विकासन्युज

निःसहाय सेवा सदनको रजत जयन्ती तथा वार्षिक उत्सव सम्पन्न

काठमाडौं। पवित्र समाज सेवाको भावनाले ओतप्रोत भई २०४८ सालमा स्थापना भएको निःसहाय सेवा सदनले रजत जयन्ती भव्यताको साथ मनाएको छ । शान्तिनगरमा रहेको उक्त संस्थाले आफ्नै भवन परिसरमा रजत जयन्ती मनाएको हो । संस्थाको संस्थापक अध्यक्ष सगुन शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक माननिय मन्त्री थममाया थापा, त्यसै गरि विशेष अतिथिमा शताब्दी पुरुष सत्यमोहन जोशी, काठमाडौ महानगरपालिकाको उप मेयर हरिप्रभा खड्गी श्रेष्ठ लगायत अन्य विशिष्ठ व्यक्ति, समाजसेवीहरुको उपस्थिति रहेको थियो । उक्त अबसरमा रजत जयन्ती स्मारिकाको विमोचन गर्नुको साथै सेवा सदनलाई सहयोग पु¥याउनुहुने महानुभावहरुलाई प्रमुख अतिथि र विशिष्ठ अतिथिको हातबाट सम्मान गरिएको थियो । प्रमुख अतिथिले मन्तव्यको क्रममा ज्ेयष्ठ नागरिकहरु समाजको ईतिहास भएको हुँदा वहाँहरुको सम्मान गर्नुपर्ने बताए। त्यसैगरी अहिले समाजमा वलत्कार लगायतका विभिन्न घटनाहरु घटिरहेकोले कडा कानुन बनाउन लागिपरिरहेको बताउनु भयो साथै ज्येष्ठ नागरिकहरुलाई भत्तामा पनि बृद्धि गरिने बताएका छन्। रजत जयन्ती तथा वार्षिक उत्सवको अबसरमा विभिन्न शिर्षकमा सहयोग गर्नुहुने दाताहरु, कर्मचारी आदीलाई सम्मान गरिएको थियो ।

राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चितवनका तीन पांग्रे सवारी चालकहरु पुनः आन्दोलनमा उत्रिए

