विकासन्युज

पाँच बर्षभित्रै ४७ अर्ब खर्चेर तराई/मधेशमा १७९२ किलोमिटर पक्की सडक

काठमाडौं । आगामी पाँच बर्षमा तराई मधेशमा १७९२ किलोमिटर पक्की सडक निर्माण हुने भएको छ । हुलाकी राजमार्ग आयोजनाले पाँच बर्षमा ४७ अर्ब २४ करोड लागतमा १७ सय ९२ किलोमिटर सडक निर्माण गर्न लागेको हो । सो सडकको ९७५ किलोमिटर पुर्व पश्चिम मुल राजमार्गका रुपमा रहनेछ भने ८१७ किलोमिटर सडक महेन्द्र राजमार्गबाट हुलाकी राजमार्ग हुँदै भारतीय सिमासम्म जोडिनेछ र यी सडक सबै दुई लेनका हुनेछन् । सुरुमा सिंगल लेनमा निर्माण गर्ने भनिएका यी सडक संसदको विकास समितिको निर्देशनपछि दुई लेनमा निर्माण सुरु गरिएको थियो । हुलाकी राजमार्ग आयोजनाका प्रमुख श्याम खरेलका अनुसार हुलाकी राजमार्गमा आर्थिक बर्ष २०७३।७४ सम्ममा १० अर्ब ८७ करोड रुपैंयाँ खर्च भैसकेको छ । हुलाकी राजमार्गमा निर्माण हुने १४९ पुलमध्ये ६० वटा निर्माण भैसकेका छन भने ५१ वटा निर्माणाधिन अवस्थामा छन् । त्यस्तै, १८ वटा पुलको चालु आर्थिक बर्षभित्रै ठेक्का लगाउने प्रक्रिया अघि बढेको छ । सडक अन्तर्गत अब ६६२ किलोमिटरको मात्रै ठेक्का लगाउन बाँकी छ । सन २०१० मा ६०५ किलोमिटर सडक भारत सरकारले निर्माण गरिदिने भन्दै ठेक्का समेत लागेको थियो तर ६७ किलोमिटर सडक मात्रै बनेपछि सो ठेक्का तोडिएको थियो । हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले ८ अर्ब रकम दिएको छ । सो रकम वापत २९९.३ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको छ । हुलाकी सडक आयोजनाका पुर्व प्रमुख बलराम मिश्रले पाँच बर्षभित्र हुलाकी सडकको निर्माण सम्पन्न गर्ने कार्ययोजना बनाएका थिए । तराई मधेशको लाइफ लाइनका रुपमा हेरिएको आयोजनाले सो क्षेत्रमा विकास र समृद्धिको मार्ग प्रशस्त गर्नेछ ।

नागबेली लघुवित्तले ४५ प्रतिशत बोनस दिने

काठमाडौं । नागबेली लघुवित्त विकास बैंकले सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ४५.४७ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निणर्यलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । ४५.४७ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ७ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।

