विकासन्युज

विश्व मुटु दिवसको अवसरमा नर्भिकले गर्यो प्रभातफेरी

  काठमाडौँ । विश्व मुटु दिवसको अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले शुक्रबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । गतवर्ष नर्भिकमा विविधखाले मुटुरोगको सफलतापूर्वक उपचार गराई नव जीवन प्राप्त गरेका बिरामीहरु, चिकित्सकहरु, नर्भिकका कर्मचारीहरु र सर्वसाधारणको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा नर्भिक हस्पिटलका मुटुरोग विभागीय निर्देशक प्राडा यादवदेव भट्टसहित अन्य मुटुरोग विशेषज्ञहरू, कर्मचारीहरू लगायत, संघ संस्थाका पदाधिकारीहरू गरी करिब २०० जना सहभागी थिए । प्रभातफेरि नर्भिकको प्राङ्गणबाट सुरु भई कुपण्डोल, पाटनढोका, कृष्णमन्दिर हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो । विश्व मुटु दिवसकै अवसरमा शनिबार एक मुटु रोग सम्बन्धी कार्यक्रम आयोजना गरिने हस्पिटलले जनाएको छ । कार्यक्रममा मुटुरोग, यसका जटिलताहरु, रोकथामका उपायहरु, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानीहरु, जीवन बचाउका उपायहरु आदि बारे विरामी पक्ष लगायत सर्वसाधारणलाई विशेष प्रशिक्षण दिइने कार्यक्रम छ । प्रशिक्षण प्राडा भट्टसहित मुटुरोग विशेषज्ञहरुको टोलीले नर्भिकको ओपीडी विभागमा दिने जनाइएको छ । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यस वर्ष सेप्टेम्बर २९ तारिखका दिन मनाइदै छ । विश्व मुटु महासंघको सन् २००५ को तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ७५ लाख भन्दा बढी मानिसहरूले रक्तनली, पक्षाघात तथा मुटुजन्य रोगका कारण ज्यान गुमाइरहेका छन् ।

माडी नगरपालिकाले सञ्चालनमा ल्यायो आफ्नै क्रसर उद्योग

चितवन । प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका–५ ब्रम्हपुरीमा रु एक करोड ३० लाखको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पूर्वाधार विकासमा आवश्यक पर्ने गिट्टी–बालुवा प्रशोधन गर्नका लागि नगरपालिकाले आफ्नै क्रसर उद्योग स्थापना गरेको हो । उद्योगबाट प्राकृतिक गिट्टी, विभिन्न आकारका फोरेका गिट्टी, कालोपत्रका लागि चिप, डस्ट, धोएको बालुवा उत्पादन हुने ढकालले बताए । एक हप्ताको परीक्षण अवधिपछि क्रसर नियमित रूपमा सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । हाल परीक्षणमा रहेको क्रसरमा नगरपालिकाले स्थानीय मगईखोलाको गिट्टी–बालुवा प्रयोग गर्नेछ । यससँगै अन्य खोलाको पनि वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा, गिट्टी, बालुवा निकालिने उनले बताए । ढकालका अनुसार प्रतिघण्टा २४ घनमिटर क्रसरको क्षमता रहेको छ । नगरपालिकाका विकास निर्माणका कामबाहेक स्थानीय र ठेकेदारलाई समेत यो उत्पादनले पुग्ने उनले जानकारी दिएका छन् । ढकालको अनुमानमा नगरपालिकालाई पुगेर पनि वार्षिक रु १० करोडभन्दा बढीको सामग्री बिक्री गर्न सकिनेछ । अत्याधिक दोहन नहुने गरी व्यवस्थित किसिमले खोलाको सतह गहिरिने गरी गिट्टी–बालुवाको प्रयोग गरिने नगरपालिकाले जनाएको छ । माडी नगरपालिकाले चालू आव २०७६÷७७ मा १८ किमीभन्दा बढी सडक कालोपत्र गर्दैछ । यो आवमा १० भन्दा बढी कल्भर्ट, नहर र पुललगायतका संरचना बन्ने नगरपालिकाले जनाएको छ । रासस

नेपाली बजारमा पाइने टाटाको सबैभन्दा सस्तो कार, मूल्य कति ?

