साढे ५ करोड लागतमा निर्माणाधीन पुल अलपत्र अवस्थामा
गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाअन्तर्गत उरर्ली खोलामा निर्माणाधीन पक्की पुल तीन वर्षसम्म निर्माण सम्पन्न नहुँदा यतिबेला अलपत्र अवस्थामा छ । तीन वर्ष अघि निर्माण सम्पन्न भई सक्नुपर्ने उक्त पक्की पुल निर्माण व्यवसायीको लापर्बाहीका कारण अलपत्र परेको हो । कतिबेला पुल बन्ला र त्यही पुलको माध्यमबाट आवतजावत गर्न सहज होला भनेर पर्खेर बसिरहेका त्यस क्षेत्रका हजारौँ मानिस पुलको निर्माण कार्य नै अलपत्र परेपछि यति बेला थप निरास बन्दै जान थालेका हुन् । पुल निर्माणको जिम्मा पाएको लुम्बिनी शान्ति जेभी काठमाडौँले २०७३ साल कात्तिक २६ गते पुल निर्माणको काम सम्पन्न गरी सक्नुपर्ने सम्झौता गरेको थियो तर पुल निर्माण कार्य समयमै सम्पन्न हुनु त कता हो कता आधा निर्माण भएको संरचनासमेत जोखिमपूर्ण अवस्थामा अलपत्र अवस्थामा छोडिएको छ । पुल निर्माण शुरु गरेपछि त्यतिबेला त्यहाँका स्थानीय खुशीले गद्गद् बनेका थिए तर तीन वर्षसम्म पुल अलपत्र अवस्थामा पर्दा त्यस क्षेत्रका मानिसको खुशी पनि खोसिएको स्थानीय लक्ष्मण ढकालले बताएका छन् । “आफ्नै घर अगाडि पक्की पुल बनेपछि सदरमुकाम तम्घास आवतजावत गर्न निकै सजिलो हुने भो भनेर निकै खुशी बनेका थियौँ तर तीन वर्षसम्म पुल अलपत्र बनेको र यसको निर्माण कार्यमा सम्बन्धित निकायले चासो नदिएकोमा हामी अत्यन्तै निराश बनेका छौँ”, उनले भने । रु पाँच करोड ५० लाख लागतमा पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी लुम्बिनी शान्ति जेभि काठमाडौंले पुल निर्माणको काम ५० प्रतिशत पुग्दै गर्दा फाउण्डेशन खन्ने क्रममा खोलाको सतहवाट पानी आइरहेको र त्यसलाई हटाउन नसकिएको भन्दै त्यसको डिजाइन परिवर्तन गरि पाइल फाउण्डेशन गर्नुपर्ने माग राख्दै काम बन्द गरेको थियो । मदन भण्डारी राजमार्ग योजना एकाइ कार्यालय गुल्मीले भने निर्माण व्यवसायीले काममा आलटाल गर्ने गरी उक्त तर्क अघि सारेको र उक्त तर्कमा आफूहरु प्रविधिक हिसाबले विश्वस्त नभएको भन्दै निर्माण व्यवसायीले बहाना बनाएर कामबाट उम्कन खोजेको योजना प्रमुख सन्तोषकुमार कर्णले बताए । गत तीन वर्ष अघि निर्माण सक्नुपर्ने उक्त पुल निर्माणका लागि स्थानीयवासीले पटकपटक राजनीतिक दलका नेतालाई गुहार्दै आइरहेका छन् । पछिल्लो समयमा उक्त पुलको निरीक्षण गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्ने र ठेक्का होल्ड गरेर बस्ने गरेको भन्दै त्यस्ता निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका थिए । जिल्लामा सञ्चालित विकास निर्माणका योजनाको अनुगमन गर्ने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उक्त अलपत्र अवस्थामा रहेको पुलको काम चाँडै सम्पन्न गर्ने आश्वासनसमेत दिएका थिए। सत्यवती गाउँपालिकाभित्र निर्माणाधीन अवस्थामा अलपत्र परेको उक्त पुलको बारेमा स्थानीयले पटकपटक गाउँपालिका कार्यालयमा गुनासो गरिरहेको हुँदा आफूले पनि गाउँपालिकाको तर्फबाट निर्माण व्यवसायी र मदन भण्डारी राजमार्ग योजना एकाइ कार्यालयसँग पुल निर्माणको काम तत्कालै सञ्चालन गर्नका लागि पहल गरिरहेका थिए । यसरी, पहल गर्दा पनि सरोकार निकायले त्यसमा खासै चासो नदेखाएका कारण काम अलपत्र परेको सत्यवती गाउपालिका अध्यक्ष पारिश्वर ढकालले बताएका छन् । यसरी लामो समयसम्म करोडौँको योजना यसरी अलपत्र परेपछि स्थानीय पनि पुल निर्माणको काम सञ्चालन होला कि नहोला भनेर थप अन्योलमा परेका छन् । रासस
