विकासन्युज

बुधबार स्थगित अपर तामाकोशीको साधारण सभा अब असार ३१ मा

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको बुधबार स्थगित वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ। कम्पनीका अनुसार शुक्रबार मात्रै यस सम्बन्धमा सम्पूर्ण सेयरधनीलाई सूचना प्रकाशन गरेर साधारण सभाको विस्तृत जानकारी दिइने छ । कम्पनी नियमावली अनुसार साधारण सभामा ६७ प्रतिशत सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनु पर्नेछ । तर, बुधबार ५१ प्रतिशत संस्थापक र ५६ प्रतिशत मात्रै सर्वसाधारण शेयरधनी उपस्थित भएका कारण साधारण सभा स्थगित भएको थियो । साधारणसभामा ४ जना सञ्चालक निर्वाचनसँगै कम्पनीको निर्वाचन नियमावलीसमेत संशोधन गरी गणपुरक संख्या ५१ प्रतिशत कायम गर्ने प्रस्ताव गरिने बुझिएको छ । आठ लाख १८ हजार शेयरधनी रहेको उक्त कम्पनीमा चार जना सञ्चालकको निर्वाचनका लागि तीन महिला सहित १२ जनाले उम्मेदवारी दिएको कम्पनीले जनाएको छ ।

बिहीबारपनि घट्यो नेप्से, हिमालयन डिस्टिलरीको कारोबार १४ करोड ९७ लाख

काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १.१४ अंकले घटेको छ । ०.०९ प्रतिशतले परिसूचक घट्दा १२५७.१५ बिन्दुमा पुगेको छ । आज १७२ कम्पनीका १८ लाख ५४ हजार ६ सय ७६ कित्ता सेयर किनबेच हुँदा ६२ करोड ७९ लाख ८ हजार ८ सय १२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ, होटल, वित्त र अन्य समूह बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । बैंकिङ समूह ०.७२, होटल समूह १८.०८, वित्त समूह ३.४३ र अन्य समूह २.७१ अंकले बढेका हुन् । त्यसैगरी, विकास बैंक समूह २.६७, जलविद्युत समूह २.०७, निर्जीवन बीमा समूह १०१.३५, उत्पादनमूलक समूह १०.६१, लघुवित्त समूह १.६३, जीवन बीमा समूह २२.७४ र म्युचुअल फण्ड ०.०१ अंकले घटेका हुन् । आजपनि हिजोजस्तै हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी १४ करोड ९७ लाख ७१ हजार ५ सय रुपैयाँको सेयर कारोबार भयो । दोश्रोमा नेपाल बैंकको ५ करोड ६५ लाख ५५ हजार ६ सय रुपैयाँ, तेश्रोमा प्रभु बैंक लिमिटेडको ३ करोड ११ लाख २८ हजार ८६ रुपैयाँ, चौथोमा शिवम् सिमेन्टको २ करोड ९९ लाख १७ हजार ५ सय १० रुपैयाँ र पाँचौँमा सिद्धार्थ बैंक लिमिटेडको २ करोड ५५ लाख ३० हजार ४ सय ४४ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । बजारको घटेको दिन आज मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ९.१५ अंकले नाफा कमाएका छन् भने आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी ४.७५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

रु दुई लाख घुससहित सिँचाइका कार्यालय प्रमुख र इञ्जिनीयर अख्तियारकाे नियन्त्रणमा

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । बिहीबार कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो । अख्तियार कार्यालयको भीमदत्तनगरका सूचना अधिकृत टोपबहादुर विष्टले कार्यालय प्रमुख श्रीवास्तव र इञ्जिनीयर ठगुन्नाले कार्यालयमै उपभोक्ता समितिसँग काम सम्पन्न भएको रकम भुक्तानी दिनुपर्ने बेला घुस लिएको बताए । “तटबन्धको काम सकिएपछि उपभोक्ता समितिलाई कार्यालयबाट दिनुपर्ने भुक्तानीका क्रममा रु दुई लाख लिएको देखियो ।” विष्टले भने, “पूर्व सूचनाका आधारमा अख्तियारको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।” अख्तियारका अनुसार घुस लिएको रकम कार्यालय प्रमुख श्रीवास्तवले भान्सा कोठाको चामलको बोराभित्र लुकाएर राखेका थिए । सूचना अधिकृत विष्टले घटनाबारे अनुसन्धान भइरहेको बताउँदै थप कारवाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । रासस

