४ करोड रुपैयाँ लिएर व्यापारी मुकेश साह फरार
काठमाडौं । बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएका छन् । मीनाबजार छेउमा रहेको नेपाल टेलिकम कार्यालयको पूर्वतर्फ शम्भु केशरीको घरमा किराना सामानको थोक पसल सञ्चालन गर्दै आएका मुकेश गत जेठ २० गतेदेखि बैंक तथा व्यापारीको करोडौँ रुपैयाँ लिएर परिवारसहित फरार भएका छन् । मुकेशले वीरगञ्जको ग्लोवल आइएमई बैंकको रु एक करोड ३० लाख र अन्य थुप्रै व्यापारीको रु तीन करोड गरी रु चार करोड रुपैयाँ लिएर फरार भएको पर्सा प्रहरीले जनाएको छ । ग्लोवल आइएमई बैंकले मुकेशले सञ्चालन गरेको पसलको सटर तथा निजको घरमा सिलबन्दी गरी सेक्युरिटी गार्ड खटाइएको छ । फरार रहेका मुकेशको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
मरिच काण्डमा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ, धरौटीको रकम बुझाउन नसकेको दावी
वीरगञ्ज । राजश्व अनुसन्धान विभाग काठमाडौंले वीरगञ्जका छाला उद्योगी सञ्जय अग्रवाललाई पक्राउ गरी जेल चलान गरेको छ । मरिच तस्करीमा संलग्न व्यापारी अग्रवालले धरौटीको रकम बुझाउन नसक्दा उनलाई हिजो रातिदेखि हिरासतमा लिई जेल चलान गरिएको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताए । उनलाई हाल नख्खु जेलमा राखिएको छ । दुई सातायता, राजश्व विभागले थालेको मरिच तस्करी काण्डको प्राम्भिक अनुसन्धानमा अग्रवाल दोषी पाइएपछि विभागले उनीसँग हिजो साँझ ५ बजे धरौटीको रकम तीन करोड ७६ लाख ८० हजार रुपैयाँ सहित विभागमा हाजिर हुन बोलाएको थियो । तर धरौटीवापतको रकम बुझाउन नसक्दा उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । करीब एक वर्षदेखि वीरगञ्जसहित आसपासको जिल्ला नाकाबाट ठूलो परिमाणमा विदेशबाट आयातित मरिच महँगो दाममा बेच्न वीरगञ्जका व्यापारी सक्रिय थिए । गत जेठ २१ गते राति वीरगञ्ज भन्सार नाकाबाट भारतीय ट्रकमै एक ट्रक मरिच भारत पठाउन लाग्दा पर्सा प्रहरीले १२ टन दुई सय किलो मरिच बरामद गर्दै चालक र ट्रकलाई कारबाही गरेको थियो । सोही घटनालाई पछ्याउँदै जाँदा अनुसन्धान विभागले व्यापारी अग्रवालसम्म पुगेको स्रोतको भनाइ छ । एक साताअघि मरिच तस्करीको घटना वीरगञ्जबाट बढ्न थालेपछि निर्देशक ध्रुव पोखरेलको टोलीले वीरगञ्जको दुई वटा व्यापारिक प्रतिष्ठानमा छापा हानी कागजपत्र नियन्त्रणमा लिँदै अनुसन्धानलाई तीव्र बनाएको थियो । पक्राउ परेका अग्रवालको छाला उद्योग ग्लोबल लेदर ट्रेनिग इण्डष्ट्रिज प्राली लिपनीबिर्ता र निजका कान्छा भाइ एवं वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पाटवारीको फर्म साम इन्टरनेशनलमा छापा हानेर अनुसन्धान गर्दा अग्रवाल दोषी पाइएको विभागले जनाएको छ । अनुसन्धानकै क्रमा विभागको पत्रका आधारमा वीरगञ्जबाट दुईजना भन्सार क्लियरिङ एजेण्ट वीरेन्द्र गुप्ता तथा दिलीप श्रीवास्तव पनि पक्राउ परेका छन् । वीरगञ्जबाट छाला लिएर कानपुर हिँडेको युपी ७८ बिटी ३८०४ नं को भारतीय ट्रकमा जेठ २१ गते १२ टन दुई सय किलो मरिच बरामद भएको हो । अनुसन्धानबाट भाइ अनिल पाटवारी विदेशबाट सुख्खा बन्दरगाहको बाटो भएर ठूलो परिमाणमा मरिच मगाउने र दाइ सञ्जय छाला भनेर ट्रकबाट मुख्य नाका रुटमा भन्सार कर्मचारीलाई मिलाएर विगत लामो समयदेखि मरिच तस्करी गर्दै आएकाले विभागाले पौने चार करोडको धरौटी माग गरेको हो । रासस
