विकासन्युज

देशभरका भन्सार कार्यालय अर्थको प्रत्यक्ष निगरानीमा, २ वर्षभित्रै पेपर लेस हुने

काठमाडौं । देशभरका भन्सार कार्यालयहरुमा अर्थमन्त्रालयले प्रत्येक्ष निगरानी गर्ने भएको छ । मन्त्रालय र भन्सार विभागमा रहेको कन्ट्रोल रुममा सबै भन्सार कार्यालयहरु आवद्ध भएपछि मन्त्रालयबाटै निगरानी गर्न सकिने भएको हो । यसअघि सबै भन्सार कार्यालयको निगरानी गर्न सकिने व्यवस्था थिएन । विभागले सूचना प्रविधिको प्रयोग गरी सबै भन्सार कार्यालयहरुलाई नेटवर्कमा आवद्ध गरेको हो । विभागले कुनै बस्तुको भन्सार शुल्कमा शंका लागेका विभागबाटै पुन समानको जाँच गर्न निर्देशन दिनेछ । सबै भन्सार कार्यालयहरुमा सीसीटीबीबाट निगरानी गरेपछि भन्सारमा हुने अनियमितता पनि नियान्त्रण हुने विभागका महानिर्देशक सुमन दाहालले बताए । भन्सार सुधार र आधुनिकीकरण गर्ने सरकारको लक्ष्यअनुसार देशैभरका भन्सार कार्यालयहरुलाई प्रत्यक्ष हेरी रहने भएको हो । भन्सार विभागले कति समान भन्सारबाट पाँस भयो र कति सामान भन्सारबाट पाँस हुन बाकीँ छ भनेर विभागले नै हेर्नेछ । काममा ढिलासुस्ती भएका सम्बन्धित भन्सार कार्यलयका प्रमुखलाई के कारणले भन्सारमा काम ढिला भएको हो, त्यसलाई अध्ययन गरेर जानकारी गराउन निर्देशन दिनेछ । विभाग महानिर्देशक दाहालले ६८औ अन्तराष्टिय भन्सार दिवसमा कार्यक्रममा बोल्दै भन्सारको काम भनेको भन्सार सुधार तथा आधुनिकीकरण, व्यापार सहजीकरण, राजस्व संकलन र सामाजिक सुरक्षा लगाएतको काम गरिरहेको बताए । ‘हामी भन्सारलाई सहज र सरल बनाउन काम गरिरहेका छौं, विभागले २ वर्ष भित्रमा भन्सारलाई पुर्णरुपमा पेपर लेस बनाउने छ,’ महानिर्देशक दाहालले भने । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी शिशिर घिमिरे प्रविधिको प्रयोग गरेर विभागले कार्मचारी घटाउदै गएको बताए । विभागले २ वर्ष भित्र विभाग मातहतका सबै कार्यलयलाई पेपर लेस बनाउने जानकारी दिएको छ । हाल भन्सार विभागमा आर्थिक करोबार बैंकबाट हुन्छ ।