सरिता भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

काठमाडौं । सरिता भट्ट नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी छिन् । नेपाल राष्ट्र बैंकको बुधबार बसेको बोर्ड बैठकले भट्टलाई कार्यकारी निर्देशकमा बढुवा गरेको राष्ट्र बैंकले जनाएको छ । वि.सं. २०४६ साल पुसमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेकी भट्ट यसअघि विदेशी विनिमय विभागमै निर्देशकको रुपमा कार्यरत थिइन् । कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाको अनिवार्य अवकाशपछि उनी सोही विभागमा कामू कार्यकारी निर्देशकको रुपमा रहेकोमा हाल उनलाई सोही विभागमा कार्यकारी निर्देशकको पूर्ण जिम्मेवारी दिइएको हो । नेपाल राष्ट्र बैंकमा रहँदा बैंकिङ कार्यालय तथा लघुवित्त सुपरीवेक्षण, बैंक सुपरीवेक्षण, विकास बैंक सुपरीवेक्षण तथा विदेशी मुद्रा विनिमय विभागमा लामो समय काम गरेको अनुभव छ । स्थायी ठेगाना काठमाडौं रहेकी कार्यकारी निर्देशक भट्टले व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको उपाधि हासिल गरेकी छन् । हालको व्यवस्थाअनुसार उनको कार्यकाल यही पुससम्म मात्रै रहनेछ ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागको निष्कर्ष, ‘नेपालमा १५ ओटा भन्दा बढी बैंक चाहिँदैन’

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा १५ ओटा भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको निष्कर्ष निकालेको छ । बैंकको सुपरीवेक्षण विभागले गरेको अनुसन्धानले नेपाली अर्थतन्त्रले १५ ओटा भन्दा बढी बैंक धान्नै नसक्ने देखाएको राष्ट्र बैंकले जनाएको हो । बिहीबार राजधानीको एक होटलमा वाणिज्य बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुसँगको छलफलमा यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । सो रिपोर्टको आधारमै राष्ट्र बैंकले मौद्रिक नीतिमा आवश्यक व्यवस्था गर्ने भन्दै त्यसका लागि फोर्स मर्जरमा जाने संकेत राष्ट्र बैंकले गरेको छ । यदि त्यसो नगर्ने भए अबको १५ दिनभित्र आआफ्नो पार्टनर आफैं खोज्न बैंकहरुलाई राष्ट्र बैंकले अल्टिमेटम समेत दिएको छ ।

भदौदेखि जापानको ओसाका उडान गर्ने निगमको तयारी, साउदी अरब र चीन नयाँ गन्तव्य

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो । निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र आह्वान गरिसकेको छ । यात्रुदेखि कार्गो एजेन्टका लागिसमेत ग्लोबल बोलपत्र आह्वान गरेको हो । जीएसएको टुङुगो एक महिनाभित्र लाग्ने निगमले जनाएको छ । जीएसए प्रक्रिया पूरा गरी दशैँअघिनै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिएका छन् । “साउदी उडानका लागि बोलपत्र आह्वान गरिसकेका छौँ, साउदीको सिभिल एभिएसनलाई बोलाएर अडिट गरेपछि आगामी अक्टोबर महिनासम्म उडान शुरु गरिनेछ”, उनले भने । साउदीमा विशेष गरी रोजगारीका लागि जाने नेपाली युवालाई लक्षित गरेर उडान गर्न लागिएको छ । सकेसम्म दशैँअघि नै रियाद विमानस्थलमा जहाज उडान गर्ने योजनाका साथ आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेको निगमले जनाएको छ । यो गन्तव्यमा निगमले साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) उडान गर्ने योजना छ । निर्धारित योजनाअनुरुप निगमले भदौ १२ गते (२९ अगष्ट २०१९०) देखि काठमाडौँ–ओसाका सिधा नियमित उडान गर्ने तयारी गरेको छ । यसअघि निगमले असार १९ गतेदेखि ओसाका उडान गर्ने योजना बनाए पनि टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकूल रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको थियो । निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । यस्तै, निगमले जापानको मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । निगमका अध्यक्ष मदन खरेलसहितको टोलीले हालै जापान सिभिल एभिएसनका अधिकारीसँग छलफल गरेको थियो । दुई पक्षीय बैठकपछि नारिता उडानका लागि सकारात्मक वातावरण बनेको सहायक प्रवक्ता कोइरालाले बताए । नारिता उडानका लागि छिट्टै कागजात पठाइनेछ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । यसरी, निगमले छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडान गर्नका लागि आवश्यक पहल गरिरहेको छ । चीनको गोञ्जाओ उडानका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा भइसकेको निगमका प्रवक्ता कोइरालाले बताएका छन् । उनले भने, “चीनको सिभिल एभिएसनले निगमको काजजातको सम्बोधन ‘डकुमेन्ट रेस्पोन्स’ गर्दै थप कागजात मागेकाले त्यो पनि पठाइसकेका छौँ अबको २० दिनभित्र उडान अनुमति पाउँछौँ ।”चीन नेपालका लागि उपयुक्त स्रोत बजार मानिन्छ । चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६३३ पर्यटक आएका थिए । यसरी, वाइडबडी ए ३३० जहाजबाट लामो गन्तव्यमा उडान भर्ने योजना अनुरुप निगमले जापान, चीन, साउदीलगायत अन्य गन्तव्य पनि खोजी गर्दैछ । दक्षिण कोरियामा पनि उडानका लागि पहल गरिरहेको जनाएको छ । निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् । रासस

