भूकम्प प्रभावित जिल्लाका ७१ प्रतिशत लाभग्राही पुनर्निर्माणमा
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको दुई बर्ष दुई महिनामा भूकम्प अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही नीजि आवास पुनर्निर्माण प्रक्रियामा संलग्न भएका छन् । प्राधिकरणको फागुन १४ सम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कुल ६ लाख ६७ हजार ६ सय ६२ मध्ये ६ लाख १० हजार ५ सय भूकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको छ । त्यस्तै, १ लाख २ सय ३६ घरको पुनर्निर्माण सम्पन्न भएको छ र ३ लाख ३२ हजार ३ सय २१ घर पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएकाे छ । पाँँच बर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते स्थापना गरेको प्राधिकरणले नीजि आवास पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । यही अनुपातमा नीजि आवास पुनर्निर्माणको काम अघि बढे आगामी बर्खाअघि करिब ६० प्रतिशत पुनर्निर्माण भइसक्ने प्राधिकरणको आंकलन छ । नीजि आवास पुनर्निर्माणको समयसीमा तोकिएको र प्राविधिकहरु स्थानीय स्तरमा परिचालन गरिएको, डकर्मी तालिम व्यापक रुपमा संचालन गरिएको एवं निर्माण सामग्री तथा काठको आपुर्ति सहज भएकाले जिल्लामा घर बनाउने लाभग्राहीको संख्या उल्लेख्य रुपमा बढेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले बता । उनले भने, हामीले स्थानीय जनप्रतिनिधि तथा लाभग्राहीसाग अन्तक्र्रिया गरेर पुनर्निर्माणका लागी थप प्रोत्साहन गरिरहेका छौं, त्यसैले आउँदो बर्खाअघि करिब ६० प्रतिशत लाभग्राहीलाई छानोमूनि ल्याउने लक्ष्य पुरा हुनेमा हामी विश्वस्त छौ ।” भूकम्प कमप्रभावित १८ जिल्लामा बनिसकेका र बन्दै गरेका घरको विवरण प्राधिकरणको केन्द्रिय सूचना प्रणालीमा समाविष्ट नभएकाले निर्माणाधीन र निर्माण सम्पन्न घरको संख्या अझै बढ्ने प्राधिकरणका प्रबक्ता यम लाल भूसालले बताए । ती जिल्लामा रहेका कुल १ लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८ सय ५० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको सूचना व्यवस्थापन तथा संचार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिए ।
जापान सरकारले नेपाललाई ५ हजार १७४ टन चामल दियो, आगामी वर्ष पनि दिने
काठमाडौं । जापान सरकारले नेपाललाई ३५ करोड येन बराबरको ५ हजार १७४ टन चामल दिएको छ । उक्त चामल नेपाल खाद्य संस्थानले आफ्ना विभिन्न गोदामहरुमा स्टक गरिसकेको जानकरी दिएको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाले केही दिनअघि मात्रै उक्त जापन सरकारले दिएको चामल भित्रिसकेको बताए । उनको अनुसार डिसेम्बर २०१६ मा जापान र नेपाल सरकारबीच भएको सम्झौता बमोजिम चामल नेपालमा भित्रिएको हो । विभागका अनुसार उक्त चामल ५ सय १८ टन विरगञ्ज, १ हजार ५५२ टन नेपालगञ्ज, १ हजार ५५२ टन सुर्खेत र १ हजार ५५२ टन काठमाडौंस्थित सस्थानको आफ्नो गोदाममा थन्क्याइएको छ । त्यस्तै जापनले आगामी बर्ष समेत नेपालाई ३५ करोड येन बराबरको चामल दिने भएको छ । संस्थानको अनुसार २५ जनवरी २०१८ मा नेपाल सरकार र जापान सरकारबीच खाद्यन्न सहयोग गर्ने उक्त सम्झौता भएको हो ।
सेयर बजार घट्दा लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए, यस्तो छ कारण
