विकासन्युज

नेपालको ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न युनान इच्छुक

काठमाडौं ।  चीनको युनान प्रान्तका गर्भनर रुएन चेङगफाले नेपालको ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न युनान इच्छुक भएको बताएका छन् । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्दै उनले युनान नेपालसँग सहकार्य गरेर अगाडि बढ्न इच्छुक भएको बताएका हुन् । उनले नेपाल र चीनबीच पुरानो मित्रता रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गरे। सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा सोमबार भएको भेटमा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको थियो । मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी चिनफिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे । नेपाल र चीनबीच लामो समयदेखि राजनीतिक, प्रशासनिक र जनस्तरको सम्बन्ध रहेको छ। यसप्रकारका उच्चस्तरीय भ्रमणले चिनियाँ नागरिकलाई नेपाल भ्रमणको लागी प्रोत्साहनसमेत गर्नेछ भन्ने मेरो विश्वास छ’, मन्त्री पुनले भेटमा भने।नेपाल भ्रमणको क्रममा आइतबार काठमाडौं आएका गर्भनर चेङगफा नेतृत्वको ८ सदस्यीय प्रतिनिधिमण्डलले ऊर्जामन्त्री पुनसहित मन्त्रालयका अधिकारीसँग छलफल गरेको हो। छलफलमा ऊर्जा क्षेत्रमा गर्ने लगानी, पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्ने बारेमा छलफल भएको थियो। भेटमा ऊर्जामन्त्री पुनले तामाकोशी जलविद्युत आयोजनामा युनानको प्रान्तीय सरकारले नै लगानी गर्ने खबर आफूले प्राप्त गरेको भन्दै अन्य जलविद्युत परियोजनामा पनि लगानी गर्न आग्रह गरे। ‘तामोकोशी जलविद्युत परियोजनामा युनान सरकारको ८० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको छ। यसमा म तपाईंहरूलाई स्वागत र धन्यवाद दिन चाहन्छौ। पछिल्लो समय चीनसहित विश्वका विभिन्न देशका लगानीकर्ताहरूको संख्या धेरै छ’, मन्त्री पुनले भने। उनले सरकारले जलविद्युतको क्षेत्रमा उदार नीति लिएको भन्दै नेपालको जलविद्युतमा थप लगानीका लागी पहल गरिदिन आग्रह समेत गरे। मन्त्री पुनले भने, ‘हामीले जलविद्युत क्षेत्रमा लचिलो नीति लिएका छौं, पहिलो १० वर्षमा आयकर समेत छुट हुने प्रावधान छ। नेपालभित्र खपतको लागी बजारको विस्तार पनि हुंदै गएको छ। भारत, कोरिया र चीनलगायतका देशबाट पनि लगानीकर्ताहरू आईरहेका छन्। हामी युनानबाट पनि थप लगानी होस् भन्ने आशा राख्छौं।’ बङ्गलादेश र भारतमा विद्युत व्यापारको लागी ढोका खोलेको भन्दै नेपालमा पनि बजार निर्माण भइरहेको मन्त्री पुनको भनाई थियो। उनले ४ वर्षभित्र ५ हजार मेगावाट बिजुली उत्पादन हुने जानकारी दिंदै नेपालले जलविद्युतको क्षेत्रमा प्रगति गरिरहेको बताए। मन्त्री पुनले सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने निर्णय गरेको भन्दै युनान प्रान्तका जनतालाई नेपाल भ्रमणको लागी यो सन्देश प्रवाह गरिदिन आग्रह गरे। गर्भनर चेङफाले तामाकोशी ३ जलविद्युत आयोजनामा युनान सरकारले लगानी गरेको भन्दै यो आयोजना सुरुवात मात्र भएको र आगामी दिनमा युनानले जलविद्युत क्षेत्रमा थप लगानी गर्ने धारणा राखे। उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलवे परियोजनाको अध्ययन गर्ने समझदारी भएको भन्दै रेलवे परियोजना निर्माणसंगै युनान प्रान्त र नेपालको व्यापारमा बृद्धि हुने विश्वास व्यक्त गरे। युनान प्रान्तका गर्भनर चेङगफाले कुनमिङमा आयोजना हुने कुनमिङ साउथ एसिया एक्सोमा सहभागी हुन मन्त्री पुनलाई निमन्त्रणा समेत दिए।

