विकासन्युज

सबैकाे आँखा बानेश्वरकाे खाइमाेनाेमा

काठमाडाैं । काठमाडौं बानेश्वर चोकको वायाँपट्टीको अग्लो विल्डिङ । त्यही विल्डिङको भुइँतलामा सफा चिटिक्क परेको एउटा पसल छ । त्यो पसलको बाहिरीपट्टी लेखिएको देखिन्छ खाइमोनो जापान । खाइमोनो जापान ? सायद तपाईं पनि अल्मलिनुभयो होला । त्यो बाटोमा हिड्ने जोकोहीले पनि ‘खाइमोनो’मा आँखा लगाएर हिडिरहेका देखिन्छन् । सिसाको ढोका खोलेर भित्र पस्ने वित्तिकै मलिन र स्पष्ट आवाजमा सुनिन्छ-यहाँलाई खाइमोनोमा स्वागत छ । जापानी भाषामा खाइमोनो भनेको नेपालीमा किनमेल हो । अब तपाईंले बुझिसक्नुभयो होला बानेश्वरको खाइमोनो सुपरमार्केट ।खाइमोनो भित्रको माहोल पृथक किसिमको छ । सबै आ-आफ्नो कामका व्यस्त देखिन्छन् । त्यही व्यस्तको माहोलमा काम गर्न व्यस्त देखिन्थे निरोज भुसाल । खाइमोनोका चिफ अपरेसन ईन्चार्ज हुन निरोज भुसाल ।  उनी र उनका साथीहरुले जापानमा उत्पादित विभिन्न सामानहरु ल्याएर नेपालमा व्यवसाय थालेका छन् । उनले आफ्नो पसलमा आउने ग्राहकलाई फरक किसिमको स्वाद र अनुभव दिन खोजिरहेका छन् । विगत वर्षहरुमा जापानमा बटुलेका अनुभवहरु प्रयोग गरेर उनी आफ्नै देशमा केही गर्ने वातावरण सिर्जना गरिरहेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका १ तम्घास स्थायी घर भएका भुसालको जीवन संघर्षमय छ । उनको जीबनयात्रा प्रेरणादायी पनि छ । आफ्नो छोराले प्रगती गरोस् । धेरै पढोस् र असल मान्छे बनेर समाजको सहयोग गरोस् भन्ने सबै आमाबुबाको चाहना हुन्छ । त्यही चाहना निरोजका आमाबुबाको पनि थियो । आमाबुबाको त्यही चाहना र आफ्नो लक्ष्यलाई पछ्याउँदै निरोज संर्घषको दौरानमा छन् । आफ्नो सपनालाई साकार गर्न र आत्मनिर्भर भएर बाँच्न उनले उनका साथीहरु मिलेर हाल काठमाडौंको बानेश्वर चोकमै एउटा खाइमोनो नामको पसल स्थापना गरेका छन् । करिब ५ करोडमा खाइमोनो स्थापना निरोज भुसाल आफै केही गर्नु पर्छ भन्ने मानसिकता बोकेका एक उदाहरणीय युवा हुन् । उनका संघर्षका पाइलाहरु धेरै लामा छन् । तिनै संघर्षका पाइलाहरुलाई यथार्थमा बदल्दै उनी रउनका साथीहरुले करिब ५ करोडको लागतमा खाइमोनो जापान स्थापना गरेका छन् ।  करिब १० वर्ष जापानमा काम गरिसकेका उनले जापानमै उत्पादन भएका विभिन्न सामानहरुलाई नेपालमा ल्याएर विक्रि गरिरहेका छन् । ‘१० वर्ष जापानमै काम गरेँ, जापानको विजनेस पोलिसी बुझेँ, त्यसपछि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले यो व्यवसाय गर्न थालेँ,’ उनले भने ।  करिब ५ जना साथी मिलेर खाइमोनो जापान खोलेका छन् । नेपालमा निरोजले मात्र काम गरिरहेका छन् । उनका अन्य साथीहरु जापानबाटै काम गर्ने उनी बताउँछन् । हाल खाइमोनोमा जापानी उत्पादनहरु मात्र पाइन्छन् । जव खाइमोनोभित्र मान्छे प्रवेश गर्छ उसले जापानमा भएको आभास गर्छ । पसलको संरचना, पसलमा भएका सामान, काम गर्ने कर्मचारी र पसलको पद्धती दुरुस्तै जापानिज छ । जब हाम्रा ग्राहकहरु पसलमा आउँछन, दुरुस्तै जापानमा आएको महसुस हुने गरेको प्रतिक्रिया दिने निरोज बताउँछन् । अहिले खाइमोनोमा जापानी उत्पादनका स्टेशनरी, कस्मेटिक, हाउसहोल्ड, किचेन, स्वास्थ्यसँग सम्बन्धित सामान, ट्वेजलगायतका सामानहरु पाइन्छन् ।  