विकासन्युज

तीन रोगका बिरामीले मासिक ५ हजार भत्ता लिने बाटो खुल्ला, यस्तो छ कार्यविधि

काठमाडौं । सरकारले मृगौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीहलाई मासिक ५ हजार रुपैंया दिने कार्यविधि जारी गरेको छ । स्वास्थ्य सेवा विभागले कार्यविधी जारी गर्दै तीनै रोगीका पीडीतलाई मासिक ५ हजार भत्ता लिने बाटो खुल्ला गरेको हो ।  कार्यविधी हेर्न यहाँ क्लिक गर्नुहोस विभागले सार्वजनिक गरेको कार्यविधी अनुसार मृगौला, क्यान्सर र स्पाइनल इन्जुरीका पीडीतले भत्ता पाउन सम्बन्धित रोगको डाक्टरको सिफारिस लिनु पर्नेछ । मृगौलाका बिरामीले मृगौला प्रत्यारोपण गर्नु पर्ने भनी चिकित्सकले प्रदान गरेको कागज वा मृगौला प्रत्यारोपण गरी बेरोजगार भई काम गर्न असमर्थ रहेका व्यक्तिले भत्ताका लागि आवेदन दिन सक्नेछन् । क्यान्सर रोगीका बिरामीले नियमित आइआर्जन गर्न नसकी उपचार गराइरहेको भन्ने डाक्टरको सिफारिसको आधारमा भत्ता पाउन सक्नेछन् । त्यसैगरी स्पाइनल इन्जुरीका बिरामीले अस्पतालमा उपचार गराइरहेको र नियमित आइआर्जन गर्न नसक्ने भन्ने डाक्टरको सिफारिसको आधारमा भत्ताका लागि आवेदन दिन सक्दछन् । तर भत्ता लिनको लागि भने तीनै रोगका बिरामीले गरिबी तथा विपन्न नागरीकको प्रमाण पत्र लिएको हुनुपर्नेछ । यसअघि सरकारले ०७४ पुुस २८ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार तीनै रोगका बिरामीलाई जिवन सहज बनाउन भन्दै मासिक ५ हजार दिने निर्णय गरेको थियो । यसैगरी वितरण गरिने भत्ता रकम सरकारले स्वास्थ्य कर कोषमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको अन्तशुल्क कर बढाई आर्थिक स्रोतको व्यावस्था गर्ने भएको छ ।

मेलम्चीको सुरुङ अब ३५० मिटर मात्रै बाँकी, आउला त नयाँ बर्षमा पानी ?

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ३५० मिटर मात्रै बाँकी रहेको छ । मेलम्ची खानेपानी खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तका अनुसार हाल दैनिक औषतमा ४ देखि पाँच मिटर सुरुङ खन्ने काम भैरहेको छ । सोही गतिमा सुरुङ खन्ने हो भने आगामी ७० दिन भित्र मेलम्चीको सुरुङ ब्रेक थ्रु हुनेछ । तर बिचमा सुरुङ खन्ने गति बढ्न सक्ने सम्भावना पनि रहेको उनले बताए । ‘चट्टान कमजोर भएकाले दैनिक औषत ५ मिटर खन्ने काम भैरहेको छ, यो गति केहि बढ्न पनि सक्छ, त्यस्तो भयो भने अलि चाँडो ब्रेक थ्रु पनि हुन सक्छ’, मेलम्ची आयोजनाका प्रवक्ता पन्तले भने । बैशाखामा उपत्यका बासीका धारामा मेलम्चीको पानी वितरण गर्ने लक्ष्यसहित आयोजनाले काम गरिरहेको छ । उपत्यका भित्र खानेपानीको पाइप बिछ्याउने काम अब ७० किलोमिटर मात्रै बाँकी रहेको छ । सुरुङ फिनिसिङको काम पनि धमाधम अघि बढेको छ । त्यसका लागि ८ वटा अत्याधुनिक टान्जिट मिक्स्चर ल्याइएको छ । हालसम्म ३ किलोमिटर सुरुङ फिनिसिङ सम्पन्न भएको छ । ग्याल्थुमदेखि अम्बाथानसम्मको ८ किलोमिटर खण्डमा सुरुङ सफा गर्ने काम सम्पन्न भएको छ र आगामी एक महिना भित्रै फिनिसिङ सम्पन्न गर्ने ठेकेदार कम्पनीको प्रतिवद्धता रहेको उनले जानकारी दिए । मुहानमा पानी छेक्न निर्माण गरिने इन्टेक ड्यामको काम अघि नबढेकाले तत्कालका लागि अस्थायी ड्याम बनाएरै भएपनि बैशाखमा पानी ल्याउने गरि काम अघि बढाएको पनि प्रवक्ता पन्तले जानकारी दिए । यांग्री र लार्केमा एक्सेस रोड दोश्रो चरणको कामका रुपमा थप ३४ करोड पानी उपत्यका ल्याउने योजना अन्तर्गत यांग्री र लार्केे नदिसम्म पुग्ने पहुँच मार्ग निर्माणको काम अघि बढाउन बजेटको अभाव देखिएको छ । अर्थमन्त्रालयले १० करोड बजेट नदिँदा सडक विभागले निर्माण गर्ने भनेको १५ किलोमिट पहुँच मार्गको काम रोकिएको छ । आयोजनाले मुआब्जाका लागि छुट्याएको ३० करोड रुपैंयाँबाट केहि रकम झिकेर १० किलोमिटर पहुँच मार्ग निर्माण गर्ने सोँच बनाएको छ ।

