विकासन्युज

विश्वास ढकालको इसेवामाथि राष्ट्र बैंकको छानविन, गलत काम नगरेको ढकालको दावी

काठमाडौं । उदियमान युवा उद्यमी विश्वास ढकालको इसेवा कम्पनीकाे काराेबार माथि नेपाल राष्ट्र बैंकले छानविन अघि बढाएको छ । भाइबर आउट, बिट क्वाइन जस्ता अबैध कारोबारमा संलग्न रहेको अाशंकामा इसेवा माथि राष्ट्र बैंकले स्थलगत अध्ययन गरेको छ । ‘इसेवाले गर्ने कारोबार माथी हामीले गम्भिर भएर अध्ययन गरेका छौं, अहिले अध्ययनको निचोड समेटिएको रिपोर्ट तयार हुँदैछ’, नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका उप निर्देशक राजनदेव भट्टराईले विकासन्युजसँग भने । इसेवाले नेपालमा वर्जित गरिएको भाइबर आउट र बिट क्वाइनको कारोबार गरेको फेला परेको उनले पुष्टि गरे । उनले दुई पटक इसेवाको कार्यालयमै गएर कम्पनीको सेवा लगायतका बिषयमा अध्ययन गरेको जानकारी पनि दिए । इसेवाले प्रदान गर्ने सेवा र कारोबारका बारेमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआइबी)ले पनि अध्ययन गरिरहेको जनाएको छ । उद्यमी ढकालले पनि आफ्नो कम्पनीमा राष्ट्र बैंकले अनुगमन गरेको स्वीकार गरे । ‘राष्ट्र बैंकले कम्पनीमा दुई पटक आएर अनुगमन गरेको छ, रिपोर्ट तयार भैरहेको जानकारी आएको छ’, ढकालले विकासन्युजसँग भने । इसेवाले यसअघि तीन महिनासम्म नेपालबाट भाइबर आउट गरेको थियो । नेपालमा भाइबर आउटलाई कल बाइपास जस्तै गैर कानुनी मानिन्छ । भाइबर आउटपटि इसेवा बिट क्वाइनको कारोबारमा समेत मुछिएको थियो । तर इसेवाका प्रबन्ध निर्देशक विश्वास ढकालले भने आफुहरुले गैर कानुनी कार्य नगरेको दावी गरे । ‘हामी ठूलो उदेश्य बोकेर हिडेका छौं, पैसा कमाउनु मात्रै उदेश्य होइन, व्यवसाय विस्तारमा केन्द्रित भएका छौं, हामीले कानुन विपरिद कुनै पनि काम गरेका छैनौं’, इसेवाका प्रबन्ध निर्देशक विश्वास ढकालले भने । यद्यपी, नेपालमा अबैध मानिएको बिट क्वाइनको भुक्तानी इसेवाबाट हुने बिटक्वाइनको वेभसाइटमै लेखिएको देख्न पाइन्छ ।

टानको अध्यक्षमा नवराज दाहाल निर्वाचित

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । टानको आइतबार सम्पन्न ३९औँ वार्षिक साधारण तथा निर्वाचनबाट वाम गठबन्धनकोतर्फबाट उम्मेदवार बनेका दाहालले ३३१ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका मोहन लम्सालले ३१३ मत प्राप्त गरेका थिए । यता अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका नुरु जांबु शेर्पाले पनि ५० मत प्राप्त गरेका टान निर्वाचन समितिले जनाएको छ । टानको वरिष्ठ उपाध्यक्षमा खुमबहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा नीलहरि बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सहकोषाध्यक्षमा तारा राना विजयी भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा ऋतु ग्याम्देन, रवीन्द्र अधिकारी, राजनप्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुकबहादुर लामा, शेरबहादुर परियार र जंगबहादुर लामा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष दाहालले टानको व्यावसायिक छविलाई उचो बनाउन सम्पूर्ण व्यवसायीलाई एकताबद्ध गरेर लैजाने बताए । गणतान्त्रिक स्टोनियाँका लागि नेपाली वाणिज्यदूतसमेत रहेका अध्यक्ष दाहाल नेपाल पर्यटन व्यवसायी संगठनको संयोजक छन् । रासस

भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा

बाँके । भारत सरकारले जडीबुटी निकासीमा वस्तु तथा सेवा कर जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी थप समस्यामा परेका छन् । यसअघि केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडीबुटीमाथि हाल आएर वस्तु तथा सेवा कर जिएसटीसमेत लगाइएकाले व्यवसायीले आफूहरू दोहोरो मारमा परेको जनाएका छन् । ‘ट्रान्जिट परमिट’ का कारण घट्दै गएको जडीबुटी निकासी जिएसटीका कारण झनै घट्ने जडीबुटी व्यवसायी संघ नेपालका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए । उनका अनुसार जडीबुटी निकासीमा अवरोध बनेको ‘ट्रान्जिट परमिट’ को झण्झट हटाउन देशभरिका व्यवसायीले माग गर्दै आएका बेला झन जिएसटी थपिएपछि अब निकासीमा ठूलो समस्या भएकोे छ । सरकारको जडीबुटी नीति व्यावहारिक नहुँदा देशभित्रै र बाहिर विभिन्न प्रकारका अनावश्यक प्रक्रिया पूरा गर्नुपरेको र विभिन्न थरिका कर तिर्नु परेकाले करोडौँको जडीबुटी व्यवसाय नै धरासायी हुन थालेको उनको भनाइ छ । मध्यपश्चिमाञ्चलका पहाडी जिल्लाका किसानले उत्पादन र संकलन गरेको जडीबुटी नेपालगञ्जका व्यवसायीले भारतलगायत तेस्रो देशमा निर्यात गर्दै आएका छन् । जडीबुटीको निकासीमा नयाँ कर थपिँदा जडीबुटी किसानबाट मूल्य घटाएर जडीबुटी खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायीको भनाइ छ । त्यसले गर्दा किसानलाई पनि समस्या पर्ने निश्चित भएको छ । जडीबुटी निकासीका लागि सिमानामा पुगेपछि विभिन्न अवरोध गरिँदा व्यवसायीले जडीबुटीअनुसार किलोको दरले अनावश्यक खर्च पनि तिर्नु परेको उनीहरूको गुनासो छ । जडीबुटी भारत निकासी गर्दा व्यवसायीले जडीबुटीअनुसार किलोका दरले अनावश्यक खर्च नदिँदासम्म विभिन्न निकायले विभिन्न बहानामा रोक्ने र दुःख दिने गरेका छन् । सिमानामा भारतीय सुरक्षाकर्मी र भन्सारका कर्मचारीलाई खर्च नदिँदा झन समस्या भई जडीबुटी नाकामै लामो समयसम्म थन्काउनु पर्दा कुहिन थालेपछि अनावश्यक खर्च दिएर निकासी गरिरहेको एक व्यवसायी बताउँछन् । ‘ट्रान्जिट परमिट’ प्रणाली लागू भएपछि निकासी झन्झटिलो हुँदा अधिकांश व्यवसायीले निकासी नै बन्द गरेपछि धेरै गोदाममा थन्किएको छ । नेपालगञ्ज नाकाबाट भारत, अमेरिका, चीन, पाकिस्तान, बंलादेश, फ्रान्स, स्विजरल्याण्ड, अस्ट्रेलिया, जर्मनलगायतका मुलुकमा जडीबुटी निर्यात हुँदै आएको छ । ती मुलुकमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसीलगायतका जडीबुटी निर्यात हुने गर्छन् । रासस

एनबीआईले सिद्धार्थ बैंकका कर्मचारीलाई विभिन्न तालिमहरु उपलब्ध गराउने

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई)ले सिद्धार्थ बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएकाे छ । जसका लागि सिद्धार्थ बैंकले एनबीआईबाट ५० लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । यी दुई संस्थाले कर्मचारीको दक्षता अभिबृद्धि सम्बन्धि विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा गरेका छन् । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर गरेका हुन् । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर १०३ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५५० भन्दा बढी पीओएस मार्फत् उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

त्रिशुली ३ बी आयोजनामा लगानी जुट्यो, नविल बैंकको अगुवाइमा ६ अर्ब ऋण लगानी हुँदै

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको साझेदारीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाले लगानी जुटाएको छ । नविल बैंकको अगुवाईमा नेपाल बैंक, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटड र नागरिक लगानी कोषले सहवित्तीयकरण अन्तर्गत ६ अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएका छन् । बैंक र प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटडेबीच ऋण लगानी गर्ने समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको प्रवन्ध सञ्चालक मोहन गौतमले बताए । उनले ऋण सम्झौताको तयारी भइरहेको जानकारी दिए । दशैअघि नै त्रिशुली र विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । पीपीए भएपछि बैंकले लगानी गर्न सहमत जनाएका हुन् । लगानी जुट्ने भएपछि आयोजना बन्ने निश्चित भएको छ । विस्तृत डिजाइन, निर्माण (इपीसी) प्रारुपमा निर्माण हुन लागेको हो । योजनाको निर्माण आगामी पुसबाट सुरु गर्ने लक्ष्य राखिएको गौतमले जानकारी दिए । ‘अहिले आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटको काम गरिरहेका छौं’,उनले भने ‘पुसबाट काम सुरु गरी ३ वर्ष भित्रमा सक्ने लक्ष्य राखेका छौं ।’ विद्युत प्राधिकरणसंग भएको पीपीएअनुसार आयोजनाबाट सुख्खायाममा अर्थात मंसिर १६ देखि जेठ १५सम्म १३ करोड ४८ लाख ८० लाख गिगावाट र वर्षायाममा अर्थात जेष्ठ १६ देखि मंसिर १५ सम्म १५ करोड ७७ लाख १० हजार युनिट बिजुली विद्युत प्राधिकरणले खरिद गर्नेछ । पीपीए दर वर्षायाम र सुख्खायाममा प्रति युनिट क्रमश: ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा रहेको छ । आयोजनाबाट वार्षिक ३० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ । यस्तै सुख्खायाममा पनि ८ करोड २० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजना एक्सिडेन्टल फलो (क्यु) ७० मा डिजाइन गरिएकाले वर्षको ७ महिना आयोजना पुर्ण क्षमतामा सञ्चालन हुनेछ । आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तिय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ । नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्रि एको क्यास्केड आयोजना हो ।  