राष्ट्रिय बाणिज्य बैंकलाई मर्जरमा जान अर्थमन्त्रीको सुझाव, सेयर जारी गर भनेनन्

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय बाणिज्य बैंकलाई मर्जरमा जान सुझाव दिएका छन् । करिब शतप्रतिशत सरकारी लगानी रहेको बैंकलाई आफ्नो व्यवसाय मिल्ने बैंक खोजेर मर्जरमा जान अर्थमन्त्रीले सुझाव दिएका हुन् बैंकको ५५औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खतिवडाले यस्तो सुझाव दिएका हुन् । सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेट र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा ठूला बाणिज्य बैंकबीच मर्जर भए त्यसलाई प्रोत्साहन गरिने भन्ने उल्लेख छ । तर, सरकारी लगानीका बैंकहरुबीच नै मर्जर नभएको अबस्थामा मन्त्री खतिवडाको यस्तो सुझाव आएको हो । ‘बैंकिङ क्षेत्रका समस्या समाधानका लागि म सकारात्मक छु, यो बैंक (राष्ट्रिय बाणिज्य बैंक) ले आफ्नो व्यवसाय मिल्ने संस्था खोजेर मर्जरमा जानु उपयुक्त हुन्छ,’ मन्त्री खतिवडाले भने । राष्ट्रिय बाणिज्य बैंकमा सरकारको करिब शतप्रतिशत नै सेयर लगानी छ । केही समय अगाडि मर्जर भएको तत्कालिन एनआईडीसी डेभलपमेन्ट बैंकका साधारण सेयरधनी बाहेक बैंकमा सरकारको मात्रै लगानी छ । बैंक तथा वित्तीय संस्था ऐनले बैंकहरुलाई कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनै पर्ने व्यवस्था गरेपनि राष्ट्रिय बाणिज्य बैंकले सर्वसाधारणलाई सेयर दिएको छैन । सरकारको प्रमुख लगानी रहेको बैंक वित्तीय संस्थाले सर्वसाधारणको लागि तोकिए अनुसारको साधारण सेयर नदिए पनि हुन्छ भन्ने सो ऐनको व्यवस्था अनुसार नै बैंकले छुट पाउदै आएको छ । सबैभन्दा धेरै नाफा कमाउनेमध्येमा पर्ने राष्ट्रिय बाणिज्य बैंकलाई सेयर निस्कासनको लागि भने अर्थमन्त्री खतिवडाले केही बताएनन् । सरकारको लगानी रहेका कृषि विकास बैंक र नेपाल बैंकले भने बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार सर्वसाधारणलाई सेयर दिएका छन् । राष्ट्रिय बाणिज्य बैंकले साधारण सेयर जारी गर्ने नगर्ने विषयमा अर्थमन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको जानकारी दिदै अर्थमन्त्री खतिवडाले सेयर जारी गर्ने नगर्ने भन्ने केही बताएनन् । राष्ट्रिय वाणिज्य बैंकमा अहिले सर्वसाधारणको १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै, बैंकले १ खर्ब ५० अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको छ । अर्थमन्त्री डा. खतिवडाले कर्जाको मात्रा बढाउनेभन्दा पनि गुणस्तर बृद्धिमा बढी ध्यान दिन सुझाए ।

विश्व कीर्तिमान राख्न १३ नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य गर्ने घोषणा

काठमाडौं नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरिएको छ । आगामी फागुन २२ गते काठमाडौंमा विहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने भएको हो । शुक्रबार मारुनी मिडिया नेटवर्कले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त विश्व र्कीतिमान बारे जानकारी गराएको हो । उक्त र्कीतिमान राख्नको लागि गिनिज बुकले अनुमतिसमेत दिईसकेको छ । कार्यक्रममा र्कीतिमान राख्नको लागि व्यवस्थापनको जिम्मेवारी लिएको गिनिज ईभेन्ट्स नेपालका अध्यक्ष सन्तोष लामाले कार्यक्रम सफलताको शुभकामना दिए । उनले भने,‘कार्यक्रमको राम्रो तयारी भएको छ । यो नेपालको परिवेशमा पनि विशुद्ध नयाँ रेकर्ड हाँसिल हुने हामीले अपेक्षा लिएका छौं । व्यवस्थापकीय हिसाबले पनि धेरै राम्रो तयारी भएको छ । हामी टिमवर्कमा विश्वास गर्छौं ।’ पत्रकार सम्मेलनकी प्रमुख अतिथिसमेत रहेकी चर्चित लोकदोहोरी गायिका राधिका हमालले पनि विश्व र्कीतिमानी कायम गर्नको लागि सामूहिक नृत्यमा सहभागीहरुलाई शुभकामना दिएकी थिईन् । कार्यक्रममा मारुनी मिडिया नेटवर्कका प्रवन्धक डिल बहादुर मगर (डिकेश) ले ‘देशले हामीलाई के दियो ? भन्दापनि हामीले देशलाई के दियौं ?’ भन्ने मूल नाराका साथ आफूहरु विश्व र्कीतिमान राख्ने तयारीमा जुटेको स्पष्ट पारे । उनले उक्त उद्देश्यमा सफल हुनेमा आफूहरु विश्वस्त रहेको प्रतिक्रिया पनि दिए ।

