विकासन्युज

तातोपानी र रसुवागढीमा नेपाल-चीन जोड्ने आधुनिक पुल

काठमाडौँ । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी (सिन्धुपाल्चोक) र केरुङ–रसुवागढी (रसुवा) नाकामा अवस्थित पुलको पुनःनिर्माण र ल्हासास्थित महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका छन् । ल्हासामा आयोजना गरिएको विशेष समारोहकाबीच उनले नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मितेरी पुलको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका हुन । सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको उक्त शिलान्यास समारोहमा तिब्बत जनकाङ्ग्रेसका अध्यक्षसहितका पदाधिकारीको सहभागिता रहेको सभामुख महराको सचिवालयले जनाएको छ । विसं २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’का कारण नेपाल–चीन जोड्ने दुवै मितेरी पुल क्षतिग्रस्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो । यी दुई मितेरी पुल निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ । शिलन्यास कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा नेपाल–चाइना फ्रेण्डसिप एशोसियसनका पदाधिकारीको उपस्थिति रहेको थियो । ल्हासामा शिलान्यास गरिएको उक्त भवन चीन सरकारको स्वामित्वमा नियोगले सन् २०७५ सम्मका लागि भाडामा लिएको हो । ‘महावाणिज्य दूतावास नेपाल–चीन सम्बन्धको प्रतीक’ पुल पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले ल्हासामा रहेको नेपाली वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकका रुपमा रहेको बताए । “ल्हासामा रहेको वाणिज्य दूतावास नेपालको प्राचीन वाणिज्य दूतावासमध्येको एक हो”, सभामुख महराले भने, “यो वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकका रुपमा रहेको छ र भविष्यमा दुई मुलुकबीचको सम्बन्धको कोसेढुङ्गाका रुपमा रहनेछ ।” ऐतिहासिक केरुङ–रसुवागढी पुल र तातोपानी मितेरी पुल पुनःनिर्माणले नेपाल–चीन सम्बन्धमा अर्को इँटा थप्ने काम गरेको चर्चा गर्दै उनले यसले दुवै देशको व्यापार र पर्यटन प्रवद्र्धन गरी जनताको जीवनस्तर उकास्नेमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । भूगोल, संस्कृति, धर्म र परम्पराले नेपाल र चीनबीच प्राचीनकालदेखि नै सम्बन्ध रहँदै आएको बताउँदै सभामुख महराले सांस्कृतिक समानता र जीवनशैलीले दुई देशबीचको सम्बन्धलाई झनै प्रगाढ बनाएको उल्लेख गरे । रासस

सिभिल क्यापिटलले आईपीओ निष्कासन गर्ने, असोज १० गते विशेष साधारणसभा

काठमाडौं । सिभिल क्यापिटल मार्केट्स लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको निर्णय गर्न कम्पनीले असोज १० गते विशेष साधारणसभा बोलाएको छ । सभाले चुत्तापुँजी बढाउनका लागि हकप्रद सेयर आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । आईपीओ निष्कासन गर्नका लागि संस्थापक सेयर संरचना समायोजन गर्नका लागि आवश्यक कार्य सञ्चालन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गर्ने भएको छ । मर्चेन्ट बैंकरले पनि धमाधम आईपीओ निष्कासन गर्न लागेका छन् ।

काँग्रेसले कर नमान्ने देउवाको घोषणा

बर्दिया । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी बढाएर झन पीडा दिएको आरोप लगाएका हुन। उनले भने, ‘‘जनतालाई साँझ बिहानको छाक टार्न पनि गाह्रो भइरहेको बेला यसरी कर र महङ्गी बढाउँदा जनतामा सरकारप्रति मात्र होइन व्यवस्थाप्रति नै वितृष्णा आउन सक्छ ।’’ हाल बढाइएको करलाई मान्न आफ्नो पार्टी तयार नरहेको पनि उनको भनाइ थियो । सो अवसरमा महामन्त्री शशाङ्क कोइरालाले ५५ लाख युवा मुलक बाहिर श्रम बेचिरहेकाले उनीहरुलाई स्वदेशमै रोजगारीका लागि राज्यले ध्यान दिनुपनेमा जोड दिए । उनले पार्टीलाई एकढिक्का बनाएर लैजान कार्यकर्ताले पनि सहयोग गर्नुपर्ने धारणा राखे । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले करमाथि कर थपेको, जनतालाई सुरक्षाको अनुभूति दिन नसकेको र महङ्गी नियन्त्रण गर्न असफल भएको आरोप लगाए । प्रेस र न्यायपालिकामाथि हस्तक्षेप नगर्न पनि उनले सरकारलाई आग्रह गरे ।

