फेसबुकले ल्यायो १८ वर्षपछि हराएको छोराको खबर
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका-१२ का डम्बर बहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ । लामो समयदेखि सम्पर्क विहीन रहेका छोरा दीपक जीवित रहेको खबर पाएपछि परिवार पुनर्मिलनको प्रतीक्षामा छ । घरको कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका दीपक गाउँकै एक आफन्तसँग हिमाञ्चल पुगेका थिए । त्यहाँ काम गर्ने क्रममा बिरामी परेपछि ‘अस्पताल जान्छु’ भनेर हिँडेका उनी त्यसपछि सम्पर्क विहीन भएका थिए । त्यसयता उनी कहाँ छन् भन्ने कुनै जानकारी परिवारले पाउन सकेको थिएन । समय बित्दै जाँदा परिवारले आफन्त र चिनेजानेकाहरूसँग खोजी गरे पनि कुनै पत्तो लागेन । अन्ततः दीपक जीवित छन् कि छैनन् भन्ने नै अन्योलमा परेको अवस्थामा परिवारले आशा मारेको थियो । तर नियतिले नयाँ मोड लियो । भारतको लेह–लद्दाख क्षेत्रमा चौँरी गोठमा काम गरिरहेका एक नेपालीले दीपक नेगीसँग भेट गरेका थिए । कुराकानीका क्रममा उनले आफू कञ्चनपुरको देखतभूलीको दीपक (दीपु) नेगी भएको बताएका थिए । त्यसपछि ती नेपालीले दीपकको नाम, ठेगाना र अवस्थासहितको भिडियो फेसबुकमा अपलोड गरे । उक्त भिडियो सामाजिक सञ्जालमार्फत फैलिँदै नेगी परिवारसम्म पुगेको हो । प्रहरीमार्फत सूचना वडा कार्यालयसम्म पुगेपछि परिवार र भिडियो अपलोड गर्ने व्यक्तिबीच सम्पर्क स्थापित भएको थियो । त्यसपछि फेसबुक र फोनमार्फत दीपकको अवस्थाबारे थप जानकारी लिइएको छ । मोबाइलको स्क्रिनमा १८ वर्षपछि छोराको अनुहार देख्दा परिवारका सदस्यहरू स्तब्ध बनेका थिए । एकछिन त विश्वास नै गर्न नसकेको परिवार त्यसपछि भावुक बनेको थियो । ‘भगवानले नै आएर खबर सुनाएजस्तो भयो,’ दीपकका बुबा डम्बर बहादुर नेगीले भने, ‘यति वर्षपछि छोराको खबर पाउनु नयाँ जीवन पाएजस्तै हो ।’ आमा मानमती नेगीका लागि पनि त्यो क्षण अत्यन्त भावुक रह्यो । ‘पहिले त विश्वास नै लागेन, पछि राम्रोसँग हेर्दा आफ्नै छोरा हो भन्ने थाहा पाएँ । खुसीले बोल्न सकिनँ, आँसु मात्रै आयो, अब छिट्टै भेट्ने व्यग्र प्रतीक्षा छ, छोरा भेट्ने अझै बेचैनी बढ्दै जान थालेको छ,’ उनले भनिन् । परिवारका अनुसार दीपक केही वर्षदेखि मानसिक रूपमा अस्वस्थ छन् । काम गर्ने ठाउँका मालिकले उपचार गराइरहेका छन् भन्ने जानकारी प्राप्त भएको छ । सीमित स्रोतसाधनका बाबजुद गरिएको सहयोगप्रति परिवारले आभार व्यक्त गरेको छ । हाल नेगी परिवार र दीपकबीच फेसबुक भिडियो कलमार्फत नियमित सम्पर्क भइरहेको छ । लामो समयपछि छोरासँग कुरा गर्दा परिवार अझै पनि विश्वास गर्न गाह्रो भइरहेको बताउँछ । ‘फोनमा आवाज सुन्दा र भिडियोमा देख्दा मन भरिन्छ,’ बुबा डम्बर बहादुरले भने, ‘अब छिट्टै घर ल्याउन पाए सबै दुःख बिर्सिन्छौं ।’ ३६ वर्षीय दीपकलाई घर फर्काउने तयारी पनि सुरु गरिएको छ । दुर्गम लेह–लद्दाख पुग्न समय र खर्च दुवै लाग्ने भएकाले परिवार आवश्यक स्रोत जुटाउने कार्यमा लागेको छ । आफन्तसँग सरसापट र कर्जा मागेर भए पनि दीपकलाई ल्याउनका लागि तयारी गरिएको छ । हाल दिल्लीमा कार्यरत दीपकका दाजु र भाउजूले यसै महिनाको २० तारिखतिर लद्दाख पुगेर उनलाई घर ल्याउने योजना बनाइरहेका छन् । परिवारले ल्याउनका लागि अब ढिलाइ नगर्ने जनाएको छ । वडाध्यक्ष नवलसिंह रानाका अनुसार प्रहरीमार्फत सूचना प्राप्त भएपछि परिवारलाई जानकारी गराइएको र भारत स्थित सम्पर्क व्यक्तिसँग समन्वय गरिएको हो । ‘फेसबुककै कारण वर्षौदेखि हराएको व्यक्ति परिवारसँग जोडिनु प्रविधिको सकारात्मक प्रयोग हो,’ उनले भने । नेगी परिवारका छिमेकी वडा सदस्य जयसिंह भण्डारीले पनि फेसबुक भिडियोमार्फत दीपक जीवित रहेको थाहा पाउँदा गाउँ भरि खुसी छाएको बताए । नेगी परिवारका तीन छोरामध्ये दीपक माइला हुन् । जेठो र कान्छो छोरा भारतमै रोजगारीमा छन् भने बुबा गाउँकै सामुदायिक वनमा चौकीदारका रूपमा कार्यरत छन् ।
केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
काठमाडौं । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशका तराईसहित अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली हुनेछ । देशका अधिकांश स्थानमा तापक्रम बढ्दो क्रममा रहेको, अन्य प्रदेशका तराई भेगको तुलनामा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईसहित केही स्थानमा गर्मी हुने सम्भावना छ ।
मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान दिई श्रद्धा भक्ति साथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नै पर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्साइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । सन्तानलाई ९ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्ति साथ तर्पण, पिण्डदान र सिदा दान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदा दानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा चन्द्रागिरि नगरपालिका स्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । मातातीर्थमा मेलाको सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिए ।
कार्की आयोगको प्रतिवेदन अपूर्ण रहेको कांग्रेसको निष्कर्ष, उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण, एकतर्फी र चयनात्मक रहेको निष्कर्ष निकालेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा चैत २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले गत भदौ २४ गतेका घटनाको पर्याप्त छानविन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक अवस्था, अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन, सम्पत्ति छानविन, पेट्रोलियम पदार्थको मूल्यलगायतका विषयमा छलफल भएको प्रवक्ता चालिसेले जानकारी बताए । ‘बैठकले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, नागरिक सर्वोच्चता, मानव अधिकार तथा प्रेस स्वतन्त्रताजस्ता संविधानमा नीहित मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै संसद्मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी ढङ्गले निर्वाह गर्ने निर्णय गरेको छ, उनले भने, ‘सरकारका सकारात्मक र कानुनसम्मत काममा सहयोग गर्ने तर लोकतान्त्रिक मूल्यविपरीत कदममा कडा प्रतिवाद गर्ने कांग्रेसको धारणा छ । ’ उनले कांग्रेसले विधिको शासनलाई लोकतन्त्रको आधार मानेको उल्लेख गर्दै कानुनभन्दा माथि कोही नहुने स्पष्ट पारे । मध्यपूर्व सङ्कटका कारण बढेको पेट्रोलियम पदार्थको मूल्यले आमनागरिकको जीवन प्रभावित भएकाले मूल्य घटाउन विभिन्न करमा सहुलियत, भन्सार र अन्य शुल्क घटाउने तथा विद्यार्थीलाई विशेष सुविधा दिन कांग्रेसले सरकारसँग माग गरेको छ । बैठकले भ्रातृ संस्थाहरूको अवस्था अध्ययनसम्बन्धी प्रतिवेदन पारित गर्नुका साथै प्रवासस्थित जनसम्पर्क समितिको प्रतिवेदन अनुमोदन गरेको छ । साथै, क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता चालिसेले जानकारी दिए ।
