विकासन्युज

वोमी माइक्रोफाइनान्सको सबैभन्दा बढी कारोबार, यस्तो छ कारण

काठमाडौं । केही दिनयता सेयर बजारका लगानीकर्ताहरु वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा आकर्षित भएका छन् । संस्थाले चुक्ता पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने भएपछि लगानीकर्ता वाेमीकाे सेयरमा लोभिएका हुन् । बिहीबार अाेमीकाे सेयर मूल्य प्रतिकित्ता १८३० रुपैयाँमा काराेबार भएकाे छ । करिब १८३० रुपैयाँको प्रतिकित्ता सेयर १०० रुपैयाँमै आउने भएपछि लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका हुन् । बिहीबारको बजारमा सबैभन्दा बढी यस कम्पनीको सेयर कारोबार भएको छ । यस संस्थाको एकैदिन २ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार पनि यस संस्थाको सबैभन्दा बढी सेयर किनबेच भएको थियाे। यस संस्थाले आगामी जेठ १६ गतेदेखि हकप्रद सेयरकोे आवेदन खुला गर्दै छ । संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत १० कित्ता बराबर २ कित्ताको अनुपातमा अंकित मूल्य एक सय रुपैंयाँको २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । साताको अन्तिम कारोबार भएको बजार सामान्य अंकले बढेको छ । बजार १.६४ अंकले बढेर १३३९ अंकमा पुगेको छ । सो दिन कूल १५४ कम्पनीको ५ लाख ७९ हजार कित्ता सेयर २८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ ।

नेपाल बैंकको एफपीओ ३१० मा किन्न सीबीआईएल क्यापिटलको प्रस्ताव

काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) प्रतिकित्ता ३१० रुपैयाँसम्ममा किन्ने प्रस्ताव परेको छ । बैंकले एफपीओ निष्कासनअघि प्रत्याभूति (अण्डरराइटिङ) का लागि मर्चेन्ट बैंकर्ससंग प्रस्ताव आब्हान गर्दा सीबीआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता ३१० मा लिने प्रतिवद्धता जनाएको हो । बैंकले बुधबार प्रस्ताव खोल्दा सीबीआईएलको मात्र प्रस्ताव परेको थियो । अन्य मर्चेन्ट बैंकरले प्रस्ताव पेश गरेनन् । सीबीआइएलले प्रस्ताव गरेपछि एफपीओको मूल्य घटाउन सिद्धार्थ क्यापिटल लिमिटेडको अगुवाइमा केही मर्चेन्ट बैंकरले समूह बनाएर कार्टेलिङ गर्न थालेका छन् । उनीहरुले ०.५ प्रतिशत कमिसनमा प्रतिकित्ता २८० रुपैयाँमा बैंकका एफपीओ लिनका लागि तीब्र लविङ थालेको नेपाल बैंक स्रोतले बतायो ।सीबीआईएलको भन्दा कम मूल्यमा एफपीओको प्रत्याभूति गर्न नपाइने बैंक स्रोतको भनाई छ । “बजारमा जति कार्टेलिङ गरेपनि एफपीओको मूल्य प्रतिकित्ता ३१० रुपैयाँबाट तल घट्न मिल्दैन् ।” स्रोतले भन्यो । यता सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीमरप्रसाद दाहाललाई सम्पर्क गर्दा अहिले बोल्न नमिल्ने भन्दै पन्छिएका छन् । बैंकस्रोतका अनुसार सीबीआईएलले ४ प्रतिशत कमिशनमा प्रतिकित्ता ३१० रुपैयाँमा सकार्ने भनेको छ । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले बैशाख २५ गतेसम्म आफुले सकार्ने सेयर हिस्सा, दर र कमिशन दर समेत खुलाई शिलबन्दी दरभाउ पेश गर्न मर्चेन्ट बैंकरलाई भनेको थियो । बैंकले धितोपत्र बोर्डकाे स्वीकृतिमा जानुअघि रेटिङको काम थालेको छ । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । बैंकको ग्राहक, सम्पत्ति, आम्दानी र प्रतिफल राम्रो देखिएको छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्ममा २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

