एनआईसी एशियाको वार्षिक साधारण सभाले पारित गर्यो २१ प्रतिशत लाभांश
काठमाडौँ । एनआईसी एशिया बैंक लि.को २२औं वार्षिक साधारण सभा शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न साधारण सभा सम्पन्न भएको हो । उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले रु. १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय एक्काईस (रु.१,८५,९८,३७,६२१) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये १० प्रतिशतका दरले हुन आउने रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय सत्तरी (रु. ८८,३४,२२,८७०) बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने रु. ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ (रु. ९७,६४,१४,७५१) नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ । बैंकमा डिम्याट खाता हुने शेयरधनीहरुलाई शुक्रबारै नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको तथा डिम्याट खाता नहुने शेयरधनीहरुले यथाशीघ्र खाताको लागि बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्छः उपराष्ट्रपति पुन
चितवन । पराष्ट्रपति नन्दबहादुर पुन स्वास्थ्य र शिक्षालाई व्यापारीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २०औँ वार्षिकोत्सव तथा १५ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७६ को आज यहाँ उद्घाटन गर्दैं उनले सेवामूलक स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापारीकरण हुनु दुःखद् भएको बताएका छन् । “नागरिकलाई स्वस्थ बनाउन राज्यले जनस्वास्थ्यका क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्दै जानुपर्छ”, उनले भने, “गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्नुपर्दछ ।” उपराष्ट्रपति पुनले नेपालको परम्परागत चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेदिक, प्राकृतिक र होमियोपेथिक चिकित्सालगायत स्वास्थ्य पद्धतिको संरक्षण र प्रवद्र्धन गर्नुका साथै स्वास्थ्य क्षेत्रलाई सेवामूलक बनाउनुपर्नेमा जोड दिए । उनले भने, “सुविधा सम्पन्न निजी अस्पताल महङ्गा छन्, आधारभूत नागरिकले त्यहाँ पहुँच राख्न सकिरहेका छैनन् भन्ने गुनासा छन्, त्यसैले स्वास्थ्य सेवालाई सर्वसुलभ र सहज बनाउनुपर्दछ ।” उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरे पनि हाम्रा नागरिकले समान पहुँच पाउन नसकिरहेको उल्लेख गर्दै क्यान्सरलगायत सबै प्रकारका रोगको उपचार नेपालमै सम्भव भएको बताएका छन् । उनले भने, “हामीले अन्तिमसम्म आफ्नो देशमै उपचारको प्रयास गर्नुपर्दछ । त्यसका लागि स्रोत साधन, प्रविधि र आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यान दिनुपर्दछ ।” आज क्यान्सरका हजारौँ बिरामी भारतका विभिन्न अस्पतालमा पुगिरहेको बताउँदै उनले यसबाट नेपाली रुपैयाँ बाहिरिरहेको छ भने । उपराष्ट्रपति पुनले आफ्ना दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेपछि उपचारका लागि विदेश लान तयारी गरिएको भए पनि मेरो उपचार देशमा नै हुन्छ भनेर यही उपचार सम्भव भएको बताउँछन । बिरामी निको हुनका लागि मनोबल उच्च हुनुपर्ने उनको भनाइ थियो । उपराष्ट्रपति पुनले भने, “छिटो निको हुन र स्वस्थ रहन बिरामीमा मनोबल उच्च चाहिन्छ ।” हाम्रो संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको व्यवस्था गरेको उनको भनाइ थियो । उनले अहिले पनि उपचारको अभावमा नागरिकको मृत्युवरण भएको बताउँदै भने, “आजका दिनसम्म पनि हाम्रा कतिपय नागरिक औषधि उपचार नपाएर अकाल मृत्युवरण गरिरहेका छन् । एकाइसौँ शताब्दीको आजको समाजमा उपचारको अभावमा नागरिकले मृत्युवरण गर्नु पाच्य विषय होइन ।” कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले देशभरका सरकारी अस्पतालमा श्यया बढाउन र गुणस्तरीय उपचार दिन सरकार लागिपरेको बताए । यहाँको क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्ने योजना रहेको पनि उनले बताएका छन् । राज्यमन्त्री डा. यादवले सबै बिरामी यही