काठमाडौँ । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले भारतीय अटोमेकर कम्पनीका विभिन्न मोडेलहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ । नेपालमा पाइने टाटाका कारहरुमध्ये ‘टियागो’ को बेस भेरियन्ट ‘टियागो एक्सइ’ सवैभन्दा सस्तो मोडेलका रुपमा रहेको छ, जसको बजारमूल्य रु.२४,९५,००० तोकिएको छ । यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्यागहरु, एबीएस सिस्टम, ईबीडी सिस्टम, चाइल्ड सेफ्टि लकजस्ता कुराहरु रहेका छन् भने कम्फर्ट फिचरका रुपमा म्यानुअल एयर कण्डिसन, हिटर, एडजस्ट गर्न मिल्ने ड्राइवर सिट, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्नमिल्ने हेड रेस्टजस्ता कुराहरु रहेका छन् । त्यसैगरी अन्य फिचरहरुको रुपमा यस कारमा आउटसाइड रियर भ्यू मिरर्स, रुफ माउन्टेड एन्टेना, सवै आवश्यक जानकारी डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट क्लष्टर, १२ भोल्टको ब्याट्रीजस्ता कुराहरु दिइएका छन् । यस कारमा प्रयोग भएको ११९९ सीसी ३ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ८५ पिएसको पावर र ११४ एनएमको टर्क प्रोड्यूस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले २३.८४ केएमपीएलको माइलेज दिन्छ । यसरी ५ सिटर यस कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३७४६ मिलिमिटर, चौडाई १६४७ मिलिमिटर र उचाई १५३५ मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १६५ मिलिमिटर रहेको छ । त्यसैगरी कम्पनीले ३५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक जडान गरेको छ भने पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिएको छ ।

आजदेखि पोखरा र गोरखाका लागि टिकट बुकिङ खुला

काठमाडौं । दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो । बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र गोरखाका विभिन्न स्थान जानका लागि टिकट लिन बसपार्क पुगेका थिए । गोरखा र पोखराका लागि नयाँ बसपार्कबाट मात्र टिकट लिने व्यवस्था गरिएको छ । दशैँको टिकट खुला भएसँगै संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारीसाधनमा जनचेतनामूलक सामग्रीसहितको पेनड्राइभ वितरण गरेको छ । ‘असल संस्कार सिकौँ सिकाऔँ’, ‘आफ्नो देश आफैं बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहकार्यमा बिहीबारदेखि पेनड्राइभ वितरण गर्न शुरु गरेको हो । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङ विगत वर्षमा सुरक्षित यात्राका लागि पर्चा र पम्प्लेट वितरण गरे पनि अभियानले सार्थकता नलिएकाले अहिले पेनड्राइभमार्फत जनचेतनामूलक कार्यक्रम प्रसारण गरिरहेको बताउँछन् । अहिले नयाँ बसपार्कबाट छुट्ने एक हजार सवारीसाधनलाई पेनड्राइभ वितरण गरिए पनि आगामी दिनमा देशैभर उक्त अभियान थालिने गुरुङले बताए । समाजले यसअघि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक होर्डिङ बोर्ड, हरेक हप्ता सरसफाइ, विद्यालयमा असल संस्कारसम्बन्धी कक्षा सञ्चालन र अनाथ तथा असहायलाई सहयोग गर्दै आएको छ । दशैँ लागेसँगै नयाँ बसपार्कमा दैनिकजसो यात्रुको भीड लाग्ने गरेको छ । दैनिक दुई हजारभन्दा बढी बस नयाँ बसपार्कबाट गुड्ने गरेका छन् । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर अभियानले चालक, सहचालक र यात्रुलाई सचेत बनाउने हुँदा दुर्घटनामा समेत कमी आउने बताए । चाडपर्वको बेला सुरक्षित यात्रामा अभियानले सहयोग पुग्ने उनको भनाइ छ । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायीको संयुक्त पहलमा नयाँ बसपार्कमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला यात्रुको समस्या समाधानका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको बताउँछन् । यात्रु सहायता कक्ष स्थापनासँगै कहाँ जाने भाडा कति भन्ने स्पष्ट हुने भएकाले यात्रु ठगिनेबाट जोगिने उनको भनाइ छ । महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख, प्रहरी निरीक्षक मुनेन्द्र थापा दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन र टिकटमा हुने कालाबजारी रोक्न ट्राफिक प्रहरी लागिरहेको बताएका छन् । दशैँका टिकट काट्ने हरेक काउन्टरको अगाडि भाडासमेत स्पष्ट रुपमा लेखेर यात्रुले देख्ने ठाउँमा टाँस्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । रासस

