विकासन्युज

एनआईसी एशिया क्यापिटलको ‘मेरो शेयर’ सफ्टवेयर सेवा शुरु

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधारकहरुलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयर सेवा शुरु गरेको छ । यस सेवा अन्तर्गत क्यापिटलका हितग्राहीले आफ्नो खातामा भएको कारोवारको जानकारी अनलाइन मार्फत हेर्न सक्ने क्यापिटलले बताएको छ । साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निक्षेप सदस्यहरुलाई प्रदान गरेको सेवा क्यापिटल मार्फत वार्षिक रुपमा पचास रुपैयाँ शुल्क भुक्तानी गरी लिन सकिने छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ लिन ईच्छुक सेवाग्राहीहरुले सो सेवा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंमा रहेको कारोबार कार्यालयबाट तथा एनआईसी एशिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत आवेदन फारम भरि बुझाउन सकिने व्यवस्था गरिएको छ । एनआईसी एशिया क्यापिटलले सूचना, प्रविधि तथा विशेषज्ञताको उचत्तम प्रयोग गर्दै, लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आईरहेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो शेयर’ मार्फत ग्राहकहरुको सुबिधा अभिवृद्धि हुने विश्वास गरिएको छ । क्यापिटलडले ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै निः शूल्क डिम्याट(हितग्राही) खाता खोल्न सकिने बताएको छ । साथै, प्रथम वर्षको डिम्याट (हितग्राही) खाता संचालनमा छुटको व्यवस्था समेत गरेको छ ।

ड्याट्सन कारको मनसुन एक्सेन्ज अफर शुरु, जुनसुकै मोडलका कारहरु एक्स्चेञ्ज हुने

चितवन । चितवनमा ड्याट्सन व्राण्डका कारका पारखी ग्राहकवर्गहरुको चाहानालाई मध्येनजर गर्दै ड्याट्सन मनसुन एक्सेन्ज अफर शुरु गरेको छ । अटो क्षेत्रमा विगत ५ बर्षदेखि सक्रिय रहदै आएको सेढाई होल्डिङ्ग ग्रुप अन्तर्गतको एस.एच मोटर्सले यहाँका ग्राहकवर्गहरुको चाहाना र मागलाई मध्येनजर गर्दै ड्याट्सन मनसुन एक्सेन्ज अफर राखेको मोटर्स्का प्रबन्ध निर्दशक निर्देश सेढाईले बताए । जुनसुकै मोडलका कारहरुको उचित मुल्यमा एक्स्चेञ्ज गरेर नयां गाडी ग्राहकले लैजान सक्ने उनले बताए । सोही अवसरमा कार किन्ने ग्राहकहरुको सुविधाका लागि अन स्पट फाईनान्स, अन स्पट म्यालुएशन र आर्कषक उपहार समेत उपलबध गराईएको एस।एच मोटर्स्का मयानेजर उपेन्द्र भुषालले बताए । अफरको आईतबार सुरु भएको पहिलो दिन ६५ जनाले टेष्ट ड्राईभ र ४ जनाले कार बुक गरेको समेत उनले बताए । १२ सय सिसी क्षमताका कारहरु नन एसी, एसी जडित र सेमी अप्सनमा उपलब्ध छन् । प्रति लिटर पेट्रोलमा झण्डै २५ दशमलव ६३ किलोमिटर दुरी पार गर्ने इन्धन किफायती इञ्जिन यसको मुख्य विशेषता रहेको एस।एच मोर्टस्का म्यानेजर सुनिता लामाले जानकारी दिए । ५ वटा कलरमा यो कार उपलब्ध छ । सानो ठाउँमा घुम्न सक्ने, ग्राउण्ड क्लियरेन्स १८५ एमएम भएकाले कच्ची वाटोमा जान सक्ने, फराकिलो डिक्की, आरामदायी सिट तथा सुपथ र सर्वसुलभ मूल्यमा जेनुइन पार्टस्हरु उपलव्ध छन् । यसलाई अरु गाडीभन्दा सस्तो मूल्यमै र ठूलो परिवारलाई पनि उपयुक्त हुने गरी डिजाइन गरिएको छ । सस्तो, राम्रो र सुविधायुक्त आकारमा डिजाइन गरिएकाले यसको आकर्षण ह्वा्ट्टै बढ्ने कम्पनीको दावी छ । निसानका गाडी चढ्नेले ७ जना परिवार तथा केही सामानहरु राखेर पनि सहजै यात्रा गर्न सकिने छ ।