सिभिल क्यापिटलको सीईओमा झनकराज ढुङ्गेल, क्यापिटल मार्केटमा मात्रै ८ वर्षको अनुभव

काठमाडौं । सिभिल क्यापिटल मार्केटको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा झनक राज ढुङ्गेल नियुक्त भएका छन् । सीईओ पदमा नियुक्त भएसँगै ढुङ्गेलले सिभिल क्यापिटलको व्यवस्थापनको नयाँ नेतृत्वले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाइ नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने प्रतिवद्धता गरेका छन् । नवनियुक्त सीईओ ढुङ्गेल विगत २५ वर्षदेखि नेपालको बैंकिङ्ग तथा वित्तीय क्षेत्रमा सकृय रहेका छन् । साथै, उनले विगतका ८ वर्ष विभिन्न क्यापिटल मार्केट क्षेत्रमा सीईओको जिम्मेवारी निभाई सकेका छन् ।

सिद्धार्थ बैंक कास्कीको हेम्जामा, शाखा संख्या १७३ पुग्याे

काठमाडौं । सिद्धार्थ बैंकले कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको कुल शाखा सञ्जाल संख्या १७३ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९० एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सहुलियतपूर्ण कर्जा दिने क्षेत्र थपियो, सार्वजनिक सवारी र कृषि उपकरणमा पनि अब ब्याज अनुदान

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जा दिने क्षेत्रहरु थप गरेको छ । यसअघि कर्जा सहुलियत दिँदै आएका क्षेत्रहरु थप गरी अब कपडा उद्योग, सार्वजनिक यातायात र प्राविधिक शिक्षा अध्ययनका लागि पनि त्यस्तो कर्जा दिनेगरी अर्थ मन्त्रालयले सहलियतपूर्ण कर्जा कार्यविधि संशोधन गरेको हो । यसअघि ७ ओटा शीर्षकअन्तर्गत ५ करोडसम्मको कर्जामा सरकारले ब्याज अनुदान दिँदै आएको छ । अहिले भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि अधिकतम ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि अधिकतम ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि अधिकतम १० लाख, दलित समुदाय विकास कर्जाका लागि अधिकतम १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड रुपैंयासम्मको कर्जा पाउने व्यवस्था भएकोमा प्राविधिक शिक्षाका लागि २ लाखसम्म व्यक्तिगत जमानीमा र कपडा उद्योगका लागि ५ करोडसम्म धितोमा कर्जा दिने व्यवस्था थप गरेको छ । सवारी साधन किन्नको लागि भने शिक्षित युवा स्वरोजगार कर्जाको यसअघि रहेको जस्तै ७ लाखसम्म कर्जा पाइनेछ जसमा किनिएको गाडि नै धितोमा रहनेछ । सरकारले संशोधन गरेको कार्यविधिअनुसार अब लिइएको सबै ऋण ५ वर्षभित्र तिर्न समेत नपर्ने भएको छ । त्यस्तो अवधि बैंक र ऋणीको सहमतिमा निर्धारण हुन सक्नेत यद्यपि त्यस्तो ऋणमा ५ वर्षपछि ब्याज अनुदान पाइने छैन । अहिलेको संशोधनले त्यस्तो ऋणको बीमा प्रिमियम, कर्जा सुरक्षण र कर्जा सूचना शुल्कको भार भने ऋणीमै थोपरिदिएको छ । यसअघि यसबारे स्पष्ठ ब्याख्या थिएन तर बैंकहरुले भने त्यस्तो शुल्क ग्राहकबाट दिँदै आएका थिए । यो संशोधनले कृषि व्यवसायमा लागेका व्यक्तिले किन्ने कृषि औजारका लागि समेत व्याज अनुदान दिने व्यवस्था गरेको छ तर व्यवसायिक रुपमा कृषि कारोबार गर्नेका लागि भने त्यो अनुदान दिइने छैन । कार्यविधिले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधिको व्याख्या गर्न केन्द्रीय निर्देशन समिति समेत बनाएको छ जसमा अर्थसचिव संयोजक रहनेछन् भने राष्ट्र बैंकका डेपुटी गभर्नर सदस्य, बीमा समितिका अध्यक्ष सदस्य, कृषि र अर्ग मन्त्रालयका सहसचिव स्तरका कर्मचारी र निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओ समेत सदस्य रहनेछन् ।