काठमाडौं । दोहोरो अंकले घटेको सोमबारको बजारमा लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा झुम्मिएका छन् । एकैदिन यस कम्पनीको ५८ हजार ६२४ कित्ता सेयर १० करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८४ रुपैयाँ रहेको छ । सेयरधनीलाई साढे ७०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता यस कम्पनीमा झुम्मिएका हुन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । नेपाल लाइफ इन्स्योरेन्सपछि प्रभु बैंकको ५ करोड ९० लाख रुपैयाँ बराबराको सेयर किनबेच भएको छ । सोमबारको बजारमा कुल १५१ कम्पनीको ५५ करोड २४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सो दिन सेयर बजार १५.७८ अंकले घटेर १३५८.९५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा सोमबारको परिसूचक १.१५ प्रतिशतले घटेको हो । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२२ अंकले ओरालो लागेको छ ।
डा. युवराज खतिवडा अर्थमन्त्री, गृह, रक्षा र उद्योगमन्त्री क्रमश: थापा, पाेखरेल र यादव
काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्री भएका छन्। त्यस्तै, ईश्वर पोखरेल रक्षा मन्त्री, रामबहादुर थापा गृह मन्त्री र मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति बनेका छन् । अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बनेका हुन्। यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहेका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् । यस्तै, गृहमन्त्री बनेका थापा तत्कालीन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए । एमाले अध्यक्ष केपी ओलीले खतिवडालाई अर्थमन्त्री बनाउने निर्णय गरेका हुन् । ईश्वर पोखरेल पछि हटेपछि खतिवडालाई अर्थमन्त्री बनाउन लागिएको प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले बताए । अर्थमन्त्री बनाउनकै लागि खतिवडालाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको थियो । तर सर्वाेच्च अदालतले राष्ट्रिय सभा सदस्यको सपथ भने नगराउन अन्तरिम आदेश दिएको छ । संघिय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री बनाउँदा ६ महिना भित्र संघिय संसदका सदस्य बनाउनुपर्ने सबैधानिक व्यवस्था रहेको छ । अर्थमन्त्री बन्न लागेका डा. खतिवडा प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाका हुन् । उनी यस अघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकको गभर्नर बनिसकेका छन् । खतिवडालाई मौद्रिक अर्थतन्त्रको जानकारी मानिन्छ ।
औद्योगिक वौद्धिक सम्पत्तिको छुट्टै केन्द्रिय विभाग बन्ने
काठमाडौं । औद्योगिक वौद्धिक सम्पत्ति (इन्डष्ट्रियल इन्टेलेक्चुअल प्रोपर्टी) को छुट्टै विभाग बन्ने भएको छ । उद्योग मन्त्रालयका प्रवत्ता गोपिकृष्ण खनालका अनुसार पर्यटन मन्त्रालयको कपिराईट विभाग र प्रतिलिपि अधिकार विभाग मिलेर स्वतन्त्र औद्योगिक वौद्धिक सम्पत्ति विभाग बन्नेछ । उक्त विभाग नेपाल सरकारको छुट्टै केन्द्रिय विभाग हुनेछ । अहिलेसम्म नेपालमा वौद्धिक सम्पत्ति सम्बन्धी दरिलो ऐन छैन । प्रतिलिपि लगायतका पुराना ऐनहरुलाई नयाँ बनाउने तयारी भइरहेको छ । ‘त्यसका लागि नेपाल कानुन आयोगलाई समेत जिम्मा दिइसकेका छौं,’ उनले भने ‘सँगै मन्त्रालयमा प्राविधिक कामहरु अघि बढिरेहेको छ ।’ औद्योगिक सम्पत्ति सुरक्षाको सम्बन्धमा जुन देश सवल छ उक्त देशमा वढी वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको छ । पेटेन्ट, डिजाइन, ट्रेडमार्क, कपिराइट लगायत वौद्धिक सम्पत्तिलाई मजवुद बनाउन नसकिए वैदेशिक लगानीमा समस्या आउने उद्योगम मन्त्रालयका प्रवत्ता खनालको भनाइ छ । त्यसको लागि उद्योग मन्त्रालले नयाँ कानुन बनाउन अघि बढेको हो । हालसम्मको छलफल अनुसार लघु, घरेलु तथा साना उद्योगहरुको जिम्मेवारी स्थानिय तहलाई दिइनेछ । वैदेशिक लगानी तथा सुरक्षा सम्बन्धि अनुमति लिनु पर्ने मदिरा लगायतका करिब २ अर्ब रुपैयाँ लागनी भएका उद्योगहरुको दर्ताको लागि प्रदेशलाई जिम्मा दिने छलफल भइरहेको छ । ठूल–ठूला योजनाको काम केन्द्रले भने कार्यान्वयनको काम प्रदेश र स्थानिय तहले गर्ने जनाइकाएको छ ।