टेन्डर आव्हान गर्न ४५ दिन, काम शुरु गरे अख्तियार लाग्छ: मन्त्री बास्कोटा

काठमाडौं । सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रक्रियामुखी कामले विकास निर्माणको काम ढिलो हुने गरेको बताएका छन् । विश्व टेलिकम्युनिकेशन तथा सूचना दिनको अवसरमा आयोजित कार्यक्रममा बास्कोटाले प्रक्रियागत कामले नै विकास निर्माणले गति लिन नसकेको बताएका हुन् । बास्कोटाले भने-‘केहि काम गर्न टेण्डर खोल्नुपर्छ यसको लागि ४५ दिनको समय लाग्छ, काम शुरु गर्न लाग्यो अख्तियार लाग्छ, सर्वोच्चमा मुद्दा पर्छ किनभने नेपालमा लोकतन्त्र छ ।’ उनले सञ्चार प्रविधिको विकास गर्दा जनताको चेतना अनुसारको प्रयोग गर्नुपर्नेमा जोड दिए । विकास निर्माणको कामलाई परिणाममुखी बनाउन ऐन नै परिमार्जन गर्नुपर्ने बेला आएको मन्त्री बास्कोटाले बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मानबहादुर शाहिले देशको आर्थिक विकासका लागि निजी क्षेत्रको ठुलो भूमिका हुने बताए । जोसुकै लगानीकर्ताको लगानी सुरक्षित गर्न सरकार तयार रहेको बताउँदै निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वाइजयाक कम्पनीका प्रमुख डाक्टर हेमन्त श्रेष्ठले नागरिकले कहिलेसम्म फाइल बोकेर कर्मचारीको कोठा कोठा डुल्नु पर्ने भनी मन्त्री बास्कोटालाई प्रश्न गरेका थिए । उनले नेपालमा न्युन्नतम सूचना प्रविधिको समेत प्रयोग गर्न नसकेको बताए ।

२७ स्थानीय निकायहरुमा एनआईसी एशिया बैंक, पहिलो वाणिज्य बैंकको रुपमा स्थापित

काठमाडौं । एनआईसी एशिया बैंकले ३४ वटा स्थानीय निकायहरुमध्ये २७ स्थानीय निकायहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याईसकेको छ । बैंकले स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम उक्त स्थानमा नयाँ कार्यालय विस्तार गरेको हो । यस बैंक अन्य वाणिज्य बैंकहरु भन्दा पहिला उक्त स्थानमा पुग्न सफल भएको छ र पहिलो वाणिज्य बैंकको रुपमा स्थापित भएकाे छ । बैंकले हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट मार्फत सम्पूर्ण बैंकिङ् सेवाहरु दिँदै आएको छ । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा यस बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । ग्राहक महानुभावहरुको अपार स्नेह, विश्वास तथा भरोसाका कारण यस बैंकले करीब १३५ अर्ब निक्षेप संकलन गरी करीब ११० अर्ब कर्जा प्रवाह गरिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रबन्धक जगदिश काफ्लेले ५० हजार भ्रष्ट्राचार गरेको प्रमाणित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय बर्दिवास, महोत्तरीमा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेले ५० हजार भ्रष्ट्राचार गरेको प्रमाणित भएको छ । भ्रष्टाचारको अभियोगमा पक्राउ परेका काफ्लेमाथी अनुसन्धान गर्दा घुस लिएको प्रमाणित भएको हो । नेपाल सरकारको कृषि अनुदान कार्यक्रम अर्न्तगत कृषि अनुदानमा गार्इ पालनको लागि सरकारी ऋण उपलब्ध गरार्इ दिए वापत काफ्लेले सेवाग्राहीसँग ५० हजार घुस लिएका थिए । उनीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएको अख्तियार दुरुपयोग अनुसन्धानले जनाएको छ । उनीमाथी अख्तियारले बिगो बमोजिम जरिवाना र ३ महिना देखी ४ महिनासम्म कैद सजाय हुन मागदावी लिइ विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ।

प्रभु इन्स्योरेन्सको जेठ १४ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको आगामी जेठ १४ गते बुक क्लोज हुने भएको छ । इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीले ४६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै छ । कम्पनीको सञ्चालक समितिको बैठकले अंकित मूल्य १०० रुपैयाँको दरले ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद जारी गर्ने निर्णय गरेको थियो । बैठकको उक्त निर्णयलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले सो मात्राको सेयर जारी गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ रहेको छ । ४६ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७६६ रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य उकालो लाग्दै, आयल निगम भन्छ : नेपालमा अझै भाउ बढ्छ

