विकासन्युज

बामपन्थी सरकारका अर्थमन्त्रीः पाण्डे, पौडेल वा ज्ञवाली

काठमाडौं । मुलुकको राजनीतिमा अनपेक्षित घट्नाक्रम देखिएन भने आगामी एक महिनाभित्र नयाँ सरकार गठन हुनेछ । सम्भवतः एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा दोश्रो इनिङ सम्हाल्नेछन् । ओलीले सरकारमा आफ्ना विश्वास पात्रहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने कुरामा दुई मत छैन् । मुलुकको ढुकुटी सम्हाल्ने अर्थ मन्त्रालयको जिम्मेवारीका लागि एमाले भित्र ३ जना नेताहरुको चर्चा सुरु भएको छ । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र विष्णु पौडेलसँगै प्रदिप ज्ञवाली पनि अर्थमन्त्रीको रेसमा सहभागी भएका छन् । पाण्डे माधव नेपालका विश्वास पात्र हुन भने पौडेल र ज्ञवाली एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र हुन् । माधव नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्री बनेर पाण्डेले राम्रो छाप छाडेका थिए । पछिल्लो समय विश्व बैंक, एडिबी, जाइका, कोइका लगायतका विकास साँझेदार अन्तराष्ट्रिय निकायले पाण्डेलाई अर्थतन्त्र बुझेको बामपन्थी अर्थमन्त्रीका रुपमा लिँदै आएका छन् । त्यसो त पौडेल पनि केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्री बनेर लोकप्रिय बजेट ल्याएका व्यक्ति हुन् । प्रदिप ज्ञवाली भने जन आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा पर्यटन मन्त्री बनेका थिए । उनी तत्कालिन सरकार र विद्रोही माओवादीबिच वार्ता गर्न गठित समितिमा सदस्य समेत रहेका थिए । पार्टीको आन्तरिक शक्ति सन्तुलनलाई आधार बनाईयो भने सुरेन्द्र पाण्डेले अर्थमन्त्रीको जिम्मेवारी पाउनेछन् । पाण्डेलाई एमाले भित्र मात्रै नभएर बाहिर पनि सफल र अर्थतन्त्र बुझेको व्यक्तिका रुपमा हेरिन्छ । पाण्डेले अर्थमन्त्री बनेपछि त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र तर्फ स्नातकोत्तरमा भर्ना समेत गरेका थिए । उनी अहिले पनि अर्थशास्त्र सम्बन्धी विश्व प्रसिद्ध पुस्तकहरुको अध्ययनका लागि बिशेष समय दिन्छन् । केपी ओली भने यसपाली विष्णु पौडेल र प्रदिप ज्ञवाली दुबैलाई मन्त्री बनाउने तयारीमा रहेको एमाले श्रोतले बतायो । त्यस्तो अवस्थामा विष्णु पौडेलले पुनः अर्थमन्त्री बन्ने अवसर पाउने सम्भावना छ । अर्काे विकल्प भनेको विष्णु पौडेललाई अर्थ बाहेकको अर्काे कुनै महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी दिएर ज्ञवालीलाई अर्थमन्त्री बनाउने सम्भावना पनि छ । ज्ञवालीलाई एमाले भित्र अध्ययनशिल र वैचारिक व्यक्तित्व मानिन्छ । जे भएपनि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन हुने सम्भावित बामपन्थी सरकारमा पाण्डे, पौडेल र ज्ञवालीमध्येबाटै एक जना अर्थमन्त्री बन्नेछन् । ओलीले अन्तिम विकल्पका रुपमा भने राष्ट्रिय सभाको सदस्य बनाएर डा. युवराज खतिवडालाई अर्थमन्त्री बनाउने सम्भावनालाई पनि नकार्न नसकिने एमाले श्रोत नै बताउँछ ।

मेगा बैंकले टुरिजम बैंकलाई गाभ्ने प्रस्ताव पारित, चुक्ता पुँजी ९ अर्ब ४७ करोड नाघ्ने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको छ । मंगलबार काठमाडौंमा सम्पन्न मेगा बैंकको विशेष साधारणसभाले टुरिजम बैंकलाई गाभ्नका लागि अनुमति दिएको हो । सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेका मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् । टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने मेगा बैंकका अध्यक्ष शाहले बताए । चालु आर्थिक बर्ष २०७२/७३ को हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजम बैंकको २ अर्ब १ करोड रुपैयाँ रहेको छ । यी दुबै बैंक मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड कायम हुने अध्यक्ष शाहले बताए ।