दश विमानस्थलको सरसफाइ सम्परीक्षण गरिँदै

काठमाडाैं । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा सरकारले मुलुकका प्रमुख १० विमानस्थलको सरसफाइको सम्परीक्षण (अडिट) गर्ने भएको छ । विदेशी पर्यटकको पहिलो नजर पर्ने र देशको अवस्थालाई झल्को दिने देशको ऐनाका रुपमा रहेको विमानस्थलको सरसफाइलाई प्रभावकारी बनाउन सरोकारवाला संस्थासँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको मौजुदा सरसफाइको अडिट गर्न लागेको हो । उक्त प्रयोजनका निम्ति पर्यटनमन्त्रीको उपस्थितिमा गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग छलफलपछिको निर्देशनबमोजिम यही माघ ८ गते विमानस्थलको सफाइ अडिट गर्ने सम्झौता भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । सम्झौताअनुरुप पर्यटन मन्त्रालय र गैरआवासीय नेपाली सङ्घबीच स्वयंसेवीका रुपमा १० विमानस्थलको स्थलगत भ्रमण गरी ती स्थानमा हालको सरसफाइको अवस्थाको अडिट गरी र तोकिएको समयभित्र मन्त्रालयसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ । आगामी फागुन २० देखि चैत १९ सम्म (एक महिनाभित्र) मन्त्रालयलाई सरसफाइ अडिट प्रतिवेदन बुझाउने सम्झौतामा उल्लेख छ । विमानस्थलमा विद्यमान सरसफाइको मौजुदा अवस्थाको जानकारी लिने र प्राप्त सुझावका आधारमा भावी दिनमा विमानस्थललगायत अन्य सांस्कृतिक तथा पर्यटकीयस्थलमा समेत सरसफाइलाई थप प्रभावकारी बनाइने जनाइएको छ । मुलुकका व्यस्त ठूला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्राष्ट्रिय)सहित विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, भरतपुर विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज विमानस्थल र धनगढी विमानस्थलको सरसफाइ अडिट गरिने विज्ञप्तिमा उल्लेख छ । रासस