अरुले के हेरे थाहा छैन मैले अर्जेन्टिनाका खेलाडी केटी जस्तै रोइरहेको हेरेँ : सिमे भर्सलजको
काठमाडौं । क्रोयोसियाका भरपर्दा डिफेन्डर सिमे भर्सलवकोले अर्जेन्टिना उविरुद्धको खेलमा आफुले नौलो अनुभव लिएको बताएका छन् । खेलको बारेमा इंगल्याण्डको खेलकुद अनलाईन गोलसँग कुरा गर्दै अर्जेन्टिनाका खेलाडीहरु रोइरहेको अनुभव गरेको बताएका हुन् । उनले भने क्रोयोसियाका मिडीयाले मलाई कसरी हेरे त्यो मलाई थाहा छैन, तर मैले विपक्षी खेलाडीहरु केटी जस्तै रोइरहेको देखेँ । हामी उत्कृष्ट अवसर बनाउने प्रयास गरिरहेका थियौं । तर उनीहरु पटक पटक केटी जस्तै रोइरहे । प्रशिक्षक साम्पाउलीले हामी माथि हाबी हुने रणनिति बनाएका थिए तर हामीले त्यसलाई सजिलै असफल बनाउन सफल भयौं । उनीहरु मैदानमा लड्दै केटी जस्तै राइरहेका थिए । यो दृश्य मैले पटक पटक हेरेँ । मलाई विश्वास उनीहरुले अर्को खेल राम्रो खेल्नेछन् ।
भवानी राणाको फर्चुनाले चीनबाट पौने ५ अर्बको लगानी भित्र्याउँदै
काठमाडौं । नेपालस्थित फर्चुना इन्भेष्टमेन्ट प्राली र चीनको ग्वीझाउ मेरिटाइन्म्स सिल्करोड इन्टरनेशनल इन्भेष्टमेन्ट कर्पोरेशनबीच एक लगानी समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणदलमा रहेका नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चीनको इन्भेष्टमेन्ट कम्पनी ग्वीझाउमार्फत नेपालमा लगानी भित्र्याउन चीनको बेइजिङस्थित नेपाली दूताबासमा उक्त समझदारी गरेकी हुन् । समझदारीअनुसार राणाको कम्पनी फर्चुनाले चीनको ग्वीझाउबाट ४६ मिलियन डलर अर्थात करिब पौने ५ अर्ब रुपैयाँ नेपालमा वैदेशिक लगानी भित्र्याउनेछ । उक्त सम्झौतामा फर्चुनाका अध्यक्ष राणा र चिनियाँ कम्पनी ग्वीझाउका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ झाउले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सो लगानी नेपालको कृषि, पर्यटन, पूर्वाधार र वैदेशिक व्यापारमा गरिने फर्चुना इन्भेष्टमेन्ट प्रालिका निर्देशक प्रवलजंग पाण्डेले जानकारी दिए । विशेषगरी उच्च पहाडी भू–भागमा कृषिजन्य वस्तुको उपलब्धता, आधुनिकिकरण एवं यान्त्रिकरण गरी कृषिजन्य वस्तुको उत्पादन र प्रोसेसिङमार्फत गुणस्तरीय कृषिजन्य वस्तुको चीनतर्फ निर्यातमा सो लगानी भित्र्याइन लागिएको बताइएको छ । यसैगरी पूर्वाधार अन्तर्गत ट्रान्समिसनलाईन विस्तार, सोलार पावर, स्मार्टसिटी र हाइवे क्षेत्रको विकास र विस्तारमाजस्ता क्षेत्रमा लगानी गरिनेछ । सम्झौता अनुरुप पर्यटन क्षेत्रको विकास र विस्तारसँगै होटल तथा रिसोर्ट संचालनका लागि पनि सो लगानी प्रयोगमा ल्याइने निर्देशक पाण्डेले जानकारी दिएका छन् ।
ह्युण्डाईको वर्ल्ड कप योजना मार्फत् ४ जना विजेता रसिया जाँदै