वर्षा अघि ६० प्रतिशत भूकम्पपीडितलाई घरमा सारिन्छः प्राधिकरण

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपालको पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग अन्तर्क्रिया गरेको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका युवराज भुसालको विकास साझेदारसँग यो पहिलो अन्तर्क्रिया हो । अन्तर्क्रियामा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माण प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि यसको गतिमा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै सबै विकास साझेदारबाट रचनात्मक सहयोगको अपेक्षा गरेका छन् । पुनःनिर्माणसँग सम्बन्धित मन्त्रालय तथा स्थानीय तहमा काम गरेको लामो अनुभव सुनाउँदै उनले संगठनात्मक र नीतिगत चरण सकिएकाले अव तीव्ररूपमा कार्यान्वयन गर्न सकिने विश्वास व्यक्त गरेका छन् । “वर्षाअघि ६० प्रतिशत भूकम्पपीडितलाई नयाँ घरमा सार्ने लक्ष्य छ, यसमा विकास साझेदारको सहयोगको खाँचो छ, पुनःनिर्माणमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनमा पनि विकास साझेदारको सहयोग आवश्यक पर्छ”–उनले भने । विकास साझेदार संस्थाका प्रतिनिधिले पुनःनिर्माणमा भइरहेको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए । संयुक्त राष्टसंघ, युरोपेली युनियन, जपानी सहयोग संस्था जाइका, बेलायती सहयोग संस्था डिफिड, विश्व बैंक, एसियाली विकास बैंक, चीन, भारतलगायतका प्रतिनिधिले यस्तो धारणा व्यक्त गरेका थिए । प्राधिकरणमा नौ महिना नेतृत्व गरेर हालै मात्र राजीनामा दिई राजनीतिमा सक्रिय भएका पूर्व प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेललाई विकास साझेदारका तर्फबाट बिदाइ गरिएको थियो । प्राधिकरणले पनि पूर्व प्रमुख कार्यकारी अधिकृत पोखरेललाई आइतबार बिदाइ गरेको थियो । प्राधिकरणमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माणका लागि पोखरेलले थुप्रै सकारात्मक काम गरेको भन्दै आफूले यसलाई निरन्तरता दिने बताए । “पुनःनिर्माणलाई यो चरणमा ल्याउन पोखरेलले धेरै मेहनत गर्नुभयो, अव अर्को चरणमा यसलाई थप गति दिएर अघि बढ्ने मेरो प्रयास रहनेछ”-उनले बताए। रासस

सनराइज र नेपाल बङ्गलादेश बैंकको सेयर मूल्य समायोजन, कसको मूल्य कति?

काठमाडौं । सनराइज बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सोमबार यी दुबै कम्पनीको बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पछि सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २९२ रुपैयाँ रहेको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो । त्यस्तै, नेपाल बङ्गलादेश बैंकको पनि सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ तोकिएको छ । यस बैंकको १२ प्रतिशत बोनस सेयर पछिको सेयरको मूल्य समायोजन गरेको हो ।

बैंकको कर्जा लगानी ३७ अर्ब ९१ करोड वृद्धि, रियलस्टेट र ओभरड्राफटमा घट्यो, हायर पर्चेजमा बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.५ प्रतिशतले बढेको थियो । कर्जा लगानी बढेर २० खर्ब २४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत असारमा १९ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी थियो । २ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३७ अर्ब ९१ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको १.८, विकास बैंकको ४.८ र वित्त कम्पनीको १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा २.१, औद्योगिक उत्पादन २.४, निर्माण ३.०, थोक तथा खुद्रा व्यापार ३.३, सेवा उद्योग २.८, र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ कर्जा घर जग्गाको धितोमा र १४.२ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०. र १५.२ प्रतिशत थियो । भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.४ प्रतिशत अर्थात ४८ अर्ब २३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको छ । यस्तै ओभरड्राफ्ट कर्जा १.६ प्रतिशतले घटेको छ । १ करोड ५० लाख रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा ३.८ प्रतिशतले बढेको छ भने रियल स्टेट कर्जा ०.४ प्रतिशतले घटेको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग अवधिमा बढेको छ । गत भदौ मसान्तसम्ममा साधारण पुनरकर्जा ६ अर्ब ४६ करोड र निर्यात कर्जा ६८ करोड १३ लाख गरी ७ अर्ब १४ करोड रुपेयाँ पुनरकर्जा लगानीमा रहेको छ । भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत समीक्षा अवधि सम्म ९० करोड ४७ लाख रुपैयाँ उपयोगमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।