आरएमडीसीको नाफा ११ करोड २१ लाख, ईपीएस ३० रुपैयाँ

काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले नाफा बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा सेन्टरले ११ करोड २१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सेन्टरले ८ करोड ६६ लाख रुपैयाँ नाफा गरेको थियो । सेन्टरले बिहीबार चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दै लगानी मौज्दात, आम्दानी र तरलताको अवस्था राम्रो रहेको जानकारी दिएको छ । संस्थाको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ८७ पैसा छ । १ अर्ब २८ करोड रुपैयाँ संचित कोषमा रहेको छ । हाल सञ्चालनमा रहेका कर्जा १४ करोड बढेर ६ अर्ब १४ करोड रुपैयाँ पुगेको सेन्टरले जनाएका छ । ६ महिनामा सेन्टरले ३८ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

तङग्रीदै वेष्ट फाइनान्स, ६ महिनामा ३ करोड ५९ लाख नाफा

  काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा नाफा बढाएको छ ।समस्याग्रस्त अवस्थाबाट मुक्तभई एक वर्षअघि मात्र पुनः सञ्चालनमा आएको फाइनान्सले चालु आवको ६ महिनामा ३ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा फाइनान्स ६८ लाख ६९ हजार रुपैयाँ नोक्सानमा थियो । फाइनान्सले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा कर्जा असुली तथा ब्याज आम्दानीबाट नाफा बढेको जानकारी दिएको छ । वेष्टको खराब कर्जा अझै ७२ प्रतिशत छ । निक्षेप लागत १०.६५ र आधार ब्याजदर १६.३५ प्रतिशत रहेको फाइनान्सले जनाएको छ । फाइनान्स अझै ८ करोड ४४ लाख रुपैयाँ संचित नोक्सानमा रहेको छ । समीक्षा अवधिमा फाइनान्सको निक्षेप परिचालन १७ करोड ३६ लाख रुपैयाँ छ । यस्तै कर्जा लगानी २० करोड ४९ लाख रुपैयाँ छ । फाइनान्सको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५४ पैसा छ । वेष्टले चुक्तापुँजी बढाउन सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यसका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

जेबिल्स फाइनान्सको १११ रुपैयाँमा ३ लाख ७२ हजार कित्ता हकप्रद लिलामी

काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडको हकप्रद सेयर ४८ जनाले पाएका छन् । फाइनान्सको प्रतिकित्ता १११ रुपैयाँमा ३ लाख ७२ हजार ४२७ कित्ता बाँडफाँड भएको बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन निष्कासन गरेको तर आवेदन नपरेका संस्थापक समूहतर्फको २ लाख ९८ हजार २०६ र साधारणतर्फ ७४ हजार २२० कित्ता लिलामीका लागि बोलपत्र आब्हान गरेको थियो ।

प्रियजनसँग असिमित कुरा गर्न एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, भिडियो च्याटको मजालिन सक्ने

काठमाडौं । एनसेल प्रालिका ग्राहकले भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजालिन सक्ने भएका छन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेलले आफ्ना ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ । जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानीतथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउने कम्पनीको विश्वास छ । असिमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर बिहिबार देखि १५ दिनसम्मका लागि लागु हुनेछ । अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहितमा १५ रुपैयाँमा असिमित भ्वाइस प्याक लिई बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेलको नेटवर्क भित्रकुनै पनि नम्बरमा असिमित कुराकानीको मजालिन सक्नेछन् । १७११४ डायल गरी प्राप्त जानकारीअनुसार भ्वाइस प्याक सुचारु गर्न सकिने एनसेलले जनाएको छ । त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाका लागि मान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुने एनसेलले जानकारी दिएको छ । अफर अन्तर्गत कर सहितमात्र २० रुपैयाँमा १ घण्टाको लागि निरन्तर डेटा उपलब्ध गराउने असिमित डेटा प्याकलिई आफ्ना प्रियजनसँग निरन्तर भिडियो च्याटको मजा लिन सक्ने छन् । यो डेटा अफरको लाभ लिन ग्राहकले एस्टिक्स १७११४ ह्यास् डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । ग्राहकले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन् । निरन्तर ईन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाका लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् ।

