एनआईसी एशिया बैंकको ३ अर्ब ऋणपत्र स्वीकृत, ९ प्रतिशत व्याजसहित नेप्सेमा किनबेच गर्न पाइने
कावठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले एनआईसी एशियालाई प्रतिकित्ता हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । सो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिलइन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नियुक्त भईसकेको छ । ३ अर्ब रुपैयाँको को ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमाफर््त निष्काशन गरिने बैंकले जनाएको छ । ९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरिने बैंकले जनाएको छ । ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने छ । ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि महत्वपूर्ण औजार हुने विश्वास बैंकले लिएको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए । उक्त ऋणपत्र खरिदको लागि पुस १३ देखि १७ गतेसम्म आवेदन खुला गरिने बैंकले जनाएको छ । सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले इक्राएनपी एलए माइनास रेटिङ्ग प्रदान गरेको छ । जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम हो । साथै, यस बंैकलाई इक्रा नेपाल लिमिटेडले इक्राएनपी आईआर ए माइनस रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरिएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक भएको बैंकले जनाएको छ ।
भूकम्प पीडितका लागि सल्भ नेपालले बनायो १२० वटा घर
ललितपूर । विनाशकारी भूकम्प गएको झन्डै तीन वर्षपछि भूकम्पपीडितको पुनर्वासका लागि सल्भ नेपाल नामक गैरसरकारी संस्थाको पहलमा ललितपूरको वाग्मती गाँउपालिकास्थित घुसेल गाँउका १२० घरधुरीका भूकम्पपीडितहरु लाभान्वित भएका छन् । अहिलेसम्म आवास, जीविकोपार्जन र खानेपानी, सरसफाइ तथा स्वच्छता जस्ता महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्न सल्भ नेपालको नेपाल भूकम्प पुनर्लाभ, पुननिर्माण तथा उत्थानशीलता एनपिएल १६१ (थ्री आर) परियोजना नेपाल भूकम्प पुनर्लाभ कार्यक्रम भूकम्पबाट अतिप्रभावित क्षेत्र अन्तर्गत घुसेल वडा नम्बर १मा जारी छ । यसका लागि सल्भ नेपालले साझेदारी निर्माण, साझा जवाफदेहिता प्रवर्द्धन र स्थानीय क्षमता तथा सामुदायिक सहभागिता अभिवृद्धि गरेको छ । “विभिन्न चुनौतीहरूका बावजुद भूकम्पबाट प्रभावित मानिसहरूको जीवनमा हामीले उल्लेख्य प्रभाव पार्न सकेको हाम्रो तथ्यांकले देखाएको छ । भौगोलिक अवस्था, लाभान्वित छनौट प्रक्रिया र बृहत् आवश्यकताका कारण यो कार्य सहज थिएन । भूकम्पबाट प्रभावित व्यक्तिहरूलाई पुनः सामान्य अवस्थामा फर्काउन हामीलाई समुदायले गरेको व्यापक सहयोग र स्वीकारप्रति हामी कृतज्ञ छौं । अहिले हामी समुदायलाई उनीहरूको पुनर्लाभको स्वामित्व उनीहरूलाई नै दिने अवसरहरू प्रदान गर्ने र भविष्यमा आउनसक्ने विपद्को सामना गर्नसक्ने क्षमता अभिवृद्धि गर्ने दिशामा केन्द्रित छौँ,” सल्भ नेपालका जिल्ला कार्यक्रम अधिकृत प्रभात राउतले भने । भूकम्प तथा त्यसपछिका पराकम्पहरुबाट शारीरिक तथा मानसिक तवरले भयवित तथा विछिप्त भएका जनसमुदायहरुलाई लक्षित गरि मनोसामाजिक तथा सचेतना कार्यक्रम पनि पुरा गरेको छ । सो कार्यक्रमबाट १ सय २० जना मानिसहरु लाभान्वित भएको राउतले जानकारी दिए । भूकम्प गएलगत्तै यो संस्थाले विपद्को पूर्वतयारी, स्वास्थ्य, पोषण, शिक्षा, खानेपानी, सरसफाइ, आवास, बालसंरक्षण र जीविकोपार्जनका क्षेत्रसँग सम्बन्धित विभिन्न सामग्रीहरू प्रदान गर्यो, सेवाहरूमा पहुँच सुनिश्चित, नगद सहयोग, तालिम उपलब्ध गरायो र भौतिक पूर्वाधारहरूको निर्माण गर्यो । यही डिसेम्बरसम्ममा पुनर्निमाण कार्य सम्पन्न गरेर लाभग्राहीलाई घर हस्तान्तरण गर्ने लक्ष्य रहेको राउतले जानकारी दिए । प्रतिकार्यको अन्तिम