लेखा समितिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित
काठमाडौं । सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। शुक्रबार भएको समितिको बैठकमा ज्येष्ठ सदस्य सीताराम साहले खड्काबाहेक अरू कसैको उम्मेदवारी नभएको भन्दै सर्वसम्मत रूपमा निर्वाचित भएको घोषणा गरे । ज्येष्ठ सदस्य साहले सभापतिको उम्मेदवारीका लागि एकमात्र प्रस्ताव आएको बताए । खड्कालाई सभापतिका लागि मोहनबहादुर आचार्यले प्रस्ताव गरेका थिए । खड्काले निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएको भन्दै शाहले निर्वाचित भएको घोषणा गरे। निर्वाचित भएपछि समिति सभापति खड्काले लेखा समिति धेरै महत्त्वपूर्ण समिति भएको र आफूले जवाफदेहीता र जिम्मेवारी प्राप्त गरेको बताए । विगतको अनुभव, योग्यता क्षमतालाई प्रयोग गरेर काम गर्ने बताए । उनले आर्थिक सुशासन र वित्तीय अनुशासनलाई आफ्नो कार्यकालको प्रमुख एजेण्डा बनाउने स्पष्ट पारे । सभापति खड्काले विगतमा देखिएका केही विसंगतिहरू अब दोहोरिन नदिने प्रतिवद्धता जनाउँदै संघदेखि स्थानीय तहसम्म व्यापक सुधार आवश्यक रहेको औंल्याए । विभिन्न सरकारी निकायहरूमा पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि समिति सक्रिय रूपमा लाग्ने बताए । उनका अनुसार आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नुको कुनै विकल्प छैन र यही आधारमा मुलुकको दिगो विकास सम्भव हुने धारणा व्यक्त गरे । साथै नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभूति गर्ने वातावरण सिर्जना गर्न आफूले प्राथमिकता दिने पनि उनको भनाइ छ ।
शिक्षा स्वास्थ्य समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचन सभापतिमा विजयी भएकी हुन् । बराललाई नेपाली कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत जुटाउन नसक्दा उनी अल्पमतमा परेका हुन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि बरालले विजयी शेरचनलाई बधाई दिएका छन् । समितिको बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो ।
संसदीय समितिमा एमाले र नेकपालाई मतदान गर्न कांग्रेसको उर्दी
काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई सघाउन उर्दी जारी गरेको छ । कांग्रेसले आज हुने निर्वाचनका लागि सांसदहरुलाई उर्दी जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा नेकपा (एमाले)का उमेदवार गुरु बरालका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ । यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) सभापतिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार मदनकुमारी शाहका पक्षमा मतदान गर्न निर्देशन दिइएको हो । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पद भने प्रतिपक्षलाई दिइने परम्परालाई रास्वपाले नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो । नेकपा, एमाले र नेकपाले पनि सार्वजनिक लेखा समितिमा कांग्रेसलाई सघाउने निर्णय गरेका थिए । सो निर्णयपछि कांग्रेस एमाले र नेकपालाई मतदान गर्न तयार भएको हो । यस्तै, कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरेको समितिले सांसदहरूलाई छलफलका निम्ति बोलाएको छ । शुक्रबार दिउँसो ३ बजे दलको नेताबारे छलफल गर्न सांसदहरूलाई बोलाइएको सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए ।
वैदेशिक लगानी कृषिमा आकर्षित
काठमाडौं । पछिल्लो समय मुलुकभित्र वैदेशिक लगानी आउने क्रम बढिरहेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । गत साउनदेखि चैत मसान्तसम्म ६१५ परियोजनाका लागि कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता प्राप्त भएको हो, जसमार्फत २२ हजार ३१६ जनालाई रोजगारी दिने पनि प्रतिवद्धतामा आएको छ । विभागका अनुसार पछिल्लो चैत महिनामा मात्र विभिन्न ६१ वटा परियोजनाका लागि १ अर्ब १२ करोड ९२ लाख रूपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार परियोजनाका आधारमा सबैभन्दा बढी कृषिमूलक परियोजनाका लागि वैदेशिक लगानी भित्रिएको छ । विभागले चैत मसान्तसम्म यस क्षेत्रमा १६ परियोजनाका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको जनाएको छ । पर्यटन उद्योगको क्षेत्रमा १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । सेवामूलक क्षेत्रमा ४७ वटा परियोजनाका लागि ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्र (औद्योगिक) तर्फ ३८ वटा परियोजनाका लागि २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ, सूचना तथा प्रविधिको क्षेत्रमा ३४६ परियोजनाका लागि १ अर्ब ४५ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्राप्त भएको छ । यसैगरी, समीक्षा अवधिमा ऊर्जा क्षेत्रमा हालसम्म दुई वटा परियोजनाका लागि २३ करोड ४२ लाख ५० हजार रुपैयाँ मात्र वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । भने खनिजमूलक क्षेत्रमा पनि दुइवटा परियोजनाका लागि जम्मा ११ करोड ५० लाख रुपैयाँ बराबरको मात्र वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।
गृहमन्त्रीको काँधमा प्रहरीको शव परेपछि...