खाइमोनो जापानसँग सम्बन्धित भएकोले यहाँ पाइने सामानहरु अन्यकोमा पाइनेसँग कुनै तुलना नहुने उनी बताउँछन् । ‘हाम्रो सामानको मूल्य अन्यकोभन्दा सस्तो नै हुन्छ, क्वालिटीपनि अन्यको भन्दा राम्रो छ,’ उनले भने । जापनिज उत्पादनका सामानहरु नेपाली ग्राहकले मन पराउने भएकोले ती सामान नेपालमै ल्याएर पसल खोलेको उनले बताए । हाल खाइमानेनोमा १० जनाले रोजगारी पाएका छन् । खाइमोनोको सामान प्रयोग गर्न आउने ग्राहकको संख्या दैनिक बढ्दै गएको उनी बताउँछन् । १० वर्ष जापानमा निरोज भुसाल सानैदेखि पढ्नमा साह्रै रुची राख्थे । पढाईको सिलसिलामा उनले धेरै विद्यालयहरुको अनुभव पनि लिए । उनले विद्यालयको शिक्षा दिपेन्द्र पुलिस स्कूलबाट लिए । दश कक्षा पास भइसकेपछि उनी प्लस टु पढन् बुटवल गए । पढाई पनि राम्रै थियो । प्लस टु पनि राम्रैसँग पास गरे निरोजले । उनको चाहना बिबिए पढ्ने थियो । उनी बिबिए पढ्न पुनः काठमाडौं आए । कलेजमा पढ्दै गर्दा उनको मन अब विदेश जाने तर्फ लाग्यो । विदेश कसरी जाने भन्ने सोचमा लागे उनी । विदेश जानका लागि उनले अप्लाई पनि गरे । उनी पास भए । अब उनको जापान जाने कुरा तय भयो । जापान जाने चाहना भएका उनको इच्छा पनि पुरा भयो । बीबीए पढ्दै गर्दा उनी जापान गए । त्यतिखेर उनी १९/२० वर्षका थिए । उनले जापानको रिचुमिकान एसिया प्यासिफिक युनिभर्सिटीमै बिबिए गरे । ‘लगभग १० वर्ष जापानमा बसें, जापानमा धेरै काम गरेँ, रेष्टुरेण्ट, फ्याक्ट्री, लगायतका कम्पनीमा काम गरेँ ।’ उनले भने । जापानमा पढ्दै काम गर्दै गर्दा धेरै कुरा सिकेको उनी बताउँछन् । ‘त्यहाँको काम सिकेर नै आफ्नै देशमा आएर केही गर्ने ममा उत्सुकता भयो, साथीहरुसँग आफुभन्दा ठुलोबाट सल्लाह लिएर नेपाल फर्केँ र यो पसल खोलेँ,’ उनले भने । जापानमा काम गर्दा त्यहाँका मानिसहरुले आफ्नै देशमा केही गर्नुपर्छ भनेर सल्लाह दिने गरेको उनी बताउँछन् । विदेशमा गइहाले पनि त्यहाँको सीप र अनुभवलाई प्रयोग गरेर नेपालमै केही गर्न सकिने उनको भनाइ छ । यसका लागि सरकाले पनि सहज वातावरण सिर्जना गर्नु पर्ने उनको धारणा छ । खाइमोनो स्थापनाको समयमा पनि धेरै समस्या भएको बताउँदै उनले सरकारले केही गर्ने चाहना भएका युवालाई सहज वातावरण सिर्जना गरेर काममा लगाउनु पर्ने बताए ।  यो सँगै अन्य ठाउँमा पनि खाइमोनो विस्तार गर्ने उनको सोच छ । उनले काठमाडौंका मूख्य मूख्य ठाउँमा खाइमोनोको सेवा विस्तार गर्ने बताए । ग्राहकले सस्तो सामानभन्दा पनि गुणस्तर प्रयोग गर्न चाहने भएकाले आफुले नेपालमा खाइमोनोको आवश्यकता महसुुस गरेको उनको धारणा छ ।