निर्माण व्यवसायीद्धारा प्रधानमन्त्री निवासअगाडि धर्ना

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघ प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि साढ् ९ बजेदेखि धर्ना दिएका हुन् । उनीहरुले ‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै धर्ना दिएको बताएका छन् । हातमा कालोपट्टी बाधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिन धर्नामा समेत बस्नुपरेको बताएका छन् । महासंघका अध्यक्ष रवि सिंहले सो नियमावली संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको प्रतिबद्धता ४ महिना पूरा हुँदा पनि कार्यान्वयनमा नआएकाले आन्दोलनमा जानुपरेको बताए । उनले आफूहरुको सो माग पूरा नभए विकास, निर्माणका कामहरु ठप्प हुने चेतावनी पनि दिए। महासंघले नियमावली संशोधन नभए दोस्रो चरणअन्तर्गत माइतीघरमण्डलामा कालोझण्डासहित प्रदर्शन गर्ने, आयोजनाको इजाजतपत्र सरकारलाई बुझाउने, ठूला इक्विपमेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिष्कार गर्ने, विकास निर्माणका कार्यहरु पूर्णरुपमा ठप्प पार्नेलगायतका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ।  

महासंघको पदाधिकारीमा सर्वसहमतिको प्रयास, दर्जन आकांक्षीलाई थमाउन कठिन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघलाई चुनाव लागेको छ । यसपटक महासंघका नेतृत्वका लागि हुने निर्वाचनमा कम्तिमा पदाधिकारीमा सर्वसहमति जुटाउने प्रयास शुरु भएको छ । तर ४ पदका लागि एक दर्जनभन्दा बढी आंकाक्षी भएकोले सहमति जुट्न कठिन देखिन्छ । वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने व्यवस्था भएकोले महासंघको चुनाव वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रित हुनेछ । अहिले वरिष्ठ उपाध्यक्ष हुने व्यक्ति ३ वर्षपछि अध्यक्ष हुने भएकोले पनि यो पद पाउन महासंघभित्र कडा प्रतिष्पर्धा हुन्छ । वरिष्ठ उपाध्यक्षका आकांक्षीमा चन्द्रप्रसाद ढकाल र किशाेर प्रधान अगाडि देखिएका छन् । ढकाल महासंघमा एसोशिएट समूहको उपाध्यक्ष हुन् भने प्रधान जिल्ला नगर समूहको उपाध्यक्ष हुन् । सोही पदका लागि उमेशलाल श्रेष्ठ र दिनेश श्रेष्ठ पनि आकांक्षी हुन् । उमेशलाल हाल वस्तुगत समूहको उपाध्यक्ष हुन् भने दिनेश पूर्व उपाध्यक्ष तथा प्रदेश ३ उद्योग वाणिज्य संघको सभापति हुन् । सबैलाई मिलाएर नेतृत्व गर्ने क्षमता भएको, यसअघि पनि एशोसिएट उपाध्यक्षमा सर्वसहमत चुनिएकाले अन्तिम समयसम्म ढकाल वरिष्ठ उपाध्यक्षमा सर्वसहमत हुन सक्ने अनुमान गरिएको छ । तर महासंघका पूर्व अध्यक्षहरु बीचको इगो टसलका कारण सहमति नजुट्न पनि सक्छ । एसोशिएट उपाध्यक्ष पदमा कम आकांक्षी छन् । सौरभ ज्योति यसपाली सर्वसहमतिमा एसोशिएट समूहको उपाध्यक्ष बन्ने सम्भावना बढी छ । यस समूहको उपाध्यक्षमा शाहिल अग्रवालको पनि दाबी छ । तर उनको दाबी अर्को पटक उपाध्यक्ष हुने धरातल बनाउनको लागि मात्र आएको जानकारहरु बताउँछन् । वस्तुगत समूहको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ र कमला श्रेष्ठले चाहाना राखेका छन् । सहमतिको वातावरण बन्दा अन्जन सर्वसहमत हुन सक्छन् भने चुनावै हुँदा पनि अन्जन बलियो उम्मेदवार हुन् । पदाधिकारीतर्फ सबैभन्दा बढी आकांक्षी जिल्ला नगर उपाध्यक्षमा देखिएका छन् । कार्यसमिति सदस्य अरुण सुमार्गीले जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । कार्यसमिति सदस्यहरु गुणनीति तिवारी, दिलसुन्दर श्रेष्ठ पनि जिल्ला नगर उपाध्यक्ष बन्न दौडधूपमा लागेको छ । दिनेश श्रेष्ठ र डीवी बस्नेतलाई पनि जिल्ला नगर उपाध्यक्षको सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । आकांक्षी धेरै नै भएकोले जिल्ला नगर उपाध्यक्षमा सर्वसहमति जुट्ने सम्भावना कम छ । आगामी चैतमा ५ पदाधिकारीसहित ७० पदको लागि निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष पदमा लागि प्रत्यक्ष निर्वाचन हुन्छ भने कार्यसमितिबाट कोषाध्यक्ष चयन हुन्छ । ‘वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीमा सर्वसहमति हुन पनि सक्छ, हामी त्यसतर्फ कसरत गरिरहेको छौं’ महासंघको निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने–‘सर्वसहमतिमा चुनिदा नेतृत्वको भूमिका प्रभावकारी हुन्छ । निजी क्षेत्र मिलेर अगाडि बढेको सन्देश पनि जान्छ ।’