काठमाडौं । काठमाडौंको स्वयम्भूमा शुक्रबार धेरैका आँखा एउटा दृश्यले तान्यो । आँखाभरि आँसु निकालेका मलामीहरू आश्चर्यमा परे । धुवाँ उडिरहेको घाटमा त्यो दृश्यले धेरैलाई नियालिरहन बाध्य पार्यो । राजनीतिक पदको औपचारिकता बिर्सेर देशका गृहमन्त्रीले प्रहरी अधिकृतको शव आफ्नै काँधमा बोके । धेरैले त्यसलाई आश्चर्य माने । तर, एउटा युवक र एउटा सामाजिक अभियन्ताका लागि त्यो विषय सामान्य बन्यो । र, आर्यघाटमा पुर्याइएका प्रहरी निरीक्षक स्व.अभय लामाको शव उनले उनले काँधमा राखे र बोके । एउटा युवा, जो आफू सकसमा हुँदा वा अरु सकसमा हुँदा सरकारले सहयोग र उद्वार गरिदियोस् भन्ने चाहन्थ्यो । तीन महिनाअघि, एउटा टेलिभिजन अन्तर्वार्तामा सुधन गुरुङले आफ्ना बाल्यकालका ती अपूरा आकांक्षा सुनाएका थिए । उनले भनेका थिए, ‘मलाई कसैले हात समाइदियोस्, मेरो दुःख बुझिदियोस् भन्ने लाग्छ । त्यो वाक्य व्यक्तिगत पीडाको प्रस्फुटन थिएन, उनको सामाजिक चेतना बुझाइ थियो । त्यही एउटा युवा अहिले देशको गृहमन्त्री बन्दा उनले आफूलाई गृहमन्त्री सम्झेनन् । दुःख र पीडामा परेका परिवारलाई ढाडस दिए । ‘म तपाईंहरुसँगै छु’ भन्ने सन्देश दिए । विगतमा कुनै पनि गहृमन्त्रीले एउटा सर्वसाधारण, राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीको मलामी बनेर आर्यघाटमा पुग्दा यसरी शब काँधमा बोकेको घटना छैन । तर, गृहमन्त्री सुधन गुरुङले त्यो हिम्मत, त्यो साहस र त्यो भावना बुझ्दै सहजै शव काँधमा राखेर अगाडि लागे । आज, उनी देशको आन्तरिक सुरक्षा र प्रशासन सम्हाल्ने जिम्मेवारीमा छन् । हजारौं प्रहरी र करोडौं नागरिकका लागि उनी अभिभावकजस्तै बनेका छन् । कहिल्यै अरुको सहाराको अपेक्षा गर्ने एउटा युवा अहिले आफैं सहारा बनेर उभिएको छ । त्यसैले पनि उनी अन्य मन्त्रीहरूभन्दा फरक देखिन्छन् । चर्चामा पनि छन् । बिग्रिएका सडकमा पुगेर निर्देशन दिने, पीडितको घरमै पुगेर ढाडस दिने, प्रहरी कार्यालयहरूमा पुगेर मनोबल बढाउने जस्त सक्रियताले उनको वाहवाही पनि भएको छ । त्यसमा उनको काम गर्ने हुटहुटी बुझिन्छ । भावना र चिन्तन देखिन्छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएपछि उनको परिवा र सिंगो ट्राफिक प्रहरी अहिले शोकमा छ । त्यो शोकमा रहेको परिवार र प्रहरीलाई ढाडस दिन गृहमन्त्री गुरुङ अगाडि बढे । विदेशमा रहेका परिवारका सदस्य कुर्दा ढिला भएपछि शुक्रबार उनको अन्त्येष्टि गरिएको हो । र, त्यही क्षणमा गृहमन्त्रीको उपस्थितिले परिवारलाई ढाडस मिल्यो । यो पहिलो पटक भने होइन, दुई साताअघि एक राजनीतिक दलका कार्यकर्ताबाट दुव्र्यवहारमा परेका वृद्धलाई भेट्न उनी आफैं घर पुगेका थिए । तत्कालै साथ दिएको भन्दै ती वृद्धले गृहमन्त्रीलाई धन्यवाद दिएका थिए । भूकम्पपछि सुरु भएको उनको सामाजिक यात्रा अहिले सिंहदरबारसम्म आइपुगेको छ । ‘हामी नेपाल’ अभियानमार्फत उनले देशभर सामाजिक चेतना फैलाउने प्रयास गरे । त्यही यात्राले उनलाई अब केवल नेता होइन, संवेदनशील हस्तीको रूपमा चिनाएको छ । गृहमन्त्री गुरुङको सचिवालयले सडक दुर्घटनामा निधन भएका प्रहरी निरीक्षक लामाप्रति श्रद्धाञ्जली व्यक्त गरेको बताएको छ । गुरुङले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत निरीक्षकको राष्ट्रप्रति समर्पित सेवा र योगदानको सम्मान गर्दै काँधमा शव बोकेको बताएको छ ।