काठमाडौं। राजमार्गमा चल्न पाउनुपर्ने माग राख्दै चितवनका तीन पांग्रे सवारी चालकहरु बुधबारदेखि पुनः आन्दोलनमा उत्रिएका छन् । भरतपुर महानगरले राजमार्गमा चल्न नदिएपछि आफ्नु जीविका चलाउन नै मुश्किल भएको र महानगरको यो निर्णय अलोकतान्त्रिक हुनुका साथै गरिबी जनता मारा भएको भन्दै तत्कालै आफ्नो निर्णय सच्याउन उनीहरुले केही दिनदेखि दवाव दिन थालेका छन् । बुधबारदेखि आ – आफ्ना सवारीसाधनहरु थन्क्याएर वार्ताको लागि पहलमा जुटीरहेका सवारीचालक मजदुरहरुले शुक्रबार दिनभर भरतपुर महानगर अगाडी सवारी राखेर उनीहरुले चर्को नाराबाजी समेत गरेका थिए । मुख्य राजमार्ग बाहेकका राजमार्गमा मात्रै चलाउँदा परिवार पाल्न समेत मुस्किल भएको मजदुरहरुको गुनासो छ । ‘एक जनाको भरमा सिंगो परिवार पाल्नुपर्ने बाध्यता छ’, चालक विश्वराज अधिकारीले भने, ‘त्यसैले, हामी लाई कुनै पनि बाटोमा अवरोध गर्न पाइँदैन ।’ महानगरले मुख्य राजमार्गबाट धपाएर गरिब जनतामाथि अन्याय गरिरहेको उनले बताए । ‘हाम्रो सानो लगानी पनि डुब्ने स्थितिमा पुग्यो’, उनले भने, ‘लगानी डुब्नबाट जोगाउनका लागि पनि हामीलाई खुला रुपमा चल्न दिनुपर्छ ।’ भित्री सडकहरुमा यात्रु नै नपाइने हुँदा आफूहरुलाई साँझ–बिहानको छाक टार्नसमेत मुस्किल परेको अर्का चालक लोकनारायण श्रेष्ठको भनाइ छ । ‘मान्छेहरु कतै जान परे पनि मुख्य सडकमै निस्कन्छन्’, उनी भन्छन्, ‘त्यसैले गर्दा हाम्रो पेसा संकटमा पर्‍यो ।’ यात्रुको सहजतालाई हेरेर पनि मुख्य सडकमा चलाउन दिनुपर्ने उनको भनाइ छ । ‘मुख्य राजमार्गमा चलाउन नदिएपछि भित्रभित्रै घुमेर जाँदा यात्रुलाई भाडा पनि बढी पर्छ’, उनले भने, ‘कहिलेकाहीँ बिरामीलाई अस्पतालसम्म लैजान पनि समस्या छ ।’ बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर आफ्ना गुनासो राखेका चालक मजदुरले भरतपुरको चौविसकोठीदेखि महानगरपालिका कार्यालय गेट सम्म नाराबाजी गर्दै आफ्ना माग पुरा गर्न दवाव दिएका हुन्  । शान्तिपूर्ण विरोध प्रदर्शनको संयोजन गरेका तीन पांग्रे सवारी चालक पिताम्बर पौडेलले मुख्य राजमार्गमा नै चल्न नपाउँदा मजदुरको रोजीरोटी खोसिएको बताए । मूल सडकमा चल्न पाउँदा दैनिक २ हजार सम्म कमाई हुने गरेपनि हाल मुश्किलले १ हजार रुपैंया मात्रै कमाई हुने गरेको गुनासो गरे । “हामीले निर्वाध चल्न पाउनुपर्छ भनेका छैनौं”, उनले भने, “कम्तीमा मुख्य बजारको क्षेत्रमा एउटा लेनको व्यवस्था गरे स्वरोजगार हुन चाहेका हामीलाई गाहे हुने थिएन ।” चौविसकोठीदेखि पुल्चोक , लायन्सचोक पुल्चोक देखि रामनगर र केन्द्रीय बस ट्रर्मिनलदेखि टाँडी सम्म चल्ने वातावरण मिलाउन माग गरिएको उनले बताए । अखिल नेपाल इ–रिक्सा मजदुर संगठनका सुर्दशन बजगाईंले आफूहरुले महानगरपालिका समक्ष भरतपुरको डेढ किलो मिटर मूख्य राजमार्गमा एक महिनाका लागी अटो रिक्सा चल्न पाउनु पर्ने भनिए पनि मागप्रति बेवास्ता गरेपछी आफूहरु आन्दोलनमा उत्रनुपरेको बताए । भरतपुर महानगरपालिकाले दुई महिनाअघि मूख्य राजमार्गको ११ किलोमिटर क्षेत्रमा तीन पाँग्रे सवारीसाधन संचालन गर्नमा रोक लगाएको थियो । त्यसपछि चर्किएको आन्दोलनमा प्रहरीको गोली लागेर अटो रिक्सा चालक महेन्द्र सुनार गम्भीर घाईते भएका थिए । आन्दोलनमा उत्रिएका चालकहरुले महेन्द्रको परिवारलाई क्षतिपुर्ती दिन माग समेत गरेका थिए । विरोध प्रदर्शन स्वरुपमा उनीहरुले निधारमा कालोपट्टी बाँधेर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । बैंकको ऋण कसरी चुक्ता गर्ने :- सवारी चालक एक वर्ष अघि बैंकबाट ऋण लिएर अटो किनेका गैंडाकोटका सूर्य बहादुर कुमालले मासिक ९ हजार रुपैयाँ बैंकमा बुझाउनुपर्ने बताए । राजमार्गमा चल्न पाउँदा दैनिक २५ सय रुपैंया सम्म कमाई गर्ने उनले अहिले एक हजार रुपैयाँ समेत मुश्किलले कमाई हुने उनलेे बताए । ८ जनाको उनको परिवारमा उनी बाहेक उनकी आमा पनि मजदुरी गर्छिन् । विदेश नजाने सोचले स्वदेशमै विभिन्न क्षेत्रमा मेहेनत मजदुरी गर्दै आएका कुमाललाई बैकबाट ऋण लिएर सुरु गरेको स्वरोजगार अहिले निल्नु न ओकल्नु भएको छ । “विदेश जान्न परिवार संगै बस्छु दुख गरेपनि यहीँ नै गर्छु भनेर ऋण लिएर अटो किनेको थिएँ”, उनले मलिन अनुहारमा भने, “ विदेश नगए हामी दुखी लाई त भात खान पनि नपुग्ने रहेछ ।”कुमालकै जस्तो अर्का तीन पांग्रे सवारी चालक अर्जुन श्रेष्ठको ब्यथा पनि उस्तै छ । मासिक १५ हजार बैंकको व्याज बुझाएर बांँकी रहेको कमाई बाट ४ जनाको परिवार धानेर बचत समेत गर्ने उनको योजना अहिले तुहिएको छ । “राजमार्गमा चल्न पाउँदा यात्रुको कमी हुन्थेन , अहिले त बकुल्लाले माछा कुरे जस्तो यात्रु कुर्नुपर्छ अनि कसरी कमाई हुन्छ ?” उनले प्रश्न गरे । महानगरले आफु जस्ता थुप्रै मजदुरको जीवनयापन कष्टकर बनाइदिएको उनले गुनासो गरे । चितवनमा ३ सय ३५ को हाराहारीमा तीन पांग्रे सवारी साधन चलिरहेका छन् । ती मध्य करिव १ हजार ५ सय सवारी चालकको आन्दोलनमा सहभागि भएका थिए ।   अधिकांश सवारी चालकले बैकबाट ऋण लिएर पनि सवारी साधन किनेर चलाएका छन् । विदेश गएर फर्किएका, विदेशमा भन्दा स्वदेशमै केही गरौं भनि हौसिएका निम्न वर्गिय सर्वसाधारणलाई भरतपुर महानगरको निर्णयले असहज बनाएको मजदुरहरुको गुनासो छ । माग पूरा नभए हामी चुप लागेर बस्दैनौं – ट्रेड युनियन कांग्रेस यता, भरतपुर महानगरपालिका र ट्रेड युनियन कांँग्रेस बीच  जुहारी नै चलेको छ । महानगर निर्णयविरुद्ध पछि नहट्ने बताउँछन् भने, ट्रेड युनियन कांँग्रेस जसरी भए पनि निर्णय बदर गरेरै छाड्ने बताउँछन् । यी दुइको जुहारीले यात्रुलाई सकस हुने प्रायः निश्चित छ । जिफन्ट, ट्रेड युनियन महासंघ र ट्रेड युनियन नेपाली कांँग्रेसका मजदुरले संयुक्त आन्दोलन गरिरहेको भन्दै तत्कालै आफ्ना माग पुरा नभए आन्दोलनका सशक्त कार्यक्रम तय गर्न बाध्य हुने समेत चेतावनी दिएका छन् । तत्कालका लागी उनीहरुले शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडि बाट महानगरपालिकाको गेटसम्म विरोध र्‍याली निकालेका छन् । भोलि आइतबार १२ बजेसम्म माग पुरा नभए आन्दोलनले चर्को रुप लिने ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष हरिहर सापकोटाले बताउँछन् । आन्दोलन गर्नुको कुनै अर्थ छैन : महानगरपालिका यता, भरतपुर महानगरपालिकाले भने अटो चालक मजदुरहरुले आन्दोलन गर्नुको कुनै अर्थ नभएको बताएको छ । साउन ५ गतेदेखि नै मुख्य राजमार्गमा चल्न नदिने निर्णय गरेको भरतपुर महानगरले साउन ७ गतेदेखि पूर्णरुपमै मुख्य सडकमा चल्न रोक लगाएको थियो । ‘निर्णय कार्यान्वयन भइसकेको दुई महिनापछि आन्दोलन गर्नुको कुनै अर्थ छैन’, महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘कार्यान्वयन भइसकेको निर्णयबाट महानगर कुनै पनि हालतमा पछि हट्दैन ।’ महानगरले भावी दिनमा छ लेनको सडक बनाउने योजना बनाएको जानकारी गराउँदै उनले भनिन्, ‘हाम्रो सपना पूरा भएपछि सोच्न सकिन्छ, अहिलेको अवस्थामा यही बाटो साँघुरो भइरहेको छ ।’नयाँ अटो ट्याम्पो भित्रन नदिनका लागि केही महिना पहिले नै भौतिक मन्त्रालय र यातायात व्यवस्था विभागलाई महानगरले पत्राचार गरिसकेकोले नयाँ ट्याम्पो आउन समेत बन्द भइसकेको उनले दाबी गरिन् । ‘अहिले चलिरहेका ट्याम्पोहरु मात्रै हुन्’, उनले भनिन्, ‘नयाँ आउन बन्द भइसकेकाले बिस्तारै यसको संख्या पनि कम हुँदै जान्छ ।’ गत, साउनमा ट्याम्पो चालकले गरेको आन्दोलनमा गोली चल्दा एक जना मजदुर घाइते भएका थिए । महानगरले १४ वटा चोकहरुमा क्रसिङ प्वाइन्ट तोकेको थियो । तर, क्रसिङ प्वाइन्ट थप गर्न माग गरेपछि १८ वटा चोकमा क्रसिङ प्वाइन्ट तोकिएको उनले बताइन् । ‘पुल्चोकबाट गैँडाकोट जान पाउनुपर्छ भने हामीले दियौँ, रामनगर जान पनि दिनुपर्छ भने हामीले त्यो पनि दियौँ, टाँडी पनि जान पाउनुपर्छ भने त्यो पनि मान्यौँ’, उनले भनिन्, ‘त्यसैले महानगरलाई पेल्न खोजिएको मात्रै हो, अरु केही होइन ।’

