विकासन्युज

सानिमाले शुरु गर्यो दीर्घायु बचत तथा तलब खाता, ५ हजारको स्वास्थ्य परीक्षण सुविधा पाइने

काठमाडौँ । सानिमा बैंकले बचतकर्ताहरुका लागि स्वास्थ्य परीक्षण तथा बीमा सुरक्षण सुविधा सहितको सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले रु. ५ हजारको बार्षिक स्वास्थ्य परीक्षण सुविधा लिन सक्नेछन् । साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमा सुविधालिन सक्ने बैंकले जनाएको छ । त्यसैगरी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ रु. २० लाख बीमा रकम दावी गर्न सक्नेछन् । यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको रु. ३ लाख रुपैयाँ बीमा तथा रु २५०००/– को मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ । बैंकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको जनाएको छ ।

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता शनिबार हुने

काठमाडौँ । लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरिएको गोकर्ण गल्फ क्लबमा ‘लक्ष्मी बैंक खुल्ला गल्फ २०१९’ आयोजना गर्ने भएको छ । आगामी शनिवबार आयोजना गरिएको यो प्रतियोगिता छैठौँ संस्करण हो । यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३/४ ह्यान्डिक्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ । पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता (६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ । यसबाहेक, १०औं होलमा होल-इन-वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने बैंकले जनाएको छ ।

सुनको मूल्यमा सामान्य गिरावट, आजको मूल्य हेर्नुहोस्

काठमाडौँ । पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा खरिदबिक्री भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले घटेको छ । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५०० निर्धारण गरेको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको मुल्यमा पनि प्रतितोला रु ५ घटेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रु ८६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सनराइज बैंकले बुधबारदेखि तीन अर्बकाे ऋणपत्र बिक्री गर्दै, वार्षिक १०.२५ प्रतिशत व्याज निश्चित

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत कम्पनीहरुमध्ये ‘क’ वर्गमा परेको एकमात्र कम्पनी सनराइज बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) जारी गर्ने भएको छ । बैंकले कात्तिक २० गते(भोलि)देखि अंकित मूल्य १००० रुपैयाँको दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । ७ वर्षे अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा पाउने छन् । उनीहरुले ऋणपत्र बाँडाफाँड भएको मितिबाट ६/६ महिनाको अवधिमा व्याज पाउने छन् । यसअनुसार यस ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले अबको ७ वर्षसम्म पुस र असार महिनामा व्याज भुक्तान लिन पाउने छन् । उक्त ऋणपत्र सार्वजनिक निष्कासन(पब्लिक इस्यू)बाट सर्वसाधारणहरुमा र परिपत्र विधि(प्राइभेट प्लेसमेन्ट)बाट संस्थागत/व्यक्तिहरुमा बिक्री गरिने छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने छ । लगानी गर्न इच्छुकले भोलिदेखि छिटोमा कात्तिक २४ र ढिलोमा मंसिर १९ गतेसम्म आवेदन दिन सक्नेछन् । जसमा सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम तीन लाख कित्ता आवेदन दिन पाउनेछन् । तर व्यक्तिगत तवरबाट भने न्युनतम २५ कित्तादेखि माथि जति पनि आवेदन गर्न पाउने कम्पनीले जनाएको छ । बैंकले ऋणपत्र निष्काशन गर्न केयर रेटिङ नेपालबाट “केयर एनपी ए माइनस” रेटिङ्ग पाएको छ । जसले यस ऋणपत्रमा जोखिम न्युन रहेको भन्ने बुझाउँछ । यस ऋणपत्र नेप्सेमा सूचीकरण हुनुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट धितो राखी कर्जा समेत दिन सकिनेछ । बैंकद्धारा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) जनक शर्मा पौड्यालले भने, ‘यसमा लगानी गर्ने लगानीकर्ताले ७ वर्षसम्म निरन्तर उच्च प्रतिफल पाउने छन् । त्यसैले, लगानी गर्न इच्छुकलाई याे निकै राम्रो अवसर रहेको छ ।’ यस बारेमा थप जानकारी दिँदै बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका सीईओ ध्रुव तिमिल्सिनाले कुनै पूर्वनिर्धारित जोखिम नभएको तथा जोखिम मुक्त यस ऋणपत्र बजारमा सजिलै बिक्री हुने विश्वास गरेका छन् । उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत् बिक्री हुनेछ । सर्वसाधारणले भने आफ्नो डिम्याट खातासँग लिङ्क भएका जुनसुकै बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रयोगकर्ताले इन्टरनेट पहुँच भएका जुनसुकै स्थानबाट आवेदन गर्न सक्नेछन् । बैंक खाता नभएका तर लगानी गर्न इच्छुक सर्वसाधारणले देशभर रहेका जुनसुकै बैंकमा खाता तथा डिम्याट खाता खोली सजिलै लगानी गर्न सक्नेछन् । हाल बैंककाे चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैकिङ सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४२ एटीएममार्फत सेवा दिँदै आएको छ ।

११७ उद्योग स्थापना गर्न प्रस्ताव, अढाइ दशकपछि स्थापनाको अन्तिम तयारीमा

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ ।विभिन्न प्रक्रियागत कारणले लामो समयदेखि अल्झिँदै आएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको काम स्थानीय सरकारको अग्रसरताले गति पाएको छ । यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्रको काम अगाडि बढाउने क्रममा वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा राय सुझाव दिन सार्वजनिक सूचना जारी गरेको जानकारी दिएका छन् । बेदकोट नगरपालिका २ र ३ को राष्ट्रिय वनको करिब २६९.९३ हेक्टरमा औद्योगिक क्षेत्र स्थापना गरिने भएको हो । “प्रतिवेदनमाथि राय/सुझाव पेश गर्न मन्त्रालयले तीन दिनको समय दिएको छ ।” नगरप्रमुख चन्दले भने, “सुझाव भए स्थानीय तहदेखि मन्त्रालयसम्म दिन सकिन्छ ।” दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भएको अढाइ दशकपछि स्थापनाको अन्तिम तयारीमा पुगेको चन्दको भनाइ छ । औद्योगिक क्षेत्र स्थापनाको काम वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन, विस्तृत परियोजना प्रतिवेदन र विभिन्न कानूनी अड्चनका कारण ढिलाई हुँदै आएको थियो । स्थानीय तहको निर्वाचनपछि बेदकोट नगरपालिकाले औद्योगिक क्षेत्र निर्माणको कामलाई प्राथमिकताका साथ शुरुआतदेखि नै उठान गर्दै आएको छ । “राय÷सुझाव आएपछि सरोकारवाल, विज्ञसहितको टोली बसेर छलफल गरेर अघि बढ्छ ।” चन्दले भने, “त्यसपछि निर्माणको चरणमा प्रवेश हुन्छ ।” औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले प्रस्तावित क्षेत्रमा केही समयअघि सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत आयोजना गरेको थियो । औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि ३६२ आवेदन परेका थिए । दैजी छेला क्षेत्रका स्थानीयवासीले औद्योगिक क्षेत्र स्थापनामा ढिलाई गर्न नहुने भन्दै स्थानीयबासीलाई रोजगारी, स्वास्थ्य सेवा लगायतका सुविधामा ध्यान दिनुपर्ने बताउँदै आएका छन् । रासस

दराजले कात्तिक २५ गते विगेस्ट सेल डे ११ः११ मनाउँदै, डिस्काउण्टको लाभ लिन सकिने

काठमाडौं । विश्व प्रसिद्ध अनलाइन सेलर दराजले कात्तिक २५ गते ‘११ः११’ सेल डे मनाउने भएको छ । अङ्ग्रेजी महिना नोभेम्वर ११ को अवसरमा दराजले (वल्र्ड विगेस्ट अनलाइन सेल डे) मनाउने भएको हो । सेलको अवसरमा दराजले २४ घण्टाको अवधिमा अधिक मात्रामा बिक्री गर्ने जनाएको छ । एक दिनको अवधीमा मात्रै साढे ३ लाख ग्राहकहरुले सेलमा सहभागिता जनाउने कम्पनीको आँकलन छ । यस्तै, सोही अवसरमा अनलाइनबाट समान खरीद गर्दा ग्राहकहरुले डिस्काउण्ट समेत पाउने मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी बताइयो । दराजमा अनलाइन मार्फत सपिङ्ग गर्ने प्रयोजनका लागि ग्राहकहरुले सानिमा, नबिल, नेपाल इन्भेष्टमेण्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कार्ड प्रयोग गर्दा सहुलियत पाउने छन् । दराजले आफ्नो एप मार्फत सामान किन्ने ग्राहकहरुको लागि ११ः११ को अवसरमा छुट दिने जानकारी गराएको हो । दराजद्वारा आयोजित पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पहिले दराज भन्दा मानिसमा केही नकारात्मक सोच समेत रहँदै आएको थियो, तर अहिले सामानको गुणस्तरका कारण ग्राहकहरुको विश्वासमा वृद्धी हुन थालेको बताए । उनले विगतका दिनमा जस्तो सामान किन्न विभिन्न पसल धाउनु पर्ने अवस्थामा कमी भएको र यसमा दराजको समेत योगदान रहेकोमा प्रकाश पारे ।

काठमाडाैंमा ‘मानव र पृथ्वीलाई पोषित गरौं’ भन्ने नारासहित अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । पोषण सम्बन्धी चार दिनको अन्तर्राष्ट्रिय कार्यक्रम स्केलिङ अप न्यूट्रिशन मुभमेन्टको सम्मेलन काठमाडौंमा शुरु भएको छ । मानव र पृथ्वीलाई पोषित गरौं भन्ने नाराका साथ विश्वका ६१ देशको सहभागितामा उक्त कार्याक्रम भईरहेको छ । काठमाडौं स्थित होटेल याक एण्ड यतिमा सोमबार साँझ उद्घाटन भएको सो सम्मेलन संयुक्त राष्ट्र संघ र राष्ट्रिय योजना आयोगको सहकार्यमा कात्तिक २१ गतेसम्म हुनेछ । सम्मेलनमा १२ सय जनाको सहभागिता रहेको सो सम्मेलनमा आइभोरीकोष्टका उपराष्ट्रिपति, राष्ट्रिय योजना आयोेजकका उपाध्यक्ष, संयुक्त राष्ट्र संघका उच्च पदाधिकारी तथा कार्यकारी निर्देशक उपस्थिति रहेको थियो । राष्ट्रिय योजना आयोगकी सदस्य डा.उषा झाले विश्व व्यापी रुपमा पोषणलाई विस्तार गरी कुपोषण हटाउनका लागि नेपालले आगामी दिनमा सरकारी, प्रदेश, स्थानिय स्तरमात्र नै जनचेतना तथा विभिन्न गैरसरकारी क्षेत्रसँगको सहकार्यमा काम अगाडी बढाउने बताईन् । पछिल्ला दिनमा सुशासन कायम गर्ने, खानेपानी तथा सरसफाइ, निरक्षरता उन्मुलन, कृषि क्षेत्रमा आधुनिकिकरण भित्रिएसँगै कुपोषणमा कम हुँदै जाने र यसका लागि सरकारी निकाय तथा गैरसरकारी एवंम स्थानिय तहसँगको सहकार्यमा पोषण युक्त राष्ट्रको नेपाल हुने समय नलाग्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रोफेसर डा.पुष्पराज कडेलले बताए । सम्मेलनमा विशेषगरी कुपोषणको अन्त्य कसरी गर्ने भन्ने विषयमा आधारित रहि विश्वभरीका देशहरुले गर्दै आएको महत्वपूर्ण प्रयासको बारेमा छलफल भईरहेको छ । त्यस्तै आगामी वर्ष ‘वृद्धिका लागि पोषण’ टोकिया शिखर सम्मेलन जापानमा आयोजना हुने जानकारी दिएका छन् ।

एनआईसी एशिया र युनियन पे इन्टरनेशनलको सहकार्यमा भर्चुअल कार्डबाट भुक्तानी शुरु

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले युनियन पे इन्टरनेशनलको सहकार्यमा ‘एनआइसी एशिया युनियन पे भर्चुअल कार्ड’को प्रयोगबाट भुक्तानी गर्ने प्रणालीको शुरुवात गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र युनियन पे इन्टरनेशनका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा कार्य शुरु गरिएको हो । उक्त कार्यक्रममा युनियन पे इन्टरनेशनल र एनआईसी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासंग एकिकृत गरी छिट्टै ग्राहक सामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ । नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त भुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ । युनियन पे इन्टरनेशनलले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे जनाइएको छ ।