नेपालीको प्रत्येक घरमा बत्ति बल्ने-उर्जामन्त्री शाही

काठमाडौं । नेपालमा उर्जा क्षेत्रलाई आमुल परिवर्तन गरेर नेपालीको प्रत्येक घरमा बत्ति बल्ने उर्जामन्त्री महेन्द्र बहादुर शाहीले बताएका छन् । मुलुकलाई आर्थिक रुपमा आत्मनिर्भर्ता बढाउने प्रतिबद्धता जनाए । बिद्युत खपत गरेर कार्य गर्न सके लोडसेडिङको अन्त्य हुने बिहिबार आयोजित रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रमा उर्जामन्त्री शाहीले बताए । उनको भनाई अनुसार देशमा विद्युत चोरी हुने, ट्रान्सफर्मर पड्किने, विद्युत चुहावट हुने लगायतका समस्याले गर्दा मुलुकले लोड्सेडिङको सामना गर्नु परेको छ । बत्तिको पावर धेरै गएको कारणले गर्दा पनि नेपालले लोडसेडिङबाट मुक्ति पाउन नसकेको जानकारी दिइएको छ । साथै, अबको १ हप्तामा नेपालीले विद्युतिय महसुल तिर्न अनलाईनबाट नै मिल्ने कार्यक्रममा जानकारी दिइएको छ । उर्जालाई उत्पादन वृद्धि गर्न उपभोक्ताहरुले फ्यान, बत्ति, घरायासी मेसिनहरु लगायतका वस्तुहरु कम पावरबाट चल्ने तरिकाले प्रयोग गरेमा लोडसेडिङको अन्त्य हुने उर्जा मन्त्री शाहीले बताए । उनले देशमा भएका स्रोत र साधनलाई न्यायोचित ढंगले परिचालन गर्नुको साथै बाह्य पूँजीलाई ल्याउन सकेमा देश आर्थिक रुपमा समुन्नत बन्नुको साथै नेपाल लोडसेडिङ मुक्त बन्ने बताए । हालसालैको कुरामा भने प्राविधिक गडबडीले गर्दा तथा ट्रान्सर्फमर फेर्दा भने बत्ति नआउने सम्भावना रहने जानकारी कार्यक्रममा दिइएको छ । साथै, बुढीगण्डकी जलविद्युत आयोजनालाई १६ अर्ब मौज्दात दिइसकेको, १० अर्व निकासा भएको तथा ६० अर्बमा पुरा काम सम्पन्न हुने जानकारी दिइएको छ । यदि कार्य समय सिमामा सम्पादन भएन भने उक्त आयोजना रद्द हुने जानकारी दिइएको छ ।    

नेप्सेमा सामान्य अंकको वृद्धि, एक अर्ब १५ करोड रुपैयाँ बढीको सेयर कारोबार

काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक एक दशमलब ५० अंकले बढेर १६४६ दशमलब ५३ अंकमा पुगेको छ । बजारमा एक अर्ब १५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १४९ कम्पनीको १८ लाख ३९ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी प्रभु इन्स्योरेन्सकोे सेयर कारोबार भएको छ । यस इन्स्योरेन्सको ५ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ सय २० रुपैयाँमा किनबेच भएको छ । बिहीबार काबेली विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन यस बैंकको सेयर मूल्य प्रतिकित्ता ६०५ रुपैयाँ छ । त्यस्तै, हिमालयन डिष्टीलरीको सेयर मूल्य प्रतिकित्ता ९.९५, लुम्बिनी विकास बैंकको ९.९० र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ९.७९ प्रतिशतले बढेको छ ।