आउनेभन्दा प्रदेश प्रदेशमा सामान्य समस्या समाधान हुने व्यवस्था मिलाइने जानकारी दिए । सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पतालको प्रगति प्रतिवेदन र भावी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । अस्पताल सञ्चालक समितिका सदस्य प्रा. डा. तारा मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, समाजवादी पार्टी चितवनका अध्यक्ष प्रेम भुजेल, अस्पतालका पूर्वअध्यक्ष डा प्रकाशराज न्यौपाने, चीनको हवे प्रोभिन्सका कुङ्ग संङ्ग विश्वविद्यालयका निर्देशक प्रा डा लिउ जि चुन, अस्पतालको चिनियाँ मेडिकल टिमका टोली नेता लिउलिउ, अस्पतालका उपनिर्देशक डा निर्मल लामिछाने लगायतले बोलेका थिए । सो अस्पताल चीन सरकारकाले २० वर्षअघि निर्माण गरिदिएको हो । यससँगै अस्पतालमा चीन सरकारले नियमित रुपमा चिकित्सकको समूह पठाउँदै आएको छ भने विभिन्न समयमा उपकरणसमेत प्रदान गर्दै आएको छ । रासस
नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा हुँदै
काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुँदैछ । असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारी पूरा भईसकेको खानेपानी मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सम्पूर्ण तयारी पुरा भईसकेको बताइएको हो । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम रहेकाले त्यो लक्ष्य पूरा भएको बताइन् । मन्त्री मगरले आउँदो असोज १३ गते नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने जानकारी दिइन् । ‘ नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्नेछ ।’ मन्त्री मगरले कार्यक्रममा भन्नुभयो, ‘सुन्दा अचम्म लागेपनि यसको महत्व के हो भनेर बुझ्नु जरुरी छ । नेपाललाई खुला दिसामुक्त घोषणा गरिसकेपछि हामी पूर्ण सरसफाइको अभियान तर्फ अग्रसर हुनेछौं ।’ मन्त्री मगरले नेपालका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त घोषणा भइसकेको जानकारी गराइन् । उनले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाएर आज नेपाल नै खुला दिसामुक्त राष्ट्र हुने स्थितिमा पुगेको भन्दै खुसी व्यक्त गरिन् । ‘ हामीले २०६८ सालमा सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने अभियान सफल सावित भएको छ ।’ मन्त्री मगरले थप स्पष्ट पार्दै भन्नुभयो, ‘यो अभियानमा सरकारको भन्दा नेपाली जनता र मिडियाको भूमिका धेरै छ । यो कुरा अरु देशका लागि पनि प्रेरणादायी हुन सक्छ ।’ कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खुला दिसामुक्त अभियान स्वास्थ्यसँग जोडिएकाले यसको महत्वलाई सामान्यीकरण गर्न नहुने बताए । सचिव बेल्बासेले जनताको प्रत्यक्ष लगानीले नै यो अभियान सम्भव भएको स्पष्ट पारे । पत्रकार सम्मेलनमा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् । ‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ । देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भईसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं ।’ सहसचिव रितेशकुमार शाक्यद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएलगत्तै त्यसको दुई दिन पछि छिमेकी मुलुक भारतले पनि आफूलाई खुला दिसामुक्त मुलुक घोषणा गर्न लागेको छ । कति बने शौचालय ? २०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको हो । यो अभियानले शून्य अनुदानमा घरघरमा शौचालय बनाउने कामलाई कार्यान्वयन गर्यो । नागरिकको पूर्ण लगानी र सहभागितामा यो अभियान सफल भएको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ । समितिका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् । प्रदेश १ मा ९ लाख ६५ हजार २७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् । त्यस्तै प्रदेश ३ मा १६ लाख २२ हजार १९३, गण्डकी प्रदेशमा पाँच लाख ४८ हजार २१०, प्रदेश ५ मा सात लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा तीन लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।