नेपाल थाइल्यान्ड ट्रेड र बुमरुङग्राड इन्टरनेशनल अस्पतालबिच सहकार्य

काठमाडौं। नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले हेल्थकेयर प्रोभाइडर बुमरुङग्राड इन्टरनेशनल थाइल्यान्डसँग सहकार्य गर्ने भएको छ । बुमरुङग्राड एसियाकै ठुलो मध्यको एउटा अस्पातल हो । जहाँ ५८० बेड रहेका छन् भने ३० स्पेशल यूनिट सेन्टरहरु संचालनमा रहेका छन् । त्यस्तै यहाँ ७० वटा सहायक स्पेशल सेन्टर संचालनमा रहेको छन् । यो अस्पताल बैंकको मुख्य बजार सुकिम्भीत सोई ३ मा रहेको छ । नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडले चर्चित कम्पनी एसिया प्यासिफिक हेल्थकेयर इन्डस्ट्रि र बुमरुङग्राड इन्टरनेशनलसँग सहकार्य गर्दै थाइल्यान्डबाट वस्तु तथा सेवाहरु सहज रुपमा आयात गर्नेछ । बुमरुङग्राडले नेपाली विमारीको सेवा गर्दै स्थानीयको समर्थन पाउने अपेक्षा लिएको छ । यसका साथै बी टु बी कस्टुमरको डाउन स्ट्रिममार्फत नेपाल थाइल्यान्ड ट्रेड कोअपरेशन प्राइभेट लिमिटेडको नेटवर्क विस्तार गर्ने छ । यो साझेदारीबाट ग्राहकहरुले बुमरुङग्राडको गुणस्तरीय मेडिकल डायग्नोष्टिक र उपचारको अवसर प्राप्त गर्नेछन् । साथै यहि सहकार्यमार्फत विमारीहरुका लागि अनुभवी डाक्टर तथा नर्स, वल्र्ड क्लास क्लिनिकल इन्नोभेसन, र टेक्नोलोजीको व्यवस्था गरिनेछ । बुमरुङग्राड अन्तर्राष्ट्रिय अस्पतालले उच्च गुणस्तरीय मेडिकल केयर प्रदान गर्नुका साथै विभिन्न सेक्टरमा विशेषज्ञहरुको व्यवस्थापन गर्नेछ । बुमरुङग्राड अस्पताल पूर्णत मेडिकल इक्युपमेन्टले सुविधा सम्पन्न रहेको अस्पता हो । विश्वस्तरिय मेडिकल सेवा दिदै आएको यो अस्पताल विश्वकै उत्कृष्ट १० अस्पतालमा पर्दै आएको छ । वालस्ट्रिट जर्नलका अनुसार यो मेडिकल टुरिजमको सबैभन्दा उत्कृष्ट अस्पतालको सूचीमा रहेको छ । ग्लोवल हेल्थले प्रदान गर्ने एसिया प्यासेफिकको उत्कृष्ट मेडिकल टुरिजम अवार्ड २०१८समेत बुमरुङग्राडले जितेकोे छ । हेल्थ एसिया म्याग्जिनले ट्राभल एन्ड मेडिकल अफ दि एयर अवार्ड प्रदान गरेको थियो ।