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ । स्थानीय टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरिएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एक, चितवनको रत्ननगर नगरपालिका–११ बटर टोलबाट एक, रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ हात्तीसुडबाट दुई, झापाको कनकाई नगरपालिका–३ सुरूङगाबाट पाँच र सोही नगरपालिकाको टप्पु चोकबाट दुई जनालाई पक्राउ गरिएको छ । यसैगरी, मोरङको विराटनगर महानगरपालिका–११ बाट दुई, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट दुई र दाङको राप्ती गाउँपालिका–१ बाट दुई जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो ।
मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर नियुक्त
काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बिहीबार (वैशाख ३) मा बसेको ३७१ औं बैठकले मानन्धरलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । मानन्धरको कार्यकाल आगामी २०८३ जेठ १ गतेबाट लागू हुने बैंकले जनाएको छ । हाल बैंकमा कार्यरत सीईओ प्रद्युमन पोखरेलको कार्यकाल २०८३ वैशाख मसान्तमा समाप्त हुने भएपछि बैंकले नयाँ नेतृत्व चयन गरेको हो । मुक्तिनाथ विकास बैंक नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैंक हो ।
अब टी-२० दीपेन्द्र र ओडिआई रोहितले सम्हाल्ने, को-को परे टिममा ?
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई वटा सिरिज खेल्ने खेलाडीको नाम घाेषणा गरेकाे छ । क्यानले आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि रोहित पौडेलको नेतृत्वमा टोली घोषणा गरेको छ भने टी-२० का लागि दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा टीम घोषणा गरेको छ । आईसीसी विश्वकप लिग २ मा रोहितसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् । खेलका लागि हेमन्त धामी, शेर मल्ल, रिजन ढकाल, इशान पाण्डे र देव खनाललाई रिजर्भमा राखिएका छन् । नेपालसहित यूएई र ओमान सहभागी सिरिज आगामी अप्रिल २५ तारिखबाट सुरु हुनेछ । शृङ्खलामा जम्मा ६ खेल हुनेछन् । लिग २ को ढाँचा अनुसार प्रत्येक तीन दुई–दुई पटक आपसमा भिड्ने तालिका छ । यस्तै, यूएईसँगको दुई खेलको टी–२० सिरिजका लागि क्यानले ठूलो फेरबदल गरेको छ । यो सिरिजलाई कप्तान रोहित परेका छैनन् । दीपेन्द्रले याे खेलकाे नेतृत्व गर्नेछन् । सो खेलका लागि दीपेन्द्रसँगै सन्दिप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दिप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्शन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउँद, हेमन्त धामी, साहव आलम र शेर मल्ल परेका छन् । खेलको रिजर्भमा प्रतिश जिसी, नारायण जोशी र रसिद खान परेका छन् । नेपालले २० र २१ अप्रिलमा यूएईसँग दुई खेलको टी-२० सिरिज खेल्दैछ । उक्त खेल फ्लडलाइटमा हुने क्यानले जनाएको छ । क्यानले अब एक दिवसिय र टी-२० काे छुट्टै टिम बनाएर खेलाउने तयारी गरेको बुझिन्छ ।