ज्यान मुद्दामा गाउँपालिकाका उपाध्यक्ष पक्राउ
काठमाडौं । कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले गाउँपालिका उपाध्यक्ष नाथलाई बिहीबार महेन्द्रनगरबाट पक्राउ गरेको जानकारी दिए । ‘ज्यानसम्वन्धी मुद्दामा पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ,’ शाहीले भने, ‘मुद्दा इप्रका बेल्डाडीबाट चलेको छ ।’ किटानी जाहेरीपछि जिल्ला अदालत कञ्चनपुरले पक्राउ गर्न अनुमती दिएपछि नाथलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ । कञ्चनपुरको बेलौरीमा मोटरसाइकलसहित हरिकिसन रानाको शव जलेको अवस्थामा फेला परेको थियो । बेलौरी नगरपालिका-१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै गत वैशाखको पहिलो साता जलेको अवस्थामा बेल्डाँडी गाउँपालिका ३ कमरीका हरिकिसन राना मृत फेला परेका थिए । ५० वर्षीय राना सडक छेउको भुसामा मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेको विषय केहीदिन अघि प्रतिनिधीसभामा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद दीपक बोहराले निस्पक्ष छानविन गरी दोषीलाई कारबाहीको माग गरेको थियो । प्रहरीले घटना सडक छेउमै भएकाले सडक दुर्घटना भएको वा हत्या भएको विषय शङ्कास्पद भन्दै अनुसन्धान गरिरहेको थियो ।
शुक्रबार देशका यी स्थानमा हुनेछ वर्षा
काठमाडौं । शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ । शुक्रबार राति कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती र कर्णाली प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेपाली कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्य नियन्त्रण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले मूल्य वृद्धिका कारण जनजीवन कष्टकर बनेको ठहर गर्दै तत्काल सरकारी हस्तक्षेपको आवश्यकता औंल्याएको हो । कांग्रेस प्रवक्ता देबराज घिमिरेद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष मार नेपाली भान्सा, व्यवसाय, कृषि र पर्यटन क्षेत्रमा परेको उल्लेख गरिएको छ । कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वतः वृद्धि भएको मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिई उपभोक्तालाई फिर्ता गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । हाल पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार विकास कर औचित्यहीन भइसकेकाले त्यसलाई पूर्ण रूपमा हटाउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ । निश्चित अवधिका लागि भन्सार, सडक मर्मत दस्तुर, प्रदूषण नियन्त्रण शुल्क र हरित कर जस्ता अतिरिक्त भारहरू हटाउन वा घटाउन माग गरिएको छ । बढ्दो महँगी र यातायात खर्चबाट प्रभावित विद्यार्थीहरूका लागि विशेष सहुलियत कार्यक्रम ल्याउन कांग्रेसले जोड दिएको छ । कांग्रेसले हालको कर संरचनाका कारण नेपाल आयल निगमले महँगोमा इन्धन किनेर सस्तोमा बेच्नुपर्ने विरोधाभासपूर्ण अवस्था सिर्जना भएको जनाएको छ । स्पष्ट कर सहुलियत नीति नहुँदा निगम र उपभोक्ता दुवै मारमा परेको कांग्रेसको ठहर छ । ‘पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्दा समग्र उत्पादन र आपूर्ति शृङ्खलामा असर परेको छ, ’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले आफ्नो कर प्रणालीमा लचकता अपनाएर नागरिकलाई महँगीबाट जोगाउनु पर्छ । ’
ईभीको लहरमा हाइब्रिडको चर्चा, टोयोटाले सिकायो आधुनिक गाडीको मेकानिजम