विजयादशमीको बिदामा समेत प्रभु बैंकले २४ शाखामा दशैं काउन्टर सञ्चालन गर्ने

काठमाडौँ । विजयादशमी बिदाको दिन समेत प्रभु बैंकले २४ शाखामा बैकिङ दशैँ काउन्टर सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यका भित्र ९ र उपत्यका बाहिर १५ शाखामा दशैँ काउन्टर सञ्चालन गर्ने प्रभु बैंकले जनाएको छ । असोज २१ गते विजयादशमीका दिन भने बैंकिङ सेवा बन्द रहने जनाइएको छ । दशैँ काउन्टरमा बढी १ लाख रुपैयाँको चुक भुक्तानी हुने र रेमिट्यान्स रकम बढीमा ५० हजारसम्म भुक्तानी लिन सकिने छ ।

सिटिजन्स बैंकमा फर्किए राजनसिंह भण्डारी

काठमाडौं । प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएको ८ महिनापछि राजनसिंह भण्डारी सिटिजन्स बैंकमा फेरि फर्किएका छन् । तर प्रमुख कार्यकारी अधिकृतकाे हैसियतमा हाेइन, सञ्चालक समितिकाे अध्यक्षकाे हैसियतमा बैंककाे नेतृत्व गर्दैछन् । शुक्रबार हुन गइरहेको बैंकको साधारणसभामा रहेको ३ जना प्रोमोटर र एकजना सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक निर्वाचनमा ४ जनाको मात्रै उम्मेदवारी परेपछि उनी बैंकमा भित्रने निश्चित भएको हो । सञ्चालकहरुको निर्वाचन गर्न गठित निर्वाचन समितिका संयोजक विवेक घिमिरेले ४ जना सञ्चालकका लागि ४ जनाको मात्रै उम्मेदवारी परेकोले शुक्रबारको साधारणसभाबाट उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरिने जानकारी दिए । त्यस्तै, सिटिजन्स बैंकमा प्रमोटरका तर्फबाट  प्रवलजंग पाण्डे र सजन शर्मा सञ्चालक बन्ने भएकाे छन् । पाण्डे नेपाल उद्याेग वाणिज्य महासंघकाे कार्यसमिति सदस्य हुन् । केही वर्षअघि उनकाे बुबा प्रदिपजंङ्ग पाण्डेले यस बैंककाे अध्यक्षकाे जिम्मेवारी समालेका थिए । सजन शर्मा पूर्व सञ्चालक डाेलराज शर्माका छाेरा हुन् ।  त्यस्तै, सर्वसाधारण शेयरधनीका तर्फबाट महिला सञ्चालक सीता कार्की चुनिकी छिन । क्षमता, अनुभव र वरिष्टताकाे आधारमा राजनसिंह भण्डारी सिटिनन्स बैंकको अध्यक्ष बन्ने पक्का भएको स्राेतले बतायाे । छ । हाल अध्यक्ष रहेका डा. शंकर शर्माको कार्यकाल साधारणसभा समापनसँगै सकिने छ । नयाँ सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गर्नेछ । भण्डरी सिटिजन्स बैंक प्रबर्द्धकका साथै संस्थापक प्रमुख कार्यकारी अधिकृत  हुन् । उनले लगातार १२ वर्ष बैंककाे प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी समालेका थिए । उनलाई बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिन चाहेकाे थियाे । बाफियामा उल्लेखित २ कार्यकालको व्यवस्था देखाउँदै राष्ट बैंकले तेस्राे कार्यकालका लागि नियुक्ती नगर्न सञ्चालक समितिलाई संकेत दिएपछि बैंकले  भण्डारीलाई सल्लाहकारकाे रुपमा नियुक्त गरेको थियो । तर त्यसमा राष्ट्र बैंकको असन्ताेषपछि उनले सल्लाहकार पदबाट राजीनामा दिएका थिए । आफूभन्दा कनिष्ट व्यक्ति डेपुटी गभर्नर भएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । राष्ट बैंक छाेडेपनि उनले बैकिङ क्षेत्र छाेडेनन् । सिटिजन्स बैंकका संस्थापक भण्डारी प्रमुख कार्यकारी अधिकृत हुँदै अध्यक्ष समेत हुने निश्चित भएकाेछ । उनी नेपाल बैकर्स संघकाे अध्यक्ष समेत भएका थिए ।