काठमाडौं । लक्ष्मी इन्टरनेशनल प्रा.लि., नेपालको लागि ह्युण्डाईको आधिकारिक डिलरले “रोड टु रसिया” योजना अन्तगर्त फिफा वल्र्ड कप २०१८ को फाइनल म्याचको टिकेट विजेताको घोषणा गरेको छ । कम्पनीले लक्की ड्रमार्फत् विजेता घोषणा गरेको हो । उक्त लक्की ड्रमार्फत् हालका ह्युण्डाई ओनरहरु मध्ये रानीपौवा, पोखरा निवासी अनिसा गुरुङ र पोखरा निवासी लालबहादुर गुरुङ विजेता भएका छन् । त्यस्तै, नयाँ ग्राहकहरु मध्ये भरतपुर, ५ चितवन निवासी बिनोदकुमार भट्ट र दमक निवासी गोपाल अग्रवाल विजेता भएका छन् । यसका साथै यस योजनामा हरेक ह्युण्डाईको खरिदमा ४३ वा ५५ इन्चसम्मको सामसंङ पनि पक्का पुरस्कारको रुपमा प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय फुटबलका फ्यानहरुलाई ह्युण्डाईको यस योजनाले २०१८ फिफा वर्ल्ड कप रसियाको फाइनलको प्रत्यक्षदर्शी बन्ने मौका प्रदान गरेको छ । विजेताले हवाई टिकेट र बसाई खर्चको विशेष भ्रमण प्याकेजको सुविधा पाउने छन् । फुटबलका फ्यानहरुलाई अद्भुत र रोमाञ्चक अनुभव प्रदान गर्दै ह्युण्डाई विश्व फुटबललाई साथ दिन र विकास गर्नको लागि प्रतिबद्ध छ ।
धरहरा निर्माणको जिम्मेवारी चिनियाँ कम्पनीलाई
काठमाडौं । धरहरा निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाउने पक्का भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा चिनियाँ कम्पनीले मात्रै आवेदन दिएका छन । धरहराको निर्माणका लागि परेका ६ वटा आवेदनमध्ये सबै चिनियाँ कम्पनी रहेको प्राधिकरणको सम्पदा संरक्षण महाशाखा प्रमुख राजुमान मानन्धरले जानकारी दिए । ‘नेपाली कम्पनीहरुको नेतृत्वमा ६ वटा चिनियाँ कम्पनीहरुको आवेदन आएको छ, हामी अध्ययन गरिरहेका छौं’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख मानन्धरले विकासन्युजसँग भने । एक हप्ताभित्र प्राबिधिक प्रस्ताव अध्ययन गरेर प्रारम्भिक छनौटमा परेका कम्पनीहरुको वित्तिय प्रस्ताव खोलिनेछ । न्युन मूल्यमा निर्माण गर्न प्रस्ताव गरेको कम्पनीले धरहरा निर्माणको जिम्मेवारी पाउनेछ । आवेदन दिने सबै कम्पनीमा चिनियाँ सहभागीता रहेसँगै अब धरहराको निर्माण चिनियाँ कम्पनीले नै गर्ने पक्का भएको छ । भवितब्य केहि नभएमा यीनै ६ वटा कम्पनीमध्येबाट एउटा कम्पनीले निर्माणको जिम्मेवारी पाउनेछ । पछिल्लो समय नेपालको विकास तथा पूर्वाधारमा संलग्नता बढाउँदै आएको चीनले धरहरा निर्माणमा पनि ठूलो चासो देखाएको स्पष्टै हन्छ । नयाँ डिजाइन अनुसार धरहराको लागत ४ अर्ब २७ करोड(भ्याट र १० प्रतिशत मूल्य वृद्धि)सहित हुनेछ । जसमा धरहराको मुल भाग निर्माणका लागि १ अर्ब १२ करोड लाग्नेछ भने हुलाक सेवा विभागमा निर्माण हुने अण्डरग्राउण्ड बेसमेन्टको निर्माण लागत ७५ करोड हुनेछ । बाँकी लागत भने वाटर फाउण्टेन, म्युजियम, गार्डेनको निर्माणमा लाग्नेछ । ४२ रोपनी जमिनमा निर्माण हुने धराहराको निर्माण ठेक्का लागेको मितिले २ बर्षभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले जानकारी दिए । बाहिरबाट २२ तल्लाको देखिने धरहरा १४५ फिट अग्लो हुनेछ । धरहरामा २ वटा लिफ्ट राखिएका हुनेछन् । एउटा लिफ्टले ८ जनालाई धरहरा चढाउने छ भने अर्काेले ८ जनालाई ओराल्ने छ । त्यसका अलवा धरहरामा भर्याङ समेत निर्माण हुनेछ । धरहरा निर्माणका लागि नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत एक अर्ब रुपैंयाँ दिने प्रतिवद्धता जनाईसकेको छ भने मै बनाउँछु मेरो धरहरा अभियानमा २४ करोड रुपैंयाँ संकलन भएको छ ।
कालीगण्डकी गर्ज चिनियाँ लगानीमा निर्माण हुने, थप चारवटा आयोजनाका लागि सम्झौता
