केएल मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को सित्तैमा
काठमाडौं । चाबहिल स्थित केएल मोबाइल हबमा जारी मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने भएको छ । जिरो डाउनपेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सञ्चालन भैरहेको छ । चाबहिलको के एल टावरमा रहेको के एल मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना गर्दै अफर माथि अफरमा सेवाग्राहीलाई लक्षित गर्दै मोबाइल मेला सञ्चालन गरेको हो । एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाइने योजना मेलाको आकर्षण बनेको छ । जेडटिई ब्राण्डका एल फाइभ प्लस तथा ब्लेड एस सेभेन र लेनेभोको के फोर नोट मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा उपलब्ध हुने मोबाइल हबका निर्देशक संगम राईले बताए । त्यसैगरी मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार लेनोभोको के फाइभ नोट ५० प्रतिशत छुटमा किन्न सकिन्छ । एमआई फाइभ एसमा ४० प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर पनि उपलब्ध छ । एमआई फोरमा ३५ प्रतिशत छुटका साथै एक्सचेञ्ज अफर लागू हुने ग्लाइडरले जानकारी दिए । यसैगरी मोबाइल मेलामा जुनसुकै ब्राण्डका जुनसुकै मोबाइल शुन्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ । ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सक्ने छन् । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेण्टमा मोबाइल किन्न सकिन्छ । शुन्य प्रतिशत डाउनपेमेण्ट बाहेकका उल्लेखित सबै अफरहरु हरेक मोबाइलको खरिदमा लागू हुने मोबाइल हबले जनाएको छ । अफरहरु केएल मोबाइल हब चाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्युरोड तथा द वल्र्ड भिजन मोबाइल सिटिसी मल चौथो तल्लामा पनि उपलब्ध हुनेछ । ग्राहकले किस्ताबन्दीमा मोबाईल खरिद गर्न आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई आकर्षक गिफ् ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिनेछ । विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइल हबमा उपलब्ध छन् ।
नेपाल र बंगलादेशबीच ऊर्जामा लगानी सम्वन्धी समझ्दारी, नेपालबाट ५०० मेगावाट बिजुली किन्ने
काठमाडौं । बंगलादेशले नेपालको जलविद्युतमा लगानी गर्ने भएको छ । जलविद्युतमा लगानी गर्ने विषयमा नेपाल र बंगलादेशबीच समझ्दारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खजिन स्रोत राज्यमन्त्री नरसुल हमिदले एमओयुमा हस्ताक्षर गरेका छन् । बंगलादेशका लगानीकर्ताले नेपालीसंगको साझेदारीमा ऊर्जा विकासमा संयुक्त रुपमा लगानी गर्ने भएका छन् । यसका लागि प्रसारणलाइन जोड्ने लगायत विषयमा समझदारी भएको छ । बंगलादेशले ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजनाबाट ५०० मेगावाट बिजुली खरिद गर्नका लागि सहमति गरेको छ । पछिल्ला वर्षमा बंगलादेशले नेपालको जलविद्युतमा लगानी गरेर बिजुली किन्ने तयारी गरेको छ । नेपालको जलविद्युतमा भारत र चीनपछि बंगलादेश सहभागी भएको छ । सो अवसरमा बंगलादेशका राज्यमन्त्री हमिदले एमओयुबाट ऊर्जा विकासमा कोशेढुङा कायम भएको बताएका छन् ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३६ प्रतिशत बोनस दिने, पुँजी एक अर्ब ८१ करोड नाघ्ने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेडले ३६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, इन्स्योरेन्सले कर प्रयोजनको लागि १.८९४७४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव गत बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले गत आवको मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको सो मात्राको बोनस दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ३३ करोड रुपैयाँ रहेको छ । ३६ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ नाघ्ने छ । समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रा लगानीकर्ताले सो मात्राको बोनस पाउने छन् ।