एशियाको आर्थिक वृद्धि ५.९ प्रतिशत मात्र हुने, नेपालमा ७.१ प्रतिशत वृद्धिकाे प्रक्षेपण
काठमाडौं । सन २०१९ मा दक्षिण एशियाको आर्थिक वृृद्धिदर ५.९ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ, जुन गत अप्रिल महिनाको वृद्धिदर भन्दा १.१ प्रतिशत कम हो । अल्पकालिन आर्थिक मन्दी र अनिश्चिताको प्रभावले आर्थिक वृद्धिमा नकारात्मक असर परेको विश्व बैंकको विश्लेषण छ । सन् २०१९ मा नेपालको आर्थिक वृद्धि ७.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । आगामी वर्ष क्रमशः ६.५ र ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने विश्व बैंकको पूर्वाअनुमान छ । बंगलादेशमा यस वर्ष ८.१ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विगतमा एशियाका देशहरुमा आन्तरिक उपभोग र माग उच्च रहेको तर पछिल्लो समय यसमा गिरावट आएको विश्व बैंकको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । मागको कमीले यस वर्ष पाकिस्तान र श्रीलंकमा आयात १५ देखि २० प्रतिशतले घट्ने अनुमान गरिएको छ । भारतमा पनि उपभोग ३.१ प्रतिशतले घट्ने अनुमान गरिएको छ, जबकी गत वर्ष ७.३ प्रतिशतले बढेको थियो । गत वर्ष भारतमा औद्योगिक उत्पादन १० प्रतिशतले वृद्धि भएकोमा यस वर्ष १ प्रतिशत भन्दा कम भएको जनाईएको छ । सन् २०१९ मा भारतमा ६ प्रतिशतले आर्थिक वृद्धि हुने, त्यसपछिको वर्षमा क्रमशः ६.९ र ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।
ललितपुर फाइनान्सको कामु सीईओमा चन्द्र शेखर खड्का
काठमाडौं । ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा चन्द्र शेखर खड्का नियुक्त भएका छन् । गत असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाले असोज ६ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेलसम्मको लागि संस्थाको कामु सीईओमा नियुक्त गरेको हो । असोज ५ गते बसेको सञ्चालक समितिको ३९७औँ बैठकको निर्णयअनुसार संस्थाको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खड्कालाई कम्पनी सचिवको कार्यलाई समेत निरन्तरता दिने गरी उक्त पदमा नियुक्त गरिएको हो ।
चीनसँग २० ओटा विषयमा समझदारी, सडक र सुरुङमार्ग निर्माण प्राथमिकतामा
काठमाडौं । नेपाल र चीनबीच २० ओटा बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी जिङपिङको राजकीय भ्रमणका अवसरमा दुई देशका उच्चस्तरीय सरकारी टोलीले छलफल गरी १८ ओटा समझदारीपत्र र २ ओटा लेटर अफ एक्सचेञ्ज गरी २० समझदारीमा गरेका हुन् । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो सम्झाैतापत्र दुई देशका सम्बन्धित मन्त्रालयका अधिकारीहरुबीच आदानप्रदान गरिएको थियो । सम्झौतामा नेपालका दुई शहर र चीनका दुई शहरबीच भगीनी सम्बन्ध कायम गर्ने, त्रिभुवन विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्सिच्युड स्थापना गर्ने, काठमाडौंमा खानेपानी आपूर्ति गर्ने, आयुर्वेदिक उपचारमा सहयोग गर्ने, सीमा सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण जस्ता विषय रहेको जनाइएको छ । साथै केही पूर्वाधार निर्माणका क्षेत्रमा समेत सहमति भएको जनाइएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा सोल्टी होटलमा आइतबार हस्ताक्षरपछि समझदारीपत्र आदानप्रदान गर्नुहुँदै दुवै देशका अर्थसचिव । सहमतिको विस्तृत विवरण आउन बाँकी छ । सीले शनिबार सीले काठमाडौं–नुवाकोट–केरुङ सुरुङमार्ग बनाइदिने घोषणा गरेका थिए । साे सुरुङमार्ग निर्माणमा समेत समझदारी भएकाे बताइएकाे छ ।
