विकासन्युज

पर्यटकहरुलाई सुरक्षा दिन सशक्त रुपमा अगाडि बढ्दै नेपाल प्रहरी

काठमाडौं । मुलुकभर पर्यटन वर्षको स्वागतका लागि तयारी तीव्र पारिएको छ । यहि क्रममा नेपालमा आउने पर्यटकहरुलाई सुरक्षा दिन नेपाल प्रहरी सशक्त रुपमा अगाडि बढेको छ । पर्यटकीय क्षेत्र भएका जिल्लाहरुमा त्यहाँ कार्यरत सुरक्षा प्रमुखहरुले विशेष रणनीतिहरु अहिले देखि नै शुरु गरिसकेका छन् । यसैक्रममा मनाङ प्रहरीले पनि पर्यटक सुरक्षालाई मुख्य प्रथामिकतामा राखेर विभिन्न रणनितिहरु तय गर्दैै विशेष सुरक्षा योजना लागु गरिसेकेका मनाङको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक (डिएसपी) टीका बहादुर कार्कीले जानकारी दिएका छन् । यतिवेला जिल्लामा आउने पर्यटकको लागि सिजन सुरु भएको छ । आफ्नो महत्वपूर्ण समयको व्यवस्थापन गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु जिल्ला भित्रिनेको संख्या बढ्दै छ । जिल्ला आउने पर्यटकको रोजाई तिलिचो ताल अग्रस्थानमा छ । उच्च स्थानमा रहेको मनोरम तिलिचो तालमा पुग्ने पर्यटकको संख्या बढ्दै गर्दा त्यहाँ पुग्ने पर्यटकको सुरक्षा मनाङ प्रहरीले कडा रुपमा गर्दै आएको छ । पर्यटकको सुरक्षाका लागि मनाङ प्रहरीले तिलिचो तालमा नै प्रहरी गस्ती सुरु गरेको छ । अन्नपूर्ण पदमार्ग अन्तरगत पर्ने महत्वपूर्ण गन्तव्य तिलिचो तालमा पुग्ने पर्यटकको सुरक्षाका लागि प्रहरी गस्ती सुरु गरिएको प्रहरी प्रमुख कार्कीले बताए । अन्नपूर्ण पदमार्गमा आउने प्रर्यटकको चाप बढेसंगै उनीहरुको सुरक्षाका लागि प्रहरी तिलिचोसम्म पुगेको हो । यो हाम्रो दायित्व र जिम्मेवारी दुवै हो, डिएसपी कार्कीले भने, प्रहरी सहायक निरीक्षक मोहदत्त शर्माको कमाण्डमा प्रहरी टोली त्यहाँ पुगेको छ । यसले पर्यटकलाई पनि आफु सुरक्षित छु भन्ने महशुस हुनेछ । गस्तीसंगै डिएसपी टिका बहादुर कार्कीको कमाण्डमा ५१०६ मिटर उचाईमा रहेको लार्केपासमा गस्ती तथा ४१७५ मिटरउचाईमा रहेको नार्पाभूमी गाउँपालिका १ मा पर्ने नार गाउँमा पुगी गाउपालिका अध्यक्ष लगायत जनप्रतिनिधिसँग सुरक्षा सम्बन्धी अन्तरक्रिया गरेको थियो । त्यसैगरी, प्रहरी निरिक्षक सबिन भण्डारीको कमाण्डमा ५४१६ मिटर उचाईमा रहेको थ्रोङलापासमा, प्रहरी नायब निरीक्षक रामबहादुर बानिया र राजेश मल्ल ठकुरीको कमाण्डमा ५००२ मिटर उचाईमा रहेको काजिन सारा तालसम्म मनाङ प्रहरीले गस्ती गर्दै सुरक्षा प्रदान गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ग्रामिण पर्यटकीय सामुदायिक गस्ती सञ्चालन गरिएको हो । यो कार्यक्रमलाई जिल्लामा प्रभावकारी रुपमा अगाडि बढाईएको डिएसपी कार्कीले बताए । जिल्लामा रहेका र जिल्ला भित्रिने सबै नागरिकको जीउधनको सुरक्षाको लागि प्रहरी दत्तचित्त भएर लागिपरेको छ । सुरक्षाको कुनै पनि चिन्ता नगरी मनाङमा आउन डिएसपी कार्कीकोे आग्रह छ । गण्डकी प्रदेशमा आउने पर्यटकहरु सबैतिरबाट मनाङ भित्रिने भएकाले पनि यहाँ सूचना संयन्त्रलाई थप प्रभावकारी बनाउनु पर्नेछ । मुस्ताङ, गोरखा र तनहुँ तिनतिरैबाट यहाँ आन्तरिक र बाह्य पर्यटक आउने गर्दछन । त्यसैले, उनीहरुको सुरक्षा र सूचना दिने दुवै महत्वपूर्ण काम मनाङ प्रहरीले गर्नुपरेको छ । यसलाई थप प्रभावकारी बनाउने काम पनि सुरक्षा गस्तीले गर्ने डिएसपी कार्कीले जानकारी दिए ।अहिलेको सिजनमा मनाङमा दैनिक १ हजार भन्दा बढी पर्यटक भित्रिने गरेका छन । विगत वर्षदेखि विदेशी र स्वदेशी पर्यटक लगभग बराबरीको संख्यामा मनाङ आउने गरेका छन । गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष मनाइरहँदा यहाँ आउने पर्यटकको सुरक्षा र सुचना प्रणालीलाई व्यवस्थित गर्न थप ध्यान दिनुपर्ने त्यहाँ घुमेर आएका व्यवसायी दिनेशकुमार चुकेले बताए ।

