक दुबै उद्योगमा लगानी गएको आवको समीक्षा अवधिको तुलनामा लगानी बढेको छ । चालु आवमा सेवामूलक उद्योगमा १७ अर्ब १९ करोड लगानी भएको छ भने गएको वर्षको सो अवधिमा ६ अर्ब १० करोडमात्र लगानी भएको थियो । पर्यटनमूलक उद्योगमा क्रमशः १० अर्ब ५२ करोड र ६ अर्ब ३० करोड लगानी भएको उद्योग विभागको तथ्याङ्क छ । निर्माण क्षेत्रमा एउटैमात्र एक अर्ब लगानीको उद्योग दर्ता भएको छ । गएको आवमा पनि यस क्षेत्रमा खासै लगानी जुट्न सकिरहेको छैन । यस क्षेत्रमा कार्य सम्पादन गर्न अन्य उद्योगमाभन्दा झझण्ट बढी भएकाले पनि लगानी कर्ताको यस प्रति आकर्षण बढ्न नसकेको हो । गएको वर्ष यो क्षेत्रमा १४ करोडमात्र लगानी भएको छ । कृषि तथा वनजन्य क्षेत्रमा पनि यस वर्ष ३ अर्ब लगानी भएको छ । गएको वर्ष यस्तो लगानी ३४ करोडको मात्र थियो ।

घारखोला जलविद्युत् आयोजना निर्माण शुरु, दुई अर्ब ४१ करोड रुपैयाँ लागत

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर कम्पनीले दुई अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लागतको सो आयोजना निर्माण शुरु गरेको हो । आयोजना २०७६ साल मङ्सिरमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उक्त कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेल जानकारी दिए । शिखको कुरिला बगरमा बाँध रहने सो आयोजनाको विद्युत्गृह घारको पोखरेबगरको गोजेमा निर्माण गरिने छ । तीन किमी ४८ मिटर लामो सुरुङ रहने उक्त आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत तथा संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाको ३० प्रतिशत सेयर लगानी रहने छ । पहिलो चरणमा बाँध र सुरुङ रहने स्थलसम्म जाने पहुँचमार्गको ट्र्याक खोल्ने र पुरानो सडकलाई स्तरवृद्धि गर्ने काम भइरहेको छ । रासस