आतंकवादले भन्दा साइबर क्राइमले ठूलो जोखिम निम्त्याउन सक्छ-विजयबहादुर शाह

विजयबहादुर शाह, अध्यक्ष–एआईआरडीसीगत साता राजधानीमा आयोजित एसोसियसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स कम्पनीज इन डेभलपिङ कन्ट्रिज (एआईआरडीसी)को २१ औं सम्मेलनले एआईआरडीसीको अध्यक्षमा विजय बहादुर शाहलाई चयन गरेको छ । नेपाल विमक संघको निवर्तमान अध्यक्ष शाह यसअघि सो संस्थाको उपाध्यक्ष हुनुहुन्थ्यो । एआईआरडीसीको सम्मेलनबाट नेपालले के सिक्यो र सो संस्थाको अध्यक्षको काँधमा के–के जिम्मेवारी आएको छ भन्ने विषयमा केन्द्रीत भई नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहनु भएका शाहसँग गरिएको विकास वहस यस अंकमा । एआईआरडीसी के हो ? यसलाई कसरी बुझ्ने ? एसोसियसन अफ इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स कम्पनीज इन डेभलपिङ कन्ट्रिज नामको संस्था ४० वर्षअघि स्थापना भएको थियो । यसको हेर्डक्वार्टर फिलिपिन्सको मनिलामा रहेको छ । एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका नियामक र बीमा कम्पनीहरु यसका सदस्य छन् । यसले बीमाको ज्ञान अभिवृद्धि, व्यवसायिक भाइचारा, बीमाका क्षेत्रमा आईपर्न सक्ने चुनौती व्यवस्थापनका लागि बहस चलाउने र पूर्व तयारी गर्ने गर्छ । यस संस्थाको अध्यक्ष बन्नुभएको छ । तपाईको काँधमा के के जिम्मेवारी आएको छ ? यो संस्थाको भर्खरै सम्पन्न साधारण सभाले मलाई अध्यक्ष चुनेको छ । यो मेरो लागि मात्रै नभएर नेपाली बीमा क्षेत्रका लागि नै खुसीको कुरा हो भन्ने लाग्छ । मेरो काँधमा एआईआरडीसीको उदेश्य पुरा गराउने जिम्मेवारी आएको छ । यसको मञ्चलाई उपयोग गरेर बीमा क्षेत्रलाई व्यवसायिक र अब्बल बनाउन भूमिका खेल्नु मेरो जिम्मेवारी हो । बीमा क्षेत्रमा नयाँ प्रडक्ट भित्र्याउने, प्रबिधि भित्र्याउने काम गर्नुपर्नेछ । एआईआरडीसीको २१ औं सम्मेलनबाट बीमा क्षेत्रले के सिक्यो ? हरेक सम्मेलनको एउटा नारा हुन्छ । यसपालिको नारा डिजास्टर रिस्क फाइनान्सिङ थियो । हामीले जल वायु परिवर्तनबाट भविष्यमा आउन सक्ने जोखिमबारे व्यापक छलफल गरेका छौं । जल वायु परिवर्तनले प्रलय ल्याउँछ । प्रलयले ठूलो आकारमा नोक्सानी गर्छ जसलाई व्यक्ति वा कम्पनीले जोखिम वहन गर्न सक्दैन । यस्ता ठूला प्रलयहरुले देश विकासमै अवरोध पनि ल्याउँछ । यस प्रकारका प्रलयहरुबाट हुने नोक्सानीको जोखिम वहन र फाइनान्सिङका लागि यो सम्मेलन फलदायी भएको छ । त्यस्ता प्रलयहरुको नोक्सानी व्यवस्थापन र फाइनान्सका केहि तरिका छन् । त्यो कुरा बीमा कम्पनी वा नियामक निकायले मात्रै होइन, देशले नै सिक्नुपर्ने देखिएको छ । विभिन्न फाइनान्सिङ प्रडक्टहरुका माध्यमबाट समयमै सम्बोधन गर्न सक्यौं भने भोलिका दिनमा प्रलयहरु आउँदा कसैको मुख ताक्नु पर्दैन । कसैको आस गरेर बस्नुपर्ने अवस्था रहँदैन । हामी आफैं पुननिर्माण गर्न सक्छौं भन्ने कुरा यो सम्मेलनबाट सिकेका छौं । यो नै सबै भन्दा ठूलो सिकाई हो भन्ने मलाई लाग्छ । नेपालमा कस्ता खालका प्रलयहरु भोग्नुपर्ने पूर्वानुमान गरियो र त्यसको जोखिम हस्तान्तरण कसरी गर्न सकिने देखियो ? यो सम्मेलनको उद्घाटनमा अर्थमन्त्री डा युवराज खतिवडाले पनि भन्नु भएको थियो कि अब प्राकृतिक र मानव सिर्जित साइबर रिस्क ठूला मुद्दा हुनेछन् । त्यससँगै आतंकवाद पनि अर्काे चुनौती हो तर त्यसलाई साइबर जोखिमले उछिनेको अवस्था छ । आतंकबादले भन्दा साइबर क्राइमले ठूलो जोखिम निम्त्याउन सक्छ । जल वायु परिवर्तनले भूकम्प, बाढी, पहिलो, अतिवृष्टि, अनावृष्टि, हिमताल बिस्फोटन लगाएका समस्या आउनसक्छ । जसले एकै पटक ठूलो मात्रामा नागरिकहरुलाई नोक्सानी पुर्याउन सक्छ । यो देशको समृद्धिका लागि जल विद्युतको सदुयोग गर्नुपर्ने भनिएको छ । ठूला हिमताल फुट्यो भने तटिय क्षेत्रका जलविद्युत आयोजना सहित अन्य पूर्वाधारमा क्षति पुर्याउन सक्छ । यो सम्मेलनमा जलवायु परिवर्तनको जोखिमले के के गर्न सक्छ र त्यसको जोखिम न्युनिकरणका लागि वित्तीय औजार के के हुन भन्नेबारे छलफल भयो । हिजोका दिनसम्म खासै महत्व नपाएको हनुमन्ते खोलाले यसपाली भक्तपुरमा डुबान समस्या ल्यायो जसले ठूलो क्षति गरेको