विकासन्युज

नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा कस-कसले गरे हस्ताक्षर ?

काठमाडौं  । चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारी काे काे थिए ? धेरैकाे चासाेकाे विषय हाे । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका चिनियाँ समकक्षी वाङ यीले दुई वटा समझदारीपत्र, एक सम्झौता र अर्को एक सन्धिमा हस्ताक्षर गरी ती दस्तावेज आदानप्रदान गरेका छन् । परराष्ट्रमन्त्रीस्तरमा सीमा व्यवस्थापन प्रणाली सम्झौता, शासकीय क्षमता अभिवृद्धि तथा आदानप्रदानसम्बन्धी समझदारीपत्र, आपराधिक गतिविधि नियन्त्रणसम्बन्धी कानूनी सहायता सन्धि र सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष एवं चिनियाँ जनताको राजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का उपाध्यक्ष ही लेफङले दुई मुलुकका योजना आयोगबीच लगानी तथा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । चीन–नेपाल सीमापार रेल परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा चीनको यातायात मन्त्रालयका तर्फबाट नेपालका लागि चीनका राजदूत हउ यान्छीले हस्ताक्षर गरेका छन् । काठमाडौँ महानगरपालिका र जनवादी गणतन्त्र चीनको नान्जिङ शहरबीच भगिनीसम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौतामा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चिनियाँ कम्युनिस्ट पार्टीको झाङसु प्रान्तीय स्थायी कमिटी सदस्य तथा सोही पार्टीको नान्जिन नगर कमिटिका सचिव झाङ जिङह्वाले हस्ताक्षर गरेका छन् । बुटवल उपमहानगरपालिका र चीनको सियान नगरबीच भगिनीसम्बन्ध स्थापना गर्नेसम्बन्धी सम्झौतामा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र सियान नगरप्रमुख ली म्युङवानले दस्तखत गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव खगराज बराल र नेपालका लागि चिनियाँ राजदूत हउले हस्ताक्षर गरेका छन् । गृह मन्त्रालय र चीनको आपतकालीन व्यवस्थापन मन्त्रालयबीच दैवीविपत्ति न्यूनीकरण तथा आपतकालीन द्रुत उद्धारका लागि सहयोगसम्बन्धी समझदारीपत्रमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र चिनियाँ राजदूत हउले हस्ताक्षर गरेका छन् । दुई देशका महान्यायाधिवक्ताको कार्यालयबीच पनि सहकार्य र साझेदारी गर्ने समझदारी भएको छ । त्यससम्बन्धी समझदारीपत्रमा महान्यायाधिवक्ता अग्नि खरेल र चीनको सर्वोच्च महान्यायाधिवक्ताको कार्यालयका प्रमुख झाङ जुनले हस्ताक्षर गरेका छन् । त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापना गर्नेसम्बन्धी सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश दाहाल र चिनियाँ राजदूत हउले हस्ताक्षर गरेका छन् । कृषि विभाग र जनवादी गणतन्त्र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलफूल चीन निर्यात गर्नेसम्बन्धी फाइटोस्यानेटरी (वनस्पति स्वच्छता) को आवश्यकतासम्बन्धी प्रोटोकलमा कृषि विकास तथा पशुपक्षी मन्त्रालयका सचिव डा युवकध्वज जिसी र नेपालका लागि चिनियाँ राजदूत हउले हस्ताक्षर गरेका छन् । चीनको सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्यदूतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) मा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी र चिनियाँ राजदूत हउले हस्ताक्षर गरेका छन् । अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठनसम्बन्धी समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चीनको वाणिज्य मन्त्रालयका सचिव यू जीनह्वाले हस्ताक्षर गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारीपत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र चीनको वाणिज्य मन्त्रालयका सचिव यू जीनह्वाले हस्ताक्षर गरेका छन् । चिनियाँ सहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकारसम्बन्धी प्रमाणपत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा र चीनका वाणिज्यसचिव यू जीनह्वाले हस्ताक्षर गरेका छन् । अर्थमन्त्रालय र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारीपत्रमा अर्थसचिव खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोग(सिड्का) का अध्यक्ष वाङ सियाटोले हस्ताक्षर गरेका छन् । सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेन्ज’ (आदानप्रदानपत्र) मा अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोग(सिड्का) का अध्यक्ष वाङले हस्ताक्षर गरेका छन् । चिनियाँ सहयोगमा काठमाडौँ उपत्यकाका नगर क्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी बैठकका निर्णयमा खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासे र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोग(सिड्का) का अध्यक्ष वाङले हस्ताक्षर गरेका छन् । रासस