सेञ्चुरी बैंकको सी-आस्वा सेवा सञ्चालनमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र खरिद गर्न सी-आस्वा सेवा सञ्चालनमा ल्याएको छ । अब सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा सी-आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो । उक्त सेवाको लागि ग्राहकले बैंकबाट सीआरएन(सी-आश्वा रजिष्ट्रेशन) नम्बर लिनुपर्ने छ । ग्राहकहरुले बैंकको जुनसुकै कार्यालयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी सीआरएन नम्बर लिन सक्नेछन् ।
एक्साइड ब्याट्रीको पूर्वि क्षेत्रीय डिलर मिट सम्पन्न
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत एक्साइड ब्याट्रीले पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ सम्पन्न गरेको छ । साथै, कम्पनीले सोही कार्यक्रममा आफ्ना डिलरहरुलाई सम्मान गरेको छ । कार्यक्रममा आफ्नो उत्कृष्ट प्रतिफल दिने डिलरहरुलाई क्रमशः डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरिएको थियो । जसमा नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने टायर सेन्टर, विराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो र गोल्डेन डिलरको उपाधि राम कृष्ण इलेक्ट्रो पावर, झुम्कालाई प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै, नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री ट्रेडर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको थियो । साथै, यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि देशका विभिन्न शहरहरुमा समेत आयोजना गरिने कुरा कम्पनीका महा-प्रबन्धक सुरेशकुमार तिवारीले बताए ।
३ वर्षमा ५०० प्रतिशत नाफा बढ्ने प्राइम लाइफ इन्स्योरेन्सको प्रक्षेपण, इपीएस ५२ रुपैयाँ पुग्ने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा नाफा ५०० प्रतिशत बढाउने प्रक्षेपण गरेको छ । प्रईम आर्थिक वर्ष ०७६/०७७ मा नाफा ५ सय प्रतिशत बढाएर १ अर्ब ४ करोड ५३ लाख रुपैयाँ पर्याउने भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीले २२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवमा ३९ करोड ९८ लाख र आगामी आवमा ६५ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीले प्रक्षेपित वित्तीय विवरण आफैले तयार पारेको जानकारी दिएको छ । नाफा बढेपछि कम्पनीको ३ वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५२ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५४ पैसा थियो । चालु आवमा घटेर २२ रुपैयाँ ४० पैसामा झर्ने छ । आगामी आवमा बढेर ३२ रुपैयाँ ६० पैसा पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षमा कम्पनीको आम्दानी १ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीले २६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा बढाएर ४२ करोड ५९ लाख र आगामी आवमा ७० करोड ८५ लाख रुपैयाँ पुग्ने देखिएको छ । यस्तै कम्पनीको संचित नाफा बढेर २ अर्ब २६ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीको संचित कोषमा ८० करोड ७६ लाख रुपैयाँ थियो । प्राइमले फागुन २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासन बन्द बैशाख २ गते हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ । आगामी वर्षमा बढेर २ अर्ब रुपैयाँ पुग्ने प्राइमले जानकारी दिएको छ ।