थियो । जलवायु परिवर्तनले व्यापक जोखिम ल्याउँछ र त्यसको समयमै जोखिम हस्तान्तरण गर्नुपर्छ भन्ने हो । आज प्रविधिले टाइफुन आँधीले कति प्रभाव पार्छ ? कति समयमा अर्काे देशमा असर गर्छ भन्ने अनुमान गर्न सकिएको छ । भूकम्प बाहेकका अन्य प्राकृतिक जोखिमहरुको पूर्वानुमान गर्न सकिन्छ । अहिले त्यस्तो पूर्वानुमानहरुको प्रविधिमा पनि बीमा कम्पनीहरुले ध्यान दिनुपर्ने देखियो । त्यस्तो पूर्वानुमानको जानकारी दिन सकियो भने ठूलो धनजनको क्षति रोक्न सकिने सम्भावना उजागर भयो । सम्मेलनमा १६ देशका बीमा कम्पनीका प्रतिनिधि सहभागी भए । उनीहरुसँग त्यहाँका शिप र प्रविधिबारे जान्ने अवसर पायौं । सम्बन्ध सञ्जाल विस्तारको अवसर पाइयो । अब त्यसलाई सदुपयोग गर्ने सन्दर्भ आएको छ । त्यहाँ देखिएका अवसरहरुलाई यहाँ पनि अवसरका रुपमा उपयोग गर्ने कुुरा आउँछ । विदेशी विज्ञहरुले नेपालका बीमा कम्पनी अवस्था कसरी उजागर गरिदिए ? नेपालका प्रत्येक बीमा कम्पनीले आ–आफ्नो बीमाको जोखिम व्यवस्थापनको योजना बनाएका हुन्छन् । बीमा उद्योगमा कसैले पनि सम्पूर्ण जोखिम लिँदैन । जोखिम बहन गर्न सक्ने अवस्था नै रहेपनि सबै जोखिम आफैं लिँदैनन् । जति धेरै सम्पत्ति भएपनि सबै जोखिम आफैंले लिदाँ वा सम्पत्ति आफैंसँग राख्दा भोलि भवितव्य पर्दा कम्पनी जोखिममा पर्छ । त्यसैले पुनर्बीमा गरिएको हुन्छ । हामीले नियामक निकायले तोकेको मापदण्ड भित्र परेका पुनर्बीमा कम्पनीसँग मात्रै पुनर्बीमा गरेका हुन्छौं । बीमा कम्पनीलाई देशभित्रको जोखिम मात्रै हुन्छ । पुनर्बीमा कम्पनीलाई त अन्तराष्ट्रिय परिस्थितिको पनि जोखिम हुन्छ । पुनर्बीमा कम्पनीले विश्वभर व्यवसाय गरिरहेका हुन्छन् । आ–आफ्नो व्यवसाय अनुसार आफ्नो कम्पनी र लगानीको सुरक्षाका उपाय अवलम्बन गरिएको हुन्छ । हाम्रो देशकै रेटिङ नभएकाले हाम्रा कम्पनीहरुको पनि अन्तराष्ट्रिय रेटिङ गरिएको छैन । विदेशीहरुले हाम्रा कम्पनीहरुको अवस्था जान्न वित्तीय विवरण र कुन कम्पनीमा पुनर्बीमा गरिएको छ भनेर हेर्छन् । त्यसकै आधारमा नेपाली कम्पनीहरु छान्ने गरेका छन् र यसबाट नै हामीप्रति उनीहरुको दृष्टिकोण बन्ने गरेको छ । एसियाली क्षेत्रका बीमा कम्पनीहरु बढी जोखिम रहेकाे विषय आयो नि ? सबै भन्दा पहिले देशको रेटिङ के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । देशको सार्वभौम रेटिङले अर्थ राख्छ । कुनै देशको रेटिङ ए आयो भने त्यो देशको सरकारले लिएका विदेशी ऋणको सावाँ र ब्याज समयमै तिर्छ । जमानी बसेको छ भने समयमै तिर्न सकेन भने कुनै उपकरण उपयोग गरेर भए पनि तिरिदिन्छ भन्ने हो । तर हाम्रो देशको रेटिङ नै भएको छैन । तर पनि देशकै रेटिङ नभएको अवस्थामा कारोबार नै नहुने भन्ने चाँही हुन्न । अब कम्पनीका सवालमा कस्तो कम्पनीमा पुनर्बीमा गरिएको हो त्यसले महत्व राख्छ । त्यसकारण नेपाली बीमा कम्पनीहरुले राम्रा पुनर्बीमा कम्पनीहरु खोज्ने गरेका छन् । बीमा कम्पनीमा एक रुपैंयाँ प्रिमियम उठाउँदा एक सय रुपैंयाँको जोखिम वहन गरेका हुन्छौं । किनकी एकै पटक एक सय रुपैंया नोक्सान हुन्न भन्ने अनुमान गरिएको हुन्छ । तर प्रलय भयो भने कम्पनीले तिर्न सक्दैन र कम्पनीको जायजेथा बेचेर पनि तिर्न सक्दैन् । त्यसकारण नियामक निकायले महाप्रलय लगायतका अवस्थाका लागि छुट्टै पुनर्बीमा सन्धि गर्नु भनेको छ । आफ्नो जायजेथाले नभ्याउने भएपछि महाप्रलयको पुनर्बीमा गर्नुपर्छ भन्ने कुरा सम्मेलनले सिकाएको छ । बीमा क्षेत्रमा प्रविधिको सवाल पनि उठेको थियो, त्यसमा केहि ठोस निष्कर्ष निस्कियो ? ३ सेकेण्डमा दावी भुक्तानी गरिएको सवाल पनि सम्मेलनमा आएको थियो ।  