विकासन्युज

प्रदेशको नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ सिफारिश

पोखरा । प्रदेश नं ४ को सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ । बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय समितिले सरोकार भएका दल, नागरिक समाज, उद्योग व्यवसायीलगायतसँग छलफल गरेको बताए । छलफलका क्रममा ११ वटै जिल्लामा सुझाव संकलनका लागि पाँच वटा टोली परिचालन गरिएको थियो । छलफलमा प्रदेशको राजधानी पोखरा रहनुपर्छ भन्ने पक्षमा ७०५ अर्थात ९३.८७ प्रतिशत, गोरखा हुनुपर्छ भन्ने पक्षमा ३०.९३।९९ प्रतिशत र अन्यका पक्षमा १६।९२ प्रतिशत देखिएको थियो । रासस

बुद्ध एयरले नेपालगञ्ज–दिल्ली उडान गर्ने, सरकारसंग माग्यो अनुमति

नेपालगञ्ज । निजी वायुसेवा कम्पनी बुद्ध एयर प्राइभेट लिमिटेडले नेपालगञ्जदेखि भारतको नयाँ दिल्लीसम्म अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ । बुद्धले सरकारलाई भारतसँग आवश्यक नीतिगत र प्राविधिक प्रक्रियाका विषयमा छलफल अघि बढाउन आग्रह गरेको छ । उडान तयारीका सम्बन्धमा सोमबार बुद्ध एयरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालगञ्ज–दिल्लीका लागि दैनिक तीन उडान गर्न सकिने जनाएको छ ।बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नेपालगञ्ज–दिल्ली उडानका लागि सरकारलाई गत सोमबार निवेदन दिइएको बताए। उनका अनुसार, बुद्ध एयरले बिहान ७ बजे, अपराह्न १ बजे र साँझ ७ बजे गरी दैनिक तीन उडान गर्ने तयारी गरेको छ । दैनिक २०० यात्रुले उडान भर्ने पनि प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए। नेपालगञ्ज–दिल्ली उडानका लागि नेपालगञ्जको राँझा विमानस्थलको अहिलेको टर्मिनललाई अन्तर्राष्ट्रियस्तरको बनाइनुपर्ने, सुरक्षा संरचना थप गरिनुपर्ने र अध्यागमनको व्यवस्था गरिनुपर्ने बताइएको छ । यी सबै काम सक्न करीब आठ महिना लाग्न सक्ने बुद्ध एयरले जनाएको छ । रासस

छोटेलाल रौनियारले भने : सरकारले सेयर बजारलाई सखाप पार्न खोजेको छ

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तथा लगानीकर्ता छोटेलाल रौनियारले सरकारले लगानीकर्तालाई समस्यामा पारेर सेयर बजारलाई सखाप बनाउन खोजेको आरोप लगाएका छन् ।सरकारले हकप्रद र बोनस सेयरमा समेत पूँजीगत लाभकर लगाएपछि आक्रोशित बनेका रौनियारले यस्तो आरोप लगाएका हुन् । नयाँ पुँजीगत लाभकरले सेयर बजारलाई सखाप पार्ने उनको तर्क छ । बोनस तथा हकप्रद सेयरमा पूँजीगत लाभकरको व्यवस्था खारेज गर्नुपर्ने उनको माग छ । इन्भेष्टर्स फोरमले नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाई नयाँ व्यवस्था तत्काल हटाउन आग्रह गरेको छ । यस्तै लगानीकर्ताले आजै अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलगायत अधिकारीसँग पनि छलफल गरी पूँजीगत लाभकरले लगानीकर्ता मारमा पर्ने गुनासो गरेका छन् । सोमबार छलफलमा सहमति नभए पनि मंगलबार पुनः छलफल हुनेछ । सरकारले आइतबारदेखि बोनस र हकप्रद सेयरमा पुँजीगत लाभकर उठाउन थालेको छ । आन्तरिक राजश्व विभागले कर उठाउन पत्राचार गरेपछि आइतबारदेखि नै बोनस र हकप्रद शेयरमा ७.५ प्रतिशत पूँजीगत लाभकर लगाएको छ । यो व्यवस्था व्यक्तिगत लगानीकर्ताका लागि हो । यस्तै संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ ।वोनस र हकप्रदमा लाभकरको व्यवस्था गरेपछि आइतबारदेखि बजार पुनः ओरालो लागेको छ । रासस

राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस दिने, वार्षिक साधारणसभा कहिले ?

