विकासन्युज

सिटिजन्स बैंकको ६ लाख कित्ता सेयर लिलामीमा, आजदेखि बिक्री खुला

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले दुई महिनाअघि निष्काशन गरेको हकप्रद सेयरका लागि आवेदन नपरेपछि ६ लाख १९ हजार ८०३ कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको छ । बैंकले १ लाख ९९ हजार ३१३ कित्ता संस्थापक सेयर र ४ लाख २० हजार ४९० कित्ता सर्वसाधारण सेयर लिलामीमा राखेको हो । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको यो सेयर बढी मूल्य कबोल गर्नेले पाउनेछ । उक्त सेयरको लागि असार १५ गतेदेखि असार २२ गतेसम्ममा निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्केट्समा आवेदन गर्नुपर्ने कम्पनीले जनाएको छ ।

बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?

काठमाडौं । बुधबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद सेयर पछिको र साल्ट ट्रेनिङ कर्पोरेसनको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको जनाएको छ । बैंकको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २०९ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १९३ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले साल्ट ट्रेनिङ कर्पोरेसनको २० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २३८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २२३ रुपैयाँ रहेको छ ।

देवः विकास बैंकको विशेष साधारणसभा असार २९ गते, कहिले देखि बुक क्लोज?

काठमाडौं । देवः विकास बैंकको आगामी असार २९ गते विशेष साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागि बैंकले असार २३ गतेदेखि २९ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निणर्य गरेको छ । उक्त साधारणसभा सम्बन्धि निर्णय बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । सभामा बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ ।

केरुङ कनेक्सनः रसुवागढी सुख्खा बन्दरगाहको डिपिआर तयार, चीनले सित्तैमा बनाईदिने

काठमाडौं । रसुवागढीमा निर्माण गर्न लागिएको ड्राइपोर्ट(सुख्खा बन्दरगाह)को डिपिआर तयार भएको छ ।  चिन सरकारको पुर्ण स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले सुख्खा बन्दरगाहको डिपिआर पारेको हो । नेपाल सरकारले सन २०१५ को डिसेम्बरमा कम्पनीसँग ड्राइपोर्टको जिओटेक्निकल सर्भे तथा डिपिआर निर्माणको सम्झौता गरेको थियो । ‘चिनियाँ कम्पनीले डिपिआर तयार पारेको छ, अब नेपाली पक्षसँक्ष एक पटक छलफल गरेर अन्तिम टुंगो लगाउनेछ’, इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका अधिकृत रबिन्द्र पोखरेलले भने । पोखरेलका अनुसार सुख्खा बन्दरगाहका लागि आवश्यक पर्ने जमिनको अधिग्रहणको काम सम्पन्न भैसकेको छ । चीन सरकारको शतप्रतिशत लगानीमा निर्माण हुने सुख्खा बन्दरगाह नेपाल–चीन सिमा नाकाबाट ३ किलोमिटर भित्र टिमुरे गाविसको घट्टेखोलाको तल्लो डिलदेखि तातोपानी नजिकसम्म सडकबाट नदीतर्फको पूरै भाग, भोटेकोशी नदी किनारको करिब दुई किलोमिटर तटीय क्षेत्रमा पर्छ । बन्दरगाहमा लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनीको क्षेत्रफल समेटिनेछ । बन्दरगाहमा एक सय ६० वटासम्म कन्टेनर पार्किङ गर्न सकिन्छ । यसले दैनिक ५ सय वटा कन्टेनरलाई आवतजावतको सुबिधा दिन सक्नेछ । हाल सो नाकाबाट दैनिक औसतमा ५० देखि एक सय वटा कन्टेनरबाट समान ढुवानी हुने गरेका छन् । २० बर्ष ढुक्क सो बन्दरगाह निर्माण भएपछि अर्काे १५ देखि २० बर्षसम्म नेपाली बजारका लागि आवश्यक पर्ने समान ढुवानी गर्न सकिने पुर्वानुमान गरिएको छ । कस्तो माटो कस्तो डिजाइन ? माटोको भार वहन क्षमता र भौगर्भिक अवस्थालाई हेरेर चिनियाँ कम्पनीले डिपिआर तयार पारेको छ । ‘जिओटेक्निकल सर्भेमा कुनै माटोले एक मिटर स्क्वायरले ५० केजी तौल थेग्छ भन्ने हुन्छ । कुनैले एक सय र १५० केजी तौल थेग्छ भन्ने हुन्छ । यो रिपोर्ट डिजाइनमै समेटिएको छ । त्यसका आधारमा कस्तो पुर्वाधार बनाउने भन्ने एकिन पनि गरिएको ।’, पोखरेलले भने । आगामी १० देखि १५ दिनमै चिनियाँ कम्पनीले तयार पारेको रिपोर्टलाई नेपाली पक्षसँगको छलफलपछि अन्तिम टुंगो लगाउने तयारी भैरहेको पनि पोखरेलले जानकारी दिए ।