टिभिएसले भाइवरको साथमा फेरि ल्यायो डाउनलोड एण्ड विन चाडपर्व अफर

काठमाडौं । टिभिएस बाइकको नेपालको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले दुई पाङग्रे सवारी साधनमा अग्रणी म्यासेन्जिंग एपलिकेशन भाइवरमार्फत डाउनलोड एण्ड विन चाडपर्व योजना ल्याएको छ । यो नेपालीहरुको ठूलो चाड आगमनमा मौसममा अझै बढी उत्साह थप्न शुरु गरिएको हो । यो प्रतियोगितामा सहभागी जनाउन प्रयोगकर्ताले भाइवरको स्टिकर बजारबाट टिभिएस बाइकर्स मेनिया स्टिकर प्याक डाउनलोड गर्नुपर्र्दछ । विजेताहरु लक्की ड्र मार्फत चयन गरिनेछ र उनीहरुले आकर्षक उपहार साथै एक जना भाग्यशाली विजेताले बम्बर उपहार स्वरुप टिभिएस जुपिटर क्लासिक प्राप्त गर्नेछन् । यो अभियान २६ सेप्टेम्बरबाट शुरु भएर २ महिनासम्म जारी रहनेछ । यो स्कुटर १०९ सीसी पावरसहित ४ वटा एयर कुल स्ट्रोक इनजीन भएको प्रति घण्टा ८५ किलोमिटर शीर्ष स्पीड भएको सार्प र क्लासीक स्टाइललाई मूर्त रुप दिने र नेपालमा अत्याधिक मनपराइएको तथा डेब्यू गरेको क्लासीक स्कुटर हो । टिभिएस जुपिटर क्लासीकको सिटको उचाइ ७६५ एमएम रहेको छ जसले सबै उचाईका चालकहरुलाई सहजता सुनिश्चित गर्दछ ।

एनआरएनए ओसेनिया क्षेत्रको संयोजकमा दिनेशराज जाेशीकाे उम्मेदवारी

काठमाडौं । एनआरएनएको नवौं अधिवेशनमा ओसेनिया क्षेत्रको संयोजकमा उम्मेदवारी घोषणा गरेका दिनेशराज जोशीले चुनावी अभियानलाई तीव्र पारेका छन् । हाल अष्ट्रेलियाबाट एनआरएनएका आईसीसी सदस्य रहेका जोशीले अष्ट्रेलिया र समग्र ओसेनिया क्षेत्रबाट नेपालसँग सेतुको भूमिका खेल्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए । दुई दशकयता अष्ट्रेलियामा रोजगारीसँगै सामाजिक क्षेत्रमा सक्रिय जोशी जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक मध्येका एक हुन् । नेपालबाट अष्ट्रेलिया गएका युवाहरुलाई रोजगारी तथा अप्ठेरोमा साथ दिने जोशी सामाजिक अभियान सञ्चालनमा अग्रणी मानिन्छन् । सबै दल निकटसँग समभावको आधारमा अघि बढेकाले आफूलाई ओसेनिया क्षेत्रबाट उम्मेदवारीका लागि दबाब आएकाले अघि बढेको उनले बताएका छन् । ‘एनआरएनएको विभिन्न जिम्मेवारीमा रहे पछि अब ओसेनिया क्षेत्रकै प्रतिनिधिका रुपमा अघि बढ्नुस् भन्ने सुझाव आएकाले उम्मेदवारी दिएको छु,’ उनले भने । चुनावी अभियानका क्रममा आफूलाई सबै क्षेत्रबाट सहयोगको प्रतिवद्धता आएको उनले बताए । ‘हाम्रो राजनीतिक आस्था आ आफ्नो ठाउँमा छ,’ उनले भने,‘नेपालीको छाता संगठनलाई राजनीतिबाट पर राखेर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।’ उनले सबै विचार र पक्षलाई समेटेर नेपालमा लगानीका साथै अष्ट्रेलिया र न्युजिल्याण्डका विद्यार्थी र नेपालीको समस्या समाधानमा विशेष जोड दिने बताए ।

अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार विश्वविद्यालयका प्रा. डा. लुइँटेललाई

काठमाडौं । अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यसवर्ष त्रिभुवन विश्वविद्यालयका प्रा. डा. खगेन्द्रप्रसाद लुइटेललाई प्रदान गर्ने भएको छ । पुरस्कार छनौटका लागि बोर्ड अफ ट्रस्टिज कार्य समितिको बैठकले पुरस्कार समितिको सिफारिसमा तीन सदस्यीय समिति गठन गरेका थिए । सो समितिले उक्त पुरस्कारका लागि यही अक्टोबर ९ मा प्रा.डा. लुइटेलको नाम सिफारिस गरेको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा साहित्यको विकास र अन्तर्राष्ट्रियकरणका साथै अनेसासको बृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरूमध्ये एकजनालाई हरेक दुई वर्षमा प्रदान गर्दै आएको छ । नेपाली भाषा साहित्यको विकासमा अनवरत रूपमा लागेर आप्रवासमा नेपाली भाषा साहित्यको विस्तार, संवर्धन र संरक्षणमा दिएको योगदान र नेपाली भाषाको अन्तर्राष्ट्रियकरण र मानकीकरणमा गरेको भूमिकाका आधारमा छनौट गरिएको समितिले जनाएको छ । अमेरिकाको क्यालिफोर्निया निवासी राम लामा अविनाशीले प्रायोजन गरेको सो पुरस्कारको राशी हाल २५ सय अमेरिकी डलर रहेको छ । यसअगि सन् २०१७ मा यो पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । त्यसबेला सो पुरस्कारको राशी २ हजार अमेरिकी डलर थियो । आगामी नोभेम्बर १० तारिकमा अमेरिकाको वासिङ्टन डिसीमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहका अवसरमा प्रा. डा. लुइटेललाई यो पुरस्कार प्रदान गरिनेछ । यो अनेसासबाट प्रदान गरिने हालसम्मको सबैभन्दा ठूलो राशीको पुरस्कार हो ।

नेपालमै पहिलोपटक नेपाल मेडिसिटी अस्पतालमा थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया सफल

काठमाडौं । आधुनिक पद्धतिबाट शरिरको प्राणघातक एन्टिबडि(आफ्नो शरीरलाइ घात गर्ने तत्व) निकाल्ने थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया नेपालमै पहिलो पटक नेपाल मेडिसिटी अस्पतालमा एक ३३ वर्षीय पुरुष बिरामीमा सम्भव भएको छ । नेपाल मेडिसिटी अस्पतालको आइसियुमा सोमबार यो प्रक्रिया मृगौला, मुटु र फोक्सोमा समस्या देखिएका बिरामीमा सम्भव भएको हो । नेपाल मेडिसिटी अस्पतालका आइसियु विभाग प्रमुख डा. दिप्तेश अर्यालका अनुसार बिरामीमा भास्कोलाइटिस विथ किड्नी फेल्युर विथ हेमोरेजको समस्या रहेको थियो । मृगौलासंगै, नसारोग, फोक्सोरोग, सेप्सीस, इन्डोक्राइन सम्बन्धित लगायतका अन्य समस्या भएको अवस्थामा यो पद्धति अपनाउन सकिने डा.अर्यालको भनाइ छ । रगतमा हुने तरलता र रक्तकोशबाट प्रोटिन निकाली अर्को प्लाज्मा राख्ने यो प्रक्रियाका लागि करिब २ घण्टा लागेको थियो । सोमबार पहिलोपटक सफल भएको थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज थप केहि चरणका गर्न आवश्यक रहेको चिकित्सकहरुको भनाइ छ । त्यस्तै, नेपाल मेडिसिटीको ब्लड बैंक इन्चार्ज बिपुल गौतमका अनुसार थेराप्युटिक प्लाज्मा एक्स्चेन्ज प्रक्रिया एफेरेसिस उपकरणबाट सम्भव भएको हो । अस्पतालमा एफेरेसिसले स्टिम सेल, रेडसेल एक्स्चेन्स,प्लेटलेट एक्स्चेन्ज लगायतका कार्य गर्दै आइरहेको उनले बताएका छन् ।