काठमाडौं । राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको आगामी साधारणसभा असार २४ गते हुँदै छ । सो प्रयोजनको लागि असार ५ देखि २४ गतेसम्म कम्पनीको बुक क्लोज हुने नेप्सेमा जनाइएको छ ।

प्लाष्ट नेपाल फाउण्डेशनद्धारा भेटघाट कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा विभिन्न सञ्चारकर्मी र प्लाष्ट नेपाल फाउण्डेशनका पदाधिकारी एवं सदस्यवर्गबीच भेटघाट कार्यक्रम सम्पन्न भएको छ । साथै, फाउण्डेशनका उपाध्यक्ष दिपक श्रेष्ठको सभापतित्वमा सोमबारका दिन काठमाडौंमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा यस फाउण्डेशनका सञ्चालक समिति सदस्य तथा मिडिया टिमका संयोजक विनित अग्रवालले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए । प्लाष्टिकजन्य सामाग्रीको उपयोगिता, महत्व र प्रयोग पश्चात् निस्कने फोहोरको नकारात्मक असर र यसको सही व्यवस्थापनबारे जनचेतना फैलाउने उद्देश्यले यस विषयमा फाउण्डेशनले एउटा सानो वृत्त चित्र तयार गरी कार्यक्रममा प्रस्तुत गरेको थियो । कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष श्रेष्ठले वातावरण संरक्षणमा फाउण्डेशनले विभिन्न सरोकारवालहरुसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता- मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर इन्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको उनले बताएका छन् । सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ । रासस

मन्त्री रघुवीरको निर्णयमाथि सर्वोच्चको अंकुश, वीपी राजमार्गमा ठूला सवारी नचलाउन आदेश

  काठमाडौं । वीपी राजमार्गमा ठूला सवारी साधन नचलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायधिश सपना प्रधान मल्लको एकल इजालासले सोमबार राजमार्गमा ठूला सवारी नचलाउन आदेश दिएको हो । मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको हो । सो इजलासमा बसन्त बस्नेत लगायत ३ जनाले बहस गरेका थिए । यसअघि प्राविधिक टोलीले गरेको अध्ययनमा राजमार्गमा १८ जना भन्दा धेरै सिट क्षमताको सवारी चलाउन नमिल्ने प्रतिवेदन बुझाएको थियो । वकिलहरुले रुट इजाजत दिने काम मन्त्रीको नभई विभागको भएको भन्दै इन्जिनियरहरुको रिर्पोट प्रस्तुत गरेका थिए । सर्वोच्चले मन्त्रिपरिषदको निर्णयको विषयमा लिखित जवाफ समेत माग गरेको छ । फैसलापछि दक्षिण एसियाकै नमुना राजमार्गले न्याय पाएको माइक्रो बस व्यवसायी संघका अध्यक्ष राजेन्द्र आचार्यले बताए ।

सनराइज बैंकको स्वास्थ्य बीमा अन्तर्गत महर्जनले पाए बीमा रकम

काठमाडौं । सनराइज बैंक लिमिटेडले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत ग्राहक राजेन्द्र महर्जनलाई बीमा रकम भुक्तानी गरेको छ । उक्त योजना अन्तर्गत बैंकले भैसीपाटी शाखाका ग्राहक महर्जनलाई उपचार खर्च ८० हजार २५६ बराबरको रकम प्रदान गरेको हो ।  बैंकका नायब महाप्रबन्धक रविन नेपालले सोमबार(आज) एक कार्यक्रमकाबीच बिरामी महर्जनलाई उक्त रकम दिएका हुन् । बैंकको उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ । बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।