खारेजीकाे अवस्थामा पुगेकाे विद्यालय दिवा खाजा कार्यक्रमले बदल्यो

काठमाडाैं । निकै बाक्लो जनघनत्व भएको ठहिटी क्षेत्रमा रहेको एक सार्वजनिक विद्यालय झण्डैझण्डै खारेजीमा पुग्न लागेको यथार्थ सायद कमलाई मात्र थाहा होला । काठमाडौँको केन्द्र, बाक्लो बसोबास, नजिकै अन्य कुनै सार्वजनिक विद्यालय नभएको स्थानमा रहेर पनि ठहिटीस्थित शान्ति शिक्षा विद्या मन्दिर बन्द हुने अवस्थामा थियो । शिक्षक थिए तर विद्यार्थी थिएनन् । पूर्वाधार थियो तर संरक्षण थिएन । विद्यालयको गुणस्तर अभिवृद्धिमा न स्थानीयको चासो थियो, न विद्यालय जोगाउनुपर्छ भन्ने नै । शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको विद्यालयप्रति कुनै सदासयता थिएन । कतिपय स्थानीय आफ्ना बालबच्चा उक्त विद्यालयमा नपढ्ने भएकाले हेयको दृष्टिले हेर्दथे त कतिपयले अन्य प्रयोजनका लागि विद्यालयका संरचना प्रयोग कष्टसमेत गर्थे । राणाकालमा बनाइएको विद्यालयको पूर्वाधार अत्यन्त जीर्ण थियो । विद्यालयमा खासै विद्यार्थी थिएनन् । शिक्षक कार्यालय आउने हाजिर गर्ने घर जाने प्रवृत्ति मौलाएको थियो । विद्यालयलाई साच्चैको ‘विद्या मन्दिर’ बनाउनेभन्दा पनि आफ्नो अनुकूल प्रयोग गर्ने धेरै थिए । अनियमिता व्याप्त थियो । बाहिरबाट आएका व्यक्तिका सन्तति अध्ययन गर्ने भएकाले स्थानीयको चासो पनि थिएन । शिक्षक, कर्मचारीको जागिरे मानसिकता थियो । विद्यालय बनाउनुपर्छ, विद्यार्थी बढाउनुपर्छ भन्ने कोहीलाई थिएन । विद्यार्थी सङ्ख्या अन्यन्त न्यून भएपछि केही ‘अल्छी’ शिक्षकको जागिर खाने थलो बनेको थियो विद्यालय । पर्याप्त विद्यार्थी नभएपछि सरकार पनि सो विद्यालय खारेजी गर्ने कि त मर्जमा लैजाने विषयमा बहसमा थियो । विद्यालय खारेजी वा मर्जरभन्दा पनि विद्यालय बनाउने व्यक्तिको खोजीमा धेरैको ध्यान केन्द्रित थियो । उक्त विद्यालयलाई बनाउन तम्सिने कोही थिएन । लामो अनुभव हासिल गरेका शिक्षक पनि शान्ति शिक्षा भनेपछि ‘पछि’ हट्थे, आँट गर्ने कोही थिएन । युवा पुस्ताले नै सार्वजनिक विद्यालयको सुधार नगरे कसले गर्छ भन्ने मान्यताका साथ सुदामप्रसाद गौतमले सो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाले । दिन रात नभनी विद्यालयको शैक्षिक गुणस्तर बढाउन उनी खटिए । दिन प्रतिदिन विद्यार्थी सङ्ख्या घट्दै गइरहेको, अत्यन्त कमजोर भौतिक पूर्वाधार, स्थानीयको उतिसाह्रो सहयोग नहुनु उनका लागि निकै ठूलो चुनौती थियो । प्रअको जिम्मेवारी सम्हाल्लेलगत्तै गौतमले ती सबै समस्याको समाधान खोज्न थाले । विद्यालयमाथि बढेको चुनौती समाधान गर्न तथा साधनस्रोतको खोजी गर्न अघि बढे । विशेषतः दिनभरी काम गर्ने, बिहान बेलुका छाक टार्ने अभिभावकका विद्यार्थीको उपस्थिति बाक्लो थियो । उनीहरु कहिले विद्यालय आउँदै नआउने त कहिले भोकै आउने, पढ्दापढ्दै निदाउने, पढ्नमा कहिल्यै पनि ध्यान नदिने र नतिजा पनि राम्रो नआउने अवस्था थियो । विद्यालयको शैक्षिक गुणस्तर बढाउनु त छँदै थियो । विद्यार्थी सङ्ख्या पनि बढाउनु उहाँका लागि चुनौतिको पर्खाल थियो । बर्षेनी घट्दो विद्यार्थी सङ्ख्यालाई रोक्न तथा भोकै आउने विद्यार्थीबाट ‘नतिजा’ खोज्न प्रअ गौतमले दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने तयारी गरे । सीमित स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने कुनै उपाय थिएन् । अनि सुरु भयो दाताको खोजी । निःशुल्क दिवा खाजा कार्यक्रम सञ्चालन गर्न उनी आफैँले अवधारणापत्र तयार पारी नेपालका लागि इजरायली दूतावासमा पेश गरे । नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्दै आएको इजरायली दूतावास विद्यार्थीलाई निःशुल्क खाना खुवाउने कार्यमा सहयोग गर्न तयार देखियो । लगत्तै इजरायली दूतावासले केही सहयोग गर्यो । अनि दुई वर्षदेखि विद्यार्थीलाई निःशुल्क खाना खुवाउने कार्यक्रम शुरु गरियो । अहिले इजरायली दूतावास र ईश्वरलाल फाउण्डेशनले दिवा खाना कार्यक्रमका लागि सहयोग गरिरहेका छन् । दिवा खाना कार्यक्रमसँगै विद्यार्थीको उपस्थिति बाक्लो हुँदै गयो । पेटभर खाएपछि विद्यार्थीले पनि मन लगाएर पढ्न थाले । “अहिले विद्यार्थीको उपस्थिति पनि बढेको छ”, प्रअ गौतमले भने, “विद्यार्थी सङ्ख्यासँगै शैक्षिक गुणस्तर पनि निरन्तर सुध्रिदै गएको छ ।” दुई वर्षअघि ७०/८० को विद्यार्थी सङ्ख्या अहिले बढेर ३ सय नाघेको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम पनि निरन्तर अघि बढेका छन् । कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन हुने थालेको छ । विद्यालय पोशाक निःशुल्क गरिएको छ । यसवर्षदेखि १० कक्षासम्मै अङ्ग्रेजी माध्यममा पढाउने तयारी भइरहेको छ । निरन्तर विद्यालयको सुधार देखेर विद्यार्थी पनि उत्साहित छन् । कक्षा ५ मा पढ्दै आएका मोहम्मद रजा अहिले विद्यालयको अवस्था निकै राम्रो भएको र पढ्न मन लाग्ने वातावरण बनेको बताउँछन् । विद्यालयमा पूर्वाधार विकासले तीव्र रुप लिएको प्रधानाध्यापक गौतम बताउँछन् । “पूराना संरचना भत्काएर नयाँ बनाउँदै छौँ”, उनले भने, “एसियाली विकास बैङ्कको सहयोगमा नयाँ भवन बन्दैछ । यस्तै नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सूचना प्रविधि ‘आइटी’ को व्यवस्था गर्दैछौँ ।” दूतावासद्वारा खाद्यान्न हस्तान्तरण यसैबीच, काठमाडौँस्थित इजरायली दूतावासले दिवा खाना कार्यक्रमका लागि विद्यालयलाई खाद्यान्न हस्तान्तरण गरेको छ । विद्यालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले खाद्यान्न हस्तान्तरण गरे । सो अवसरमा उनले नेपालको आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा इजरायलले सहयोग गर्दै आएको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष रवीन्द्रकुमार शाक्यले गुणस्तरीय शिक्षाका लागि इजरायली सहयोगको सरहाना गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्माले विद्यार्थी तथा अभिभावक निजी शिक्षातर्फ आकर्षित भइरहेको अवस्थामा शान्ति शिक्षाको शैक्षिक गुणस्तरले नयाँ आशाको सञ्चार गरेको बताए । उनले व्यवहारिक, व्यावसायिक तथा प्राविधिक शिक्षा दिन सुझाव दिए । काठमाडौँ महानगरपालिकाका शिक्षा शाखा प्रमुख मोतिराज खनालले दिवा खाना कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा टेवा पुगेको उल्लेख गर्दै शान्ति शिक्षा नमूना विद्यालयका रुपमा विकास हुने विश्वास गर्नुभयो । कार्यक्रममा विद्यार्थीले नेपाली कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । रासस