अपी पावर कम्पनीको नाफा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा अपि पावर कम्पनी लिमिटेडको नाफा घटेको छ ।गत पुससम्म कम्पनीले ३ करोड १३ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख रुपैयाा नाफा गरेको छ । यो वर्षको ६ महिनामा अपीको नाफा ३२ लाख रुपैयाँ घटेको छ । अपीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिकक वित्तीय विवरणमा नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको जानकारी दिएको छ । ईपीएस घटेर ५ रुपैयाँ ९७ पैसामा झरेकोे छ । गत आवको सोही अवधिमा कम्पनीको ईपीएस ६ रुपैयाँ ५८ पैसा थियो । गत पुससम्म अपीले बिजुली बिक्रीबाट ८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ८ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । ६ महिनामा अपीको आम्दानी ७५ लाख रुपैयाँ घटेको छ । कम्पनीको संचित कोषमा १२ करोड १४ लाख रुपैयाँ छ । अपीले साढे ८ मेगावाटको नौगाड साना जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । अपीले ८ मेगावाटको माथिल्लो नौगाड आयोजना निर्माण गरिरहेको छ । यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना पनि निर्माणको तयारी थालेको छ ।

आउँदो ३ वर्षमा नाफा २ अर्ब ९ करोड पुग्ने सिद्धार्थ बैंकको प्रक्षेपण, ईपीएस पनि बढ्ने

काठमाडौं । आउँदो ३ वर्षमा सिद्धार्थ बैंकले खुदनाफा ४८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । बैंकले आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढेर २ अर्ब ९ करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आवमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुदनाफा गरेको थियो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको सुचनामा बैंकले वर्षेनी औसत १६ प्रतिशतका दरले खुदनाफा बढाउने लक्ष्य लिएको हो । बैंकले चालु आवमा १ अर्ब ५१ करोड २९ लाख रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ । आगामी १ अर्ब ७७ करोड ७३ लाख रुपैयाँ नाफा गर्ने प्रक्षेपण सार्वजनिक गरेको हो । बैंकको नाफासंगै प्रतिसेयर आम्दानी (ईपीएस) समेत बढेर ३ वर्षमा २४ रुपैयाँ ३३ पैसा पुग्ने बैंकले जनाएको छ । गत आवमा बैंकको ईपीएस २१ रुपैयाँ ३९ पैसा छ । चालु आवमा घटेर १७ रुपैयाँ ४८ पैसा र आगामी आवमा पुनः बढेर २० रुपैयाँ ५४ पैसाँ पुग्ने प्रक्षेपण बैंकको छ । चुक्तापुँजी बढेपछि बैंकको ईपीएसमा गिरावट आएको छ । आव ०७६/०७७ मा बैंकले ब्याज आम्दानी बढेर १४ अर्ब ३ करोड पुग्ने प्रक्षेपण गरेको छ । गत आवमा बैंकको ब्याज आम्दानी ६ अर्ब ६५ करोड रुपैयाँ थियो । चालु आवमा बैंकको ब्याज आम्दानी बढेर ९ अर्ब ६७ करोड र आगामी आवमा अझ बढेर ११ अर्ब ८१ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षमा बैंकले निक्षेप परिचालन बढाएर १ खर्ब ३७ अर्ब ९८ करोड रुपैयाँ पुग्ने अनुमान छ । चालु आवमा बढेर ९६ अर्ब ६३ करोड आगामी वर्ष बढेर १ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ निक्षेप परिचालन हुन सक्ने बैंकको अनुमान छ । यस्तै कर्जा लगानी पनि विस्तार भई ३ वर्षमा १ खर्ब १६ अर्ब ८७ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालु आवमा बैंकको कर्जा लगानी ८२ अर्ब ६६ करोड र आगामी वर्ष ९८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ । जगेडा कोषमा ६ अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । बैंकले फागुन २ गतेदेखि ६८ करोड २६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । १० बराबर १ अनुपातमा निष्कासन हुन लागेको हकप्रद सेयरको बिक्री चैत ६ गते बन्द हुने बैंकले जनाएको छ । माघ २२ गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । हकप्रद सेयर बाँडफाँडपछि चुक्तापुँजी बढेर ७ अर्ब ५० करोड ८७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको चुक्तापुँजी ६ अर्ब ८२ करोड ६८ लाख रुपैयाँ छ ।