चरणमा अहिले यस गैर सरकारी संस्थाले विस्तारित तथा सुदृढ जीविकोपार्जन, खानेपानी तथा सरसफाइ र आवासका क्षेत्रमा कार्यक्रमहरू केन्द्रित गरेको छ । हालसम्म सल्भ नेपालले नेपाल भूकम्प पुनर्लाभको लागि पुनर्निर्माण प्रधिकारणले भुकम्प अति प्रभावित जिल्लाहरुमा घर निर्माणको लागी दिइने भनेको ३ लाख सहयोग अनुसार नै उक्त संस्थाले पनि घर निर्माणको ३ लाख रुपैयाँ प्रदान गरेको जनाएको छ । घर निर्माणको लागी सुरुमा ५० हजार रुपैंया जग राखिसकपछि एक लाख ५० हजार रुपैंया र अन्तिम चरणमा १ लाख रुपैंया प्रदान गरेको जनाएको छ । बाग्मति गाउँपालिका वडा नं १ को १ सय २० घर निर्माणको लागी उक्त संस्थाले ३ करोड ६० लाख रुपैंया खर्च गरिसकको जनाएको छ । उक्त संस्थाले घर निर्माणको लागी दिएको सहयोग बाहेक प्राविधिक तालिम, सरसफइअभियान तथा मनोसामाजिक सहायता सचेतिकरण तालिम समेत दिएको जनाएको छ । यस संस्थाले राष्ट्रियपुनर्निर्माण प्राधिकरणको कार्यविधि अनुसार उक्त संस्थाले घर निर्माण गरेको राउतले बताए । उनका अनुसार हरेक लाभग्राहीलाई स्थायी आवास निर्माण गर्ने प्रयोजनले प्राविधिक सहयोग सुझाव तथा अनुगमन गर्ने र निर्माणाधिन भवनको प्रगतीअनुसार पहिलो, दोस्रो तथा तेस्रो किस्ता गरी तीन लाख दिइएको छ ।
एनएलजी इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने, सोमबार सेयर मूल्य बढ्यो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि आवश्यक नगद लाभांश वितरण गर्न लागेको हो । सोमबार बसेको कम्पनी सञ्चालक समितिको २३८ औं बैठकले उक्त निर्णय गरेको कामु प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जानकारी दिए । सञ्चालक समितिको निर्णयलाई बीमा समितिको स्वीकृति र साधारणसभाको अनुमोदन गरेपछि सेयरधनीले उक्त बोनस पाउने छन् । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७० रुपैयाँमा कारोबार भएको छ । यस कम्पनीको सेयर सोमबार प्रतिकित्ता १४ रुपैयाँले मूल्य बढेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ५१ करोड २३ लाख रुपैयाँ रहेको छ । बोनस सेयरपछि यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख रुपैयाँ हुनेछ ।
एनआईबिएल क्यापिटललाई उत्कृष्ट ब्राण्ड अवार्ड प्रदान
काठमाडौं । सीएमओ एसियाले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड प्रदान गरेको छ । कम्पनीलाई उत्कृष्ट बैकिङ्ग, बीमा तथा वित्तीय सेवा प्रदायक क्षेत्रबाट उत्कृष्ट ब्राण्ड घोषणा गरिएको हो । वल्ड सीएसआर डे एण्ड वल्ड सस्टेन एविलिटिका संस्थापक डा.आर.एल.भाटियाको उपस्थितिमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा अर्थ राज्यमन्त्री उदयशम्सेर ज.ब.राणाले उक्तअवार्ड बितरण गरेका थिए । सो कार्यक्रममा बैकिङ्ग, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोेटेक्नोलोजी, कन्स्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । विभिन्न क्षेत्रमा आवद्ध कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा विजेताहरु छनौट गरिएको थियो ।
राधी विद्युत कम्पनीले संचित कोषकाे नाफा जलविद्युतमा लगानी गर्ने
काठमाडौं । निजी क्षेत्रकाे राधी विद्युत कम्पनी लिमिटेडले संचित कोषमा जम्मा भएको नाफा जलविद्युतमा लगानी गर्ने भएको छ । गत आर्थिक वर्षसम्म कम्पनीको कुल संचित नाफा ८ करोड ९४ लाख रुपैयाँ पुगेको छ । चालु आवमा संचित नाफा बढेर १४ करोड ९० लाख रुपैयाँ पुग्ने छ । आगामी आव ०७६/०७७ मा कम्पनीको संचित कोष बढेर २९ करोड ८४ लाख रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ । संचित कोषमा रहेको नाफा सेयरधनीलाई वितरण नगरी नयाँ आयोजनामा सेयरको रुपमा लगानी गर्ने कम्पनीका अध्यक्ष विनय भण्डारीले बताए । उनका अनुसार राधिले संचित रकम ११ मेगावाटको दोर्दीखोला, ११ मेगावाटको तल्लोखारे, ४२ मेगावाटको कसुवाखोला र ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनामा सेयरको रुपमा लगानी गर्ने छ । कम्पनीको वर्षेनी नाफा बढ्दै जाने देखिएको छ । राधीले सोमबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । यसअघि आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरेको राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ निष्कासन गरेको हो । ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ । राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४१ करोड रुपैयाँ हुनेछ । गत वर्ष राधीले बिजुली बिक्रीबाट १४ करोड ५० लाख रुपैयाँ थियो । गत वर्ष राधीले ७ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
सनराइज बैंकको १५ प्रतिशत बोनस सेयर पारित, चुक्ता पूँजी ८ अर्ब नाघ्यो
काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको सोमबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले १५ प्रतिशत अर्थात १ अर्ब ६ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको छ । यसबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी पुगेकोे कम्पनीले जनाएको छ । बैंकको अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न उक्त सभाले बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडको २०७४ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७३/७४ को नाफा–नोक्सान हिसाव र नगद प्रवाहसहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरेको छ । साथै, उक्त सभाले निर्वाचन सम्पन्न नभए सम्मका लागि संस्थापक शेयरधनी समुह “क” को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुलाई संचालक समितिमा निरन्तरता दिने प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ । बैंकको हाल शाखाहरुको संख्या ७० र एटिएमको संख्या ८७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २९ शाखाहरु र उपत्यका बाहिर ४१ शाखाहरु रहेका छन् ।
नेपाली लगानीमा बुढिगण्डकीः भारतसँग तल्लो तटिय लाभको हिस्सा मागिने
काठमाडौं । राष्ट्रिय योजना आयोगले १२०० मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण आफ्नै लगानीमा गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठन भएको समितिले कम्पनी मोडलमा आयोजना निर्माण गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । (प्रतिवेदनकोे पूर्ण पाठ) नेपाल विद्युत प्राधिकरणको मातहतमा सहायक कम्पनीका रुपमा बिशिष्टकृत आयोजना कार्यान्वयन इकाई खडा गरेर नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा संस्थान, बीमा कम्पनीहरु, नेपाल टेलिकम, अपर तामाकोशी, चिलिमे, नेपाल प्रहरीको कल्याण्कारी कोष, सेनाको कल्याणकारी कोष र सर्वसाधारबाट लगानी जुटाउन सकिने उल्लेख गरिएको छ । प्रतिवेदनमा तल्लो तटिय लाभ तथा हानीको मूल्यांकन गरेर अन्तराष्ट्रिय मूल्य मान्यताका आधारमा छिमेकी देशहरुसँग छलफल गर्ने पनि उल्लेख गरिएको छ ।
आइएमई जनरल इन्स्योरेन्सले ८०% हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत(अर्थात १०ः८ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न कम्पनीले आफ्नो बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्न ८० प्रतिशत हकपद सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात बोनस सेयर दिई कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याउने गरी पुँजी वृद्धि योजना बीमा समितिमा पेश गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शखा तथा सम्पर्क कार्यालयहरु साथै १० वटा सेवा काउण्टरहरु गरी ३६ वटा स्थानहरुबाट सेवा प्रदान गर्दै आएको छ । साथै, निकट भविष्यमा कम्पनीले थप १६ शाखा तथा कार्यालयहरु खोलेर आफनो शाखा सञ्जाललाई विस्तार गर्दै जाने बताएको छ ।