विकासन्युज

वनका हाकिम ५० हजार घुससहित पक्राउ

काठमाडौं । ईलाका वन कार्यालय आर्वा पोखराका सहायक वन अधिकृत गणेश बहादुर कार्की ५० हजार घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुससहित पक्राउ गरेको हो । काउ भलान फुलबारी बाटो निर्माण समितिले नगरपालिकाबाट बजेट निकासा गरी बाटो निर्माणको क्रममा निस्किएको ढुङ्गा सोही स्थानमा प्रयोग गर्न नपाउने भनि जिल्ला वन कार्यालय कास्कीमा परेको निवेदन उपरको कारवाहीको क्रममा उनले घुस मागेका थिए । सोही सूचनाका आधारमा आयोगको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले उनलाई न्युरोड पोखरास्थित कल्पना मम रेष्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउपछि आयोगले आफ्नै हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

दिगो विकासको लक्ष्य खोज्न आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ एशिया प्रशान्त क्षेत्रका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । उनी संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक आयोग(यूनेस्क्याप)ले यही मार्च २९ देखि ३१ तारिकसम्म थाइल्याण्डको बैंककमा आयोजना गर्न लागेको दीगो विकासको लागि एशिया प्यासिफिक फोरम २०१७ मा भाग लिन मंगलबार बैंकक प्रस्थान गरेका हुन् । श्रेष्ठले उक्त फोरमको मुख्य कार्यक्रमको रुपमा रहेको पहिलो दिनको सन् २०३० सम्ममा दीगो विकासका लक्ष्यहरु हासिल गर्ने सम्बन्धी दृष्टिकोणहरु विषयको सत्रको अध्यक्षता गर्नेछन् । साथै, सोही दिन उनले गरिबी निवारणसम्बन्धी राउण्ड टेवलमा प्यानलिष्टको रुपमा भाग लिने योजना रहेको छ । दोस्रो दिन श्रेष्ठले योजना कार्यन्वयनका साधनको वितरणप्रणालीलाई सबलीकरण सम्बन्धी सत्रको सहजीकरण गर्ने छन् । तेस्रो दिन एशिया प्रशान्त क्षेत्रको गरिबी निवारणको लागि प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी विषयको सत्रमा मुख्य वक्ताको रुपमा भाग लिँदै छन् । एशिया प्रशान्त क्षेत्रका ६२ सदस्य र सदस्य राष्ट्र तथा संस्थाहरुबाट दीगो विकाससम्बन्धी कार्य हेर्ने मन्त्रालयका मन्त्री तथा योजना आयोगका प्रमुखहरुको सहभागिता रहने छ । उक्त फोरममा नेपालको तर्फबाट भाग लिने उपाध्यक्ष डा. श्रेष्ठको नेतृत्वको टोलिको सदस्यमा योजना आयोगका सहसचिव लालशंकर घिमिरे तथा थाइल्याण्डका लागि नेपाली राजदुत माननीय खगनाथ अधिकारी तथा काउन्सलर जंगबहादुर गुरुङ्ग रहेका छन् । श्रेष्ठ आइतबार नेपाल फर्कने कार्यक्रम छ ।