सिंहदरबार मर्मतकाे ठेक्का ४१ करोड ७९ लाखमा शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीलाई

काठमाडौं । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडामा प्रबलीकरण कार्य भइरहेकोमा पश्चिम मोहडाको प्रबलीकरणका लागि पनि ठेक्का सम्झौता भएको छ । प्रबलीकरण कार्यान्वयनको जिम्मेवारी लिएको प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीबीच सोमबार सम्झौता भएको हो । सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट लक्ष्मी प्रसाद सुवेदीले हस्ताक्षर गरे । जेभीले भ्याटबाहेक ४१ करोड ७९ लाख रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको छ । सम्झौताअनुसार जेभीले १५ दिनभित्र प्रबलीकरण कार्य सुरु गर्नेछ । आयोजना निर्देशक प्याकुरेलले सिंहदरबारको मौलिक स्वरुप कायम राखी भूकम्प जानुअघिको भन्दा मजबुद हुने गरी प्रबलीकरण गरिने जानकारी दिए ।  ठेक्का कम्पनीका प्रतिनिधि सुवेदीले तोकिएको गुणस्तरमा समयभित्रै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रबलीकरण कार्यको परामर्शदातामा आइआरसी–इकोकोड नेपाल जेभी छनौट भएको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको सिंहदरबारको यो खण्ड २०३० को आगलागीबाट बचेको भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण मोहडा जलेर नष्ट भएको थियो, जसको पछि पुनर्निर्माण गरिएको थियो । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण मोहडाको प्रबलीकरणको ७० प्रतिशत कार्य सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जनाएकाे छ । 

मिटर नचलाउने ११० ट्याक्सी चालक नियन्त्रणमा, यातायात व्यवासायी विरूद्ध कालाेबजारी मुद्दा

पाेखरा ।  तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही गरिएको सहसूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार दशैँ मनाउन विभिन्न जिल्लामा जाने यात्रु नठगिउन भन्ने उद्देश्यले पोखराबाट बाहिरिने मुख्य सडक एवं बढ्दो सवारी चाप हुने स्थानमा प्रहरीले यात्रु सहायताकक्ष स्थापना गरी सेवा प्रदान गरिरहेको थियो । यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी भाडा लिने र मोलमोलाइ गर्ने प्रवृत्ति अन्त्यका लागि सडकमा जाँचका साथै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको प्र्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । त्यस्तै, खोटाङ मा यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ । तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो । खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही रु एक हजार ४५० लिनुपर्नेमा रु दुई हजार लिएको गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । यातायातमा कालोबजारी भएको गुनासो आए पनि उजुरी नपरेपछि प्रहरी आफैँ यात्रु भएर जाँदा कालोबजारी गरेको पुष्टि भएपछि उनीहरू पक्राउ परेका थिए । पक्राउ परेकाहरूविरुद्ध सोमबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नाका साथै १० दिनको म्याद थप गरेर कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । कालोबजारी आरोपमा एक वर्षसम्म कैद तथा रु १० लाखसम्म जरिवाना गर्न सकिने कानूनी प्रावधान छ । दशैँ–तिहारको बेलामा जिल्ला भित्रिने र बाहिरिने यात्रुबाट मनपरी भाडा लिएकाले जाँचका लागि ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए । रासस

सीडीएससीको अर्को रमिता : कारोबार रोक्का भएको सबै शेयरको मूल्य १०० रुपैंया !