प्रिमियर स्टीलले ल्यायाे ‘प्रिमियर नेक्स्ट ५०० डी’ डण्डी बजारमा

काठमाडाैं ।  पूर्वाधार निर्माणको लागि प्रिमियर स्टीलले ‘प्रिमियर नेक्स्ट ५०० डी’ डण्डी बजारमा ल्याएको छ। सारडा र एके राठी ग्रुपको संयुक्त लगानीको यस कम्पनीले मजबुत निर्माणको लागि प्रिमियर नेक्स्ट ५०० डी भएकाे जनाएकाे छ । डण्डी न्यूनतम ८ मिलिमिटरदेखि अधिकतम ३२ मिलिमिटरसम्म उपलब्ध रहेको कम्पनीका ब्राण्डिङ एण्ड प्रमोसन्स प्रमुख सजल राउतले जानकारी दिए। ‘यस डण्डीमा अधिकतम लचकता छ’ उनले भने । प्रणालीमार्फत तयार हुने भएकाले दीर्घकालीन प्रयोगको लागि उपयोग रहेको कम्पनीको भनाइ छ । २०७२ सालको भुकम्पपछि भएको अधिकांश क्षतिलाई मध्यनजर गरी उक्त स्टील बजारमा ल्याएकाे जनाएकाे छ । नेपाल भारतलगायतका देशको लागि उच्च लचकता भएको छटको आवश्यकता भएअनुसार रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार प्रिमियर नेक्स्ट ५०० डी ब्राण्डको डण्डी पूर्व मेचीदेखि पश्चिम बुटवल, पोखरासम्म उपलब्ध रहेको कम्पनीको भनाइ छ। ब्राण्डको उत्पादनलाई विस्तार गर्ने कामलाई आक्रमक रुपमा अघि बढाइरहेको कम्पनीको दाबी छ । यस डण्डीले गुणस्तर चिन्ह एनएस १९१ र आइएसओ ९००१ र २०१५ प्राप्त गरिसकेको छ। यो छडमा कार्वन, सल्फर र फोस्फरसको रासायनिक मात्रामा कन्ट्रोल गरी इलोङगेशन (तन्कने) पनि १६ प्रतिशत न्यूनतम तय गरिएको बताइएको छ। प्रिमियर नेक्स्ट ५०० डी ब्राण्डको डण्डी उपभोक्ताले आफ्नो रोजाइ अनुसार छनौट र प्रयोग सक्ने कम्पनीको भनाइ छ। आगो नलाग्ने, शक्तिशाली र भुकम्प प्रतिरोधी विशेषता यसमा रहेको छ । यस स्टीलमा रहेका विशेषताले यस प्रडक्टलाई अझ उचाइमा पुयाउने कम्पनीको विश्वास छ। ठूलो पूर्वाधार आयोजनामा पनि यसको प्रयोग बढिरहेको छ। प्रडक्टको लागि ‘प्रिमियर स्टील, भरोशा नयाँ युग निर्माणको’ भन्ने स्लोगन तय गरिएको छ। यसले भोलीको निर्णय गर्दा आज हामीले राम्रो प्रडक्ट प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिने कम्पनीको दाबी छ। बिल्डटेक प्रर्दशनीले पनि छडका प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको कम्पनीको भनाइ छ।