नेपालका आँखा अस्पतालकाे गुणस्तरीय सेवासँगै बढ्याे भारतीय बिरामीको चाप
निजगढ । बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ । अन्य प्रकारका स्वास्थ्य सेवाका लागि यहाँका उपचार केन्द्र विश्वसनीय नभए पनि आँखाको उपचार राम्रो भएकाले यहाँ भारतीय सेवाग्राहीको सङ्ख्या बढेको हो । दैनिकजसो भारतबाट विभिन्न सवारीसाधन प्रयोग गरी आँखासम्बन्धी उपचार गर्न आउने बिरामीको सङ्ख्या यहाँका विरामीको सङ्ख्याको ४० प्रतिशत रहेको अस्पताल स्रोतको भनाइ छ । आँखाको उपचार राम्रो हुने भएका कारण आफूहरु उपचारको लागि नेपाल आएकोे विहारका प्रताप सिंहले बताए । सरकारको हस्तक्षेप नभएका कारण पनि अस्पतालको सेवा भरपर्दो र विश्वासिलो भएको आँखा विशेषज्ञ डाक्टर सुदर्शन काफ्लेको भनाइ छ । विगत पाँच वर्षदेखि सरकारले नेपाल नेत्र ज्योति सङ्घलाई वार्षिक रु पाँच करोड सहयोग स्वरूप उपलब्ध गराउँदै आएको छ । वार्षिक एक लाख ५० हजारको हाराहारीमा बिमारीले सेवा लिने गरेको र तीमध्ये करिब २० हजारको आँखाको शल्यक्रिया हुने गरेको डा. काफ्लेले बताएका छन् । अस्पतालमा आँखाको शल्यक्रिया रु एक हजार २०० मै हुने भएको र गुणस्तरीय सेवा पनि भएकाले भारतीय बिरामीको घुइँचो लाग्ने गरेको अस्पतालका प्रशासन प्रमुख प्रकाश वर्माको भनाइ थियो । विसं २०३१ मा स्थापना भएको यो अस्पतालले एकै दिन २६५ सम्म बिरामीको शल्यक्रिया गरी विश्व ‘रेकर्ड’समेत कायम गर्न सफल भएको थियो । रासस
सभामुखपछि लगत्तै सांसद मोहम्मद आफताब आलम पक्राउ
काठमाडाैं । सभामुख कृष्णबहादुर महरा पक्राउ परेकाे एक साता नवित्दै प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलमलाई रौतहट प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । उनी पूर्व मन्त्री समेत हुन् । सांसद आलमलाई गौर नजिक इद्रिस गेटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीन कार्कीले बताए । विसं २०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा उनीमाथि किटानी जाहेरी परेको थियो । आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । आज अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक कार्कीले बताए । उनीमाथि पहिलो संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । पछि मृतकका आफन्तले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी आरोपित आलमसहित पाँच जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । यसअघि याैनहिंसाकाे आराेपमा प्रतिनिधिसभाका सभामुख महरालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेकाे छ ।
सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत
काठमाडाैं । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग आग्रह गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा चीनमा आफूहरुले जनता र राष्ट्रलाई सही बाटामा डोर्याएका कारण जनताको अपार समर्थन पाएको र उक्त सद्भाव जनताको सत्ताका रुपमा स्थापित र लोकप्रिय भएको उल्लेख गरे । भेटमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति सीले नेपालको राजाीतिक उपलब्धि र विकासको पहल र नेपालको विशेषतासहितको प्रयत्नलाई बधाई दिएको र चीन नेपालको विकासका प्रयासलाई सहयोग गर्न तत्पर रहेको विश्वास दिलाएकाे बताए । “नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ । हामीबीच पहिलेदेखि नै राम्रो सम्बन्ध रहिआएको छ । यसलाई सबै तहमा विश्वास र विस्तार गर्नुपर्छ”, राष्ट्रपति सीले भने, “हामीहरुबीचको सम्बन्धलाई सरकार जनता, पार्टीको तहमा अगाडि बढाउनुपर्छ । दुई कम्युनिष्ट पार्टी भएकाले हाम्राबीचको राजनीतिक तहमा सम्बन्धका दायरा र आयामलाई अगाडि बढाउनुपर्छ ।” चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा शक्ति आर्जन गरेका कारणले त्यसैको आधारमा मात्रै आफूहरु हिँडिरहेको भन्ने नभएको बताउँदै राष्ट्रपति सीले भने, “शक्ति प्राप्त गरेका कारणले मात्रै होइन । कम्युनिष्ट पार्टीले आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्छ । त्यसलाई केन्द्रमा राखेर समाजवाद निर्माण गर्नुपर्छ । चीन र नेपालको बीचमा सकारात्मक पाटो मात्र छैन । चुनौतीका पहाड पनि छन् भन्ने बुझ्दै अगाडि बढ्नुपर्छ, जुन कुरा मैले हिजोको सम्बोधनमा समेत इङ्गित गरेकोे छु ।” भेटका अवसरमा नेकपाका अध्यक्ष दाहालले चीन र चिनियाँ कम्युनिष्ट पार्टीसँगको मित्रतालाई नेकपाले धेरै महत्व दिएको र एक चीन नीतिप्रति शब्दमा मात्र नभई व्यवहारमा समेत प्रतिबद्ध रहेको बताए । अध्यक्ष दाहालले भने, “चीनको विकासबाट हामी पनि लाभान्वित हुन चाहन्छौँ । नेपाल र नेपाली जनताले त्यसबाट लाभ लिन सक्छन् भन्ने हाम्रो विश्वास छ । तपाईँको नेतृत्वमा चीनले अझै बढी विकास गरी सबल समाजवाद निर्माण गरोस् भन्ने हाम्रो पनि अपेक्षा छ ।” राष्ट्रपति सी बसेकाे होटेलमा भएको भेटवार्तामा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए । यसपछि राष्ट्रपति सीले अध्यक्ष दाहालसँग बेग्लै भेटवार्ता गरेका थिए । राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत भएकाले दुई पार्टीका स्तरमा छलफल भएको हो । यही असोज ७ गते काठमाडौंँमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो । भेटमा राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, अन्य नेता र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिए ।
राष्ट्रिय बीमा कम्पनीले विद्यार्थी बीमा र क्रेडिट ग्यारेण्टी बीमा पोलीसी जारी गर्ने
काठमाडौ । राष्ट्रिय बीमा कम्पनीले बजारमा २ वटा नयाँ बीमा पोलिसी जारी गर्न अन्तिम तयारी गरिरहेको छ । उक्त बीमा कम्पनीले विद्यार्थी बीमा लेख तथा क्रेडिट ग्यारेण्टीसँग सम्बन्धित बीमा लेख जारी गर्ने भएको हो । दुबै पोलिसी तिहार अगाडि नै सार्वजनिक गर्ने तयारी भएको बताईएको छ । अहिले बजारमा अन्य कम्पनीले पनि विद्यार्थी बीमा लेख जारी गरेको भएपनि आफूहरुले बजारमा ल्याउन लागेको बीमा लेख) केही फरक रहेको कम्पनीले जानाएको छ । कम्पनीले विद्यार्थी बीमा लेखमा आफूहरुले नर्सरी कक्षा देखी कक्षा १२ सम्मका विद्यार्थीलाई समेटने जनाएको छ । राष्ट्रिय बीमा कम्पनीका मुख्य व्यवस्थापक सुबास कोईरालाले नेपाली बजारमा अहिले विभिन्न किसिमका बीमा लेखहरु जारी हुँदै आएको भएपनि विद्यार्थी लक्षित बीमा लेखहरु कम रहेको बताए । साथै, बीमितहरुबाट माग भएकाले आफूहरुले क्रेडिट ग्यारेण्टी बीमा लेख समेत बजारमा ल्याउन लागेको कम्पनीले जनाएको छ । उक्त बीमा कम्पनीले बैकले दिने ऋण सम्बन्धी बीमितलाई सहज होस भनेर सो बीमा लेख जारी गर्न आवश्य ठानेको हो ।