विद्यार्थी कुट्ने २ जना शिक्षकलाई कारवाही

नवलपरासी । विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए । प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीले केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई अपशब्द प्रयोगका साथै हातपात गरेको आरोप शिक्षकद्वयमाथि लागेको छ । विद्यार्थीले दोषी शिक्षकद्वयलाई कारवाहीको माग राख्दै सुनबल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ पश्चिम नवलपरासीको परासीस्थित कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् । सुनबल नगरपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको दुई साता नपुग्दै शिक्षकद्वारा विद्यार्थीमाथि दुव्र्यवहार र हातपात भएको घटना बाहिर आएपछि यस घटनाप्रति सरोकारवालाको ध्यान केन्द्रित भएको थियो । गत मङ्गलबार कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक तिवारीले फरकफरक समुदाय र सम्प्रदायको उदाहरण दिँदा मधेश क्षेत्रको संस्कृति बताउने क्रममा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले विरोध जनाएका थिए । शिक्षक तिवारीले अध्यापनको क्रममा मधेशलाई लक्षित गरी ठेस पुग्ने शब्दको प्रयोग गरेको जनाउँदै विद्यार्थीले तत्कालै विरोध जनाएपछि शिक्षक तिवारी र प्रधानाध्यापक पाण्डेले आफूहरुलाई दुव्र्यवहार र हातपात गरेको जनाउँदै शिक्षा विकास तथा समन्वय एकाइमा विद्यार्थीद्वारा दिइएको उजुरीमा उल्लेख छ । तर यसबारे विद्यार्थीलाई सम्झाउने क्रममा दुःखद् घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकार गरे । यसबारे शिक्षा विकास तथा समन्वय एकाइमासमेत विद्यार्थीले उजुरी दर्ता गरेपछि तत्काल समस्या समाधान गर्न सुनबल नगरपालिकामा परिपत्र गरिसकिएको एकाइका प्रमुख दीपेन्द्र ढकालले जानकारी दिए । रासस विद्यार्थीले दोषी भनिएका शिक्षकमाथि कारवाही हुनुपर्ने माग गर्दै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । –––

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको अध्यक्षमा फुयाँल

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपालको अध्यक्षमा कृष्ण कुमार फुँयाल निर्वाचित भएका छन् । एसोसियसनको १७ औं साधारणसभाले फुयाँलको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । शनिवार सम्पन्न निर्वाचनमा फुयाँलले ४९ मत ल्याएर निर्वतमान अध्यक्ष रविन कुमार श्रेष्ठलाई पराजित गरेका हुन् श्रेष्ठले ३४ मत मात्रै ल्याएका थिए । अध्यक्ष सहित अन्य पदाधिकारी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु (३), महासचिव, उपसचिव, सचिव, कोषाध्यक्ष र सदस्य पनि चयन गरिएको छ । जसमा क्रमश उत्तम अधिकारी, नानीराज घिमिरे, शम्भु तिमिल्सेना, चोक कुमार श्रेष्ठ (राजन) महासचिवमा नवराज गौतम, उपमहासचिवमा ज्ञानेन्द्र दाहाल, सचिवमा ऋषिराज घिमिरे, कोषाध्यक्षमा दिपेन्द्र थापा, सदस्यहरुमा सौरभ श्रेष्ठ, त्रिलोक श्रेष्ठ, शंकर गौतम, रामकृष्ण श्रेष्ठ, योगेन्द्र पाठक, रुद्र न्यौपाने, बलराज पौडेल, दिवाकर गिरी, अमित शाह, सुरज बन्जाडे चयन भएका छन् । अध्यक्ष, उपाध्यक्ष र दुई सदस्यका लागि निर्वाचन भएको थियो ।