काठमाडौं-मधेश द्रुतमार्गः निर्देशक समितिलाई नै मूल्य निर्धारण गर्न दिने

काठमाडौं । सरकारले भारतीय कम्पनी आइएलएफएसद्धारा तयार काठमाडौं -मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्यान्वयनका लागि गठित निर्देशक समितिलाई नै प्रतिवेदनको उपयोगिताका आधारमा मूल्य निर्धारण गर्न स्वीकृत दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए । नेपाली सेनाले रथी पूर्णचन्द्र थापाको संयोजकत्वमा द्रुत मार्ग आयोजना कार्यान्वयन उच्चस्तरीय निर्देशक समिति गठन गरेको हो र यो समितिमा अर्थ, भौतिक पूर्वाधारलगायत मन्त्रालयका प्रतिनिधिहरु रहेका छन् । सरकारले बहुचर्चित एवं बहुप्रतिक्षीत राष्ट्रिय गौरवको सो द्रुत मार्ग चार वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवस्थापनको जिम्मा २०७४ वैशाख २१ गते नेपाली सेनालाई दिएको थियो । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म कूल ७६ दशमलव २ किमी लम्बाइ रहेको सो द्रुत मार्ग निर्माणको जिम्मा सेनालाई दिइएको पाँच महिना बितिसक्दा पनि डिपिआरको अभावमा खासै काम अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रक्षामन्त्री, मुख्य सचिव तथा प्रधान सेनापतिलगायत अन्य सरोकारवाला निकायलाई उक्त द्रुत मार्गको डिपिआरलाई छिटो टुंगोमा पुर्याई काम अगाडि बढाउन हालै निर्देशनसमेत दिएका थिए । डिपिआर अध्ययनका लागि सरकारले पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा अध्ययन टोली बनाएको र सो टोलीले आफ्नो अध्ययनपछि निर्देशक समितिलाई प्रतिवेदन बुझाइसकेको छ । हाल सेनाले द्रुत मार्ग निर्माण गर्न मख्खुबेँसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेवमा शिविर खडा गरेको छ । सडकमा पर्ने छैमले, सोखेल, फर्पिङ, भीमसेनस्थान, घुसखेलम, सैँबुलगायतका स्थानमा मुआब्जा वितरण कार्य जारी रहेकोे छ । रासस

विजय लघुवित्तले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लभांश दिने घोषणा गरेको हो । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १६ करोड १० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी १७ करोड ७१ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२७० रुपैयाँ रहेको छ ।

सहरी सोलार ऊर्जामा ४ बैंककाे ऋण लगानी, यो वर्ष १५ सय घरमा जडान गरिने

काठमाडौं । सहरी क्षेत्रमा सोलार जडान गर्न ४ वटा वाणिज्य बैंकले ऋण लगानी गर्ने भएका छन् । सिभिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकले सहरी क्षेत्रमा रुफटप सोलार प्रविधि जडानमा ऋण दिनका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसंग सहमति जनाएका हुन् । केन्द्रले राष्ट्रिय ग्रीडबाट बिजुली सेवा पाएका सहरी क्षेत्रका बासिन्दालाई पनि सोलार जडान गर्ने योजना ल्याएको हो । केन्द्रले काठमाडौं उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा अुनदान तथा सरल ब्याज दरमा कर्जा सहितको सौर्य ऊर्जा प्रणाली जडानका लागि प्रस्ताव आब्हान समेत गरेको छ । गत वर्ष पनि केन्द्रले प्रस्ताव आब्हान गरेको थियो । सरकारले चालु आर्थिक वर्षका लागि सहरी सोलार प्रविधिबाट ऊर्जा उत्पादन गर्नका लागि अनुदान र कर्जाको व्यवस्था गर्ने बजेटमा उल्लेख भएअनुसार केन्द्रले प्रस्ताव मागेको हो । सरकारले लोडसेडिङ हटाउन सौर्य सोलार ऊर्जा अनुदान योजना ल्याएको हो । यो वर्षका लागि १ हजार ५ सय घरमा मात्र सौर्य ऊर्जा प्रणाली जडान गर्ने केन्द्रले जानकारी दिएको छ । पहिला आउनेलाई पहिलो प्राथमिकता (फस्ट कम फस्ट सर्भिस) आधारमा अनुदान रकम दिने केन्द्रले बताएको छ । २ सय वाट पीक वा सो भन्दा ठुलो प्रणाली जडान भएपछि एकमुष्ठ २० हजार रुपैयाँ जडान अनुदान खर्च केन्द्रले उपलब्ध गराउने छ । यस्तै ५ सय वाट पिक वा सो भन्दा ठुलो प्रणाली जडानमा सरल कर्जाको व्यवस्था गरिएको छ । जसअनुसार घरायसीका लागि ७५ प्रतिशतसम्म ब्याजमा अनुदान र औद्योगिक प्रयोजनाका लागि ५० प्रतिशतसम्म अनुदानको व्यवस्था गरिएको छ । यो योजना आर्थिक वर्ष ०७०/०७१ देखि सुरु गरिएको हो । घरको छानमा सोलार प्रविधि जडान गरिने छ । सहरी क्षेत्रमा लोडसेडिङ हटेपछि माग कम आएको बैंकरहरुले बताएका छन् । सिभिलका माइक्रो बैकिङ प्रमुख युवराज गुरागाई लोडसेडिङ हटेपछि यो वर्ष सोलार राख्नका लागि कर्जा लिन नआएको बताउछन् । “गत वर्ष राम्रो कर्जा गएको थियो यो वर्ष ऋणको प्रस्ताव नै आएको छैन” उनले भने । गत वर्ष ९ प्रतिशत ब्याजमा सहरी सोलार प्रविधि जडानमा कर्जा दिएको उनले स्पष्टपार । सिभिलले गत वर्ष मात्र यो योजनामा १२ करोड बढी कर्जा लगानी गरेको थियो । यस्तै एनएमबी बैंकका सोलार विभाग प्रमुख दिनेश दुलालले पनि गत वर्षको तुलनामा यस्तो कर्जाको माग धेरै कम आएको जानकारी दिए । विकास न्युजसंग कुरा गर्दै उनले हालसम्म १० करोड रुपैयाँ बढी लगानी गरेको जानकारी दिए । बैंकले गत वर्ष ९ प्रतिशत ब्याजमा सहरी सोलारमा लगानी गरेकोमा यो वर्ष बढेर १२ प्रतिशतसम्म पुगेको उनले बताए ।  