साञ्जेन जलविद्युत कम्पनीको ८७ करोड रुपैयाँको आईपीओ पुसभित्र आउने

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) पुसभित्र निष्कासन गर्ने भएको छ । पुसभित्र आब्हानपत्र प्रकाशित गरी आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनीका कर्मचारीका लागि छुट्ट्याएको ८७ करोड रुपैयाँ बराबरको ८७ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । बोर्डबाट स्वीकृत भइसकेकाले पुसभित्रै आईपीओ निष्कासन गरिसक्ने साञ्जेनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले बताए । बोर्डबाट स्वीकृति पाएको २ महिनाभित्र आईपीओ निष्कासन गर्नुपर्ने उनको भनाई छ । “आईपीओ निष्कासनका लागि कुनै काम बाँकी छैन” उनले भने “ढिलोमा पुस अन्तिमसम्म सेयर निष्कासन भइसक्ने छ ।” कम्पनीले पहिलो चरणमा २४ प्रतिशत आईपीओ निष्कासन गर्ने छ । सञ्चय कोषका करिब ५ लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चय कोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर छुट्याइएको छ । यस्तै, दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत र तेस्रो चरणमा सर्वसाधारणका लागि १५ सेयर निष्कासन हुनेछ । कम्पनीले रसुवामा ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजना आगामी वर्ष सम्पन्न हुने उनले जानकारी दिए । ७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३ अर्ब ६५ करोड स्वपुँजी लगानी छ । स्वपुँजीमध्ये चिलिमे कम्पनीको ३८, प्राधिकरणको १० र ३ प्रतिशत जिविस रसुवा र चिलिमे गाविसको छ ।  

एनबीआईले एनसीसी बैंकका कर्मचारीलाई तालिम दिने

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि(एनबीआई)ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । मंगलबार यी दुई संस्थाबीच उक्त तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनसीसी बैंकले एनबीआईबाट ५० लाख रुपैयाँ बराबरको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

कोर टिम बोकेर केपी ओली लाङटाङमा, जाडो छल्न की योजना बनाउन ?

काठमाडौं । सरकार गठन र पार्टी एकताको तातो बहसलाई छाडेर एमाले अध्यक्ष केपी ओली आफ्नो कार टिम लिएर लाङटाङ पुगेका छन् । आफ्ना विश्वास पात्र एमाले महासचिव इश्वर पोखरेल, सुभाषचन्द्र नेम्बाङ, बिष्णु पौडेल र शंकर पोखरेललाई लिएर ओली रसुवाको लाङटाङ रिसोर्ट पुगेका छन् । त्यहाँ बसेर ओलीले आफु निकटका नेताहरुलाई समानुपातिकमा सांसद बनाउने, सरकारमा आफ्ना निकटस्थहरुलाई सहभागीता गराउने, पार्टी एकताका क्रममा पनि आफु निकटका नेताहरुलाई सेटल गराउने योजना बनाउनेछन् । पार्टी एकता र सरकार गठनबारे माओवादी केन्द्रले बैठक राखेर छलफल अघि बढाईसकेको छ । तर ओली भने पार्टी बैठक राख्न छाडेर आफ्नो कोर टिमसहित लाङटाङ पुगेका छन् ।

नेप्से परिसूचक १५०० तल, सबै समूह राताम्मे

काठमाडौं । सेयर बजार १५०० अंक तल झरेको छ । मंगलबारको नेप्से परिसूचक १४.४९ अंकले ओरालो लागेर १४९३.७६ अंकमा झरेको छ । सोमबार सामान्य अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । मंगलबारको बजारमा ५९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६६ कम्पनीको १४ लाख ५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल दुरसञ्चाल कम्पनीको ७ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०० रुपैयाँ रहेको छ । मंगलबार कारोबारमा आएका सबै समूहको परिसूच राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५९ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्यको ३६, होटलको ३२, माइक्रोफाइनान्सको २०, उत्पादनमूलकको १७ र हाइड्रोपावर समुहको परिसूचक १४ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूहको परिसूचक भने सामान्य अंकले घटेका छन् । बजारमा कुल १० वटा समूहको कारोबार भएको थियो । दोहोरो अंकले घटेको बजारमा पनि अरुण फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८१ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १६ रुपैयाँ बढी हो । मंगलबार सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । त्यस्तै, हिमालयन डिष्टीलरीको सेयर मूल्य ५.७७ प्रतिशतले घटेको छ ।