एक अर्ब ८७ करोड रुपैयाँ बढी राजस्व संकलन

चितवन । आन्तरिक राजस्व कार्यालय, भरतपुरले आर्थिक वर्ष २०७३/७४ मा लक्ष्यभन्दा एक अर्ब ८७ करोड सात लाख ५७ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयका कर अधिकृत जीवराज निरौलाका अनुसार विभागले १४ अर्ब ८३ करोड ७७ लाख ८५ हजार रुपैयाँ लक्ष्य लिएकोमा १६ अर्ब ७० करोड ८५ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो । संकलित राजस्व ११२.६१ प्रतिशत रहेको छ । सबैभन्दा बढी अन्तःशुल्क करतर्फ १४ अर्ब २३ करोड ७८ लाख ९४ हजार रुपैयाँ तथा सबैभन्दा न्यून शिक्षा सेवातर्फ दुई करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । विभागले दिएको लक्ष्य स्वास्थ्य सेवा करमा पुर्याउन नसकिएको देखिन्छ भने अन्य सबैमा पुगेको छ । स्वास्थ्य सेवा करमा १२ करोड ४९ लाख १८ हजार रुपैयाँ लक्ष्य दिइएको थियो तर संकलन भने पाँच करोड ९३ लाख ५७ हजार रुपैयाँ भएको छ । स्वास्थ्य सेवा कर यहाँका दुई मेडिकल कलेजले ठूला करदाता कार्यालय काठमाडौँमा बुझाएपछि यहाँ कम संकलन भएको कार्यालयले जनाएको छ । आयकरतर्फ एक अर्ब २६ करोड ३० लाख ३५ हजार रुपैयाँ, घरबहाल करतर्फ नौ करोड २२ लाख ७० हजार रुपैयाँ, ब्याजकरतर्फ छ करोड १५ लाख दुई हजार रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ ९७ करोड २९ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । विभागले चालु आवका लागि यस कार्यालयलाई १९ अर्ब ७४ करोड रुपैयाँको लक्ष्य दिएको छ । जिल्लामा अहिले ७० हजार करदाता रहेका छन् । तीमध्ये ४० हजार व्यवसायी र ३० हजार व्यक्तिगत छन् । छ हजार ३०० मूल्य अभिवृद्धि करमा आबद्ध छन् । गत आवमा यस कार्यालयमा चार हजार ८०० करदाता थपिएका छन् । आव २०७२.७३ मा १२ अर्ब १६ करोड ५६ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी, संग्रहालय पनि स्थापना हुने

मोरङ । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो । चरम राजनीतिक हस्तक्षेप र विद्युत्भार कटौतीका कारण जुट मिल पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो । उद्योगको स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु भएको थियो । यो उद्योगबाट देशको राजनीतिक क्रान्ति पनि अगाडि बढेको हो । मजदुर हड्तालका नामबाट विसं २००३ मा यही उद्योगबाट सुरु भएको क्रान्तिले राणा शासनको अन्त्य गरेको थियो । पटक–पटक बन्द हुँदै खुल्दै आएको जुट मिल सञ्चालनको जिम्मा पछिल्लोपटक भारतीय कम्पनी विमसम इन्टरनेशनललाई दिइएको थियो । हरेक वर्ष नेपाल सरकारलाई रु एक करोड ३५ लाख बुझाउने गरी विमसमलाई सञ्चालन गर्न दिइए पनि विद्युत्भार कटौतीका कारण लामो समय सञ्चालन हुन सकेन । २०६९ सालबाट लिजमा २५ वर्षका लागि जुट मिल सञ्चालन गर्न पाएपनि विमसमले जम्मा एक वर्ष ३ महिना मात्रै सञ्चालन गरेको थियो । त्यसयता यो ऐतिहासिक उद्योग बन्द थियो । जुटमिल सञ्चालनका लागि प्रधानमन्त्री र मन्त्रीले विभिन्न आश्वासन दिएको भएपनि पूरा नभएको जुटमिल प्रशासनको गुनासो छ । जुट मिल बन्द हुँदा यसक्षेत्रका धेरै युवाहरूको रोजगारी गुमेको छ । “यो उद्योग विराटनगरको दक्षिण क्षेत्रका बासिन्दाका लागि प्राण नै थियो”–विराटनगर वडा नं १६ का नवनिर्वाचित वडाध्यक्षसमेत रहेका उद्योगका पूर्वमजदुर मनोज सुब्बाले भन्नुभयो, “अब जसरी भएपनि सञ्चालन हुनुपर्छ भनेर हामीले पनि दबाब दियौं, अब चाहिँ सञ्चालन हुने निश्चित भएको छ ।” जुट मिलका निर्देशक राजेन्द्र कार्कीका अनुसार सरकारले धेरै पटक आश्वासन दिए पनि पूरा गर्न नसकेको र अब मिल प्रशासन आफैले पहलकदमी लिएर मंसिरदेखि सञ्चालन गर्ने र यसलाई अब निरन्तरता दिइने बताए । “देशको औद्योगिक इतिहासमात्रै होइन राजनीतिक क्रान्तिसँग साइनो गाँसिएको यो उद्योग अब सञ्चालन हुन्छ”–उनले थपे, “त्यसका लागि ३३ केभीए विद्युत् प्रशारण लाइन जडान गर्न विद्युत प्राधिकरणले अनुमतिसमेत दिइसकेको छ ।” यसअघि ११ केभिए प्रशारण लाइनको विद्युत्ले काम नगरेपछि उत्पादन बन्द गरिएको हो । ११ केभीएमा कम भोल्टेज आउँदा उत्पादनमा समस्या भएको थियो । ३३ केभीए विद्युत् जडान भएपछि भोल्टेजको समस्या पनि नआउने र विद्युत्भार कटौती पनि कम हुनेछ । अबको हप्तादिन भित्रै मेसिनको मर्मत शुरु गर्ने निर्देशक कार्कीले जानकारी दिए । औद्योगिक संग्रहालय स्थापना गरिने कार्कीका अनुसार विराटनगर जुटमिल परिसरभित्रै छिट्टै नेपालको पहिलो औद्योगिक संग्रहालयसमेत स्थापना गरिनेछ । जुटमिल सञ्चालनले निरन्तरता पाउने र प्रतिदिन २० टनको दरले उत्पादन गर्दा वार्षिक २९ करोड नाफा गर्ने सञ्चालक समितिले अनुमान गरेको छ । जुट मिल पूर्णरुपमा सञ्चालन हुने हो भने तीन हजार ५०० ले रोजगारी पाउँछन् भने दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुन्छ । भारतको कोलकाताको विमसम इन्टरनेशनलले सरकारबाट व्यवस्थापकीय जिम्मा पाएको करिब एक वर्षपछि रु आठ करोड खर्च गरेर पुराना पार्टपुर्जा मर्मतपछि परीक्षण उत्पादन सुरु गरेको थियो । दैनिक आठ मेट्रिक टन जुट व्याग उत्पादन गरिरहेको मिल व्यवस्थापनले तयारी जुटवस्तु भारत निकासीसमेत गर्न थालेको थियो । तर विद्युत्मा देखिएको समस्याका कारण विमसमले समेत मिल सञ्चालन गर्न सकेन र व्यवस्थापकीय जिम्मेवारीबाट हात झिक्यो । त्यसयता लगातार उद्योग बन्द हुँदा स्थानीयसमेत चिन्तित थिए । मिल सञ्चालनको चर्चा सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । खासगरी मिल क्षेत्रका बासिन्दा बढी खुसी देखिएका छन् । मिल बन्द भएपछि मिल्सएरियाबाट थुप्रै व्यापारी पलायन भएका थिए । “अब मिल सञ्चालन भयो भने कम्तिमा मिल्स एरिया पहिलाकै लयमा फर्किन्छ कि भन्ने आशा गर्न सकिन्छ”–स्थानीय जसमान राई भन्नुहुन्छ, “मिल सञ्चालन हुँदा यो क्षेत्रमा होटल, व्यापार, व्यवसाय सञ्चालन मात्रै होइन, घर भाडासमेत सहजै लाग्ने गथ्र्यो । तर अहिले त्यस्तो छैन । सबै यो क्षेत्रबाट पलायन भएका छन् ।” विराटनगर जुटमिल पुनः सञ्चालन भयो भने घरमा दीप प्रज्वलन गर्ने उनले सुनाए । उद्योग बन्द हुँदा जग्गाको समेत संरक्षण हुन नसकेको स्थानीय मणिराम कामतको भनाइ छ । रासस