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले कारोबार रोक्का भएका सबै शेयर स्क्रिपहरुको बजारमूल्य १०० रुपैंया कायम गर्ने व्यवस्था सुरु गरेको छ । मेरो शेयर एप्लिकेसनलाई परिमार्जन गरी सार्वजनिक गरेको सीडीएससीले मर्जर, एक्विजिसन वा अन्य कुनैपनि प्रकारबाट नियमित रुपमा कारोबार रोक्का भएका शेयरको मूल्य १०० रुपैंया कायम गर्ने व्यवस्था गरेको हो । सीडीएससीले नेपाल स्टक एक्सचेञ्जमार्फत् भएको अन्तिम कारोबार मूल्यलाई समेत १०० रुपैंया नै मानिदिने व्यवस्था गरेको छ जब कि नेप्सेले भने कारोबार भएको अन्तिम दिन अन्तिममा भएको कारोबारलाई नै त्यसको अन्तिम मूल्यको रुपमा देखाउँदै आएको छ । अहिले बजारमा ग्लोबल आईएमई बैंक, जनता बैंक, गण्डकी विकास बैंक, कैलाश विकास बैंक जस्ता बैंकहरुको शेयर कारोबार मर्जरका लागि रोक्का भएर बसेका छन् । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु भएपनि शेयर कारोबार अझै सुरु भएको छैन । ग्लोबल आईएमई बैंकको अन्तिम कारोबार २९५ रुपैंयामा भएको थियो । कारोबार बन्द हुँदाको अवस्थामा हुँदासम्म २१५ रुपैंयाको हाराहारीमा किनबेच हुँदै आएको थियो । गण्डकी विकास बैंकको अन्तिम कारोबार मूल्य २०१ रुपैंया रहेको नेप्सेको तथ्यांकमा उल्लेख छ । जुलाई ४ मा प्राइम बैंकसँग मर्जर सम्झौता गर्दाको दिनमा कैलाश विकास बैंकको शेयर बजारमा २३८ रुपैंयामा अन्तिम किनबेच भएको थियो । तर यस्ता फरकफरक मूल्य भएका स्क्रिपहरुलाई सीडीएससीले अव्यवहारिक रुपमा १०० रुपैंया मूल्य कायम गर्ने व्यवस्था गरेको हो । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता भने यो व्यवस्था म्यानुअल अनुसार गरेको भन्दै अन्तिम कारोबार १०० रुपैंया देखिनु प्राविधिक कमजोरी नभएको बताउँछन् । ‘तपाईँ म्यानुअल हेर्नुस्, कस्तो स्क्रिपको मूल्य कति कायम गर्ने भन्ने त्यहीँ देख्नुहुन्छ’ उनले भने । तर यो व्यवस्थाले लगानीकर्ताहरु भने आत्तिएका छन् । अघिल्लो दिनसम्म पोर्टफोलियोको एउटा क्याल्कुलेसन गरिरहेका शेयरधनीहरुलाई एक्कासी शेयरको पार्टफोलियो घट्दा उनीहरु आत्तिएका हुन् । ‘आफ्नो शेयर कति मूल्यको छ भनेर हेर्न र दैनिक रुपमा कति घट्यो, बढ्यो भनेर हेर्न मेरोशेयर लिएको, यस्तै हुने हो भने त के विश्वास भयो र ?’ एकजना लगानीकर्ताले भने । ती लगानीकर्ताकै प्रतिप्रश्न थियो, ‘भोलि २०००० रुपैंया मूल्य भएको युनिलिभरको कारोबार रोक्का होला, त्यो दिन युनिलिभरको १०० कित्ता शेयरको २० लाख हुनुपर्ने मूल्यलाई मेरो १० हजार रुपैंया मात्रै हो भनेर मान्ने ?’ बैंकबाट ऋण लिएर शेयर कारोबार गर्दै आएका उनी यही मूल्यांकनका आधारमा बैंकले मार्जिन कल गर्ने हो कि भन्ने त्रासमा छन् । नेपालको एकमात्र केन्द्रीय निक्षेप प्रणालीको रुपमा रहेको सीडीएस एण्ड क्लियरिङ लिमिटेड पछिल्लो समय यस्तै प्राविधिक विषयवस्तुमै रुमल्लिएर बसेको छ । लगानीकर्ताको दैनिक व्यवहारसँग जोडिने सीडीएससीले कहिले भारित औसत लागत गणनाको नाममा तथा कहिले रोक्का भएको शेयरको मूल्य कायम गर्ने नाममा अव्यवहारिक निर्णयहरु गर्दै आएको छ । यस्ता गतिविधिले पुँजीबजारको विकासको क्षेत्रमा भएका विभिन्न प्रयासहरु छायाँमा पर्न थालेका छन् । मेरो शेयरमा देखिएको ग्लोबल आईएमई बैंक र गण्डकी विकास बैंकको शेयरमूल्य ।