सिटिजन बैंकको एफपीओ बाँडफाँड, ४६ हजार ३७६ ले १० कित्ता पाए
काठमाडौं । सिटिजन बैंकको थप निष्कासन (एफपीओ) आज शुक्रबार बाँडफाँड भएको छ । गोलाप्रथा गर्दा ४६ हजार ३७६ जनाले १० कित्ता दरले एफपीओ पाएका छन् । यस्तै ६ जनालाई ११ कित्ताका दरले परेको छ । माग भन्दा १४ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट एफपीओ बाँडफाँड गरिएको हो । कुल ६२ हजार ७८२ आवेदकबाट ६१ लाख ५ हजार ६३० कित्ता एफपीओ खरिदका लागि आवेदन परेको थियो । बैंकले प्रतिकित्ता १०० रुपैयाँ प्रिमिमय थप गरी प्रतिकित्ता २०० रुपैयाँमा ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्काशन गरेको हो । बैंकले संस्थापक साधारण शेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्न एफपीओ निष्काशन गरेको हो । पछिल्लो समयमा सिटिजनको मात्र एफपीओ माग भन्दा १४ गुणा बढी आवेदन परेको छ । नेपाल बैंकको एफीओ बिक्री हुन सकेन । यस्तै एनएमबी बैंकको एफपीओ बल्लतल्ल बिक्री भएको थियो ।
त्रिपुरेश्वर-कलंकी-नागढुंगा र चावहिल-जोरपाटी-साँखु सडक यथास्थितीमै कालोपत्रे
काठमाडौं । सरकारले त्रिपुरेश्वर-कलंकी-नागढुंगा र चावहिल-जोरपाटी-साँखु सडक यथास्थितीमै कालोपत्रे गर्ने निर्णय गरेको छ । सरकारले यस्ताे निर्णय गरेपछि सडक विस्तार आयोजनाले सोही बमोजिम कार्ययोजना समेत तयार पारिसकेको छ । सडक विस्तार सम्बन्धमा सर्वाेच्च अदालतको निर्णय, नागरिकले भोग्नु परेको सास्ती लगायतका कारण देखाई साउन १० गते बसेको मन्त्रिपरिषद बैठकले यथास्थितिमै सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । ‘मन्त्रीपरिषदको निर्णय बमोजिम सडक कालोपत्रे गर्ने योजना बनाउन हामीले सम्बन्धित ठेकेदारहरुलाई परिपत्र गरिसकेका छौं, चालु आर्थिक बर्षभित्र उपलब्ध चौँडाईमा कालोपत्रे भैसक्छ’, सडक विभागको सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजय लाल श्रेष्ठले विकासन्युजसँग भने । त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक १२.४८ किलोमिटर लम्बाईको छ । त्यस्तै, चावहिल–जोरपाटी–साँखु–सडक पनि यथास्थितीमै कालोपत्रे हुँदैछ । सो सडक खण्ड पनि १२.५० किलोमिटर लामो नै रहेको छ ।यी दुई सडकको कुल लम्बाई २४.९८ किलोमिटर छ तर यसमा २७ सय ३५ वटा अवरोध रहेका छन् । त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक खण्डमा १ हजार १४९ वटा अवरोध रहेका छन् । त्यस्तै, चावहिल–जोरपाटी–साँखु सडकमा १ हजार ५ सय ८६ वटा अवरोध रहेका छन् । २०७४ असोज २ गते सर्वाेच्च अदालतको फैसला र त्यसको पुर्ण पाठले सडक विस्तार अभियानमा झनै समस्या थपिदिएपछि सरकारले यथास्थितीमै कालोपत्रे गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले बताए । उनै प्रस्तावमा मन्त्रीपरिषदले त्रिपुरेश्वर कलंकी नागढुंगा र चावहिल जोरपाटी साँखु सडक यथास्तितिमै कालोपर्ने गर्ने निर्णय गरेको थियो ।१५ दिनभित्र यी दुबै खण्डलाई हिलो धुलो र खाल्डाखुल्डी मुक्त बनाउन निर्देशन दिईसकेका छन् ।
सहकारीको पूँजी उत्पादनमूलक क्षेत्रमा, जग्गाको खण्डकीकरण रोकिने छ: मन्त्री अर्याल
पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताएकी छिन् ।अनलाइन पत्रकार संघ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारीको समग्र व्यवस्थापन गर्न आवश्यक कानून निर्माणको तयारी भइरहेको जानकारी दिइन। महिला र युवालाई लक्ष्य गरी उद्यमशीलताको विकास गर्नु आवश्यक भएको उनको भनाइ थियो । मन्त्री अर्यालले उपलब्ध साधन स्रोतको उपयोग गर्दै स्वरोजगारका कार्यक्रम अघि बढाउन सकिने बताए।“सहकारीमा संकलित सानो पूँँजी समाजको आर्थिक समुन्नतिका लागि महत्वपूर्ण माध्यम बनेको छ,” उनले भनिन्, “यसबाट आपसी समझदारी एवं सामूहिक भावनाको विकास हुँदै गएको छ ।” स्थानीय तह र सहकारीबीच समन्वय आवश्यक भएको औल्याउँदै उनले व्यवहारिकताका आधारमा सहकारीका लागि कर निर्धारण गर्नुपर्ने बताइन। जग्गाको खण्डीकरणलाई निरुत्साहित गर्दै उत्पादनशील बनाउन आवश्यक रहेको उनको भनाइ थियो । रासस –––