 विद्युत् उत्पादन धेरै भएर लमजुङमा लोड सेडिङ

लमजुङ । लमजुङमा विद्युत् बढी भएर समस्या भएको छ । वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लामा रहेका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि समस्या आएको हो । लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना र अन्य साना खुदी (४.४), सिउरी (५), राधी (४.४), स्याँगे (१), छ्याँङ्दी (२) आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन भइरहेको छ । विद्युत् वितरणका लागि संरचना बलियो नहुँदा समस्या भएको विद्युत् प्राधिकरण शाखा प्रमुख माधव न्यौपानेले बताए । उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि कमजोर संरचनाले समस्या आएको उनले बताए । कमजोर संरचनाका कारण दैनिक दर्जनौँपटक विद्युत् जाने आउने हुँदा उपभोक्ता समस्यामा परेका छन् । विद्युत् जाने आउने भइरहँदा ढुक्कसँग काम गर्न नपाएको उद्योगी व्यवसायी बताउँछन् । विद्युत् अनियमितता हुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यम पनि प्रभावित भएका छन् । उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय, होटल रेस्टुरेन्ट आदि पनि प्रभावित भएका छन् । कमजोर संरचनाका कारण यसअघि बेलाबखत कहिलेकाहीँ लाइन जाने गरे पनि आजभोलि छिनछिनमै लाइन जान थालेको छ । जिल्लालाई विद्युत्भार कटौती मुक्त भनिए पनि छिनछिनमै बत्ती जाने आउने हुँदा समस्या भोग्नुपरेको छ । रासस

तेह्र जलविद्युत् आयोजनाका अरबौंको साधारण सेयर आउँदै

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ । विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासन (एफपिओ) का लागि धितोपत्र बोर्डमा निवेदन दिएकामध्ये १३ कम्पनी जलविद्युत् क्षेत्रसँग नै सम्बन्धित छन् । बैंक तथा वित्तीय संस्थाले मात्रै नभई पुँजी बजारमार्फत पुँजी बढाउन जलविद्युत् आयोजनाबाट साधारण सेयर जारी गर्न पाऊँ भन्दै आवेदन दिनेको सङ्ख्यामा समेत बढोत्तरी भएको बोर्डले जनाएको छ । जलविद्युत् कम्पनी, आयोजना प्रभावित स्थानीयवासी र आमनागरिकलाई सेयर निष्कासनका लागि निवेदन दिन आह्वान गरिएको बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेले जानकारी दिए । सरकारले कानुन संशोधन गरी जलविद्युत् आयोजनामा १० प्रतिशत साधारण सेयर आयोजना प्रभावित स्थानीयवासीलाई अनिवार्य रूपमा प्रदान गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेकाले सम्बद्ध आयोजना त्यसतर्फ आकर्षित भएका हुन् । बोर्डमा निवेदन दिएकामध्ये चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले सीमित साधारण सेयर जारी गर्न लागेको छ । आयोजनामा लगानी गर्ने वित्तीय संस्थाका कर्मचारी, कर्मचारी सञ्चयकोषमा कोष कट्टी गर्दै आएका कर्मचारीलाई  ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने तयारी गरिएको छ । सो कम्पनीले गत वैशाख १२ गते निवेदन दिएको हो । यसैगरी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि लगानी गर्ने संस्थाका कर्मचारी, सञ्चयकर्तालाई एक अर्ब ६४ करोड २१ लाख बराबरको एक करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । रसुवागढीले गत वैशाख १३ गते बोर्डमा निवेदन दिएको हो । सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड पनि रहेको छ । सो आयोजना प्रभावित स्थानीय बासिन्दालाई रु आठ करोड बराबरको आठ लाख कित्ता सेयर निष्कासनका लागि गत जेठ ३१ गते निवेदन दिएको हो । गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि रु दुई करोड बराबरको दुई लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयवासीलाई प्रदान गर्ने भएको छ । बोर्डकाअनुसार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले स्थानीयवासीलाई तीन करोड ७१ लाख ४० हजार बराबरको तीन लाख ७१ हजार कित्ता साधारण सेयर निष्कासनका लागि आवेदन दिएको छ । शुभम् पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई दुई करोड बराबरको दुई लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । उता बुटबल पावर कम्पनीले भने साधारण सेयर नै जारी नगरी फरदर पब्लिक अफर (एफपिओ) जारी गर्न लागेको छ । सो कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गर्ने भन्दै बोर्डमा निवेदन दिएको छ । साधारण सेयर नै जारी नगरीकन एफपिओ जारी गर्न दिने कि नदिने भन्ने बारेमा बोर्डले अध्ययन गरिरहेको उपनिर्देशक घिमिरेले बताए । त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयवासीका लागि ११ करोड बराबरको ११ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । त्यस्तै राधी विद्युत् कम्पनीले पनि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ । सो कम्पनीले सात करोड ६४ लाख ५५ हजारको साधारण सेयर निष्कासन गर्न लागेको छ । लङ्घिङ बुद्धपावर कम्पनीले पनि स्थानीयवासीका लागि नौ करोड ७८ लाख बराबरको साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । युनिक हाइडेल कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच करोड ५५ लाख बराबरको सेयर निष्कासन गर्न लागेको छ । उता पञ्चकन्या जलविद्युत् कम्पनीले स्थानीयवासीलाई ११ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ भने नेपाल हाइड्रो डेभलपरले तीन लाख ९० हजार कित्ता साधारण सेयर जारी गर्ने तयारीसहित बोर्डमा निवेदन दिएको छ । बोर्डमा दिइएको निवेदनका आधारमा साधारण सेयर जारी गर्ने अवधि भएको छ कि छैन वा कागजी प्रक्रिया पूरा भएको छ वा छैन भन्ने आधारमा निर्णय गरिने उपनिर्देशक घिमिरे बताउँछन । उता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईं लगानीका लागि उपयुक्त क्षेत्रका रूपमा जलविद्युत् आयोजना देखिएकाले सङ्ख्यामा समेत वृद्धि भएको जानकारी दिए । अध्यक्ष गुरागाईंकै कम्पनी न्यादी पावरले पहिलो चरणमा लमजुङको मस्र्याङ्दी गाउँपालिकालाई पाँच करोड बराबरको र लमजुङ जिल्लालाई १४ करोड ७० लाख बराबरको साधारण सेयर दिने तयारी गरेको छ । सोही आयोजनाले निकट भविष्यमा नै आमनागरिकका लागिसमेत ६३ करोड बराबरको साधारण सेयर जारी गर्नेछ ।