‘संसारकै सबभन्दा स्वस्थ्य मुटु’ जंगलमा बस्ने मानिसहरूकाे

दक्षिण अमेरिकी मुलुक बोलिभियाका जंगलमा बस्ने चिमेने समुदायका मानिसहरुमा संसारकै सबभन्दा स्वस्थ्य मुटु फेला परेको अनुसन्धाताहरुले बताएका छन्। उक्त समुदायका उमेर ढल्किसकेका मानिसमध्ये पनि विरलै कसैमा धमनीहरु अवरुद्ध भएको पाइएको ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ। “यो त एक गजबको समुदाय रहेछ जसको खानपान र जीवनशैली निकै फरक छ,” अनुसन्धाताहरुले उल्लेख गरेका छन्। ती समुदायजस्तो शिकार तथा संकलन अनि कृषिको प्राचीन कालको मानव जीवनशैलीमा बाँकी विश्वपनि फर्किन पर्छ भन्ने अपेक्षा गर्न नसकिने भएपनि तिनीहरुबाट सबैलाई केही पाठ भने मिल्ने अनुसन्धाताहरुले बताएका छन्। चिमेने के हो? बोलिभियाका तल्लो भेगमा अमेजन रेनफरेष्ट क्षेत्रको मानिकि नदी छेउछाउमा करिब १६ हजार चिमेने शिकार गर्ने, माछा मार्ने तथा कृषि कार्यमा संलग्न छन्। उनीहरुको जीवनशैली हजारौं वर्ष पुरानो मानव सभ्यतासँग मेल खान्छ। उनीहरु रहेको ठाउँमा पुग्नका निम्ति वैज्ञानिक तथा चिकित्सकहरुको टोलीले थुप्रै उडानका अतिरिक्त क्यानो डुंगामार्फत यात्रा गर्नु परेको थियो। चिमेनेको खानपान कस्तो छ? •उनीहरुको खानेकुराको १७ प्रतिशत शिकारका मासु हुने गर्छन् (बंदेल, बंगुरकै आकारको स्थानीय तापीर भनिने जन्तु तथा केपिबारा भनिने ठूला आकारका मुसा) •खानेकुराको ७ प्रतिशत चाहिं स्थानीय पिरान्हा र क्याटफिस जस्ता खोलाका पानीमा पाइने माछा पर्छन् •बाँकि खानेकुरामा खेती गरि उत्पादन गरिएका चामल, मकै, म्यानिओक रुट भनिने सख्खर खण्ड जस्तै वस्तु र प्लानटेन्स भनिने केरा प्रजातिका फल पर्छन् •यी बाहेक उनीहरुले जंगलमा भेटिने फलफूल तथा नट्स पनि खाने गर्छन् यसको मतलब हो: •उनीहरुलाई ७२ प्रतिशत क्यालोरी कार्बोहाइड्रेट्सबाट प्राप्त हुँदोरहेछ जबकि अमेरिकामा यो आँकडा ५२ प्रतिशत छ •त्यस्तै १४ प्रतिशत क्यालोरी चाहिं फ्याट (चिल्लो पदार्थ) बाट प्राप्त हुँदो रहेछ जबकि अमेरिकीहरुमाझ यो आँकडा ३४ प्रतिशत छ। साथै चिमेनेहरुले निकै कम स्याचुरेटेड फ्याट सेवन गर्दा रहेछन् •अमेरिकीहरु तथा चिमेने दुवैले प्रोटिनबाट १४ प्रतिशत क्यालोरी पाउँदा रहेछन्। तर चिमेनेहरुले कम चिल्लो पदार्थ हुने मासु लिन मिट बढ्ता सेवन गर्दा रहेछन् उनीहरु कत्तिको ह्रृष्टपुष्ट छन्? तुलनात्मक रुपमा उनीहरु निकै धेरै सकृय हुने गर्छन्। पुरुषले औसतमा १७ हजार पाइला प्रतिदिन हिंड्छन् भने महिलाले १६ हजार हिंड्छन्। साठी वर्ष नाघेकाहरुको समेत औसत हिंडाइ १५ हजार माथि पाइएको छ। आधुनिक समाजमा दिनको १० हजार पाइला हिंड्नु पर्छ भनी भन्दै आइएको कुरालाई समेत लागु गर्न कठिन भइरहेको बेला उनीहरुको सकृयता गज्जबको लाग्न सक्छ। “उनीहरुले प्रदर्शन गर्ने शारिरिक अभ्यासको मात्रा निकै राम्रो छ,” क्यालिफोर्नियास्थित लंग बिच मेमोरियल मेडिकल सेन्टरमा कार्यरत तथा अनुसन्धान टोलीका एक सदस्य डा ग्रेगोरी थोमसले बताए। उनीहरुको मुटु चाहिं कति राम्रो छ? वैज्ञानिकहरुले उनीहरुको शरिरमा कोरोनारी आर्टरी क्याल्सियम वा ‘सीएसी’ कति छ भनेर हेरे किनभने यिनले रक्त नलीहरुमा हुने अवरोध तथा त्यसबाट उत्पन्न हुने ह्रृदयाघातको जोखिम दर्शाउँछ। वैज्ञानिकहरुले ७०५ जनाको मुटु जाँचे। ४५ वर्षको उमेरमा कुनैपनि चिमेने मानिसमा सीएसी देखा परेनन्। जबकि यति उमेरमा एक चौथाई अमेरिकीमा त्यो देखा पर्छ। ७५ वर्षको उमेर पुगिसक्दा पनि दुई तिहाई चिमेनेमा सीएसी पाइएन। यो उमेरमा ८० प्रतिशत अमेरिकीहरुमा सीएसीको संकेत फेला परिसक्छ। युनिभर्सिटि अफ क्यालिफोर्निया सान्ता बारबाराका मानवशास्त्रका प्राध्यापक माइकल गुर्भन भन्छन्: “आँकडा प्राप्त भएका अन्य कुनै पनि समुदायमा भन्दा यो निकै कम हो।” “यस्तै कम पाइने अन्य समुदाय भनेको जापानी महिला हुन्। तर त्यो भन्दा चिमेनेको आँकडा निकै राम्रो पाइएको छ।” के यो खानपान र अभ्यासले मात्र हो? चिमेने समुदायका मानिसले कमै धुम्रपान गर्छन्। तर तिनमा संक्रमण धेरै हुने पाइएको छ। धेरै संक्रमण हुँदा त्यसले पनि जीउ सुन्निने जोखिम भइ मुटुमा समस्या हुन सक्छ। अर्को कुरा चाहिं के छ भने आन्द्रामा पाइने किरा – जसले शरिरको प्रतिरोधी प्रतिकृया घटाइदिन्छ – उनीहरुमा धेरै पाइन सक्ने हुँदा त्यसले पनि मुटुलाई जोगाएको हुन सक्छ। मैले यसबाट के सिक्ने? प्राध्यापक गुर्भन भन्छन्: “मेरो विचारमा शारीरिक अभ्यासलाई सप्ताहान्तमा मात्र गरिने कार्य भन्दा अलि फराकिलो ढंगबाट हामीले सोच्नपर्छ।” “काममा जाँदा साइकल चढेर जाने, भर्याँङ् चढ्ने अनि लेख्ने काम पनि ट्रेडमिल चलाउँदै गर्ने।” डा थोमस भन्छन् स्वस्थ्य रहन हामीले गर्दै आएको भन्दा धेरै शारिरिक अभ्यास गर्नुपर्ने देखिन्छ। “साथै ती मानिस साना समुदायमा बस्छन्। उनीहरुको जीवन एकदमै सामाजिक किसिमको छ र तिनको चिन्तन सकारात्मक छ।” युनिभर्सिटि अफ ग्लास्गोका प्राध्यापक नविद सत्तरले यसलाई छोटकरीमा व्याख्या गर्दै भने, “साधारण शब्दमा भन्नु पर्दा स्याचुरेटेड फ्याट एकदमै कम तथा प्रशोधन नगरिएका वस्तुहरु धेरै सामेल स्वस्थ्य खानपान, धुम्रपान नगर्ने अनि लामो समय सकृय रहने विषयनै हाम्रा रक्तनली अवरुद्ध हुने जोखिमलाई कम गर्न सहायक देखिन्छन्।” बीबीसी