एनसीसी बैंकद्वारा अपाङ्ग बाल अस्पताललाई २५ लाख आर्थिक सहयोग प्रदान
काठमाडौँ । एनसीसी बैंकले प्रदेश नं. ३, काभे्र जिल्लाको बनेपा स्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई बिहीबार पच्चीस लाख बयालिस हजार एक सय नब्बे रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई अतिविपन्न समुदायका अपाङ्गता भएका बालबालिकाहरुलाई चिकित्सा सहयोग गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको बैंकले जनाएको छ । उक्त रकमको चेक एनसीसी बैंकका संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका प्रबन्ध निर्देशक डा. विवेक बास्कोटालाई हस्तान्तरण गरेका हुन् ।
होटल व्यवसायी सङ्घद्वारा सीमा नाकामा भारतीय पर्यटकको स्वागत
कैलाली । विश्व पर्यटन दिवसको अवसरमा कैलालीको त्रिनगर भन्सार सीमा नाकामा भारतबाट आउने पर्यटकलाई आज स्वागत गरिएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ र कैलाली होटल व्यवसायी सङ्घको संयुक्त आयोजनामा भारतको पलिया व्यापार मण्डलका अध्यक्षलगायतको टोलीलाई फूलमाला तथा खादा ओढाइ स्वागत गरिएको हो । स्वागतका क्रममा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले नेपाल र भारत बीचको भाइचाराको सम्बन्ध रहेकाले आफूबाट हुनसक्ने सक्दो सहयोग गर्न तत्पर रहेको बताए । साथै उनले नेपाल सरकारले मनाइरहेको ‘पर्यटन भ्रमण वर्ष २०२०’ एकदमै राम्रो र शोभनीय कार्यक्रम रहेको विचार व्यक्त गरेका छन् । सहजीकरणको व्यवस्थापन आवश्यक सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि पर्यटकलाई गन्तव्य स्थानसम्म पुग्नका लागि सहजीकरण वातावरणको व्यवस्थापन गरिनु आवश्यक रहेको कार्यक्रममा सहभागीले बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजत विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवद्र्धनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागीले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलगायतका व्यवस्थापन प्रणालीमा सहजीकरण गरेर मात्रै पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्न सकिने सुझाव दिएका हुन् । सहभागी वक्ताले धार्मिक तथा सांस्कृतिक सम्पदाहरुलाई आस्थाका केन्द्रविन्दुमा राखी प्रचार–प्रसार गर्नुपर्ने, पर्यटकका लागि पर्यटकीयस्थलसम्म पुग्न सकिने राम्रो बाटोघाटो, गाँसबासलगायत उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् । त्यसैगरी भारतीय पर्यटक तथा पलिया व्यापार मण्डलका अध्यक्ष अनुप मिश्राले पर्यटकको सहजताका लागि सीमानाकामा हेल्पडेस्क राखिनुपर्ने बताउनुहुँदै अनावश्यक जाँचलगायतका हैरानी हटाउन आग्रह गरेका छन् । कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पुष्कर ओझाले पर्यटनको प्रचुर सम्भावना रहेको सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धनको विकासका लागि स्थानीय र प्रदेश सरकारसँग हातेमालो गरी अघि बढ्नु आवश्यक रहेको बताए । रासस
सिटी सेन्टरले घोषणा गर्यो ‘दशैँ बोनाञ्जा’ अफर, लक्की ड्र मा टीभीएस मोटरसाइकल जित्ने मौका
काठमाडौँ । दशैँ पर्वको अवसरमा सिटी सेन्टर कमलपोखरी काठमाडौँले ‘दशैँ बोनाञ्जा’ अफर घोषणा गरेको छ । यो अफर अन्तरगत ग्राहकरुले सामान खरिदमा विशेष छुट पाउने छन् । उक्त अफर अन्तरगत सिटी सेन्टरमा कुनैपनि सामान किन्ने ग्राहकहरु लक्की ड्र मा सहभागी हुने छन् । लक्की ड्र का भाग्यशालीहरुले प्रथम पुरस्कार स्वरुप टीभीएस आरटीआर १५० सीसी, द्वितीय पुरस्कार टीभीएस जुपिटर ११० सीसी, तृतीय पुरस्कार ४३ ईञ्चको एलईडी टीभी(२जनालाई), चौथो पुरस्कार डबल डोर रेफ्रिजेटर, पाँचौँ पुरस्कार फ्रण्ट डोर वासिङ मेसिन र छैठौँ पुरस्कार भ्याकुम क्लिनर, हलोजेन हिटर र आइरन जित्न सक्नेछन् ।
प्रश्नपत्रमा उत्तर भेटिएपछि पुनःपरीक्षा गराइयो