एनआरएन युरोप उप संयोजकमा सुरेन्द्र  प्रधानकाे उम्मेदवारी आशावादी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युरोप उप संयोजकमा उम्मेदवारी घोषणा गरेका जर्मनीका सुरेन्द्र प्रधानले भेटघाट तीव्र पारेका छन् । एनआरएन सम्मेलनका क्रममा काठमाडौं आएका प्रधानले युरोप क्षेत्रका प्रतिनिधिसँग भेट गर्दै आफ्ना पक्षमा मत मागिरहेका छन् । हाल एनआरएन आईसीसी सदस्य रहेका प्रधान विगतको कामका आधारमा आफूलाई युरोप उप संयोजक पदका लागि मतदाताले विश्वास गरेको बताए । ‘चुनावी अभियानका क्रममा पाएको साथबाट म उत्साही छु,’ उनले भने । दुई दशकयता जर्मनीको ह्याम्बर्गलाई आधार बनाएर व्यवसायमा संलग्न प्रधानले जर्मनीमा एनआरएनएको स्थापनादेखि नै आवद्ध भएर काम गर्दै आइरहेका छन् । संस्थाको ह्याम्बर्ग शाखाको संयोजक हुँदै राष्ट्रिय समितिको प्रवक्ता तथा उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । एनआरएनएको अन्तराष्ट्रिय समन्वय परिषदमा जर्मनीका तर्फबाट सदस्य रहिसकेका उनले यसपाली युरोपको उप संयोजकको दावेदारी गर्दै उम्मेदवारी दिएका हुन् । एनआरएनए जर्मनीको स्थापनाकालदेखि नै सक्रिय प्रधान संस्थालाई विभिन्न क्षेत्रमा शाखा स्थापना गर्न र गतिविधि अघि बढाउन लागिरहेको उनलाई नजिकबाट चिन्ने व्यवसायी नारायणलाल श्रेष्ठ बताउँछन् । प्रधान नेपाली आवद्ध झण्डै आधा दर्जन बढी संघ संस्थामा रहेर क्रियाशिल पनि छन् । हल प्रधानले आफ्नै तथा नेपाली र जर्मन नागरिकसँग मिलेर विभिन्न भागमा व्यवसाय विस्तार गरिरहेका छन् । ह्यामबर्गमा दुई रेष्टुरेण्टका मालिक उनले फ्रयांकफटमा जर्मन नागरिकसँगको सहकार्यमा होटल खोल्दैछन् । आफ्नो व्यवसायमा नेपालीलाई पनि रोजगारी प्रदान गरिरहेका उनी युरोप बुझेकाले यसपाली उम्मेदवार बनेको बताउँछन् । ‘एनआरएनएका विभिन्न भूमिकामा रहँदा युरोपका साथीहरुको समस्या, नेपालमा लगानी आदिको बारेमा बुझेको अनुभव व्यवहारमा ल्याउने सोच छ,’ उनले भने,‘साथीहरुले विश्वास गरिदिनुभएमा म योजनामा सफल हुनेछु ।’ प्रधानले युरोपभरका नेपालीलाई स्वदेशमा लगानीको वातावरणका साथै नेपाल पर्यटन वर्ष सफल पार्न पनि भूमिका खेल्ने बताउँछन् । ‘नेपालीहरुका समस्या पहिलो प्राथमिकता हुनेछ,’ उनले भने,‘सँगै देशमा लगानी र पर्यटन प्रवद्र्धनमा हामीले सकेको प्रयास गर्नेछौं ।’