स्विजरल्याण्डको सिन्काले दाँत कोट्याएर कहिले बनाउने स्विजरल्याण्ड ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० बर्षे सशस्त्र संघर्ष त्यागेर शान्ति प्रक्रियामा फर्किएपछि नेपाललाई स्विजरल्याण्ड बनाउने उद्घोष गरेका थिए । त्यसो त पुर्व प्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराईले पनि नेपाललाई सिंगापुर बनाउने बताएका थिए । यतिबेला दाहाल दोश्रो कार्यकाल प्रधानमन्त्री बनेका छन तर जनता भने स्विजरल्याडको सिन्काले दाँत कोट्याईरहेका छन् । स्विजरल्याण्ड जस्तै विकासित बन्ने प्रचुर सम्भावना रहेको मुलुकका जनताले लाखौं मूल्यका दाँत कोट्याउने सिन्का स्विजरल्याण्डबाट मगाएका छन् । आर्थिक बर्ष २०६९/७० मा २२ हजार एक सय ४१ रुपैंयाँ मूल्यको २१ किलोग्राम दाँत कोट्याउने सिन्का स्विजरल्याण्डबाट नेपाल भित्रिएको थियो भने त्यसको एक बर्ष अघि एक हजार ९ सय ६५ रुपैंयाँको ४ किलो सिन्का भित्रिएको थियो । अझै पनि नेपालमा बर्षेनी आधा करोड भन्दा बढि मूल्यका विदेशी सिन्का भित्रिरहेका छन् । गत आर्थिक बर्ष २०७२÷७३ मा मात्रै ४५ लाख ५६ हजार ५ सय ७७ रुपैंयाँ मुल्यका दाँत कोट्याउने सिन्का नेपाल भित्रिएको थियो । यो मात्रा आव २०७१÷७२ मा पनि ४३ लाख ५८ हजार ६ सय ६२ रुपैंयाँ थियो । जुन आव २०७०/७१ मा भने ८७ लाख भन्दा बढि थियो । आव २०६९/७० मा ४४ लाख र आव २०६८/६९ मा ४७ लाखको दाँत कोट्याउने सिन्का आयात भएको थियो । चीन, भारत, अमेरिका, थाइल्याण्ड, मलेसिया, हङकङ र स्विजरल्याण्डबाट दाँत कोट्याउने सिन्का आयात भैरहेको छ । गत आवमा ४४ लाख ४६ हजार एक सय ८८ रुपैंयाँ मूल्यको ४९ हजार ३ सय ५६ किलो सिन्का चीनबाट आयात भएको छ । हङकङबाट ५४ हजार २ सय २५ रुपैंयाँको १९० किलो र भारतबाट ३२ हजार २ सय ६२ रुपैंयाँको २६० किलो सिन्का आयात भएको छ भने थाइल्याण्डबाट २३ हजार ९ सय २ रुपैंयाँको ३०० किलो सिन्का भित्रिएको छ । अथाह प्राकृतिक सम्पदाको खानीका रुपमा रहेको नेपालले दाँत माझ्ने सिन्का समेत अन्य मुलुकबाट आयात गर्नुपरेपछि देश कहिले आत्म निर्भर हुन्छ भन्ने प्रश्न भने पेचिलो बन्दै गएको छ ।

सर्किट ब्रेक लागेको बजारमा पनि तीन कम्पनीका लगानीकर्ताले गुमाए, क-कसले गुमाए ?

काठमाडौं । मंगलबारको सेयर बजारमा तीन पटक सर्किट ब्रेक लागेको थियो । तीन पटक सर्किट ब्रेक लागेको बजारमा तीन कम्पनीका लगानीकर्ताले सामान्य प्रतिशतले गुमाएका छन् । बजारमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, जेबिल्स फाइनान्स र किसान माइक्रोफाइनान्स वित्ती संस्थाका लागानीकर्ताले क्रमशः १.९५, १.६ र ०.०५ प्रतिशत गुमाएका छन् । मंगलबारको सेयर बजारमा जम्मा १४४ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये तीन कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने १४३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । कमाउने १४४ कम्पनी मध्ये पनि ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, २४ वटा कम्पनीको १० प्रतिशत भन्दा कम र ९ प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको छ ।     सबैभन्दा बढी  कमाउने १० कम्पनी                                                                         गुमाउने ३ कम्पनी

५ प्रतिशतले बढेपछि मंगलबारको सेयर कारोबार बन्द, नेप्सेले १६०० नाघ्यो

काठमाडौं । मंगलबार स्वाभाविक समयभन्दा करिब एक घण्टा अघि  नै सेयर बजार बन्द भएको छ । कारोबार खुलेको करिब तीन घण्टामै ५ प्रतिशतले बढेपछि सेयर कारोबार बन्द भएको हो । एकै दिनमा ५ प्रतिशतले बढे वा घटेमा सो दिनको कारोवार बन्द गर्ने व्यवस्था छ । तीव्र गतिमा बढेको सेयर बजारमा नेप्से परिसूचकले १६०० नाघेको छ । बजार बन्द हुँदा नेप्से परिसूचक ७६ दशमलब ७९ अंकले बढेर १६१० अंकमा पुगेको छ ।  बजारमा एक अर्ब ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार बजार खुलेको पहिलो आधा घण्टामा नै ३ प्रतिशतले बढेपछि १५ मिनेटका लागि कारोबार रोकिएको थियो । सो अवधिमा नेप्से परिसूचक ४७ दशमलब १० अंकले बढेर १५८० दशमलब ९३ अंकमा पुगेको थियो । बजारमा उत्पादनमूलक समूहको परिसूचक स्थिर रहेको छ भने कारोबार भएका बाँकी समूहको परिसूचक दोेहोरो अंकले उकालो लागेको छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५०३ दशमलब ११ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, विकास बैंक, बैकिङ् र होटल समूहको परिसूचक क्रमशः १०६, ८२, ७५ र ७१ अंकले उकालो लागेका छन् ।