त्यहाँ आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गरिएको थियो । नेपालमा ३ सेकेन्डमा नभए ३० सेकेण्ड होला । ३ मिनेटमै भएपनि ठूलो उपलब्धि हुनेछ । त्यति पनि नभए ३ दिनमै भुक्तानी गर्न सकिएछ भने पनि सफलता नै हुनेछ । प्रविधिको प्रयोग बिना बीमा सेवालाई छिटो छरिटो बनाउन अब असम्भव छ । किनभने मानिसको अपेक्षा बढिरहेको छ । क्षतिको भुक्तानी दिन ३ महिना लगाउने कम्पनीकोमा ग्राहक फर्केर जाँदैनन् । क्षति भएपछि ठाउँको ठाउँमै भुक्तानी दिने वा केहि घण्टामै भुक्तानी दिने प्रक्रिया अघि बढाउनुपर्छ । बीमालाई प्रविधिमैत्री बनाउने प्रक्रिया संसारभर सुरु भैसकेको छ । ठाउँको ठाउँमै वा केहि घण्टामै दावी भुक्तानी दिन हामीले पनि निकै प्रयास गरिरहेका छौं । १० वर्ष भन्दा अघिको बीमा क्षेत्र र आजको बीमा क्षेत्रले उपयोग गरिरहेका प्रविधिमा धेरै परिवर्तन आएको छ । तर यथोचित भएको चाँही पक्कै पनि छैन् । हामी अथाह बीमा बजार भएका देशहरुको बीचमा छौं । यद्यपी हामी बीमा सेवा निर्यात गर्न त सक्दैनौं तर त्यहाँको प्रविधि भित्र्याएर सस्तो र चाँडो सेवा प्रदान गर्न सक्छौं । बीमा कम्पनीहरुले त्यतातिर सोचिरहेका छन् । ३ सेकेण्डमा दावी भुक्तानी गरिएको सवाल पनि सम्मेलनमा आएको थियो । त्यसमा मानविय जनशक्तिको उपयोगले सम्भव थिएन् । त्यसमा अटोमेशन प्रयोग गरिएको थियो । त्यहाँ आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग गरिएको थियो । नेपालमा ३ सेकेन्डमा नभए ३० सेकेण्ड होला । ३ मिनेटमै भएपनि ठूलो उपलब्धि हुनेछ । त्यति पनि नभए ३ दिनमै भुक्तानी गर्न सकिएछ भने पनि सफलता नै हुनेछ । अब प्रविधिको उपयोग नगरि बीमा कम्पनीहरु टिक्नै सक्ने अवस्था छैन् । अबका उपभोक्ता प्रविधिमैत्री र तुरुन्तै सर्भिस चाहने खालका छन् । अब प्रणालीले काम गरेन, कर्मचारी बिदामा छ त्यसैले ढिलो भुक्तानी हुने भयो भनेर अब पार पाइन्न । बीमा कम्पनीलाई यो व्यवसायमा रहनु छ भने प्रबिधीमा लगानी गर्नुपर्छ । हिजोसम्म बीमा कम्पनीको पूँजी थोरै थियो । कति लगानी प्रविधिमा गर्ने भन्ने कुरा अन्यौलमै थियो । अब त बीमा कम्पनीको पूँजी एक अर्ब अनिवार्य भैसकेको छ । अब प्रविधिमा व्यापक लगानी गर्नुपर्छ । बैंक र बीमा कम्पनीका लागि अब प्रविधि नै ठूलो कुरा हो । हामीले चाहे पनि नचाहे पनि प्रविधि त अनिवार्य भैसक्यो । नेपालको अर्थतन्त्रका लागि ३९ वटा कम्पनी संख्यालाई सम्मेलनमा सहभागीहरुले कसरी हेरेको देखियो ? न्युजील्याण्डमा ८० वटा कम्पनी छन् तर त्यो सानो देश हो भन्ने कुरा चाँही उठेको थियो । संख्या महत्वपूर्ण कुरा होइन् । कुनै बेला बैंकहरुको संख्या धेरै थियो । आज घटिरहेको छ । भोलिका दिनमा बीमा क्षेत्रमा पनि त्यसको आवश्यकता महसुश गरियो भने मर्जर हुन सक्छ । बीमाको पहुँच बढाउन यो सन्दर्भ महत्वपूर्ण हुन आउँछ । खुला बजार अर्थतन्त्रमा राम्रो सेवा दिने कम्पनी रहने हो बाँकी आफैं पछि पर्दै जानेछन् । मैले छलफल गरेका विदेशी साथीहरुले यो विषयमा खासै कुरा केहि गरेनन् । यो विषय हामीले नै धेरै बुझ्ने सवाल भयो । न्युजील्याण्डमा ८० वटा कम्पनी छन् तर त्यो सानो देश हो भन्ने कुरा चाँही उठेको थियो । संख्या महत्वपूर्ण कुरा होइन् । कुनै बेला बैंकहरुको संख्या धेरै थियो । आज घटिरहेको छ । भोलिका दिनमा बीमा क्षेत्रमा पनि त्यसको आवश्यकता महसुश गरियो भने मर्जर हुन सक्छ । अझ माइक्रो इन्स्योरेन्स थपिन पनि सक्छन् । यो बजारले निर्धारण गर्ने कुरा हो, समयले आफैं कोर्षमा ल्याउँछ भन्ने मेरो निष्कर्ष हो । एआईआरडीसीमा नियामक, रि इन्स्योरेन्स, इन्स्योरेन्स कम्पनीहरु एकै ठाउँमा कसरी अटाए ? बीमा उद्योगसँग सरोकार राख्ने सबै संस्था एकै ठाउँमा आए भने समस्या समाधान र विकासका लागि सहकार्य गर्न सहज हुन्छ । छुट्टा छुट्टै बसियो भने एउटाको कुरा अर्काेले नबुझ्ने अवस्था आउँछ । यहाँबाट अघि सारिएका निष्कर्षहरुको कार्यान्वयन सहज हुन्छ । यो संस्थाको जुन संरचना छ, त्यसले बीमा क्षेत्रको विकासमै सहजता आउँछ । डिजिटाईजेशनका लागि पेपरलेस बनाउनु पर्छ । तर अहिलेसम्म नेपालको बीमामा कागज अनिवार्य गरिएको छ । भोली यसलाई हटाउन र डिजिटाइजेशनका लागि रेगुलेटरको अनुमति चाहिन्छ । डिजिटल पेपर स्वीकार गर्नका लागि कानुन नै सच्याउनु पर्छ । त्यसपछि प्रिमियम तिर्नेदेखि दावी भुक्तानी पनि पेपरलेस गर्न सक्छौं । ठूलो जनशक्तिको आवश्यकता नै पर्दैन् । ग्राहकले बीमा गर्ने हो, बीमा कम्पनीले क्षतिपुर्ति दिने हो । त्यसको बीचमा पेपरको रोकावटलाई फुकाउन यस्ता मञ्चहरुले नियामक र कम्पनीलाई छलफल गरेर निष्कर्षमा पुग्न सहजता प्रदान गरेको छ । एउटै मञ्चबाट साझा ज्ञान लिँदा सिंगो उद्योगलाई नै फाइदा पुगेको छ ।