अधिकांशको रोजाईमा मुस्ताङ, ह्वात्तै बढ्यो आन्तरिक पर्यटकको आगमन

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । असोज महिनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम बुकिङ हुन थालेका छन् । पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् । पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिएका छन् । उनका अनुसार मुस्ताङमा २८० वटा होटल तथा लज सञ्चालनमा छन् । “बडा दशैँको घटस्थापना लगत्तै देशका विभिन्न ठाउँबाट मुस्ताङ घुम्न आउने क्रम बढिरहेको छ,” तुलाचनले भने, “पछिल्ला समयमा सडक, यातायातको सुविधा, छुट्टी र अनुकूल मौसमका कारण मुस्ताङ आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ ।” केही दिनयता पाहुनाको चापले आफूहरुको दैनिकी व्यस्त बन्दै गएको पुथाङस्थित शाभना होटलका सञ्चालक सुमन थकालीले जानकारी दिए । पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडक मार्ग भएर दैनिक तीन हजार जनाभन्दा बढी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्याल मुस्ताङले जनाएको छ । ट्राफिक प्रहरी नायब निरीक्षक बद्रीनाथ शर्माका अनुसार मुस्ताङमा गाडी र मोटरसाइकलबाट पर्यटक मुस्ताङ भित्रिएका छन् । असोज–कात्तिक र फागुन–चैत–वैशाख महिना मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिन्छ । पछिल्लो समय चर्चामा रहेको ‘कबड्डी कबड्डी कबड्डी’ नेपाली चलचित्रको छायाङ्कन भएको तल्लो मुस्ताङस्थित थासाङ गाउँपालिकाका लेते, नाउरीकोट, कुन्जोमा आन्तरिक पर्यटकको चाप बढेको सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले बताएका छन् । थासाङ गाउँपालिकाको सेकोङ ताल, भुछर ताल, टिटी ताल, गुरुसाङ्बो गुफा, घाँसा चरा अवलोकन आदिमा पर्यटक रमाउने गरेका छन् । माटोको शहर लोमान्थाङ, तिब्बती र थकाली कला संस्कृतिको अनुपम स्थल लेते, मुक्तिनाथ, ठिनी, ढुम्बा ताल, कागबेनी, दामोदर कुण्ड एवम् फरक भू–बनोट अवलोकनका लागि मुस्ताङ स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको पोखराका पर्यटन व्यवसायी तारानाथ पहारी बताउँछन् । पछिल्ला समयमा यहाँको होटेलका साथै ठाउँठाउँमा सञ्चालित घरवास पनि पर्यटकको रोजाइमा परेका छन् । अघिल्लो वर्ष मात्रै एक हजार आन्तरिक पर्यटकले ठिनी होमस्टेमा बास बसेको हामेस्टेका सञ्चालिका जुमा थकालीले जानकारी दिनुभयो । यस वर्ष अघिल्लो वर्षभन्दा दोब्बर सङ्ख्यामा पर्यटक आउने अपेक्षा गरिएको उनले जानकारी दिए । नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास हुँदै गएका कारण पनि मुस्ताङ अधिकांशको रोजाईमा पर्दै गएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रमुख तुलसी दाहालले मुस्ताङमा पछिल्लो समय बाह्यको तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढी हुँदै गएको बताएका छन् । रासस

एभरेष्ट बैंकको २५ प्रतिशत लाभांश घोषणा, चुक्ता पुँजी साँढे आठ अर्ब नाघ्ने

काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोेषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ५ प्रतिशत बोनस र २० प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । असोज २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ नाघ्ने छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा २० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो भने २०७५/७६ मा थप ५ प्रतिशत बढी बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

कृषि विकास बैंकद्वारा आकर्षणको केन्द्रविन्दु बनाइयाे माईतीघरमण्डला

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफनो लगानीमा माईतीघरमण्डलामा नेपाली संस्कृति झल्किने गरी रङगोली सहितका चित्र आकर्षण ढंगले कोरिएको छ । छिमेकी राष्ट्र चिनका महामहिम राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी उक्त कार्यक्रमा गरेको हो । मण्डलामा आकर्षण फूलका बिरुवाहरुका साथै फलफुलको बिरुवा समेत लगाईएको छ जसले मण्डलालाई हराभरा बनाएको छ भने रातको समयमा ईलेक्ट्रीकवोर्डमो डिसपेले भएको वृतचित्रले नेपालको संस्कृितलाई समेटेको देख्दा छुट्टै आनन्दको महसुस गरिएको थियो । चिनका महामहिम राष्ट्रपति लगायत सम्पूर्ण पाहुनाहरुको मुख्य आकर्षणको केन्द्र विन्दु नै माईतिघरमण्डला भएको भान सबैले महसुुस गरेको देखिन्छ । साथै आज भोली माईतिघर मण्डला आम मानिसको सेल्फि खिच्ने केन्द्र विन्दु भएको छ ।