भृकुटीमण्डपमा मेगा विन्टर सुज मेला, ७५ प्रतिशतसम्म छुट

काठमाडौं– राजधानीको भृकुटीमण्डपको प्रदर्शनी स्थलमा ‘मेगा विन्टर सुज मेला’ सुरु भएको छ । माघ ५ गतेदेखि सुरु भएको उक्त मेलामा नेपालका चर्चित ब्राण्डका १ हजार भन्दा बढी मोडलका चुत्ता चप्पलहरु उपलब्ध छन् । नेपालमा चलेका प्रतिष्ठित ब्राण्डका जुत्ताचप्पल एउटै छानामुनि छानेर किन्ने अवसर उपभोक्ताले पाउने छन् । मेलामा शुभ बिबाह, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता लगायतका जुत्ताचप्पल पाइने छ । मेलामा भर्खरै उत्पादन गरिएका नयाँ मोडलका जुत्ताचप्पल राखिएका छन् । उपभोक्ताले जुत्ताचप्पलमा ६ महिनको वारेन्टीसहित २५ देखि ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । मेलामा सस्तो, बलियो र आकर्षक डिजाइनका ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्पलहरु पाइनेछ ।

नौ वर्षको पर्खाइपछि सुक्खा बन्दरगाह निर्माणको आशा फेरि पलायो

नेपालगञ्ज । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अगाडि बढ्ने भएको छ । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो । बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान भइसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालले बताएका छन् । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अलपत्र परेको थियो । बोलपत्र आह्वान भए पनि निर्माणको काम कहिलेदेखि शुरु हुन्छ भन्नेबारे आफूहरुलाई कुनै जानकारी नभएको इञ्जिनीयार भुसालको भनाइ छ । सबै प्रक्रिया केन्द्रबाट र भारतीय पक्षबाट हुने भएकाले आफूहरुलाई खासै धेरै थाहा नभएको उनको भनाइ छ । सो बन्दरगाह निर्माणको काम नौ वर्ष अघि शुरु गरिए पनि उल्लेखनीय प्रगति भएको पाइँदैन । अहिलेसम्म जग्गा अधिग्रहण र तारबार गर्नेबाहेक खासै प्रगति भएको छैन । “अर्को वर्ष बन्छ भन्दाभन्दै नौ वर्ष बितिसक्यो, फेरि बोलपत्र आह्वान गरिएकाले बन्छ भन्ने विश्वास पलाएको छ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यले भने । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा सुक्खा बन्दरगाह निर्माणका लागि करिब ९१ बिघा जमिन अधिग्रहण गरिएको छ । अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिघामा कार्यालय, गोदामलगायतका संरचना निर्माण हुने र २४ बिघा जग्गा बाटोका लागि छुट्याइएको सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जका इञ्जिनीयर भुसाल बताउँछन् । सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारको तर्फबाट हुने सम्झौता भएको छ । “सुक्खा बन्दरगाह निर्माण क्षेत्रमा केही कार्यालय संरचनाबाहेक अन्य पूर्वाधार निर्माणका काम भएको छैन । भारत सरकारले नै बनाउने सम्झौता भएकाले हामीले पर्खी बस्नुबाहेक अरु केही गर्न सक्दैनाै”, इञ्जिनीयर भुसालले भने । सो बन्दरगाह निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । सुक्खा बन्दरगाहमा मालसामान आयात निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुनेछन् । नेपालका प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात निर्यातलाई सहज व्यवस्थापन गर्न सुक्खा बन्दरगाह कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ तर, ढिलो गरी गरिने कामले योजनाअनुसार प्रतिफल दिँदैन भन्नेतर्फ राज्य गम्भीर हुनु पनि उत्तिकै आवश्यक छ । रासस

२३ अर्ब बढी लगानीमा पाँच जलविद्युत आयाेजना निर्माणधीन, ५५ देखि ९० प्रतिशत काम सम्पन्न