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र फिनटिलेक्ट बीच सम्झौता, एन्टी फ्राउड सर्टिफिकेशन कोर्सको शुरु गर्ने

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट र फिनटिलेक्ट, इन्डियाबीच नेपालमा पहिलो पटक एन्टी फ्राउड सर्टिफिकेशन कोर्सको सुरुवात गर्ने समझौता भएको छ । उक्त सम्झौतापत्रमा नेशनल बैंकिङ्ग ईन्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र फिनटिलेक्टका प्रबन्धक निर्देशक सिरिश पाठकले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । उक्त समारोहमा फिनटिलेक्टका प्रबन्धक निर्देशक सिरिश पाठक र अर्पिता बेडेकर, अनुसंधान निर्देशक बाट एन्टी फ्राउड विषय सम्बधि छोटो प्रस्तुती दिएका थिए । साथै, आजको समयमा हुने गरेको बैकिङ्ग जाल साझीलाई कसरी न्युनीकरण गर्नको लागी यो एन्टी फ्राउड सर्टिफिकेशन कोर्स निकै नै प्रभावकारी हुने कुरामा जोड दिएका छन् ।

राष्ट्रिय गौरवका ७ आयोजनामा ९० प्रतिशतभन्दा बढी काम सम्पन्न, तामाकोशी जलविद्युत र लुम्बिनी विकास कोषमा १०० प्रतिशत