म्याग्दी । म्याग्दीस्थित १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना चिनियाँ लगानीमा निर्माण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवावाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिका प्रतिनिधिबीच लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । लगानी जुटेपछि एक दशकदेखि निर्माणको प्रक्रियामा रहेको सो आयोजनाले गति लिने अपेक्षा गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए। म्याग्दी र मुस्ताङ भएर बग्ने कालीगण्डकीको पानीबाट विद्युत् उत्पादन गर्ने उद्देश्यले २०६३ सालमा उक्त आयोजनाको सर्वेक्षण गरिएको थियो । लामो समयदेखि प्रतिक्षामा रहेको सो आयोजनामा चिनियाँ लगानी भित्र्नु म्याग्दीको ऊर्जा क्षेत्रमा गौरवको विषय भएको अध्यक्ष कर्माचार्यको भनाइ छ । लगानीकर्ता र प्रवद्र्धकलाई सुरक्षाको प्रत्याभूती, सामाजिक वातावरण र प्रक्रियागत झञ्जटबाटमुक्त बनाउनुपर्ने अध्यक्ष कर्माचार्यले बताए । विसं २०६८ पुस १९ गते उत्पादन अनुमतिपत्रका लागि विद्युत् विकास विभागमा निवेदन दिएको उक्त आयोजनाले प्रक्रिया पूरा नगरेपछि अनुमतिपत्रनै रद्द भएको थियो । पुरानो अनुमतिपत्र रद्द भएपछि नेपाल कालीगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुनः सर्वेक्षण गरेर निर्माण प्रक्रिया अघि बढाएको हो । सन् २०१४ सम्ममा आयोजना निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य थियो । मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको सो आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो । पाँच किलोमिटर सुरुङ रहने आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो । २५ अर्ब रुपैयाँ लागतको उक्त आयोजनाले नारच्याङमा तीन करोड रुपैयाँ मुआब्जा दिएर तीन सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा कालीगण्डकी गर्जसँगै ६०० मेगावाट क्षमताको मनाङ मस्याङ्दीलगायत ८७९ मेगावाट क्षमताका चारवटा जलविद्युत् आयोजनाका लागि चिनीयाँ लगानीकर्तासंँग सम्झौता भएको छ । रासस
एफपीओबाट उठाएको ४९५ करोड रुपैंयाँ यसरी लगानी गर्दैछ नेपाल बैंक, कुन क्षेत्रमा कति ?
काठमाडौं । नेपाल बैंकले थप निष्कासन (एफपीओ) बिक्रीबाट संकलन हुने रकम कर्जा र शाखा विस्तारमा लगानी गर्ने भएको छ । बैंकले प्रतिकित्ता २८० रुपैयाँमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्दैछ । एफपीओबाट प्राप्त भएको रकम सबै लगानीमा जाने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । बैंकले एफपीओमा भएको लगानीबाट थप आम्दानी गर्ने उनले जानकारी दिए । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ । सो मध्ये ८५ प्रतिशत अर्थात ४ अर्ब २० करोड ८९ रुपैयाँ कर्जा तथा सापटीमा लगानी गर्ने भएको छ । यस्तै १० प्रतिशत अर्थात ४९ करोड ५१ लाख लगानी, ३ प्रतिशत शाखा विस्तार अर्थात १४ करोड ८५ लाख रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । अन्य कामका लागि ९ करोड ९० लाख अन्य क्षेत्रमा खर्च गर्ने बैंकले जनाएको छ । बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैंकले आउदो शुक्रबार अर्थात असार १५ गतेदेखि एफपीओ निष्कासन गर्दैछ ।