करोडौँ नक्कली भारु लिन जाँदा यूनुस अन्सारी सहित ६ जना पक्राउ
फाइल फोटो काठमाडौँ । नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुस मिया अन्सारीसहित छ जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् । ठूलो परिमाणमा नक्कली रुपैयाँ रहेकाले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अन्सारीसँगै अन्य दुई नेपाली र तीन पाकिस्तानी पनि पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । “एउटा सुटकेसको रकम गन्दा तीन करोड ५० लाख नक्कली भारु फेला परेको छ, अझै दुई सुटकेसको रकम गन्न बाँकी नै छ”, रञ्जितकाले जानकारी दिए । पक्राउपर्नेमा अन्सारीसहित सोपल खान र सुजन रानाभाट तथा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दिन र नाजीया अनुवर रहेका छन् । पाकिस्तानीहरु कतार एयरवेजबाट पैसा ल्याउँदै गरेका थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए ।
नेपाल राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र बिक्री गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले शुक्रबार एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले बोलकबोलको माध्यमबाट ऋणपत्र बिक्री गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीद गर्न सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन, दिनसमेत पाइनेछ ।ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा कर लाग्नेछ । बैंकका अनुसार इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । घटीमा रु पचास हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु पचास हजारले भाग गर्दा विशेष भाग जाने अङ्कमा खरीद गर्न सकिनेछ ।
सेन्ट जेभियरर्सलाई हराउँदै एनसीसीले जित्यो ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट-२०१९’
काठमाडौं । शंकरदेव कलेजले आयोजना गरेकाे ‘टीयू बीआईएम क्रिकेट टुर्नामेन्ट २०१९’ को उपाधि नेपाल कमर्श क्याम्पस(एनसीसी)ले हात पारेको छ । मुलपानी किक्रेट मैदानमा शुक्रबार(आज) भएको अन्तिम खेलमा सेन्ट जेभियरर्स कलेज (एसएक्ससी)लाई हराउँदै एनसीसीले उपाधि आफ्नो पक्षमा पारेको हो । टस जितेर बलिङ रोजेको एनसीसीले १७ ओभरमा जम्मा ४ विकेट गुमाएर १४० रनको टार्गेटलाई पुरा गरेको हो । उता सेन्ट जेभियरर्सले भने २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको थियो । जुन एनसीसीले १७ ओभरमै सजिलै १४० रनको टार्गेटलाई मिट गरी खेल जितेको छ । जितसँगै एनसीसीले ३० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता अर्थात रनरअप बनेको सेन्ट जेभिएरर्सले १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाएको छ । त्यस्तै, प्रतियोगिताको ‘म्यान अफ द मेडल’ एनसीसीका कप्तानसमेत रहेका दिपेन्द्र मैनालीले जितेका छन् । मैनालीले ट्रफी सहित सपिङ भौचर र स्पेशल फुडको कुपन प्राप्त गरेका छन् । यस प्रतियोगिता गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । जसमा ७ कलेजका खेलाडीहरु सहभागी भएका थिए ।
सन् २०२२ को विश्वकपमा ३२ टिम सहभागी हुने, ‘फिफाले ३६ करोड डलर कमाउने’
लुसान । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ । कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने यसअघिको निर्णय उल्ट्याउँदै ३२ टिमलाई मात्र समावेश गर्ने निर्णय गरिएको हो । फिफाले बढीभन्दा बढी टिमलाई समावेश गर्ने योजनालाई पनि हाल स्थगित गरेको छ । निकै छलफल र परामर्श पश्चात् टिम थप्ने प्रस्तावलाई रोकिएको फिफाले जनाएको छ । फिफाले टिम थप गर्ने वा नगर्ने भन्ने प्रस्तावलाई आगामी जुन ५ मा हुने फिफा कङ्ग्रेसमा समेत नलैजाने जनाएको छ । टिम थप्ने योजना फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको व्यक्तिगत परियोजना रहेको आक्षेप लगाइएको छ । कतार विश्वकपमा ४८ राष्ट्रका टिम राखिएको भए कतारलाई ३० देखि ४० करोड अमेरिकी डलर थप आम्दानी हुने एएफपीले जनाएको छ । फिफाले १२ करोड डलर टेलिभिजन प्रसारण अधिकार, १५ करोड मार्केटिङ अधिकार र ९ करोड टिकट बिक्रीबाट आम्दानी गर्ने प्रक्षेपण गरेको छ । रासस/एएफपी