लमजुङ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन् । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्को आयोजना निर्माणाधीन छन् । त्यस्तै दोर्दीखोला जलविद्युत कम्पनीले १२.१ मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत् आयोजना दोर्दी करिडोरमा निर्माणाधीन छन् । ती मध्ये अधिकांशको ५५ देखि ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यस्तै दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । उक्त निर्माणाधीन आयोजना निजी क्षेत्र र स्थानीयको लगानीमा निर्माण भइरहेको बताइएको छ । यी आयोजना निर्माण सम्पन्नपश्चात् १२५ मेगावाट बिजुली उत्पादन हुनेछ । यहाँ निर्माण भएका आयोजनाबाट एक वर्षदेखि पाँच वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ । दोर्दी खोलामा हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दी खोला र लिबर्टी इनर्जी लिमिटेडले निर्माण गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतकाे निर्माण अब एक वर्षभित्र पूरा हुने अवस्थामा छन् । यी आयोजनाको निर्माण ९० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । त्यस्तै दोर्दी करिडोरमै छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । गत एक वर्षदेखि आयोजनाको निर्माण कार्यलाई शुरु भइरहेको छ । दोर्दी करिडोरकै सबैभन्दा ठूलो क्षमताको पिपुल्स हाइड्रोपावरले निर्माण गरेको ५४ मेगावाटको सुपर दोर्दी ‘ख’को ५५ प्रतिशत र दोर्दी खोला जलविद्युत कम्पनी द्वारा निर्माणाधीन १२.१ मेगावाटको दोर्दी–१ को निर्माणकार्य ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको बताइएको छ । दोर्दी करिडोरको सबैभन्दा माथिल्लो तटमा पिपुल्स हाइड्रोपावरले सुपर दोर्दी ‘ख’ (५४ मेगावाट) आयोजना कूल रु आठ अर्ब ८० करोड लागत अनुमान लगानीमा निर्माण भइरहेको छ । उक्त आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ । २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना रु तीन अर्ब ८६ करोड लगानीमा निर्माण भइरहेको छ । यस आयोजनामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ३६ र स्थानीय सर्वसाधारणको ३० प्रतिशत र आइएमई गुप्रको ३४ प्रतिशत लगानी छ । त्यस्तै लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाटको कूल रु चार अर्ब ६३ करोड लगानीमा यस आयोजना निर्माण थालिएको हो । दोर्दी खोलामै लमजुङ विद्युत विकास कम्पनी (लेड्को) को सहायक कम्पनी दोर्दीखोला जलविद्युत  कम्पनीले दोर्दी–१ (१२.१ मेगावाट) आयोजना निर्माण गरिरहेको छ । यस आयोजना करिब रु दुई अर्ब ३९ करोडको लागतमा निर्माण भइरहेको आयोजनाले जनाएको छ । दोर्दी करिडोरमै रहेको छ्याङ्दी खोलामा यसअघि दुई मेगावाटको छ्याङ्दी जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेका प्रवद्र्धक छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीले सोही खोलामा चार मेगावाटको जलविद्युत आयोजना रु ८० करोडभन्दा बढी लगानीमा निर्माण भइरहेको आयोजनाले जनाएको छ । रासस