इलाममा चिया परीक्षण भवन बन्ने, रु २६ करोडको लागतमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ । मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो । यसरी, दुई वर्षभित्र सम्पन्न हुने केन्द्रको बहुतले भवन निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा रु पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । सो कार्यमा साझेदारी गर्न आवश्यक बजेट विनियोजन गर्ने सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए ।“चिया परीक्षण केन्द्र बनाउन प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ”, उनले भने, “प्रदेश सरकारसँग हामीले साझेदारी गर्नुपर्ने आवश्यक रकम हामी विनियोजन गर्छौं ।” रु २६ करोडको लागतमा निर्माण हुने उक्त केन्द्रको भवनका लागि प्रदेश सरकारको ८० र नगरपालिकाको २० प्रतिशत साझेदारी हुनेछ । परीक्षण केन्द्र निर्माण भएपछि इलामको अर्थोडक्स चियाको बजार प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास चियाको किसानको छ ।परीक्षण केन्द्रको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन स्टिमेट तयार भइसकेकाले निर्धारित मितिभित्र नै निर्माण सकिने नगरप्रमुख राईले बताएका छन् । यहाँ निर्माण हुन लागेको चिया परीक्षण भवनमा चियाको प्राङ्गारिक परीक्षणसमेत गरिने जनाइएको छ । धेरै झञ्झट गरेर ठूलो मूल्यमा विदेश लगेर चियाको प्राङ्गारिक परीक्षण गर्ने काम पनि यो भवन निर्माणपछि अन्त्य हुने भएको छ । सर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार प्राङ्गारिक परीक्षणको सबै प्रक्रिया यहीँ गरिने र अन्तिम नतिजाका लागि मात्र विदेश पठाइनेछ । योसँगै यहाँ चियाको सूचना केन्द्रसमेत निर्माण गरिने छ । यसरी, चियासम्बन्धी जानकारीमूलक विषयको सोधखोजका लागि यहाँ सूचना केन्द्र निर्माण गर्न लागिएको हो । चिया व्यवसायी सोमन योल्मोले बहुउपयोगी प्रयोगका लागि निर्माण हुने यो भवन चियाको बजारीकरणमा देखिएको समस्या हल हुनसक्ने बताए । रासस

असार २७ गतेसम्म मर्जरका लागि पार्टनर खोज्न बैंकहरुलाई गभर्नरको अल्टिमेटम, नत्र ‘फोर्स’ गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २७ गते अघि नै मर्जरको लागि तयारी गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई होटल याक एण्ड यतिमा बोलाएर राष्ट्र बैंकले २७ गते मौद्रिक नीति आउने भन्दै सो दिनसम्म मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएको हो । अध्यक्ष तथा सीईओहरु सम्मिलित बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंकहरु मर्जरमा जानैपर्नेगरी राष्ट्र बैंकको नीति आउने बताउँदै सो समयभित्र कुन संस्थासँग कसरी मर्जरमा जान सकिन्छ, एकआपसमा छलफल गरेर तयारी अवस्थामा रहन निर्देशन दिएका हुन । उनले सो समयसम्म स्वेच्छिक रुपमा मर्जरका लागि तयारी नगरे बैंकहरुलाई फोर्स गरेरै भएपनि मर्जरमा लैजाने स्पष्ट संकेत समेत गरेका छन् ।