गुल्मी । प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि परीक्षा स्थगन गरी पुनःपरीक्षा गराइएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिएका छन् । प्रश्नपत्रमा समावेश हुने सबै ४० वटै प्रश्नको उत्तर प्रश्नपत्रमा नै छापिएको थियो । केन्द्राध्यक्ष थापाले आयोगले जाँच गर्दा आवश्यक पर्ने उत्तरकुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनःपरीक्षा गराइएको बताए । नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यही समस्या आएको उनले जानकारी दिएका छन् । सोही केन्द्रमा परेका अन्य प्रश्नपत्र ठीक भएकाले तोकिएकै समयमा नै परीक्षा सञ्चालन भएको छ । शिक्षक सेवा आयोगले गत असोज ९ गतेदेखि ११ गतेसम्म प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको परीक्षा लिइरहेको छ ।
भत्तासहित रात्रीभोज नपाएपछि सिटिजन्स बैंकको साधारणसभामा हुटिङ, दशैंअघि सेयरधनीको खातामा ३ अर्ब जम्मा हुँदै
काठमाडौं । एनआईसी एशिया बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको सेयरधनीका लागि खुशीको खबर छ । दशैंअघि नै दुबैं बैंकले सेयरधनीलाई बोनस खातामा हालिदिने भएको छ । शुक्रबार सम्पन्न एनआईसी एशिया बैंकको साधारणसभाले ११ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस प्रस्ताव पारित गरेको छ । नगद वाफत ९७ करोड ६४ लाख रुपैयाँ सेयरधनीलाई वितरण गर्दै छ भने ८८ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछ । त्यस्तै, शुक्रबार नै सम्पन्न सिटिजन्ज बैंक इन्टरनेशलनको साधारणसभाले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकका सेयरधनीले दशैंअघि नै १ अर्ब ४५ लाख रुपैयाँ नगद लाभांश र २५ करोड ११ लाख रुपैयाँ बराबरको बोनस सेयर पाउने भएको छन् । दुई बैंकका दुई लाख भन्दा बढी सेयरधनीको खातामा दशैंअघि नै करिव ३ अर्ब रुपैयाँ बोनस खातामा जाने भएको छ । दशैंअघि नै १ अर्ब ९८ करोड रुपैयाँ बराबर नगद लाभांश पाउने भएका छन् भने १ अर्ब १४ करोड रुपैयाँ बराबरको बोनस सेयर पाउने भएका छन् । नगद लाभांश सोझै सेयरधनीहरुमा आ–आफ्नै बैंक खातामा जम्मा हुने र बोनस सेयर सेयरधनीको सेयर खातामा जम्मा हुने सम्बन्धित बैंकले जनाएका छन् । गत आर्थिक वर्षको वासलातसहित पहिलो पटक दुई बाणिज्य बैंकले आयोजना गरेको साधारणसभा एकै दिन मात्र थिएन, एउटै समय विहान ९ बजे शुरु गरेका थिए । एनआईसी एशिया बैंकले त्रिभुवन आर्मी क्लवमा गरेको साधारणसभा भव्य र सभ्य थियो । साधारणसभा शान्तिपूर्ण ढंगले सम्पन्न भएको र बैंकले प्रस्ताव गरेको सबै प्रस्तावहरु साधारणसभाले पास गरेको बैंकले जनाएको छ । तर सिटिजन्स बैंकको अमृत भोग पार्टी प्यालेसमा गरेको साधारणसभा भने शान्त भएन । केही सेयरधनीले सञ्चालक समितिको भत्ता वृद्धि प्रस्तावको व्यापक विरोध गर्दै होहल्ला गरेका थिए । करिब ३०/४० जनाकाे समूहले भत्ता वृद्धिकाे विराेधमा हुटिङ गरेपछि बैंकले उक्त प्रस्ताव फिर्ता लिएकाे छ । सञ्चालक समितिकाे अन्य सबै प्रस्ताव पारित भएकाे छ । होहल्ला गर्नेमा भीआइपी सेयरधनी भनेर चिनिने साना लगानीकर्ता थिए । यस्ता लगानीकर्ताको संख्या करिव ३०/४० जनाको समूहमा छ । उनीहरु नेप्सेमा सूचिकृत हरेक कम्पनीको १०/२० कित्ता सेयर लिन्छन् । उनीहरु सबै कम्पनीको साधारणसभामा जान्छन् । साधारणसभा हुनुपूर्व सम्बन्धित कम्पनीले रात्रीभोजका साथ खाममा २/५ हजार दिएको छ भने भीआईपी सेयरधनीले साधारणसभामा सम्बन्धित कम्पनी र सञ्चालक समितिको तारिफ गर्छन । जुन कम्पनीले यस्ता सेयरधनीलाई रात्रीभोजसहित खामबन्दी रकम दिदैन, त्यस कम्पनीको साधारणसभामा हो हल्ला गर्ने र सञ्चालक समितिको प्रस्ताव विफल बनाउने प्रयत्न गर्छन । एक जना भिआईपी सेयरधनीका अनुसार एनआईसी एशिया बैंकले भीआईपी सेयरधनीलाई गत साता पाँच तारे होटलमा रात्री भोजसहित प्रतिव्यक्ति ५ हजार रुपैया वितरण गरेको थियो । तर सिटिजन्ज बैंकले त्यस्तो गरेको थिए । परिणाम एनआईसी एशिया बैंकको साधारणसभा शान्ति भएको तर सिटिजन्स बैंकको साधारणसभामा होहल्ला र हुटिङ भएको जानकारहरु बताउँछन् । सम्बन्धित समाचारहरू सिटिजन्स बैंकमा फर्किए राजनसिंह भण्डारी राजनसिंह भण्डारी सिटिजन्स बैंकको अध्यक्ष, सञ्चालक बने युवा उद्यमी पाण्डे