आज विश्व पर्यटन दिवस, सबै पर्यटकलाई हानले २० प्रतिशत छुट दिने

काठमाडौं । ४० औं विश्व पर्यटन दिवस नेपालमा पनि शुक्रबार धुमधामका साथ मनाइँदै छ । ‘पर्यटन र रोजगारः सबैका लागि सुनौलो भविश्य’ भन्ने मूल नाराका साथ नेपालमा पनि सेप्टेम्बर २७ अर्थात असोज १० गते विश्व पर्यटन दिवस मनाइने भएको हो । दिवसका अवसरमा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्थाहरु मिलेर विविध कार्यक्रमको आयोजना गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघिय पर्यटन संगठनको आब्हानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाईदै आएको छ । सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको पर्यटन बोर्डले शुक्रबार राजधानीको ठमेलमा दिवसको औपचारिक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । पर्यटन क्षेत्र सँग सम्बन्धित ५० भन्दा बढि संघ सस्थाहरुले राजधानीको ठमेलबाट प्रभातफेरी निकाल्ने तयारी रहेको बोर्डले जनाएको छ । बोर्डले दिवसका अवसरमा सबैभन्दा बढि पर्यटक भित्र्याउने पर्यटन उद्योगलाई सम्मानित समेत गर्ने बोर्डका सिनियर डाइरेक्टर हिक्मत सिंह ऐरले बताए । बोर्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, र पर्यटक भित्रिने मुख्य नाकाहरुमा नेपाल भित्रिने पर्यटकहरुलाई त्यहाँका पर्यटक सँग सम्वन्धित संस्थाहरुबाट विशेष स्वागत गर्ने जनाएको छ । यस्तै होटल एसोसिएसन अफ नेपालले नेपाल भित्रिने पहिलो दुई अन्तराष्ट्रिय पर्यटकलाई ५० प्रतिशत छुट र सबै पर्यटकलाई २० प्रतिशत छुट सहितको कुपन प्रदान गर्ने जनाएको छ । हानले विविध झाँक्री सहितका साँस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । यस्तै देशभर विभिन्न कार्यक्रहरु गरी विश्व पर्यटन दिवस मनाइने जनाएको छ । पर्यटन सम्बन्धि संघं सस्थाहरुले विभिन्न जिल्लाहरुमा हेल्थ चेकअप, साँस्कृतिक कार्यक्रमहरु र पर्यटन सम्वन्धि विविध कार्यक्रम गरी दिवस मनाउने भएका छन् । ठमेलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका राज्यमन्त्री धनबहादुर बुढाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना हुने बोर्डले जनाएको छ । यो कार्यक्रमले पनि नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन धेरै सघाउ पुग्ने बोर्डले जनाएको छ ।

भ्रमण वर्षलाई थपिए २० पर्यटकीय बस, १० मुख्य पर्यटकीय शहरमा चलाउने

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ । पोखरा मुख्य कार्यालय भएको कम्पनीले पर्यटकलाई सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज सञ्चालनमा ल्याएको हो । अहिले सुविधा सम्पन्न २० वटा गाडी सञ्चालनमा ल्याइएको छ । तीमध्ये १० वटा चार्टरमा र १० वटा मुख्य पर्यटकीय शहर पोखरा, चितवन, लुम्बिनीलगायतमा चलाउने योजना रहेको कम्पनीका प्रबन्ध निर्देशक मिलन नेपालले बताए । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा लिइएको पर्यटन क्षेत्रमा भावी विकासलाई मध्यनजर गर्दै लगानी बढाइएको उल्लेख गर्दै उहाँले यसले पर्यटन क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे । पर्यटकीय याममा ठूलो सङ्ख्यामा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै चार्टड सेवा ल्याइएको कम्पनीले उल्लेख गरेको छ । टोयटा ब्राण्डको यो गाडी आरामदायी र वातावरणमैत्री छ । सत्र सिट क्षमताको यो गाडीमा यात्रुको सुरक्षालाई विशेष महत्व दिइएको छ । आरामदायी सानो गाडीको जस्तै सुविधा रहेका यी गाडीको ढोका खुल्ला भएमा चालकले एक्सिलेटर पनि दबाउन सक्दैन । वीरगञ्ज, जनकपुरलगायत गन्तव्यमा पनि सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । अहिले प्रायः सबै पर्यटक बस बिहान ७ः०० बजे बसपार्कबाट छुट्छन् तर कम्पनीले बिहानको खाजा खाएर मात्र ९ बजेदेखि सेवा शुरु हुने जनाएको छ ।