काठमाडौं । राष्ट्रिय गौरवका गौरवका आयोजना मध्ये ७ वटाले ९० प्रतिशतभन्दा बढी काम गरेका छन् । ९० प्रतिशतभन्दा बढी कार्य सम्पादन गर्ने आयोजनाहरूमा बुढीगण्डकी जलविद्युत आयोजना (९३.९० प्रतिशत), उत्तर दक्षिण (कर्णाली, कालीगण्डकी र कोशी) राजमार्ग (९६.७३ प्रतिशत), बबई सिंचाइ आयोजना (९८.६४ प्रतिशत), रानी जमरा कुलेरिया सिंचाइ आयोजना (९३.०१ प्रतिशत) रहेका छन् । आयोजनाहरूले लक्ष्यको तुलनामा केही तल रहे पनि राम्रै प्रगति गरेको अर्थ मन्त्रालयको भनाइ छ । अधिकांश आयोजनाहरूले ५० प्रतिशतभन्दा बढी प्रगति गरेका छन् । गएको आर्थिक वर्षको अन्त्यसम्म लक्ष्यअनुसार शतप्रतिशत काम सम्पन्न गर्ने आयोजनामा माथिल्लो तामाकोशी जलविद्युत आयोजना, लुम्बिनी विकास कोष रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । ‘गएको वर्ष माथिल्लो तामाकोशी र कोषले लक्षित शतप्रतिशत कार्य सम्पन्न गरेका छन्,’ अर्थसचिव शान्तराज सुवदीले भने ‘अन्य गौरवका आयोजनको पनि कार्य सम्पादन पनि अघिल्ला वर्षहरूको तुलनामा राम्रो हुँदै गएको छ ।’ सरकारले माथिल्लो तामाकोशीका लागि गत आवमा एक अर्ब र कोषका लागि ६६ करोड रुपैयाँ विनियोजन गरेको थियो । पुष्पलाल मध्ये पहाडी राजमार्गको लक्ष्य अनुसारनै कार्य सपन्न भएको मान्नुपर्छ । आयोजनाले गएको आवको अन्त्यसम्म कुल विनियोजित रकमको ९९ दशमलव ६६ प्रतिशत अर्थात ५ अर्ब १८ करोड खर्च गरेको छ । सरकारले उक्त आयोजनाको लागि गएको आवमा ५ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसरी नै ६० देखि ९० प्रतिशतसम्म कार्य प्रगति गर्ने आयोजनाहरू ५ वटा रहेका छन् । दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल निजगढ, सिक्टा सिंचाइ आयोजना, रेल, मेट्रो रेल तथा मोनो रेल विकास आयोजना, राष्ट्रिय चुरे– तराई मधेश संरक्षण विकास समिति, पशुपति विकास कोष रहेका छन् । यी आयोजनाहरूले क्रमशः ६७ प्रतिशत, ७७ दशमलव ९१ प्रतिशत, ६२ दशमलव ६५ प्रतिशत, ८८ दशमलव शुन्य ४ प्रतिशत र ६० दशमलव ३७ प्रतिशत खर्च गरेका छन् । ६० प्रतिशतभन्दा कम खर्च गर्ने आयोजनाहरूमध्ये सबैभन्दा कम कार्य सम्पादन काठमाडौं–तराई मधेश दु्रतमार्गले गरेको छ । आयोजनको लागि सरकारले गएको आवमा १७ अर्ब ८९ करोड विनियोजन गरेपनि उक्त रकमको करिब ११ प्रतिशत (एक अर्ब ९६ करोड) मात्र खर्च गरेको छ । उक्त आयोजना निर्माण लागि कसलाई जिम्मा दिने टुंगो लगाउन नसक्दा लक्षित कार्य प्रगति हुन नसकेको मन्त्रालयको भनाइ छ । सरकारले पछिःल्लो समय उक्त आयोजनाको जिम्मा नेपाली सेनालाई दिएको छ । गएको आवमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति भने २० दशमलव ६५ प्रतिशत रहेको छ । सरकारले उक्त विमान स्थल निर्माणको लागि गएको आवमा ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । भेरी–बबई डाइभर्सन वहुउद्देश्यीय आयोजनाको प्रगति ३८ दशमलव ७२ प्रतिशतले भएको छ । सरकारले उक्त आयोजनको लागि एक अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको थियो । दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाको प्रगति ५५ दशमलव ५४ प्रतिशतले भएको देखिएको छ । उक्त आयोजनको लागि ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । मेलम्ची खानेपानी आयोजनको कार्य प्रगति ५८ दशमलव ४१ प्रतिशत र हुलाकी राजमार्गले लक्ष्यको आधामात्र कार्य सम्पादन गरेको छ । बजेट चाडै आएपनि कार्यान्वयन ढिलो भएको कारण विनियोजित बजेट खर्च हुन नसकेको हो ।