नेपाललाई अन्तराष्ट्रिय रेलवे नेटवर्क प्रवेशमा रोक्दै भारत, काकडभिट्टा आउने रेललाई कोलकात्ता मोडिँदै

काठमाडौं । भारतले नेपाललाई अन्तराष्ट्रिय रेलवे नेटवर्कमा जोडिनबाट रोक्ने प्रयास थालेको छ । ट्रान्स एसियन रेलवे नेटवर्कको मुल लाइनलाई नेपाल प्रवेश गर्न नदिएर भारतले आफ्नै भूमिबाट पाकिस्तान तर्फ मोड्न लागेको हो । ट्रान्स एसियन रेलवे नेटवर्कले नेपाललाई २६ वटा मुलुकसँग जोड्छ । यो नेटवर्क सिंगापुर, मलेसिया, थाइल्याण्ड, बर्मा, बंगलादेश आइपुग्छ । बंगलादेशको बिरोलबाट भारतको जलपाइगुडी हुँदै नेपालको काकडभिट्टा प्रवेश गर्छ । त्यहि रेलवे नेटवर्क ९४५ किलोमिटर लामो पुर्व पश्चिम रेलवेका रुपमा गड्डाचौकीबाट पुनः भारत प्रवेश गर्छ र दिल्ली हुँदै पाकिस्तानको इस्लामावाद जान्छ । पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्कि पुगेर यो रेलवे नेटवर्क युरोपसम्म पुग्छ । यसले रसिया, अजरबैजान, कोलम्बिया, अर्मेनिया, दक्षिण कोरिया र चीनलाई समेत जोड्छ । तर ९ हजार २ सय ८९ किलोमिटर लामो यो ट्रान्स एसियन रेलवे लाइनमा पुग्नबाटै नेपाललाई रोक्ने प्रयासमा भारत लागिपरेको छ । युनाइटेड मिसन्स इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक(युएनइस्क्याप)ले तयार पारेको ट्रान्स एसियन रेलवे नेटवर्कको नक्सालाई परिवर्तन गरेर भारतले नेपाल आउनै नदिन लागेको हो । ‘भारतले नेपाल आउने ट्रान्स एसियन रेलवे नेटवर्कको लाइनलाई कोलकात्ता हुँदै दिल्ली लैजाने प्रयास गरिरहेको छ, उसले कोलकात्ता–काठमाडौं रेलवे बनाउने कुरा अघि सारेको छ’, रेल विभाग श्रोतले भन्यो । श्रोतका अनुसार भारतले नेपालको सरकारी निकाय र निजी क्षेत्रलाई समेत कन्भिन्स गरेर अन्तराष्ट्रिय रेल सञ्जाल प्रवेशमा बन्देज लगाउने प्रयास गरेको हो । ‘नेपाल ट्रान्स एसियन रेल वे नेटवर्कको सदस्य राष्ट्र हो, हामीलाई कोलकात्ताको रेलवे नेटवर्क चाहिँदैन, तर भारतले नेपाल आउने रेललाई कोलकता लैजाने र त्यहाँबाट काठमाडौंसम्म सहायक रेल मार्ग बनाउन सघाउने भनिरहेको छ’, श्रोतले भन्यो । केहि समय अघि नेपाल उद्योग परिसंघले आयोजना गरेको पुर्वाधार सम्मेलनमा पनि भारतीय रेल मन्त्री सुरेश प्रभुले काठमाडौं–कोलकात्ता रेलवे निर्माण गर्नुपर्ने र त्यसका लागि भारतले सघाउने बताएका थिए । त्यस्तै, नेपाल लगानी सम्मेलनमा भारतीय वित्त मन्त्री अरुण जेट्लीले पनि काठमाडौं–कोलकात्ता रेलवे निर्माण गरिनुपर्ने बताएका थिए । यसरी नेपाललाई अन्तराष्ट्रि रेल सञ्जाल प्रवेशमा रोक लगाएर भारतले फेरी पनि बर्षाैसम्म आफुमा निर्भर बनाउने अभियान सुरु गरेको हो ।