भूकम्प पीडितले लिएको कर्जाको ब्याजदर बढ्दैनः अर्थमन्त्री

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले भूकम्प पीडितका घर निर्माणका लागि उपलब्ध गराएको सहुलियत ऋणको ब्याजदर वृद्धि नगरिने बताएका छन्।अर्थ मन्त्रालय पुगेका भूकम्प सहुलियत कर्जा पीडित सहजीकरण तथा समन्वय समितिका प्रतिनिधिसँग आइतबार भेट गरी विगतमा जुन शर्तमा ऋण उपलब्ध गराइएको हो त्यसलाई निरन्तरता दिइने स्पष्टपारे। नेपाल राष्ट्र बैंकमार्फत वाणिज्य बैंकलाई पत्राचार गर्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री खतिवडाले पीडितले पनि नियमसङ्गतरुपमा कार्य पूरा गर्नुपर्नेमा जोड दिए । सांसद जीवनराम श्रेष्ठले पीडितले लिएको ऋणको ब्याजदर वृद्धि भए उनीहरुलाई थप पीडा हुने भन्दै पीडितलाई सरकारले विगतमा सुविधाका रुपमा उपलब्ध गराएको ऋणको ब्याजदर सम्झौता अवधिभर कायम गर्नुपर्ने बताए। भूकम्पपछि सरकारले विभिन्न वाणिज्य बैंकमार्फत काठमाडौँ उपत्यकाभित्रका पीडितलाई उनीहरुको चल, अचल सम्पत्ति तथा आम्दानीको मूल्याङ्कन गरी १५ लाख देखि २५ लाख रुपैयाँसम्म ऋण ५ देखि १० वर्षभित्र २ प्रतिशत ब्याजमा उपलब्ध गराएको थियो । उपत्यका बाहिरका पीडितलाई सोही ब्याजदरमा १५ लाख रुपैयाँभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरिएको थियो । समितिका प्रतिनिधिले पुनःकर्जा नवीकरणमा पनि शुल्क मिनाहा गर्न माग गरेका थिए । रासस

साफकप २०१८ को प्रत्यक्ष प्रशारण ‘एक्सन स्पोर्ट्स एचडी’ले गर्ने

काठमाडौं । नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्स एचडिले हाल भईरहेको साफ सुजुकीकप २०१८ लाई प्रत्यक्ष प्रशारण गरिरहेको छ । भर्खरै सम्पन्न भएको फिफा बिश्वकपलाई समेत प्रत्यक्ष प्रशारण गरेको एक्शन स्पोर्ट्सले ‘नेपालीले खेल्छ, नेपालीले हेर्छ’ भन्ने नारा सहित उक्त खेलको प्रत्यक्ष प्रसारण गर्दै छ । दक्षिण एशियाका ७ राष्ट्रहरु सहभागी यो प्रतियोगिता भदौ १९ देखि शुरु भई भदौ ३० गतेसम्म चल्ने छ । प्रतियोगिताका सबै खेलहरु उक्त एक्शन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१ मा एचडि पिक्चर क्वालिटिमा हेर्न सकिने छ । नेपालले बंगलादेश विरुद्धको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै २(० को जित हात पारि सेमिफाइनलमा प्रवेश गरेको छ ।

अर्थमन्त्रालयले भन्योः पुरक बजेट हल्ला मात्रै हो, सल्लाह भएको छैन

काठमाडौं । अर्थमन्त्रालयले पुरक बजेट ल्याउनेबारे कुनै छलफल नभएको स्पष्ट पारेको छ । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार रामशरण खरेलले पुरक बजेट ल्याउनेबारे कुनै छलफल नभएको बताए । पुरक बजेट ल्याउने हल्ला मात्रै होकी सल्लाह पनि हो ? भन्ने प्रश्नको जवाफमा खरेलले भने, ‘पुरक बजेट ल्याउने कुरा हल्ला मात्रै हो, अहिलेसम्म कुनै सल्लाह भएको छैन र त्यस्तो बजेट आउँदैन पनि ।’ नेकपा उच्च श्रोतले पनि पुरक बजेटबारे कुनै छलफल नभएको बतायो । नेकपा हाईकमाण्ड श्रोतले भन्यो, ‘अहिले पुरक बजेटका बारेमा छलफल भएको छैन् । प्रचण्डले विमानस्थलमा कुरा गर्दै भनेका थिए, “सामाजिक सुरक्षा भत्तालगायतका विषयमा आम नागरिकको तर्फबाट प्राप्त भएको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै पूरक बजेट ल्याउने विषयमा सामान्य चर्चा परिचर्चा भएको छ । विशेषगरी वृद्धभत्ताका विषयमा सम्बोधन गर्न सरकारले त्यस्तो व्यवस्था गर्न सक्छ, त्यो सरकारको राजनीतिक र संवैधानिक अधिकार हो ।” नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्री मण्डल हेरफेर हुने रहस्योद्घाटन गरे । आफ्नै निवासमा केहि सञ्चारकर्मीलाई बोलाएर प्रचण्डले त्यस्तो खुलासा गरेका थिए । त्यस लगत्तै प्रचण्ड भारत भ्रमणमा निस्किए । प्रचण्ड भारतमै रहेका बेला नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने कुरा हल्ला मात्रै भएको बताए । प्रचण्डले भारतबाट फर्कँदा विमानस्थलबाटै पुरक बजेट ल्याउनेबारे छलफल भैरहेको अर्काे रहस्य खोले ।