कपिलवस्तुको चन्द्रौटामा प्रभु बैंकको शाखा बिस्तार
काठमाडौँ । प्रभु बैंक लि. ले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा शुक्रबारदेखि चन्द्रौटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले शाखा उद्घाटन गरेका हुन् । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले जनाएको छ । बैंकको चन्द्रौटा शाखा कार्यालयबाटस्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवा पाउने छन् ।
नयाँ शहर बनाउन १३ अर्ब खर्चिँदै सरकार, ‘काठमाडौंमा स्मार्टसिटी, मोफसलमा नयाँ शहर’
काठमाडौं । आधुनिक, सुविधा सम्पन्न र व्यवस्थित शहर निर्माण गर्ने लक्ष्यसहित शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका र त्यसभन्दा बाहिरका शहरहरुमा आगामी आर्थिक वर्षदेखि नयाँ शहरको निर्माण प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रालयले यसका लागि करिब १३ अर्ब खर्च गर्नेगरी योजना बनाएको हो । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/७७ मा ती शहरको निर्माण प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयसँग कुल १३ अर्ब २६ करोड रुपैंया माग गरेको हो, जसमध्ये २ अर्ब एकीकृत शहरी विकास कार्यक्रमका लागि तथा बाँकी सघन शहरी विकास कार्यक्रमका लागि ११ अर्ब २६ करोड रुपैंया विनियाेजन गरेको हो । सघन शहरी विकास कार्यक्रम अन्तर्गत निर्माण गरिने उक्त शहरमध्ये तराईमा २० ओटा जिल्ला सदरमुकाम, १२ ओटा नयाँ नगरपालिका सहित अन्य केही स्थानहरुमा एकीकृत शहरी पूर्वाधार विकास निर्माणकाे कार्य हुनेछ । त्यस्तै, वृहत् शहरी क्षेत्र विकास कार्यक्रम अन्तर्गत ३ ओटा मेगासिटीका लागि अध्ययन र पूर्वाधार विकास गर्ने, १३ ओटा स्मार्टसिटीको गुरुयोजना तयार गर्ने तथा हिमाली जिल्लाका ५ शहरहरुको अध्ययन गर्ने र ३५ नगरपालिकाहरुको डीपीआर तयार गर्ने कार्यक्रम छन् । उक्त कार्यक्रमअन्तर्गत रहेका उक्त परियोजनाहरु निर्माणका लागि मन्त्रालयले कुल ४९ अर्ब २४ करोड रुपैंया खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ । त्यसमध्ये १७ अर्ब ९६ करोड रुपैंया हालसम्म खर्च भएकोमा बाँकी ३१ अर्बको दायित्व सिर्जना भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, नयाँ शहर आयोजना अन्तर्गत मन्त्रालयले २७ स्थानमा एकीकृत शहरी विकास योजना तयार गरी नयाँ शहर विकास गर्ने योजना बनाएको छ । उक्त शहरहरुमध्ये १३ ओटा मध्यपहाडी लोकमार्गमा, १० ओटा हुलाकी लोकमार्गमा र ५ ओटा तराई मधेशका अन्य स्थानहरुमा हुनेछन् । यसका लागि मन्त्रालयले कुल २ अर्ब रुपैंया विनियोजन गरेको छ । काठमाडौं उपत्यकामा शहरी विकासको पूर्वाधारका लागि भने काठमाडौं उपत्यका विकास प्राधिकरणलाई १ अर्ब १४ करोड रुपैंया विनियोजन गरिएको छ । प्राधिकरणले उपत्यकाका ४ कुनामा स्मार्ट सीटीको डीपीआर निर्माण गर्ने योजना मन्त्रालयले बनाएको छ । विनियोजित उक्त रकम डीपीआरका साथै निर्देशित जग्गा विकास, शहरी सडक विस्तार, सार्वजनिक जग्गा संरक्षण विपद् व्यवस्थापन पार्क, सडक स्तरोन्नती समेतका कार्यक्रम छन् ।
नगरभरीका विद्यालयमा एउटै रङ, १ करोड रकम बिनियोजन
लम्की । कैलालीको टीकापुर नगरपालिकाका सबै सामुदायिक विद्यालयको रङ एउटै खालको लगाइने भएको छ । नगरपालिकाले नगरभित्र रहेका ३४ सामुदायिक विद्यालयमा एउटै खालको रङ लगाउन रु एक करोड रकम विनियोजन गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमै रङरोगनका लागि लागत अनुमान तयार गर्न थालेको छ । टीकापुर स्रोतकेन्द्रका स्रोतव्यक्ति धनबहादुर शाहले सामुदायिक विद्यालय एकै खालको देखाउन बजेट विनियोजन गरेको बताए । “पहेँला र कलेजी दुई प्रकारको रङ लगाउने सहमति भएको छ”, स्रोतव्यक्ति शाहले भने, ‘‘सामुदायिक विद्यालयको छुट्टै पहिचान स्थापित होस् भन्ने चाहना पनि हो ।’’ शाहीले अधिकांश सामुदायिक विद्यालय एक दशकभन्दा बढी समयदेखि रङरोगन नभएको अवस्था रहेकाले यो अभियानले राहत हुने बताए । सब इञ्जिनीयर गम्भीरसिंह साउदले प्राविधिकले लागत अनुमान तयार गरिरहेको बताउँदै रु १० लाखभन्दा कम लागत लाग्ने विद्यालयमा व्यवस्थापन समितिको सहयोगमा रङरोगन गरिने बताए । उनले भने, “१० लाख माथिका योजना भए ठेक्कामा दिने प्रचलन छ । जेठभित्र रङरोगन सक्ने गरी काम थालेका छौँ ।” नगरपालिकाले रङगरोगन गरिदिने भएपछि शिक्षक पनि खुशी भएका छन् । त्रिभुवन मावि बटनपुरका प्रअ रवीन्द्र कठायतले स्थानीय सरकारले सबै विद्यालयलाई समेट्ने गरी उदाहरणीय कार्य शुरु गरेको बताए । ‘‘सबै विद्यालय एउटै खालका देखिन्छन्, यसले विभेद अन्त्यमा समेत सहयोग पुगेको छ”, प्रअ कठायतले भने, “वर्षौंदेखि आर्थिक अभावमा रङरोगन गर्न नसकेका विद्यालयलाई राहतसमेत भएको छ ।” नगरपालिकाले शिक्षाको जिम्मेवारी स्थानीय तहमा आएपछि टीकापुरमा परीक्षा प्रणाली व्यवस्थित गरिएको जनाएको छ । नगरप्रमुख तपेन्द्रबहादुर रावलले शैक्षिक गुणस्तर वृद्धिका लागि विषयगत पाठ्ययक्रमसहितको योजना बनाएको शैक्षिक पात्रो हरेक विद्यालयमा उपलब्ध गराइएको बताए । “हरेक महीना प्रधानाध्यापक र व्यवस्थापन समितिसँग छलफल हुन्छ”, नगरप्रमुख रावलले भने, “विद्यालयमा राम्रा काम र समस्याबारे छलफल हुन्छ, बजेट आवश्यक भए कार्यपालिकाले निर्णय गर्छ ।” कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले सञ्चालन गर्न थालेको छ । नगरप्रमुख रावलले शिक्षा नियमावली पनि अन्तिम चरणमा रहेको बताउँदै शिक्षा नियमावली स्वीकृत भएपछि अझ शैक्षिक विकासमा सहयोग पुग्ने बताए । रासस
चितवन महोत्सवको ५५ लाख नाफा क्रिकेट रङ्गशालालाई, ‘१ करोड पुर्याइने’
चितवन । चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये रु ५५ लाख ५५ हजार ५५५ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरिने भएको छ । चितवन महोत्सव मूल आयोजक समितिले आज खर्च विवरण सार्वजनिक गर्दै महोत्सवमा रु तीन करोड ४४ लाख ५४ हजार ११७ आम्दानी गरेको जानकारी दिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले फाउण्डेसनसहित विभिन्न सङ्घसंस्थालाई रु ७१ लाख १३ हजार सहयोगपश्चात् रु ६९ लाख ९९ हजार ७९१ बचत भएको जानकारी दिए । उनले महोत्सवलाई सहयोग पुर्याउने स्थानीय गणेश मन्दिरलाई रु पाँच लाख १७ हजार, राष्ट्रिय आधारभूत माविलाई रु एक लाख, नेपाल आदिवासी जनजाति महासङ्घलाई रु एक लाख ५० हजार, सशस्त्र प्रहरी बल कुरिनटारलाई रु तीन लाख ४० हजार, जिल्ला प्रशासन कार्यालय चितवनलाई रु एक लाख, नेवाः पुचः नारायणगढलाई रु ७५ हजार, नारायणी कला मन्दिरलाई रु ७५ हजार र जिल्ला प्रहरी कार्यालय अगाडि विश्रामस्थल निर्माण गर्न रु दुई लाख सहयोग गर्न लागिएको जानकारी दिए । प्रधानले क्रिकेट रङ्गशालाका लागि रकम थप गरी रु एक करोड पुर्याइने बताउनुभयो । भरतपुर महानगरपालिका–१५ मा रङ्गशाला निर्माण गरिँदैछ । उद्योग वाणिज्य सङ्घको अगुवाइमा जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका आयोजक हुने गरी गएको पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सवको आयोजना गरिएको थियो । खर्च विवरणअनुसार भरतपुर महानगरपालिका आयोजक भएर पनि महोत्सवले महानगरलाई कर भुक्तानी गरेको छ । प्रत्येक कक्षको उठेको रकमको १० प्रतिशतका दरले बहाल कर रु आठ लाख ९५ हजार महोत्सवले महानगरलाई बुझाइसकेको छ । मनोरञ्जन कर रु तीन लाख ५० हजार र महोत्सव परिसर भाडाबापत रु १० लाख महानगरपालिकालाई महोत्सवले बुझाउन विनियोजन गरेको छ । प्रधानले महोत्सवमा बचेको रकमको २५ प्रतिशत आयकर रु १६ लाख ९९ हजार आन्तरिक राजस्व कार्यालय भरतपुरमा बुझाएको बताए । महोत्सवको हिसाब सार्वजनिक गर्न ढिलाइ भइरहेको गुनासो आइरहेकाबेला महोत्सव मूल आयोजक समितिले खर्च विवरण सार्वजनिक गरेको हो । महोत्सवको पाँच लाख दर्शकले अवलोकन गरेका थिए । रासस