राष्ट्रिय तेकवान्दो संघ नेपालको राष्ट्रिय रेफ्री तालिम सुरु

काठमाडौं। राष्ट्रिय तेकवान्दो संघ नेपालको आयोजनामा चितवनमा पुम्से र क्यारुगी खेलको राष्ट्रिय रेफ्री तालिम सुरु भएको छ । चितवन, नवलपरासी, मकवानपुर, पर्साका तेकवान्दो प्रशिक्षकहरुका लागि चितवनको भरतपुरमा आयोजना गरिएको तालिममा ७० जना सहभागी छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा तेकवान्दो खेल सम्बन्धी परिवर्तन भएका नीति नियमबारे जानकारी गराउनका लागि चितवनमा रेफ्री तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै प्रदेश ३ का सांसद एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले राज्यले खेलकुदको क्षेत्रमा आवश्यक लगानी नगर्दा खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाउन नसकेका बताए । असोज १४ गतेसम्म भरतपुरको कबर्ड हलमा हुने रेफ्री तालिममा राष्ट्रिय तेकवान्दो संघ नेपालका उपाध्यक्ष हरि बुढाथोकी र सचिव राकेशकुमार राईले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा सहभागी भएका रेफ्रीहरुले मात्रै तेकवान्दोको स्थानीय, जिल्ला स्तरीय, प्रदेश तथा राष्ट्रिय प्रतियोगिता खेलाउन पाउने राष्ट्रिय तेकवान्दो संघ नेपाल चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।

५७.३ मेगावाटको म्याग्दी खोला परियोजना बन्दै, १० अर्ब लगानी

काठमाडौं। हाइड्रो भिलेज प्राइभेट लिमिटेडले निर्माण गर्ने म्याग्दी खोला हाइडो पावर परियोजनाबाट उत्पादन गर्ने विजुली खरिद विक्री गर्न नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसिंह घिसिंग र म्याग्दी खोला हाइड्रो पावरका अध्यक्ष रामेश्वर थापाले हस्ताक्षर गरे । म्याग्दी जिल्लामा बन्ने ५७.३ मेगावाटको परियोजना १० अर्ब रुपैयाँको लागतमा निर्माण हुँदैछ । परियोजनाले सन् २०२३ मा विद्युतको ब्यवसायिक उत्पादन सुरु गर्ने लक्ष लिएको छ । ‘जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि समयमै परियोजना पूरा गर्न हामी प्रतिवद्ध छौं,’ आयोजनाका अध्यक्ष थापाले भने । परियोजनाका प्रबन्ध निर्देशक सुशिल पोखरलले आयोजनामा लगानी हुने ३० प्रतिशत रकम प्रत्यक्ष बैदेशिक लगानीबाट जुटाइने जानकारी दिए । अरु ७० प्रतिशत विभिन्न बैंकबाट ऋण लिएर लगानी गरिने छ । ‘अहिले हामी परियोजनालाई जोड्ने २४ किलोमिटर लामो पहुँच मार्ग निर्माणको तयारी गरिरहेका छौं,’ पोखरेलले भने, ‘आयोजनाको काम सुरु गरेको साढे ३ वर्षभित्रै विद्युत उत्पादन गर्ने गरी हामी काम अगाडि बढाउनेछौं ।’ परियोजनाले जारी गरेको विज्ञप्ति अनुसार यस आयोजनाले सुख्खा याममा १०३.११ गिगावाट आवर र बर्षामा २३२.८८ गिगावाट आवर गरी बार्षिक औषत ३३५.९९ गिगावाट आवर विद्युत उत्पादन गर्ने छ । उत्पादित विजुली प्राधिकरणले बर्षातमा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटमा खरिद गर्ने छ । धवलागिरी हिमालको आधारमा रहेको नदी प्रवाही (आरओआर) आयोजनाबाट उत्पादित विजुली आयोजनास्थलदेखि १७ किलोमिटर दूरीमा प्राधिकरणले निर्माण गर्ने कालीगण्डकी कोरिडोरको १३२ केभी डाँडाखेत सबस्टेसनमा जोडिनेछ ।