हिरोको दोस्रो र तेस्रो विजेताको नाम घोषणा, विजेताले जिते एक लाख रुपैयाँ नगद

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले दोस्रो र तेस्रो भाग्यशाली विजेताको नाम घोषणा गरेको छ । “यो दशैं र तिहारमा भाग्य मनि भए” भन्ने हिरोको नयाँ योजना अन्तर्गत बम्पर लक्की ड्रमा घनश्याम बुढा र पहल सिंह रास्कोटी मगरले एक–एक लाख रुपैयाँ नगद जितेका छन् । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार रुपैयाँ पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पाउन सक्ने छन् । साथै, साप्ताहिक बम्पर लक्की ड्र उपहार स्वरुप एक जनाले १ लाख रुपैयाँ नगद पाउने छन् । अ

एनएलजी इन्योरेन्सको मोबाइल एप्स सञ्चालनमा, बीमाको सम्पूर्ण जानकारी पाइने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एनएलजी मोबाइल एप्स’ सार्वजनिक गरेको छ । यस मोबाइल एप्सबाट कम्पनीले दिने बीमा सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने भएकाे छ । मोबाइल एप्स मार्फत ग्राहकहरुले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क गणना गर्नुका साथै विभिन्न प्रकारका बीमा लेखहरुका बारेमा अावश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । साथै, बीमा लेखले गर्ने जोखिम बहनका बारेमा जानकारी लिनसक्ने व्यवस्था समेत एप्समा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निकट भविष्यमा यस एनएलजी एप्सबाट सम्बन्धित ग्राहकले आफ्नो बीमा लेखको तथा दाबी भुक्तानी प्रकृयाका बारेमा समेत थप जानकारी प्राप्त गर्न सक्ने छन् । उक्त एप्स गुगल प्लेमा गई एनएलजी एप्स डाउनलोड गरि प्रयोगमा ल्याउन सकिने र एकपटक डाउनलोड गरिसकेपछि सोही एप्सलाई अफ लाइनमा समेत प्रयोगमा ल्याउन सकिने कम्पनीले बताएको छ ।

किसान माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस सेयर दिने, पुँजी ५ करोड रुपैयाँ नाघ्ने

काठमाडौं । किसान माइक्रोफाइनान्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निणर्यलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि कम्पनीको पुँजी ५ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४३० रुपैयाँ रहेको छ ।