अमेरिकी प्रतिबन्धका कारण रुसी मुद्राको भारी अवमूल्यन, सेयर बजार पनि घट्यो
मास्को । अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धका कारण अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ । बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी जासुसमाथि स्नायू प्रणालीमा असर पार्ने घातक आक्रमण गरेको विरोध स्वरुप अमेरिकाले प्रतिबन्धहरु घोषणा गरेको हो । वासिङ्टनको दण्डात्मक कारबाहीका कारण बिहीबार बिहान अमेरिकी डलरको तुलनामा रुबलको मूल्य ६६.४८ पुगेको छ । यो मूल्य नोभेम्बर २०१६ यताकै सबैभन्दा कम हो । अमेरिकी प्रतिबन्धको असर रुसी सेयर बजारमा पनि परेको छ । रुसी स्टक एक्सचेन्ज ३.२ प्रतिशतले घटेको छ भने मोएक्स इन्डेक्स झण्डै १.२ प्रतिशतले तल झरेको छ । रुसी बैंकहरुको सेयर पनि ओरालो लागेको छ । राज्य सञ्चालित स्बरबैंकको सेयर ४.७ बिन्दुले घटेको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार मात्र नयाँ प्रतिबन्धहरुको घोषणा गरेको थियो । बेलायतमा बसोबास गरिआएका बेलायती नागरिक सर्गेई स्क्रीपाल र उनकी छोरी युलियामाथि गत मार्च महिनामा रुसी जासुसहरुले नोभिचोक नामको स्नायूप्रणालीमा असर पार्ने एजेन्टले आक्रमण गरेका थिए । अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी रासायनिक वा जैविक हतियार प्रयोग गरेको देखिएकोले रुसमाथि यस्तो कारबाही गर्नु परेको हो, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिथर नर्टले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । प्रतिबन्ध अन्तर्गत “राष्ट्रिय सुरक्षा संवेदनशील” अमेरिकी प्रविधिहरु रुसलाई बेच्न पाइने छैन । यस्ता प्रविधिहरुमा विद्युतीय उपकरणहरुका साथै क्यालिब्रेसन उपकरणहरु रहेका छन् । विगतमा यस्ता उपकरणहरु निर्यात गर्न दिइएको थियो । रुसले युक्रेनमाथि गरेको व्यवहारका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा त्यही वर्ष तेलको मूल्यमा आएको भारी गिरावटका कारण रुसको अर्थतन्त्र सन् २०१४ को अझै तङ्ग्रिन सकेको छैन । दुई वर्षको आर्थिक संकटपश्चात सन् २०१७ बाट रुसको अर्थतन्त्र सही बाटोमा आएको थियो । यसैबीच, अमेरिकाले लगाएको प्रतिबन्ध अस्वीकार्य रहेको भन्दै रुसले आपत्ति जनाएको छ, तर अमेरिकासँगको सम्बन्ध रचनात्मक दिशातर्फ उन्मूख हुने अपेक्षा गरिएको छ । “अमेरिकाले लगाएको नयाँ प्रतिबन्ध गैरकानुनी छ, यो अस्वीकार्य पनि छ,” क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले बताए । एफपी÷रासस
२६०० परिवारद्वारा स्वास्थ्य बीमा
म्याग्दी । डेढ वर्षको अवधिमा जिल्लाका २ हजार ६०० परिवारले स्वास्थ्य बीमा गराएका छन् । विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । यस क्रममा ११ हजार ७३० जनाले स्वास्थ्य बीमा गराएको समितिको बेनीस्थित कार्यालयले जनाएको छ । अघिल्लो आवमा बीमा गरेका ६ हजार २९६ जनाले नविकरण गरेका छन् । आव २०७४/७५ मा ५ हजार ४३४ जनाले स्वास्थ्य बीमा गराएका थिए । बीमा गरेकाहरुले ९ हजार ३२३ पटक सो सेवा लिएका छन् । बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ । पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार २ हजार ५०० तिर्नुपर्ने र परिवारका सदस्य ५ भन्दा बढी भएमा प्रतिसदस्य ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बीमामा आवद्ध हुन सक्नेछन् । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजार रुपैयाँसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी सदस्य भएमा १ लाख रुपैयाँसम्मको सेवा पाउने प्रावधान छ । कार्यक्रमबाट बीमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् । वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गराउन सकिन्छ । जिल्लामा ४३ दर्ता सहयोगी परिचालित छन् । रासस