यूनियन फाइनान्सका मालिकको सेयर आधा घट्ने, १०० कित्ता सेयर हुनेले देवः विकास बैंकको ५० कित्ता पाउने

काठमाडौं । देवः विकास बैंकमा गाभिन लागेको यूनियन फाइनान्सका सेयरधनीले आफ्नो सेयर संख्यामा ५० प्रतिशत घुमाउने भएका छन् । मर्जपछि यूनियन फाइनान्सको १०० कित्ता सेयर हुनेले देवः विकास बैंकको ५० कित्ता पाउने भएका छन् । दुई संस्थाबीच मर्जको क्रममा सेयर मिलान अनुपान (स्वाप रेसियो) यूनियन फाइनान्सको १ कित्ता बराबर देबः विकास बैंकको शुन्य दशमलव ५० प्रतिशत निर्धारण गरिएको छ । दुबै कम्पनीको डीडीए रिपोर्टका आधारमा देवको भन्दा यूनियनको सेयर भ्यालु ५० प्रतिशत कम देखिएको हो । हाल देवः विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २७५ रुपैयाँ छ भने यूनियन फाइनान्सको सेयर मूल्य मर्ज प्रक्रिया शुरु हुनुपूर्व १७५ रुपैयाँका कारोबार भएको थियो । स्वाप रेसियो अनुमोदन, डीडीए रिपोर्ट र मर्ज सम्बन्धि सबै निर्णय र प्रक्रिया पुरा गर्ने प्रस्तावहरुसहित देव विकास बैंकले असार २९ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले मर्जपछि १०० बराबर ४० अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा पेस गर्ने भएको छ । मर्ज र हकप्रद सेयर पछि चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुने बैंकले जनाएको छ । हाल देव विकास बैंकको चुक्ता पुँजी १४४ करोड रुपैयाँ छ । यूनियन फाइनान्सको चुक्ता पुँजी १७ करोड ४९ लाख रुपैयाँ छ । मर्जपछि देव विकास बैंकको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ हुनेछ । हकप्रद सेयरबाट बैंकले थप ६१ करोड रुपैयाँ पुँजी थप्ने भएको छ भने बोनस सेयरबाट करिव ३६ करोड रुपैयाँ पुँजी थप गर्न सक्ने देखिएको छ ।

नेपालमा पर्यटनको नयाँ प्रडक्ट होमस्टे ट्रेल थपिँदै, २ सय वटा गाउँको पर्यटकीय प्रोफाइल बनाउँदै भिटोफ