अपारदर्शी रुपमा कार्यकारी निर्देशक र महाप्रबन्धक नियुक्त गर्दै उद्योग मन्त्रालय

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायमा कार्यकारी निर्देशक तथा महाप्रबन्धक नियुक्ती अपरदर्शि रुपमा गर्न लागेको छ । मन्त्रालयले नेपाल ईन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धक नियुक्तीमा आर्थिक पारदर्शिता देखाउन नसकेको हो । दुबै पदमा नियुक्त हुने व्यक्तिले कति तलब सुविधा पाउने हो भन्ने खुलस्त पारिएको छैन । पदपूर्ति सम्बन्धि सूचनामा प्रचलित ऐन, नियम र कानुन बमोजिम मासिक पारिश्रमिक तथा अन्य सेवा सुविधा पाउने उल्लेख गरिएको छ । जबकी अर्थमन्त्रालय मातहतका निकायमा कार्यकारी प्रमुख नियुक्ती गर्दा सम्बन्धित व्यक्तिले कति तलव पाउने, कति भत्ता पाउने, कति बोनस पाउने स्पष्ट उल्लेख गरिएको हुन्छ । अर्थमन्त्रालय मातहतका कर्मचारी संचय कोष, नागरिक लगानी कोष, कृषि विकास बैंक, नेपाल बैंक लगायत सरकारी लगानी भएका संस्थाहरुमा कार्यकारी प्रमुखले पाउने तलव सुविधा खुलस्त रुपमा सार्वजनिक गरिएको हुन्छ । सरकारले सर्ब साधारणको सेयर लगानी भएको सबै कम्पनीमा कार्यकारी प्रमुखको तलव सुविधा, सञ्चालक समितिले लिएको बैठक भत्ता तथा अन्य सुविधा रकममा नै उल्लेख गरि सार्वजनिक गर्नु पर्ने व्यवस्था गरेको छ । अहिले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले पाउने तलव सुविधाहरुका बारेमा आमसञ्चार माध्यमको समाचारको विषय बनेका छन् । तर सरकारी निकायमा राजनीतिक नियुक्ती पाउनेको तलव सुविधा गोप्य राख्ने गरिएको छ ।

कृषि विकास बैंककाे २ अर्ब ५० करोड ऋणपत्र जारी, व्याज वार्षिक १०.३५ प्रतिशत

काठमाडाैं । कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता डिबेञ्चर निश्कासन गरेको छ । सेयर बजार उकालो लागि रहेको बेला बैंकले सो रकमको ऋणपत्र निश्कासन गरेको हो । बैंकले आगामी ७ वर्षका लागि बार्षिक १०.३५ प्रतिशत व्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेकाे हाे । ऋणपत्रका १०.३५ प्रतिशत व्याजदर अहिलेसम्म कै उच्च दर हाे । एडीबीएल कृषि बैक ऋणपत्र २०८३ माघ १४ गतेदेखि खुला गरिएकाे छ । छिटाेमा माग १७ गते र ढिलाेमा फागुन १४ गते निष्काशन बन्द हुने बैंकले जनाएकाे छ । प्रतिकित्ता एक हजार रूपैयाँ अंकित ऋणपत्र कम्तमा २५ कित्ता र बढीमा २ लाख २५ हजार कित्ता किन्न सकिनेछ । यसकाे निष्काशन तथा बिक्री प्रबन्धक एनअाइबी एस क्यापिटल हाे ।

सिटिजन्स बैंकको नाफा ६८ करोड, खराब कर्जा १ प्रतिशतभन्दा पनि कम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक वर्षको ६ महिनामा ६७ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो व्याज आम्दानी ४ अर्ब २९ करोड ६८ लाख रुपैयाँ थियो । बैंकले ३ अर्ब २४ करोड १९ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो व्याज खर्च २ अर्ब ८० करोड २३ लाख रुपैयाँ थियो । बैंकको खुद व्याज आम्दानी घटेको छ । गत वर्षको पुस मसान्तसम्ममा १ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले यस वर्षको सोही अवधिमा १ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकले खराब कर्जा घटाएको छ । गत वर्षको पुस मसान्तसम्ममा १.६२ प्रतिशत रहेको खराब कर्जा अनुपात यस वर्षको पुस मसान्तसम्ममा ०.९९ प्रतिशतमा सिमित भएको छ । आधार दर १०.३५ प्रतिशत छ भने व्याज अन्तर (स्प्रेड) दर ३.६९ प्रतिशत छ । बैंकमा सर्वसाधारणको ७५ अर्ब ५९ करोड ३३ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको पुस मसान्तमा सर्वसाधारणको ७० अर्ब ५० करोड ९० लाख रुपैयाँ निक्षेप थियो । बैंकले सर्वसाधारणलाई ६९ अर्ब ८ करोड ८१ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकले ६२ अर्ब ९१ करोड १९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।