१५ खर्ब ७० अर्बको नयाँ बजेट बनाइँदै, ३० प्रतिशत राजश्व बढ्ने

काठमाडौं । आगामी आर्थिक वर्ष ०७५/०७६ मा १५ खर्ब ७० अर्ब रुपैयाँको बजेट बन्ने गरी वित्तीय स्रोत व्यवस्थापन हुने देखिएको छ । अर्थ मन्त्रालयले संघीय बजेट विनियोजनाको काम सुरु गरिसकेको बेला अर्थसचिव शंकरप्रसाद अधिकारीले १५ अर्ब ७० अर्ब रुपैयाँ बढीको बजेट बनाउन सकिने जानकारी दिएका छन् । उनले चालु आवको भन्दा झण्डै २ खर्ब ९१ अर्ब रुपैयाँ बढीको बजेट बनाउने बताएका छन् । एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले संयुक्त रुपमा मंगलबार राजधानीमा आयोजना गरेको संघीयतामा वित्तीय चुनौति विषयक छलफलमा बोल्दै सचिव अधिकारीले मूल्यअभिवृद्धि कर (भ्याट) र अन्तशुल्क गरेर १ खर्ब ४३ अर्ब रुपैयाँ प्रदेश र स्थानिय तहमा गएपनि बजेटको आकार बढाउन सकिने तर्क गरेका छन् । अब आउने सरकारको वृहत प्रतिवद्धता र कर्मचारीतन्त्रको मनोवल बढेमा आगामी आवमा ३० प्रतिशत बढी राजश्व संकलन गर्न सकिने उनको तर्क थियो । चालु आवमा सरकारले २२ प्रतिशत राजश्व संकलन बढाउने लक्ष्य लिएको छ । नयाँ सरकारको बलियो प्रतिवद्धता र कर्मचारी सकरात्मक भुमिका भएमा ३० प्रतिशत अर्थात साढे ९ खर्ब रुपैयाँ राजश्व संकलन गर्न सकिने उनको भनाई छ । यस्तै वैदेशिक अनुदान ७२ अर्बबाट २८ अर्ब बढाएर १ खर्ब , वैदेशिक ऋण ३ खर्ब र आन्तरिक ऋण १ खर्ब ५३ अर्ब रुपैयाँ उठाउन सकिने संभावना रहेको छ । चालु आवमा वचत २० अर्ब रुपैयाँले आगामी आवमा १५ खर्ब ७० अर्ब रुपैयाँको बजेट बन्ने उनको भनाई छ । हाल सरकारले अघिल्लो वर्षको तुलनामा २२ प्रतिशत राजश्व संकलन बढाएर ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । यस्तै चालु आवमा ७२ अर्ब अनुदान र २ खर्ब १४ अर्ब वैदेशिक सहयोग र १ खर्ब ४५ अर्ब अनुदान उठाउने गरी कुल १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट पेश गरेको छ । संघीयता कार्यन्वयनमा गएपछि खर्च गर्ने सरकारी कार्यलय ३ हजार ५ बाट घटेर २ हजार भन्दा कम आउदा खर्च २ खर्ब २० अर्ब कम हुने सचिव अधिकारीले बताए । प्रदेशमा तत्काल हुन नसक्ने अवस्था । खर्च गर्ने कार्यलयको संख्या घट्दा चालु खर्चमा मालसामानको खर्च भनेर १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यसबाट अब २ खर्ब २० अर्ब रुपैयाँ खर्च वचत हुने देखिएको उनको भनाई छ । यो वर्षदेखि गैरकरका राजश्व संकलन लक्ष्य तोक्ने र राजश्वको दर पनि तोक्ने तयारी भएको अधिकारीले जानकारी दिए । आगामी वर्ष गरैकर राजश्व २० प्रतिशतसम्मको वृद्धि राख्ने तयारी भएको छ ।

डिश होमले पायो “इमर्जिङ्ग ब्राण्ड अवार्ड” र “सीइओ अफ द इयर”

काठमाडौं । डिश होमले नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ अन्तर्गत “इमर्जिङ्ग ब्राण्ड अवार्ड” प्राप्त गरेको छ । साथै, डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले “सीइओ अफ द इयर २०१७” को अवार्ड पाएका छन् । समय, प्रविधि र ग्राहकको चाहनालाई सहज रुपमा पूर्ति गर्न सक्नु, सेवाको सहज उपलब्धता सृजना गर्नु, बिक्री पछिको सेवा सस्तो र सहज हुनु तथा कम्पनी भित्रको व्यवस्थापन चुस्त दुरुस्त हुनुले नै महत्वपूर्ण अवार्डहरु “इमर्जिङ्ग ब्राण्ड अवार्ड” र “सीइओ अफ द इयर” प्राप्त भएको कुरा कम्पनीले जनाएको छ । साथै, उक्त २ महत्वपूर्ण पुरस्कार प्राप्तिले कम्पनीलाई अझै जिम्मेवार तथा आफ्नो सेवाहरुलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने हौसला मिलेको कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले जनाएका छन् । थाइल्याण्डको सीएसआर, थट लिडर्स, सी एमओ र स्टार ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा डिश होमलाई २ महत्वपूर्ण अवार्ड प्राप्त भएको हो । विश्वको विभिन्न देशहरुमा ब्राण्ड र यस सम्बन्धी कार्यक्रम गरि अवार्ड प्रदान गर्दै आएको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो । नेपालका विभिन्न कम्पनीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो । नेपालमै पहिलो पटक डिजिटल स्याटेलाइट टिभीको प्रविधि भित्र्याउने डिश होम,नेपालको टेलिकम क्षेत्रमो सबैभन्दा छिटो अघि बढेको कम्पनी हो । सन् २००९ देखि सेवा शुरु गरेको डिश होमले नेपालमा डिजिटल टि.भि. सिग्नललाई नेपालभर विस्तार गरी देशलाई महत्वपूर्ण योगदान प्रदान गरेको छ । स्थापनाको छोटो समयमा नै आफ्नो सेवालाई देशको प्रमुख शहर देखि अत्यन्त ग्रामिण क्षेत्रमा समेत सहज रुपमा उपलब्ध गराउन सफल डिश होम, नेपालीहरुको टि.भि हेर्नका लागी पहिलो रोजाइको रुपमा स्थापित भैसकेको छ ।