ओयोले गर्‍यो पोखरा प्रिमियर लिगको आतिथ्य साझेदारी घोषणा

काठमाडौं । ओयो, दक्षिण पुर्वी एसियाको सबैभन्दा ठुलो श्रृंखला होटेलले पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ । साझेदारको रुपमा ओयोले लिगमा भागलिने खेलाडिहरु र लिग मेम्बरका लागी बस्ने सुविधा प्रदान गर्ने छ । काठमाडौं रोयल, पोखरा पल्टन्स, चितवन राइनोज, बुटवल ब्लास्टर, बिराटनगर टाइटान्स र धनगढी ब्लुज कार्तिक ९ गते देखि सुरु हुने उक्त पोखरा प्रिमियर लिगमा सहभागी हुनेछन् । ज्ञापन पत्रमा हस्ताक्षर ओयोका नेपाल प्रमुख निशिद्ध हलानी तथा क्विन्स इभेंट म्यानेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाद्वारा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का तथा नेपाल हेड कोच जगत बहादुर तमट्टाको उपस्थितिमा रोयल एम्पायर बुटिक होटलमा भएको हो । कार्तिक ७ देखी खेलाडीहरू खेलमैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका बेला खेलको मज्जालिन फ्यानहरूले सजिलै ओयो होटलमा ५०% छुटमा रुम बुक गर्नसक्नेछन् । निशिद्धहलानीले भने, ‘पोखरा प्रिमियर लिगको आधिकारीक आतिथ्य साझेदारको रुपमा हामी सबै लिगसँग सम्बन्धित सबै फ्यानहरुका लागि आरामदायी तथा विश्वसनिय बसाइँको अनुभुति प्रदान गर्नेछौ । फ्यानहरूले आफ्नो टिमको खेल हेर्दै मनोरन्जन लिन सक्नेछन्।’

फास्ट ट्रयाक र एयरपोर्टसँगै वीरगञ्ज-काठमाडौं रेलमार्ग पनि निजगढमै

काठमाडौं । वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्ग पनि निजगढ हुँदै काठमाडौं आउने भएको छ । रेल विभागले पर्सा राष्ट्रिय निकुञ्जलाई छल्नका लागि वीरगञ्ज–काठमाडौं विद्युतीय रेलमार्गलाई जितपुरबाट सिमरा एयरपोर्ट हुँदै निजगढ ल्याउन लागेको हो । हाल भारत सरकारले यो रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिरहेको छ । ‘पर्सावन्यजन्तु राष्ट्रिय निकुञ्जलाई छल्नका लागि वीरगञ्ज काठमाडौं रेलमार्गलाई जितपुरबाट निजगढ ल्याउन लागेका हौं, फास्ट ट्रयाक आसपासबाटै त्यसको अलाइनमेन्ट बन्न सक्छ’, रेल विभागका महानिर्देशक बलराम मिश्रले विकासन्युजसँग भने । सो रेलमार्ग काठमाडौंको चोभारमा जोडिनेछ । यस अघि अर्थमन्त्री डा. युवराज खतिवडाले पनि वीरगञ्ज काठमाडौं रेलमार्ग र फास्ट ट्रयाक दुबैलाई चोभारमा जोड्ने बताएका थिए । ‘फास्ट ट्रयाकलाई चोभार जोड्ने व्यवस्था मिलाउन भनिसकिएको छ, भविष्यमा निर्माण हुने वीरगञ्ज–काठमाडौं रेलमार्गलाई पनि चोभारमै जोड्ने गरि अध्ययन अघि बढाउन भनिसकेका छौं’, मन्त्री खतिवडाले भनेका थिए । वीरगञ्ज–काठमाडौं विद्युतिय रेलमार्ग भारत सरकारले अनुदानमै निर्माण गरिदिने आश्वासन दिएको छ । १०० किलोमिटर भन्दा कम दुरीको हुने अनुमान गरिएको वीरगञ्ज काठमाडौं विद्युतिय रेलमार्गलाई कार्गो बोक्ने क्षमतामा निर्माण गरिनेछ । केरुङबाट काठमाडौं आउने रेलमार्ग टोखामा आउनेछ । सो रेललाई पनि चोभारसम्म पुर्याएर चीन र भारतीय रेलवे नेटवर्कलाई जोडिने महानिर्देशक मिश्रले बताए । विभागले पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जका कारण सिमरादेखि नवलपरासीको तम्सरियासम्मको रेलवे लिंकका लागि नयाँ डीपीआर बनाउने तयारी पनि थालेको छ ।