काठमाडौं । नेपालमा पर्यटनको विल्कुलै नयाँ प्रोडक्टको रूपमा होमस्टे ट्रेल सार्वजनिक हुने भएको छ । हाल पर्यटन मन्त्रालयमा दर्ता भएका करिब ३ सय वटा होमस्टेमध्ये अधिकांशलाई होमस्टे पदयात्राको रूपमा विकास गर्न सकिने भन्दै पर्यटनको नयाँ प्रडक्टको अवधारणा अगाडि सारिएको हो ।  यो अवधारणामाथि अध्ययन, अनुसन्धान भइरहेकोले उपयुक्त प्याकेज बनाएर सार्वजनिक गर्ने तयारीमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) रहेको छ । भिटिफले विभिन्न पर्यटकीय संस्थाका साथै नेपाल पर्यटन बोर्डमा आवश्यक सहकार्य पनि गरिरहेको जानकारी दिएको छ । पर्यटन बोर्ड स्रोतका अनुसार भिटोफसँगको सहकार्यमा काम भइरहको छ । भिटोफले पनि आफ्नो गृहकार्यलाई अगाडि बढाएको छ । जतिसक्दो चाँडो नयाँ पर्यटकीय प्रडक्ट सार्वजनिक गर्ने तयारी रहेको बोर्डका एक प्रवन्धकले भने । भिटोफले हरेक पर्यटकीय गाउँको प्रोफाइल पनि तयार पारिरहेको छ । उसले एक वर्षभित्रै २ सया वटा गाउँको प्रोफाइल तयार पार्ने गरी तयारी गरिहेको छ । भिटोफले आगामी गाउँ पर्यटन दिवसको दिन यस्तो प्योकज सार्वजनिक गर्ने भएकोले अहिले नै कुन पर्यटकीय गाउँबाट नयाँ प्रोडक्ट आउँछ भनेर भन्न निमल्ने बोर्डको भनाइ छ । भिटोफले पनि आफ्नो तयारी भइरहेको जानकारी दिएको छ । भिटोफका बासु पाण्डेको अग्रसरतामा नयाँ पर्यटकीय प्याकेजको तयारी भइरहेको हो । यो संस्थाले हरेक पर्यटकीय गाउँलाई दृष्टिगत गरेर होमस्टे टेकिङ ट्रेल बनाउने भऐ छ । यसको आवश्यक तयारीस्वरुप रिसर्च पनि भइरहेको पाण्डलेको भनाइ छ । एउटा होमस्टेबाट अर्कोमा जान पनि यस्तो ट्रेल बनाउन लागिएको उल्लेख छ । एउटै गाउँभित्रको पनि ट्रेल पनि हुन सक्छ बढीमा एक वर्षमा एउटा टेकिङ ट्रेल आइसक्ने पनि भिटाफको भनाइ छ । यस्तोे ट्रेल बनाउँन नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान) तथा अन्य पर्यटकीय संस्थासँगको सहकार्यमा पनि काम भइरहेको छ । भिटोफको ब्राण्डिङ गर्न र नयाँ कामको सुरुवात गर्न पनि यो ट्रेल बनाउँने भएको उल्लेख छ । भिटोफले यही असार १५ को धान दिवसलाई पर्यकीय प्रडक्टको रुपमा ब्राण्डिङ गर्न विगत सात वर्षदेखि वर्षेनी रोपाई महोत्सवको रुपमा पनि मनाइरहेको छ । यो वर्षको महोत्सव शिवपुरी गाउँपालिकामा हुँदै छ । हरेक ग्रामिण पर्यटनको प्रोफाइल बनाउँदै पर्यटनको प्रोफाइल तयार पार्दै पर्यटकीय गतिविधि र जानकारी दिने काम पनि यो संस्थाले गरिरहेको छ । सरकारले होमस्टे प्रवद्र्धन नीति ल्याएपछि ग्रामिण पर्यटन प्रतिको सचेतना बढेको छ । भिटोफले हरके वर्ष नयाँ गाउँलाई पर्यटकीय गन्तव्यको रुपमा घोषणा पनि गरिरहेको छ । भिटोफले जति पनि पर्यटक गाउँ जान चाहन्छन ति सबैले आवश्यक जानकारी र डाटा एवं त्यहाको पर्यटकीय गतिविधिको बारेमा हामीले तयार पार्ने पर्यटकीय प्रोफाइलमा बनाउन लागेको जानकारी दिएको छ । नेपालमा भएका जति पनि पर्यटकीय गाँउ छन् ती सबैलाई प्रमोशन गर्ने र सबैको पर्यटकीय विवरण राखेर प्रोफाइल तयार पार्ने पनि उल्लेख छ । भिटोफले तत्कालै ५० देखि ६० वटा गाउँको यस्तो प्रोफाइलको लागि तयारी गरिरहेको छ । एक वर्षभित्रै २०० वटा गाउँको पर्यटकीय प्रोफाइल तयार पार्ने उद्देश्य यो संस्थाको छ ।  यो संस्थाले तयार पारेको यो विवरण भने आगामी भिटोफ डे अर्थात जुलाई २१ मा हुने विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने भएको छ ।