काठमाडौं । टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट र नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसियन (नाइमा) को सहकार्यमा आयोजित एकदिने ‘हाइब्रिड मेकानिजम तालिम’ सम्पन्न भएको छ । तालिम सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई प्रविधि र प्रयोगात्मक अभ्यासले गाडीको मेकानिजम बुझ्न निकै सहज बनाएको सहभागीहरू बताउँछन् । नेपालमा ईभीको चर्चा चुलिइरहेका बेला हाइब्रिड प्रविधिको सान्दर्भिकता अझ बढेको प्रशिक्षक प्रवेश पौडेल बताउँछन् । उनका अनसार नेपालजस्तो तराई, पहाड र हिमाल भएको देशमा जहाँ अझै चार्जिङ पूर्वाधारको कमी छ, त्यहाँ इन्धन र बिजुली दुवैबाट चल्ने हाइब्रिड गाडीहरू निकै प्रभावकारी हुन्छन् । कार्यक्रममा बोल्दै नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले तालिमले सहभागीहरूलाई आधुनिक सवारी प्रविधि बुझ्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले भर्खरै इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पस र सिटिइभिटीसँग पनि सहकार्य अगाडि बढाएका छौं । हाइब्रिड ब्याट्री सिस्टम वा अन्य प्राविधिक विषयमा विशेषज्ञता हासिल गर्न चाहनेहरूलाई नाइमाले सधैं सहयोग गर्नेछ ।’ यसैगरी, बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका अटोमोबाइल विभागका प्रशिक्षक कुमार बहादुर मिजारले विद्यार्थीहरूका लागि सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नभएको र बजारको माग अनुसार प्रयोगात्मक अभ्यासमा जोड दिनुपर्ने बताए । मिजारका अनुसार हालको पाठ्यक्रममा हाइब्रिड र आधुनिक सवारी प्रविधि समावेश भए तापनि पर्याप्त उपकरण र व्यवस्थित ल्याबको अभावमा विद्यार्थीहरूले केवल सैद्धान्तिक ज्ञानमा मात्र चित्त बुझाउनु परेको छ । ‘हाम्रा विद्यार्थीहरूले अहिलेसम्म केवल किताबमा पढेर मात्र सिकिरहेका थिए,’ उनले भने, ‘अहिले आएर थोरै भए पनि प्रयोगात्मक र ल्याबको कुरा आउनु सकारात्मक छ ।’ कलेजसँग भएको सीमित स्रोत र साधनका कारण अत्याधुनिक प्रविधिसँग विद्यार्थीलाई साक्षात्कार गराउन चुनौतीपूर्ण रहेको उनले स्वीकार गरे । विद्युतीय सवारी साधनलाई सरकारले प्राथमिकता दिए पनि नेपालको भौगोलिक अवस्था र पूर्वाधारका कारण हाइब्रिड गाडीको भविष्य उज्ज्वल रहेको मिजारको तर्क छ । नेपालका सडक र भौगोलिक बनावट अनिश्चित रहेको अवस्थामा हाइब्रिड प्रविधि भरपर्दो विकल्प हुन सक्ने उनले बताए । उनले भने, ‘दुर्गम क्षेत्रमा जाँदा चार्जिङ स्टेसनको अभाव हुन सक्छ, यस्तोमा इन्धन र बिजुली दुवैबाट चल्ने हाइब्रिड गाडीले यात्रा सहज बनाउँछ। यो प्रविधि सुरुमा केही खर्चिलो देखिए पनि नेपाली बजारका लागि यो विलासी र व्यावहारिक दुवै छ ।’ पाठ्यक्रममा हाइब्रिड प्रविधि समावेश भए पनि पर्याप्त ल्याब र उपकरणको अभावमा विद्यार्थीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र पाइरहेको अवस्थामा यो तालिम निकै फलदायी भएको उनले बताए । बालाजु स्कुल अफ इन्जिनियरिङका विद्यार्थीहरू र प्रशिक्षिका सम्झना ज्याख्वका अनुसार ईभीमा मात्र मानिसको रुचि भइरहेका बेला हाइब्रिडको वर्किङ प्रिन्सिपल बुझ्न पाउनु विद्यार्थीहरूका लागि नयाँ अनुभव हो । प्रशिक्षिका ज्याख्वले हाइब्रिड गाडीबारे रहेका भ्रमहरू चिर्न यो सेसन सफल भएको बताइन् । उनले आगामी दिनमा विद्यार्थीहरूका लागि थप प्रयोगात्मक र इन्टर्नसिपका अवसरहरू हुनुपर्नेमा जोड दिइन् । ज्याख्वले अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे विद्यार्थीहरूमा निकै उत्साह देखिए पनि प्रयोगात्मक अभ्यासको कमी रहेको बताइन् । उनले पाठ्यक्रममा नभएका तर बजारमा चल्तीमा रहेका प्रविधिबारे विद्यार्थीहरूलाई थप जानकारी आवश्यक रहेको उल्लेख गरिन् । ज्याख्वका अनुसार धेरैमा हाइब्रिड सवारी साधन भनेको पूर्ण इलेक्ट्रिक मात्र हो वा स्विच गर्न मिल्ने प्रविधि मात्र हो भन्ने भ्रम रहेको थियो । ‘विद्यार्थीहरूको पाठ्यक्रममा नभए पनि यो सेसनले हाइब्रिड र प्लग-इन हाइब्रिडको कार्यप्रणाली बुझ्न ठूलो मद्दत पुर्याएको छ,’ उनले भनिन् ,‘हाल बजारमा इलेक्ट्रिक भेहिकल (ईभी) को लहर चलेकाले विद्यार्थीहरू पनि ईभी र प्लग(इन प्रविधि सिक्न बढी इच्छुक देखिएका छन् ।’ नेपालको इन्जिनियरिङ शिक्षा अझै पनि बढी सैद्धान्तिक रहेकोमा चिन्ता व्यक्त गर्दै ज्याख्वले नाइमा जस्ता संस्थाहरूले प्रयोगात्मक तालिममा लगानी गर्नुपर्ने सुझाव दिइन् । उनले भनिन्,’हामीले ट्रेनिङमा थ्यौरी बढी पायौँ । विद्यार्थीहरूलाई सवारी साधनमै लगेर प्रत्यक्ष अभ्यास गराउनु अझ प्रभावकारी हुन्छ। थोरै-थोरै समूह बनाएर भए पनि प्रत्येक विद्यार्थीले आफैँले काम गरेर सिक्ने र इन्टर्नसिपको अवसर पाउने वातावरण बनाउनुपर्छ ।’ यस्तै, तालिममा सहभागी विद्यार्थीहरू हिमचन्द्र लिम्बु र रमेश यादवले हाइब्रिड र ईभी प्रविधिको भिन्नता, सुरक्षा सावधानी र कार्यप्रणालीबारे महत्वपूर्ण कुराहरू सिकेको बताए । उनीहरूका अनुसार नेपालको भौगोलिक अवस्था र चार्जिङ पूर्वाधारको सीमितताका बीच ग्रामीण क्षेत्रका लागि हाइब्रिड र सहरी क्षेत्रका लागि ईभी दुवैको सम्भावना उत्तिकै बलियो छ । सडकमा चौबीसै घण्टा खटिने ट्राफिक प्रहरीहरूका लागि नयाँ प्रविधिका गाडीहरू कहिलेकाहीँ चुनौती बनिदिन्छन् । सडकमा गाडी बिग्रिँदा वा दुर्घटना हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञानको अभावमा उनीहरूले समस्या भोग्नुपथ्र्यो । तर, यो तालिमपछि उनीहरूको आत्मविश्वास बढेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका हवल्दार सुदर्शन अर्याल र सहायक निरीक्षक कुमार बलले नयाँ प्रविधिका गाडीहरू सडकमा बिग्रिँदा वा दुर्घटना हुँदा कसरी सुरक्षित रूपमा व्यवस्थापन गर्ने भन्ने ज्ञानको अभाव रहेकोमा अब आत्मविश्वास बढेको बताए । ‘हामीलाई बर्दीमा देखेपछि सर्वसाधारणले सबै कुरा जान्दछ भन्ने सोच्छन् । यस्ता तालिमले हामीलाई आधुनिक गाडीहरू सुरक्षित स्थानसम्म पुर्याउन र ट्राफिक जाम खुलाउन प्राविधिक रूपमा सक्षम बनाएको छ,’ अर्यालले भने । कार्यक्रममा वैद्य अर्गनाइजेशन अफ इन्ड्रष्टिज अफ ट्रेडिङ हाउसेसका निर्देशक सूर्यांश वैद्यले यस्ता तालिमले पेशागत विकास र नवप्रवर्तनमा टेवा पुर्याउने बताए । हाइब्रिड सवारीलाई उन्नत प्रविधिका रूपमा उल्लेख गर्दै यससम्बन्धी सीप विकास आवश्यक रहेको उनको भनाइ थियो । सहभागीहरूलाई हाइब्रिड सवारीसाधनको कार्यप्रणाली, सुरक्षा मापदण्ड तथा मर्मतसम्भारसम्बन्धी सैद्धान्तिक तथा प्रायोगिक तालिम प्रदान गरिएको थियो । कार्यक्रममा बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू, ट्राफिक चालक तथा अन्य प्राविधिक गरी २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो । नाइमाले आगामी दिनमा पनि यस्ता सीपमूलक र प्रविधिमा आधारित तालिमहरूलाई निरन्तरता दिने र सरकारी तथा निजी क्षेत्रसँग समन्वय गरी अटोमोबाइल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।