पूर्वाधार निर्माणमा टेलिकमः ६६ जिल्लामा फोरजी पुग्यो, २ हजार आधुनिक टावर थप्दै

काठमाडौं । नेपाल टेलिकमले सेवा विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ । सेवा विस्तारका लागि आवश्यक पर्ने आधुनिक टावर निर्माणलाई उच्च प्राथमिकतामा राखेको टेलिकमको भनाइ छ । टेलिकमले ४ हजार आधुनिक र हलुका टावर निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यही प्रक्रिया अनुसार अहिलेसम्म २ हजार टावर निर्माण गरिसकिएको टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । ‘सेवा विस्तारको लागि ४ हजार वटा आधुनिक र हलुका टावर निर्माणको योजना छ, यसमध्ये २ हजार टावर निर्माण भइसक्यो, थप २ हजार बनाइसक्न काम गरिरहेका छौं,’ सहप्रवक्ता भण्डारीले विकासन्युजसँग भने । एउटा टावर बिस्तार गर्दा (ग्राउण्ड बेस्ड टावर) जडान गर्न करीब ६० लाख रुपैयाँ लाग्ने टेलिकमले जानकारी दिएको छ । ग्राउन्ड बेस्ड टावर बनाउनु नपरेको अवस्थामा भने केही सस्तो हुने गर्छ । शहरी क्षेत्रमा घर भाडामा लिएर त्यस्ता घरको छतमा (रुफटप) टावर बनाउने गरिएको छ । ग्रामीण क्षेत्रमा भने एन्टेना, माइक्रो वेब राख्नु पर्ने तथा लामो दूरीमा समेत कभर गर्नु पर्ने भएकाले टावर जडानको रकम हेरफेर हुने गर्छ । टेलिकमले रेडियोनेटवर्क प्लानिङ अनुसार काम गर्दै आएको छ । शहरी क्षेत्रमा अग्ला घर निर्माण भइ रहेकाले सोही अनुसार ठूला टावरहरु जडान गर्न थालिएको छ । यस्तै, फोरजी बिस्तार, मध्य पहाडी लोकमार्गमा फाइबर राख्ने काम आफ्नो मुख्य काम रहेको टेलिकमको भनाई छ । टेलिकमले आगामी दिनमा आफ्नो पहुँच बाहिर रहेका ग्राहकहरुलाई समेत समेटदै अघि बढेको बताएको छ । चालु आर्थिक वर्षको सुरुमै नै फोरजी सेवा बिस्तार गर्ने लक्ष्य टेलिकमको थियो । सो सेवा बिस्तार तीव्र गतिमा अघि बढेको टेलिकमको भनाइ छ । हाल टेलिकमको फोरजी सेवा देशका विभिन्न ६६ जिल्लामा पुगेको छ ।

१५ वर्ष पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन हुने

भारत । वायु प्रदूषण न्यून गर्ने उद्देश्यले भारतको पञ्जाब राज्यमा १५ वर्षभन्दा पुराना तीन पाङ्ग्रे सवारी साधन विस्थापन गरिने भएको छ । राज्य सरकारको वातावरण तथा जलवायू विभागको प्रस्तावमा नयाँ विद्युतीय वा सिएनजी सञ्चालित तीन पाङ्ग्रे सवारी साधनलाई अनुमति दिइने छ । तन्दरुस्त पञ्जाब अभियान अन्तर्गत सञ्चालित यस कार्यक्रमबाट लाखौं प्रभावित हुनेछन् । अभियानका निर्देशक के एस पन्नुले विद्युतीय सवारीको प्रयोगले राज्यको वायू प्रदूषण नियन्त्रणमा निकै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । पञ्जाबमा हाल लाखौंको संख्यामा पेट्रोलबाट सञ्चालन हुने तीन पाङ्ग्रे सवारी साधन गुडिरहेका छन् ।

अमेरिकामा बेरोजगारको संख्या २ लाख ११ हजारले बढ्यो

वासिङटन । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ । जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या दुई लाख ११ हजार पुगेको छ । यहीबीच, अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ । तथ्याँक विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजूक अवस्थामा रहेको देखिएको छ । तर अमेरिकी श्रम बजारमा गत डिसेम्बरमा अमेरिकी कम्पनीहरुले १ लाख ४५ हजार नयाँ रोजगार सिर्जना गरेका छन् । यद्यपि गत नोभेम्बरमा यस्तो रोजगारी सिर्जना करिब दुई लाख ५६ हजार हुने पूर्वानुमान गरिएको थियो । अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगार दर ३.५ प्रतिशत पुगेको छ । रासस