नेपाली उद्योगमा लगानी बढ्दै, २५ खर्ब ५१अर्ब लगानीका चार लाख उद्योग दर्ता

काठमाडाैं । पछिल्लो समय नेपाली उद्योगहरुमा लगानी बढ्दै गएको छ । लगानीकर्तालाई सहजीकरण, उद्योग लगानीमैंत्री वातावरण, व्यवस्थापन तथा संरचना निर्माणले उद्योगमा लगानी बढ्दै गएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागका अनुसार हालसम्म नेपाली उद्योगमा २५ खर्ब ५१अर्ब लगानी भएको छ । ठुला, मझौला, लघु घरेलु तथा साना र लगानी बोर्डमा दर्ता भएका गरी ४ लाख एक हजार ६ सय ६६ उद्योग दर्ता भएका छन् । चालु आवको पहिलो चौमासमा १३ हजार एक सय १६ उद्योगहरू थपिएका छन् । उद्योग विभागले पाँचौ उद्योग दिवसका अवसरमा सोमबार प्रस्तुत गरेको तथ्याकंका अनुसार पछिल्लो समय उद्योगमा लगानी बढ्दै गएको देखिएकाे हाे । यस्तै चालु आर्थिक वर्ष २०७६/०७७ को प्रथम चौमासिकमा ८२ अर्ब ५७ करोड रुपैयाँ विदेशी लगानी स्विकृति गरिएको विभागले जनाएको छ । चालु आवको यो अवधिमा वैदेशिक लगानीका एक सय चार उद्योगमा ८५ अर्ब ५७ करोड लगानी प्रतिवद्धता भएको छ । गत आवको चालु आवसम्म उर्जामूलक, उत्पादनमूलक, कृषि वन तथा पैदावरमा आधारित, निर्माण, पर्यटन, सेवामूलक, खनिज र सूचना प्रशासन तथा सञ्चार प्रवधिमा आधारित गरी कुल ४ हजार ८ सय २२ उद्योगहरु विदेशी लगानीमा स्विकृत भएका छन् । विभागले यो अवधिसम्म धेरै प्रगति तथा सुधारका काम गरेको बताएको छ । विभागले हालसम्म संरचनागत सुधार, प्रकृयागत सुधार, नीतिगत सुधारहरु गरेको बताएको छ । विभागले पाँचौं उद्योग दिवसका अवसरमा प्रस्तुत गरेको प्रतिवेदनका अनुसार राजनैतिक स्थिरता र सरकारको स्थायित्व, लगानीमैन्त्री ऐन, ऊर्जाकाे  पर्याप्तता, औद्योगिक पूर्वाधारमा प्राथमिकताका साथ सरकारको लगानी बृद्धि यस क्षेत्रका सवल पक्ष भएको बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरूङले उत्पादनमूलक उद्योग धेरै भएपनि सरकारले त्यसलाई कसरी विकास गरिन्छ भनी अध्यन गर्न नसकेको बताइन् । उनले सरकारले दिने सेवा सुविधामा पनि ढिलासुस्ती भएका कारण काममा सुस्तता आउने गरेको बताइन । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको उच्च ब्याजदरको कारण उद्योगमा समस्या आएको बताए । उनले निजी क्षेत्रलाई प्रोत्साहन गरेर अगाडी बढे सरकारले लिएको सुखी नेपाली सम्वृद्ध नोपल नारा पुरा हुने बताए । स्वदेशमा उत्पादन भएका सामग्रीलाई सरकारले प्रोत्साहन दिनु पर्ने उनको भनाइ छ ।