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपाल आयल निगम लिमिटेडले पछिल्लो २ महिनामा ४ पटक पेट्रोलियमको मूल्य बढाएको छ । बुधबार मात्रै निगमले पेट्रोलियमको भाउ बढाएको हो । केपी शर्मा ओली प्रधानमन्त्री भएयता ४ पटक पेट्रोलियमको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लाग्नु र अमेरिकी डलरको थप मजवुत भएपछि यसको असर नेपाल र भारतलगायत अन्य मुलुकमा परेको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेड (आइओसी) ले दुई हप्ताअघि तय गरेको मुल्यभन्दा अहिले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरेको नेपाल आयल निगमले बताएको छ । निगमको अनुसार दुई हप्तामा मात्रै प्रति व्यारेल कच्चा तेलको मूल्य ५ डलर बढेको छ । यसअघि १ मेमा कच्चा तेलको भाउ प्रतिव्यारेल ७३ डलर रहेकोमा अहिले मूल्य बढेर ७८ डलर पुगेको छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाउ निरन्तर उकालो लाग्दा यसको असर नेपालमा पनि परेको हो । त्यस्तै १५ दिनको अवधिमा डलरको सटही दर थप ३ रुपैयाँले बढेको छ । त्यसबेला १ अमेरिकी डलरको सटही करिब दर १०६ रहेकोमा अहिले बढरे करिब १०९ रुपैयाँ पुगेको छ । निगमको नाफा शून्य निगमले सञ्चलक समितिले बुधबार रातीदेखि लागु हुने गरी पेट्रोलिय पदार्थको मूल्य समायोजन गरेको छ । मूल्य समायोजन पछि पनि निगमको नाफा शून्यमा झर्ने भएको छ । गएको पाक्षिक (१५ दिनमा) निगमलाई १० करोड ५५ लाख रुपैयाँ नाफा भएको थियो । निगमका प्रवक्ता वीरेन्द्र गोईतले निगमको सम्भावित पेट्रोलियम पदार्थको भैपरिआउने समस्या समाधानका साथै निगमलाई चलायमान राख्न  करिब ५० करोड रुपैयाँ मासिक नाफा हनु पर्ने बताए । ‘तर निगमको सप्लाइ नियमित राख्न पनि हामीले नाफा गुमाएर बुधबार पेट्रोलियम पदार्थको समायोजन गरेका छौं,’ उनले भने ‘पछिल्लो केही महिनालाई हेर्दा अन्तर्राष्ट्रिय बजारमा निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ ।’ उक्त सिनारियाेलार्इ हेर्दा अझै पनि इन्धनको भाउ बढ्ने देखिन्छ । ‘यद्यपि मुल्य घटे तुरुन्तै स्वचालित मुल्य विधि अनुसार निगमले मुल्य घटाउने छ,’ उनले थपे । दुई महिना मै चार पटक बढ्यो गएको दुई महिनामा मात्रै पेट्रोलियम पदार्थको मूल्य ४ पटक बढेको छ । चैतयता निरन्तर पाक्षिक रुपमा पेट्रोलियम पदार्थको मूल्य बढेको हो । चैतमा प्रतिलिटर पेट्रोलको मुल्य १०३, डिजेल र मट्टीतेलको मूल्य ८३ र ८३ रुपैयाँ रहेकोमा अहिले (बिहीबारदेखि)  बढेर क्रमशः प्रतिलिटर ११० र ९३ र ९३ रुपैयाँ पुगेको छ । दुई महिनाको अबधिमा प्रतिलिटर पेट्रोलमा ७, डिजेल र मट्टीतेलमा १० र १० रुपैयाँ बढेको छ ।

नेपाल ट्रेड समीट आजदेखि शुरु, औद्योगिक विकास बारे जानकारी दिने

काठमाडौं । राजधानीमा नेपाल ट्रेड समीट आजदेखि शुरु भएको छ । स्टल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरु एवं सरोकारवालाहरुलाई व्यवसायिक अन्तर्क्रिया गराउने उद्देश्यले उक्त समिटको आयोजना गरिएको हो । भोलि (जेठ ४ गते)सम्म हुने यस समीटमा नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरु, सिमेन्ट र उर्जा उत्पादकहरुको सहभागिता रहने छ । जसमा ३०० भन्दा बढि प्रतिनीधीहरु, २५ भन्दा बढि प्रर्दशनकत्र्ता रहने छन् । जेठ ३ गते बेलुका प्राबिधिक सत्र हुनेछ भने भोलि शुक्रबार बिहान ८ः३० बजे अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख अतिथीको रुपमा समिटको औपचारिक उद्घाटन गर्नेछन् । नेपालका प्रतिष्ठित उद्योगीहरु प्रदिपकुमार श्रेष्ठ (उपाध्यक्ष क्यासी), हरिभक्त शर्मा लगायत लगानी बोर्डका कार्यकारी महाप्रसाद अधिकारी त्यसैगरि भारतीय तथा अन्य देशका प्रतिष्ठित प्रतिष्ठानहरुका प्रतिनिधीहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसैगरि कार्यक्रममा नेपाली प्रतिष्ठीत युवा व्यवसायीहरु युवा बक्ताको रुपमा रहने छन् । स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको यस कार्यक्रममा नेपाल र क्षिमेकी मुलुकका स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारे जानकारी दिइने छ । त्यस्तै, चीन तथा अन्य मुलुकहरुबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मुल्याङ्कन, यस उद्योग क्षेत्रमा नयाँ अवसरहरुका बारेमा बुझ्ने, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तीको अवस्था बारे जान्ने, निमार्ण क्षेत्रका समस्यालाई सम्बोधन गर्ने लगायत यस क्षेत्रको प्राबिधिक ज्ञानको बारे जानकारी गराइने बताइएको छ ।