रेनोल्टको एक्सचेञ्ज कार्निभल आयोजना शुरु, क्विड र डस्टर खरिदमा ५ वर्षे वारिटी

काठमाडौं । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रा. लि.(विशाल समूहको सहायक) ले एक्सचेन्ज कार्निभल नेपालका मूख्य शहरहरुमा शुभारम्भ गरेको छ । यो एक्सचेन्ज कार्निभल हाल संचालनमा रहेको नयाँ वर्षको अफर ‘रेनोल्ट वाउ’ अफर अब न्यु एअर जम्छ किनकि एक्सचेन्जमा दम छ नारासँग जोडिएर आयोजना गरिएको हो । रेनोल्टको क्विड तथा डस्टर मोडलसँग एक्सचेन्जको सुविधा उपलब्ध हुनेछ । यो अफर अन्तर्गत रेनोल्ट क्विड वा डस्टर एक्सचेन्ज वा खरिदमा न्यूनतम मासिक किस्ताबन्दिमा किन्न सकिनेछ । यसको लागि प्रति वर्ष ८.९९ प्रतिशतको ब्याज दरमा सहज फाइनान्स तथा एक्सचेन्जको सुविधा छ । त्यसैगरि नगद छुट, २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक करका साथै ५ वर्षसम्मको बिस्तारित वारेन्टी ग्राहकले प्राप्त गर्नेछन् । यसमा रेनोल्ट डस्टरका लागि २८ हजार २०० रुपैयाँ तथा रेनोल्ट क्विडका लागि १३ हजार ३५७ रुपैयाँ मासिक किस्ता तोकिएको कम्पनीले जनाएको छ। एक्सचेन्ज कार्निभल काठमाडौंमा यहि चैत्र ११ गते देखि चैत्र १६ गतेसम्म आयोजना हुँदैछ, त्यसैगरि भैरहवा/बिर्तामोडमा चैत्र १३ गते देखि चैत्र १५ गते सम्म, बुटवल/बिराटनगरमा चैत्र १६ गतेदेखि चैत्र १८ गतेसम्म, र नारायणघाट/पोखरामा चैत्र १९ गतेदेखि चैत्र २१ गतेसम्म आयोजना हुँदैछ । एक्सचेन्ज कार्निभलमा स्पट फाइनान्सिंग तथा एक्सचेन्जको सुविधा पनि उपलब्ध गरार्ईएको कम्पनीले जनाएको छ ।

नेप्सेमा ८६ लाख ६० हजार कित्ता सेयर सूचिकृत, बोनस सेयर मात्रै ६४ लाख कित्ता

काठमाडौं । मंगलबार मात्रै ८६ लाख ६० हजार ८८४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन बोनस, हकप्रद र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा बोनस सेयर मात्रै ६४ लाख कित्ता सूचिकृत भएको छ भने ११ लाख ९८ हजार कित्ता साधारण र ९ लाख ९० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । भक्तपुर फाइनान्सको ७३ हजार ८५० कित्ता, सगरमाथा इन्स्योरेन्स कम्पनीको एक लाख ७० हजार ६९० कित्ता र एनएलजी इन्स्योरेन्सको १० लाख २४ हजार ६५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, ज्योति विकास बैंकको ११ लाख ७२ हजार ९०७ कित्ता, स्ट्याण्डर्ड चाटर्ड बैंकको १३ लाख ७४ हजार ७५३ कित्ता र गरिमा विकास बैंकको २१ लाख ६१ हजार कित्ता बोनस सेयर थपिएको छ । त्यसैगरि, कञ्चन डेभलपमेन्ट बैंकको पनि ४ लाख ९५ हजार कित्ता बोनस थपिएको छ । साथै, उक्त बैंकको बोनस सेयरका साथै हकप्रद सेयर पनि सूचिकृत भएको छ । मंगलबार कम्पनीको ९ लाख ९० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । साथै, लक्ष्मी बैंकको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । प्रोफेशनल दियालो विकास बैंकलाई एक्वाएर पश्चात कम्पनीको ११ लाख ९८ हजार ०११ कित्ता साधारण सेयर नेप्सेमा थपिएको हो ।