मेरियटको व्यवस्थापनमा फूलबारी रिसोर्ट नयाँ वर्षदेखि सञ्चालमा आउँदै

काठमाडौं । दक्षिण एशियाकै अब्बल होटलको रुपमा लिइएको फूलबारी रिसोर्ट अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ब्राण्ड मेरियटको व्यवस्थापनमा नयाँ वर्षदेखि पुनः सञ्चालनमा आउँदैछ । ९० को दशकमा स्थापना भएको उक्त रिसोर्ट २ वर्षयता बन्द छ । आगामी नयाँ वर्ष अर्थात २०७७ वैशाख १ गतेदेखि होटल सञ्चालन गर्न नेपाल बैंकसँग फूलबारीले सम्झौता गरेको छ । नेपालीको गहनाको रुपमा ५० को दशकमा पोखरामा स्थापना गरिएको उक्त रिसोर्टमा नेपाल बैंकको ७० प्रतिशत ऋण लगानी र सञ्चालक पियुष अमात्यको ३० प्रतिशत लगानी रहेको थियो । नयाँ वर्ष वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारीका साथ रिसार्ट सञ्चालन गर्न लागिएको सञ्चालक अमात्यले विकासन्युजलाई बताए । उक्त रिसोर्ट नयाँ व्यवस्थापन सहित आउन लागेको हो । हस्पिटालिटी क्षेत्रमा संसारमै अब्बल म्यानेजमेन्ट मानिएको अमेरिकन कम्पनी मेरियट इन्टरनेशनलले रिसोर्ट व्यवस्थापनको जिम्मा लिएको छ । मेरियट इन्टरनेशनल अमेरिकन चेन ब्राण्ड कम्पनी हो । यस अन्तर्गत संसारभर ७ हजार होटलहरू संचालनमा छन् । होटल सञ्चालनको जिम्मा मेरियटले लिएको कर्मचारीको सम्पूर्ण व्यवस्थापन पनि उसैले गर्ने सञ्चालक अमात्यले बताए । ‘होटल पुनःसञ्चालन गर्न लागेका छौं,’ उनले भने ‘मेरियट इन्टरनेशनल र होटलबीच ३० वर्षको सम्झौता भएको हो ।’ कर्मचारी ट्रेड युनियन, एक दशक लामो द्वन्द्व तथा इन्डियन एयरलाइन्स अपहरण परेपछि नेपालमा पर्यटन गतिविधि घट्न थाल्यो । रिसोर्टले लक्ष्य अनुरुपको आम्दानी गर्न सकेन र विस्तारै संकटतिर धकेलिदै गयो । २०५०/५१ मा फूलबारी रिसोर्टले नेपाल बैंकबाट करिब १ अर्ब ३० करोड कर्जा लिएको थियो । अहिले पेनाल ब्याज बाहेक रिसोर्टको साँवा ब्याज गरी ३ अर्ब ४६ करोड पुगेको छ । २ अर्ब १६ करोड ब्याज सहित सो कर्जा साढे ३ अर्ब पुगेको हो । हालै साधारण ब्याजलाई मूल साँवामै जोडेर कर्जाको एकमुष्ट संरचना गरिएको हो । नेपाल बैंक र फूलबारी रिसोर्टबीच गत कार्तिक १ मा भएकोे सम्झौताअनुसार रिसोर्ट सञ्चलानार्थ लिएको ऋणलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरण १० वर्षको हुनेछ भने दोस्रो चरण ८ गरी जम्मा १३ वर्षमा ऋणीले नेपाल बैंकको कर्जा चुक्ता गरिसक्नु पर्नेछ । पहिलो चरणको १० वर्षमा १ अर्ब ३० करोड ८९ लाख कर्जा होटल सञ्चालकले बैंकलाई बुझाइ सक्नुपर्नेछ भने पहिलो चरण शुरु भएको ६ वर्षमा दोस्रो चरण शुरु हुनेछ । ऋणीले दोस्रो चरणको यो अवधिमा २ अर्ब १५ करोड ४२ लाख ऋण भुक्तान गर्नुपर्ने हुन्छ । वैशाख १ सम्म रिसोर्ट सञ्चालन गर्ने शर्तमा नेपाल बैंकबाट लिएको ऋण पुनसंरचना गरिएको हो । होटल राम्रोसँग सञ्चालन भए बैंकले पेनाल ब्याज नलिने अर्थात त्यति बेलानै निर्णय गर्ने गरी सम्झौता भएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए । होटल सञ्चालन गर्नको लागि अमात्यले आफ्नो निजी सम्पत्ति बेचेर ४० करोड रुपैयाँ नेपाल बैंकमा जम्मा गर्दैछन् । सोही रकममध्ये ३० करोड होटल सञ्चालनमा खर्च हुनेछ भने १० करोड साँवा ब्याज भुक्तानमा हुने सीईओ अधिकारीले बताए । ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्ड’ भन्ने अवधारणा साथ दरबार निकट मानिएका पियुष अमात्यले ४ सय रोपनी जमिनमा उक्त होटल स्थापना गरेका हुन् । पर्यटन वर्ष १९९८ लाई लक्षित गरी स्थापना भएको उक्त रिसोर्टलाई नेपालको मात्र नभइ दक्षिण एशियाकै ठूलो र स्थापित रिसोर्टको रुपमा लिइन्थ्यो ।