नेशनल लाइफले बोलायो साधारणसभा, १५.२२५ प्रतिशत लाभांश पारित गर्ने

 काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स ३१ औं साधारणसभा बोलाएको छ । आर्थिक वर्ष २०७४/७५ को लाभांश तथा वार्षिक प्रतिवेदन पारित गर्न इन्स्योरेन्सले साधारणसभा बोलाएको हो । नेशनल लाइफ साधारणसभा कात्तिक २४ गते बिहान साढे १० बजे आफ्नै केन्द्रीय कार्यालयको भवनमा डाकिएको छ । कम्पनीले बोनस र नगद समेत गरी १५.२२५ प्रतिशत लाभांश दिने घोषणा गरेकाे छ । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नेशनलले २.५ प्रतिशत बोेनस शेयर, १२ प्रतिशत नगद लाभांशका अतिरिक्त सो बोनस र नगद लाभांशमा लाग्ने करबापतको छुट्टै नगद ०.७२५ प्रतिशत नगद लाभांश समेत गरी १५ प्रतिशत लाभांश दिने भएको हो । एनएफआरएस लेखा प्रणाली अनुसार वित्तीय विवरणहरु प्रकाशन गर्नुपर्ने भएसँगै नेशनलको साधारणसभा निर्धारित समयभन्दा ढिलोगरी हुने भएको हो ।

फौजी कीराको प्रकोपले ९० प्रतिशत धानबाली नष्ट, भोकमरी निम्तने खतरा

धम्बोझी । धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । फौजी कीराले फौजी आक्रमण गर्ने हुँदा धानका बाला काटेर नोक्सान पुर्याएको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरको कौशीला चौधरीले बताएका छन् । फौजी कीराको प्रकोपले अहिले बाँकेका किसानले काट्नका लागि तयार भएको धान कीराले काटेर सखाप भएको चौधरीले जानकारी दिए । कृषि पकेट क्षेत्र मानिने बाँके जिल्लाको डुडुवा ६ हिरमिनियाको कालाबन्जार गाउँका किसान रतिराम कुम्हारले आफ्नो दुई बिघा १२ कट्ठा जग्गामा रोपेको धानबाली कीराले एक हप्तामा सखाप पारेको देखाउँदै दुःख व्यक्त गरेका छन् । त्यसैगरी, डुडुवा गाउँपालिकाको ६ हिरिमिनिया फौजी कीराको प्रकोपले किसान मर्कामा रहेका छन् । फौजी कीराले धानबाली सखाप पारिदियो कसरी आफ्ना बालबच्चा पाल्ने भन्ने भनेर किसान रुँदै आइरहेका छन् । उता बाँकेमा र बर्दियाको बढैयातालका बोकटीया गाउँमा पनि धानबालीमा कीराको प्रकोपले धानबाली सखाप हुँदा भोकमरी निम्तने खतरा हुने औँल्याउँदै ९० प्रतिशत धान बाली रोपेको ठाउँमा नष्ट भएको देखेको कृषि ज्ञानकेन्द्र बाँकेको कार्यालय प्रमुख सागर ढकालले जानकारी दिएका छन् । कतिपय ठाउँमा अनुगमन गर्दा किसानको धान हेरेर विषादी छर्कन लगाएको तर तरिका नमिलेपछि कीरा नमरेको कारण धानबालीलाई कीराले सखाप अझै बनाइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालको भनाइ छ । रासस

पूर्णिमा र भार्गवलाई प्राप्ति पश्चात शाइन रेसुङ्गाद्धारा एकीकृत कारोबार शुरु, संचालकमा ६ जना नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई प्राप्ति(एक्विजिशन) गरी सोमबार(असोज २७ गते)देखि एकीकृत कारोबार शुरु गरेको छ । एक्विजिशन पश्चात शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भएको छ । शाइन रेसुङ्गाले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक र बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको भार्गव विकास बैंकलाई एकआपसमा गाभेर आजदेखि एकीकृत कारोवार सञ्चालन गरेको हो । यस सँगै सोही मितिबाट लागू हुने गरी बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना गरी ६ जना नियुक्त भएका छन् । जसमध्ये संस्थापक सेयरधनीको तर्फबाट अध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, सञ्चालकमा थानेश्वर पौडेल, डा. ताराप्रसाद उपाध्याय, ई. सुरज उप्रेती, मोहन चापागाई, सुर्दशन गौतम नियुक्त भएका छन् । यसरी, १० जिल्ला कार्यक्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड, ३ जिल्ला कार्यक्षेत्र रहेको पूर्णिमा विकास बैंक लिमिटेड र ५ जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडको एक्विजिशन पश्चात बैंकको शाखा सञ्जाल ७१ पुगेको छ । साथै, बैंकको चुक्ता पूंजी २ अर्ब ६२ करोड, निक्षेप परिचालन २६ अर्ब ८७ करोड, कर्जा लगानी २३ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ ।