काठमाडौंको पुतलीसडकमा एनआईबिएलको शाखा स्थानान्तरण
काठमाडौं एनआईबिएल एस क्यापिटल लिमिटेडले काठमाडौंको पुतलीसडकमा शाखा स्तान्तरण गरेको छ । काठमाडौंको लालदरवारस्थित उक्त शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरिएको हो । बैंकले उक्त मितिबाट लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु यस नयाँ शाखाबाट पूर्ण रुपमा सञ्चालनमा आएकाले सो सम्बन्धी सबैमा जानकारी गराएको छ । यसरी, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको यस सहायक कम्पनीले अहिलेको बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका सम्पूर्ण सेवाहरु तथा सामूहिक लगानी कोष सेवाहरु विभिन्न संस्थाहरु लगायत सर्वसाधारणहरुलाई प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्स बैंकको ८५औं शाखा काठमाडैंको कमलादीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको कमलादीमा ८५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिंग कारोवारपछि २०७३ सालमा नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट बैंकिंग सेवा दिंदै आएको छ । यस बैंकले ८५ वटा शाखा, ८२ वटा एटिएम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, यसले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी तीन अर्ब नाघ्याे
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रस्तावित १४.५ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर र १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गरेको हो । साथै, बोनस सेयर वापतको कर प्रयोजनको लागि ३९ लाख ५७ हजार १५८ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित भएको छ । आ.व. २०७४/७५ मा कम्पनीले कूल ६ लाख ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, कूल दावी भुक्तानी २०५ करोड रुपैयाँ र ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको सभामा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले जानकारी गराएका छन् । उनले इन्स्योरेन्सको चुक्ता पूँजी तीन अर्ब रुपैयाँ नाघेको छ । यसैगरी, २०७५ असार मसान्तसम्ममा कम्पनीको कुल लगानी २३.५४ प्रतिशतले वृद्धि भई २० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले वृद्धि भई २१ अर्ब ४७ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल वृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ९.५८ प्रतिशत पुगेको अध्यक्ष सिंहले जानकारी दिइन । साथै, व्यवसाय विस्तारसँगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना संचालनमा ल्याएको कम्पनीले जनाकारी दिएको छ ।
मोरङका अधिकांश बासिन्दा केराखेतीमा, वार्षिक अढाई करोड आम्दानी
भद्रपुर । खाँदा गुलियो र पोषिलो हुने केरा बालकदेखि वृद्धसम्म सबैलाई मन पर्ने स्वादिष्ट फल हो । बिरामीले समेत खान मिल्ने यो फलको खेती तराई र पहाड सबैतिर फाट्टफुट्ट हुने गर्दछ । मोरङ जिल्लाको उत्तरी पहाडी गाउँपालिका मिक्लाजुङको वडा नं ५ मा भने वडाका अधिकांश बासिन्दा केराखेतीमा जुटेका छन् । मिक्लाजुङको वडा नं ५ मा जोगिटार, बेलटार, गुप्तीटार, लिङ्गेटार, खोलीटार, आँपटार, ठूलो सामलिङ, सानो सामलिङ, धानखेती र लालवस्ती नामका १० वटा गाउँ छन् । पाँच सय परिवारको बसोबास रहेको ती गाउँका हरेक घरमा कम्तीमा ५० देखि ४०० झ्याङसम्म केराको बगान छ । एक झ्याङमा तीन वटा बोट हुने र खरिदकर्ताहरुले बगानमै आएर प्रतिघरी रु ३५० सम्ममा किन्ने गरेकोवासी स्थानीय मिलन राई बताउँछन् । उनका अनुसार यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत नै केराखेती हो । “नगदेबाली भएकाले खरिदकर्ताले बगानमै आएर माल उठाउँछन् र दाम पनि हातहातै दिन्छन्,” ७० झ्याङ केराखेती गर्दै आएका राई बताउँछन् । राई, लिम्बु, बाहुन, क्षेत्री, मगरलगायतका समुदायको बसोबास रहेको यो वडा पुग्न पूर्व–पश्चिम राजमार्गको मङ्गलबारे, पथरी र कानेपोखरीबाट मोटरबाटो बनेको छ । व्यापारीहरुले यहाँ उत्पादित केरा किसानबाट किनेर सिधै काठमाडौँ पुर्याउने गरेका छन् । वडाकै धेरै केराखेती गर्ने किसान धनबहादुर राईको केरा बगानमा ४०० झ्याङ छन् । उनले केराखेतीबाट वर्षमा रु चार लाखसम्म आम्दानी हुने बताउँछन् । “चामल किनेर भात खान्छौं, नानीहरु पढाउँछौं, दुःख बिमार हुँदा खर्च गर्छौं,” केराखेतीको आम्दानीले घरको सबै गर्जो टार्ने गरेको बताउने ६६ वर्षीय राई बताउँछन् । उनका अनुसार स्थानीय बासिन्दाले भोटाङे जातको केराखेती गर्दै आएका छन् । चिनीचम्पा, मालभोग, जहाजी लगायतका केराका बोटहरु यहाँ थोरै छन् । भोटाङे केराको बिरुवाले एक वर्षमै फल दिने गरेको र एउटा वयस्क बोटले कम्तीमा चार वटा नयाँ बिरुवा उमार्ने गरेको राईले बताए । मिक्लाजुङ तराईको मोरङ जिल्लामा परे तापनि यहाँको भौगोलिक बनोट पूरै पहाडको छ । भिरालो र उर्बर जग्गा भएकाले यस क्षेत्रमा केराखेती फस्टाएको हो तर, यहाँका अधिकांश केराखेती परम्परागत ढङ्गले गरिएको छ । आधुनिक विधि, मलबीउ र स्याहार नअपनाई किसानहरुले आफ्नै परम्परागत ज्ञान, श्रम र शीपका आधारमा खेती गरिरहेका छन् । मिक्लाजुङ गाउँपालिका वडा नं ५ का वडासचिव हरिप्रसाद कोइरालाले परम्परागत रुपमा भइरहेको केराखेतीलाई आधुनिक प्रणालीमा बदल्न स्थानीय सरकारले यो वडालाई केरा र सुपारी खेतीको पकेट क्षेत्र घोषणा गरिसकेको बताएका छन् । चालु आर्थिक वर्षमा केराखेती पकेट क्षेत्रका लागि रु ५ लाख बजेट विनियोजन भइसकेको छ । “कसैले अर्हाएर वा कुनै अध्ययन भएर होइन, गाउँलेहरु आफैंले निर्वाहका लागि केराखेती थालेका रहेछन्,” केराखेतीको विकासबारे वडासचिव कोइराला भन्छन् – “हरेक घरमा सय पचास झ्याङ केराखेती छ । अब वडा कार्यालयले उनीहरुलाई व्यावसायिक बनाउन मद्दत गर्ने कार्यक्रम ल्याउँदैछ ।” वडाका अध्यक्ष रुद्र लिङदेनले आफ्नो वडाको सबै गाउँ केराखेतीका लागि उर्बर रहेको पहिचान भइसकेको हुँदा किसानहरुलाई आधुनिक खेतीका लागि तालीम, बीउ र अनुदान दिएर प्रोत्साहन दिने वडा कार्यालयको योजना रहेको जानकारी गराए । सिँचाइको असुविधा भएको हुँदा यो क्षेत्रमा धान र अन्य बाली मासेर किसानहरुले केराखेती विस्तार गरिरहेका छन् । बिचौलिया खरिदकर्ताहरुले सस्तोमा किनेर लैजाने गरेको कारण खास किसानहरुले आफ्नो श्रम र लगानीको आधारमा मूल्य कम पाउने गरेका छन् । “ठूलो घरी छ भने एउटाको रु ३५० सम्म दिन्छन्, नत्र सानो घरीको अढाई सय मात्र दिन्छन्,” एक सय झ्याङ केराखेती गरिरहेका स्थानीयवासी रमेश भण्डारी भन्छन् – “त्यही एउटा घरी राजमार्गको मङ्गलबारे बजार पुग्दा रु ८०० हुन्छ भने काठमाडौँ पुग्दा रु एक हजार ५०० हुँदोरहेछ ।” किटनाशक औषधि र रासायनिक मलको प्रयोग नभएको हुँदा यहाँको केराखेती पूर्णरुपमा जैविक मानिएको छ । सरकारबाट कुनै तालीम र अनुदान नपाएको बताउने किसान धनबहादुर राईले हालै केराखेतीमा गबारो र कालो छिर्के रोग देखा परेको बताए । यहाँ दशैं, तिहार, छठ र तीज पर्वका बेला केरा किन्न आउने व्यापारीहरुको भीड नै लाग्ने गरेको छ । प्राकृतिक रुपमा मनमोहक मिक्लाजुङका यी गाउँहरुमा मौलाइरहेको केराखेती अध्ययन र अनुसन्धानका लागि नमुना बन्न सक्छन् । नजिक रहेको कोलुङ झरना र जैविक खान्कीका कारण यहाँ घरबास पर्यटन समेत फस्टाउने प्रशस्त सम्भावना छ । रासस
२० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स, क-कसले भर्न पाउँछन् ?
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको आइतबार(आज)देखि २० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैंयाँ दरका १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार आगामी असोज २६ गतेसम्म सेयर खरिद गर्ने सेयरधनीहरुले सो मात्राको हकप्रद भर्न सक्नेछन् । उक्त सेयरधनीले आगामी मंसिर २५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिविआईएल क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदको लागि इन्स्योरेन्सको केन्द्रिय तथा सम्पूर्ण शाखा कार्यालयहरु र काठमाडौंको डिल्लीबजारमा रहेको सिविआईएल क्यापिटलबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ । साथै, सी–आस्वा प्रणाली मार्फत समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
चुरेमा क्षेत्रमा बढ्याे काठ तस्करी
निजगढ । चुरे क्षेत्रको वन–जङ्गलमा पछिल्लो समय काठ तस्करी बढेको छ । तस्करले साल, खयर, साज कर्मालगायत जातका रुख कटान गर्न थालेका छन् । चुरेमा पर्ने परवानीपुर, सिगौल, भमरालगायत क्षेत्रको चुरेमा काठ तस्करी बढेको छ । दैनिक काठ तस्करी हुन थालेपछि जिल्ला वन कार्यालयलाई नियन्त्रण गर्न समस्या भएको छ । केही दिनअघि तस्करले बिक्रीका लागि लुकाएर राखेको सालको काठ डिभिजन वन कार्यालयले बरामद गरेको थियो । निजगढस्थित सेक्टर वन कार्यालयले पसाहा खोला, रतनपुर, सिगौललगायत क्षेत्रबाट ठूलो परिमाणमा काठ बरामद गरेको डिभिजन वन कार्यालय बाराका प्रमुख महमद मन्सुरले जानकारी दिएका छन् । तस्करले काठ माटो, बालुवा तथा स्याउलाले छोपेर राख्ने गरेका छन् । उनीहरुले सालको एउटा कडी रु तीन हजारभन्दा बढीमा बिक्री गर्ने गरेका छन् । निजगढ नगरपालिका– १, २ र ३ अन्तर्गत पर्ने सिगौल–फापरबारी सडकखण्डमा साल तथा साजका रुख काटिएका छन् । तस्करले काठ ट्र्याक्टरमा ढुवानी गर्ने गरेका छन् । उनीहरुले दिउँसै रुख काटेर तस्करी गर्ने गरेका हुन्। रासस
राष्ट्रिय बीमा संस्थानले सम्पन्न गर्यो जीवन बीमा अभिकर्ताको आधारभुत तालिम
काठमाडौं । राष्ट्रिय बीमा संस्थाद्वारा विराटनगरमा जीवन बीमाको अभिकर्ता तालिम कार्यक्रम सम्पन्न भएको छ । गत कात्तिक २१ गतेदेखि २३ गतेसम्म गरी सो कार्यक्रम सम्पन्न गरिएको हो । उक्त तालिममा ३३ जनाले सहभागीता जनाएका छन् । सो तालिममा बीमाको महत्व र सिद्धान्तका विषयमा छलफल गरिएको थियो । यस्तै, बीमा सम्बन्धी हाल नेपालमा लागू भएका ऐन, नियमावली तथा विनियमहरुको बारेमा छलफल भएको पाइन्छ । कार्यक्रममा राष्ट्रिय बीमा संस्थानमा प्रचलित बीमालेखहरु तथा अभिकर्ताहरुको सेवा सुविधाको विषयमा चर्चा भएको थियो । बीमा बजारीकरण र अभिकर्ताको व्यवसाय वृद्धीका तरिकाहरुमा समेत कार्यक्रम केन्द्रित भएको पाइन्छ । सोही तालिम कार्यक्रमको अवसर पारेर राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थाको भावी कार्यदिशाको विषयमा सहभागीलाई प्रशिक्षित गराएका थिए । साथै, कात्तिक २४ देखी २६ गतेसम्म विर्तामोडमा जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन हुने पाइएको छ ।
सिद्धार्थ बैंकको नाफा ५२ करोड १४ लाख, तीन महिनामा एक खर्ब १८ अर्ब निक्षेप संकलन
काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ५२ करोड १४ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले कुल ५२ करोड ५० लाख रुपैयाँ कमाएको थियो । चालु आवको तीन महिनासम्ममा बैंकले निक्षेपतर्फ करिब साढे ३ अर्बले वृद्धि गरेको छ । गत आवको असोजसम्ममा एक खर्ब १४ अर्ब रुपैयाँ संकलन गरेको बैंकले चालु आवको सोही अवधिमा एक खर्ब १८ अर्ब रुपैयाँ संकलन गरेको छ ।त्यस्तै, कर्जा प्रवाह तीन अर्ब ८० करोडले बढाएको छ । असोज मसान्तसम्ममा बैंकले कर्जा प्रवाह एक खर्ब ८ अर्ब रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा चार अर्ब १६ करोड रुपैयाँ रहेको छ । असोजमसान्तसम्म तीन अर्ब ८१ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले दुई अर्ब ३८ करोड रुपैयाँ व्याज खर्च गरेको छ । बैंकको कस्ट अफ फण्ड ७.३३ प्रतिशत, बेसरेट १०.०२ प्रतिशत र सीसीडी रेसियो ७७.३६ प्रतिशत रहेको छ । त्यस्तै, पुँजी पर्याप्तता अनुपात भने १४.२६ प्रतिशत र ब्याजको स्प्रेडदर घटेर ४.४३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २३.०३ रुपैयाँ रहेको छ ।